कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीमा मोदीका ६ घण्टा

'नेपाल आउँदा छुट्टै आनन्द हुन्छ । मायादेवी मन्दिर दर्शनको अवसर मेरा लागि अविश्वसनीय हो ।'

लुम्बिनी — २५६६ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा सोमबार बिहान १० बजेर ४० मिनेटमा आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा ६ घण्टा बिताए । भारतीय वायु सेनाका चार हेलिकोप्टरसहित आएका उनी दिनभर विभिन्न कार्यक्रममा व्यस्त रहे । मोदीको स्वागतार्थ प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्रीपत्नी आरजु राणा, पर्यटनमन्त्री प्रेम आले र गृहमन्त्री बालृकष्ण खाँडलगायतका उच्चपदस्थ सरकारी अधिकारी लुम्बिनी आएका थिए । 

लुम्बिनीमा मोदीका ६ घण्टा

मायादेवी मन्दिरमा विशेष पूजा गरेर सुरु भएको मोदीको भ्रमण अशोक स्तम्भअगाडि दीप प्रज्जलन गर्दै अघि बढ्यो । त्यसपछि उनी मन्दिरमा परिसरमा तयार गरिएको मञ्चमा पुगेका थिए । जहाँ बौद्ध भिक्षुले दुवै प्रधानमन्त्रीसमक्ष परित्रान पाठ गरेका थिए । त्यसपछि मोदीले मन्दिर परिसरमा रोपिएको बोधीवृक्षमा सिँचाइ गरे । यो वृक्ष मोदीले नै रोप्ने भनिए पनि सुरक्षाका कारण जनाउँदै उनको भ्रमण स्थगित भएपछि तत्कालीन भारतीय राजदूत रञ्जित रेले सन् २०१४ डिसेम्बर १० मा उक्त बिरुवा रोपेका थिए । मन्दिरबाट बाहिरिनुअघि मोदीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए । बिहान ११ बजे मन्दिरमा पुगेका उनी साढे ११ बजे बाहिरिए ।

मन्दिरबाट पुरानो रुट हुँदै पश्चिमतर्फको ९ नम्बर गेट भएर प्रधानमन्त्री मोदी र देउवा भारतीय संस्कृत तथा पर्यटन मन्त्रालयको सहयोगमा अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) ले निर्माण गर्न लागेको विहार शिलान्यास गर्न पुगेका थिए । लुम्बिनीको पश्चिमी विहार क्षेत्रमा निर्माण हुन लागेको विहारमा दुवै प्रधानमन्त्रीले भूमि पूजा गरे । कार्यक्रममा ४० मिनेट बिताएपछि मोदी होटल पवन प्यालेस प्रस्थान गरेका थिए । जहाँ दुबै मुलुकका प्रधानमन्त्रीबीच भेटवार्ता र विभिन्न ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भयो ।

यहाँ प्रधानमन्त्री देउवाले समकक्षी मोदीलाई दिवा भोजको आयोजना गरेका थिए । त्यसपछि दुवै प्रधानमन्त्री र विशिष्ट पाहुना अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा आयोजित बुद्धजयन्ती समारोहमा सहभागी भए । ५ हजार जना अट्ने क्षमताको हलमा आयोजित कार्यक्रममा दुवै प्रधानमन्त्रीका अलवा नेपाल सरकारका मन्त्री, लुम्बिनी प्रदेशका मुख्यमन्त्री, सचिवहरू, सुरक्षा प्रमुख, कूटनीति र दातृ निकायका प्रमुखलगायत सहभागी थिए । भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल पनि त्यहाँ उपस्थित थिए । सहभागीहरूलाई लुम्बिनी बिकासका कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले स्वागत गरेका थिए । कार्यक्रममा आफ्ना भनाइ राखेपछि मोदी साढे ४ बजे फर्किएका थिए ।

यसैबीच, लुम्बिनी र सगरमाथालाई एक साथ पहिचान गराई पर्यटन प्रवर्द्धन गर्न लुम्बिनीस्थित विश्व शान्ति द्वीपको ज्योति (पिस फ्लेम) लिएर यहाँबाट ओलम्पियन टोली सगरमाथाका लागि हिँडेको छ । पिस फ्लेम बोकेर निस्कनुअघि ओलम्पियन बैकुण्ठ मानन्धर नेतृत्वमा ३ जना खेलाडीले मायादेवी मन्दिरको परिक्रमा गरेका थिए । खेलाडी टोली भैरहवा हुँदै बुद्ध अस्तुधातु रहेको स्थल रामग्राम (परासी) हुँदै स्थलमार्गबाट काठमाडौं जानेछ । पिस फ्लेमलाई काठमाडौंमा बौद्धनाथ र स्वयंभूनाथ परिक्रमा गराई विशेष पूजा गरी सगरमाथा आधार शिविर लगिनेछ ।

'नेपाल आउँदा छुट्टै आनन्द'

भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्ध हिमालजस्तै अटल रहेको बताएका छन् । बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहलाई सम्बोधन गर्दै दुवै मुलुक मिलेर आपसी सम्बन्धलाई हिमालको जस्तै उचाइ दिनुपर्नेमा जोड दिए । उनले गीत, संस्कृति, रीतिरिवाजका कारण सयौं वर्षदेखि दुई देशबीच जीवन्त सम्बन्ध रहेको बताए ।

‘अब हाम्रो सम्बन्धलाई विज्ञानसित जोडेर अगाडि बढाउन सकिन्छ,’ उनले थपे, ‘यसका लागि भारत काँधमा काँध मिलाएर सघाउन तयार छ ।’ लुम्बिनी संग्रहालय, डा. अम्बेडकर चेयर फर बुद्धिस्ट स्टडिजको स्थापना र काठमाडौं, त्रिभुवन र बौद्ध विश्वविद्यालयलाई भारतले गरेको सहयोग यसको उदाहरण भएको उनले बताए । ‘नमोः बुद्ध’ भनेर आफ्नो सम्बोधन सुरु गरेका उनले नेपाली भाषामा बुद्धजयन्तीको अवसरमा उपस्थित सहभागी, सम्पूर्ण नेपाली जनता र विश्वभरिका बासिन्दालाई शुभकामना दिएका थिए । ‘आज बुद्धको जन्मस्थल लुम्बिनी आउने अवसर मिल्यो,’ उनले भने, ‘मायादेवी मन्दिर दर्शनको अवसर मेरा लागि अविश्वसनीय हो ।’ मानवका रूपमा भगवान् बुद्धले जन्म लिएको स्थानमा टेक्न पाएकामा उनले हर्ष व्यक्त गरे । यसअघि आफू मुक्तिनाथ, पशुपतिनाथ र जनकपुर पुगिसकेको उल्लेख गर्दै यसपटक लुम्बिनी आएको बताए । ‘नेपाल सगरमाथाको देश हो, थुप्रै मठमन्दिर, तीर्थस्थलको देश हो,’ उनले भने, ‘नेपाल आउँदा मलाई छुट्टै आनन्द आउँछ ।’ बुद्धले दुवै मुलुकलाई जोडेको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले बुद्ध जन्मस्थलमा समकक्षी मोदीको उपस्थितिले लुम्बिनीको ऐतिहासिक गौरव बढेको बताए । मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर चिनाउन योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गरे । यसअघि जनकपुर, मुक्तिनाथ, पशुपतिनाथको भ्रमण गरेर दुई मुलुकको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन भूमिका खेलेकामा पनि प्रधानमन्त्री देउवाले प्रशंसा गरे । ‘यस्ता भ्रमणले ती तीर्थस्थलमा भारतीय पर्यटकको संख्या उलेख्य रूपमा वृद्धि भएको छ,’ उनले भने, ‘यसका लागि प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्न चाहन्छु ।’ आर्थिक विकासमा निरन्तर सहयोगका लागि पनि भारत सरकारप्रति उनले आभार व्यक्त गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले लुम्बिनी गुरुयोजनालाई आगामी तीन वर्षभित्र पूर्णता दिन अहिले निर्माण र मर्मतका काम तीव्र ढंगले चलिरहेको जानकारी गराए । ‘लुम्बिनीमा भारतीय प्रधानमन्त्रीको भ्रमणले उत्साहित तुल्याएको छ,’ समारोहमा उनले भने, ‘यो हाम्रा लागि दुर्लभ अवसर हो ।’

प्रकाशित : जेष्ठ ३, २०७९ ०६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?