कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेनुको हारजितमा गठबन्धनको भविष्य !

महानगर प्रमुखमा माओवादीकी रेनु दाहालले चुनाव नजिते गठबन्धन टुट्न सक्ने सत्तारुढ दलका शीर्ष नेताको अभिव्यक्ति

चितवन‚ काठमाडौं — सत्तारूढ दलका शीर्ष नेताहरूले भरतपुर महानगरपालिकाको निर्वाचन परिणामले पाँचदलीय गठबन्धनको भविष्य निर्धारण गर्ने अभिव्यक्ति दिएका छन् । माओवादी केन्द्रबाट महानगर प्रमुखमा उम्मेदवार बनेकी रेनु दाहालले चुनाव नजिते गठबन्धन टुट्न सक्ने उनीहरूले जनाएका छन्  ।

रेनुको हारजितमा गठबन्धनको भविष्य !

गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनुलाई नै साझा उम्मेदवारका रूपमा अघि सारेपछि कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पौडेलको उम्मेदवारीले खडा गरेको चुनौती चिर्न बिहीबार भरतपुरमा चुनावी सभा गरेरै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतले रेनुका पक्षमा मत मागेका छन् । भरतपुरको केन्द्रीय बसपार्कमा आयोजित सभामा देउवाले रेनुलाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताए । गठबन्धनको भविष्य भरतपुरको निर्वाचनमा निर्भर रहेको उल्लेख गर्दै उनले गठबन्धन टुटे आफ्नो पार्टीलाई क्षति पुग्ने अभिव्यक्तिसमेत दिए । ‘भरतपुरबाट गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, यसलाई सफल हुन दिनु हुँदैन,’ उनले भने, ‘षड्यन्त्र सफल भए कांग्रेस पार्टी पनि खत्तम हुन्छ ।’

देउवाले रेनुलाई सफल महानगर प्रमुख भनेर प्रशंसा गरे । रेनुले सडकलगायत पूर्वाधारमा राम्रो काम गरेको, महानगरमा बेरुजु घटाएको, स्मार्टसिटी, अन्तर्राष्ट्रिय क्रिकेट मैदान र अन्तर्राष्ट्रिय सभाहलको अवधारणा अघि सारेको उल्लेख गर्दै उनले रेनु मेयरका लागि उपयुक्त पात्र रहेको उनले बताए । ‘यस्तो राम्रो काम गर्ने मान्छेलाई हराए भने भरतपुरका जनताले के भन्लान् ?’ उनले भने । अहिले रेनुलाई सहयोग गरेर जिताए कांग्रेसको पालो आउने देउवाको भनाइ थियो ।

माओवादी अध्यक्ष दाहालले भरतपुरका जनता अहिले ठूलो ऐतिहासिक परीक्षणमा रहेको बताए । ‘तपाईंहरूले अड्डी कसेर गठबन्धनको विरोध गरिराख्नुको अर्थ प्रतिगमन, निरंकुशता, गणतन्त्रविरोधी र लोकतन्त्रविरोधीलाई साथ दिनु हुनेछ,’ उनले भने, ‘नेता–कार्यकर्ताको पनि ठूलो अग्निपरीक्षा हुँदै छ, यो फैसला तपाईंकै हातमा छ ।’ दाहालले गठबन्धन कमजोर भए देश दुर्घटनामा पर्ने तर्क गरे ।

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका मतदाताले हँसिया–हथौडामा भोट हाल्न गाह्रो मान्दा गठबन्धन टुटेको उनले स्मरण गराए । ‘उतिबेला पनि शेरबहादुरजीसँग गठबन्धनलाई १०–२० वर्षसम्म लैजाने गरी छलफल भएको थियो,’ उनले भने, ‘तर व्यवहारमा सहज नभएपछि चिन्तित भएर वामपन्थी गठबन्धन पो ठीक हो कि भन्ने लागेको हो, अहिले त्यस्तो अवस्था नआओस् ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वतन्त्र उम्मेदवार पौडेलप्रति बढी आक्रोशित देखिए । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले गठबन्धनलाई सबैले साथ दिनुपर्ने बताए । सभामा चितवन कांग्रेसका पूर्वजिल्ला सभापति तथा केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठले गठबन्धन दिगो हुने–नहुने स्पष्ट पार्न आवश्यक रहेको जनाएका थिए ।

जगन्नाथसँग भेट भएन
बुधबारै भरतपुर पुगेका देउवाको स्वतन्त्र उम्मेदवार बनेका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलसँग भेट भएन । देउवाले सुरुमा आफूसँगै भरतपुर गएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटघाट गर्न लगाएका थिए । रामचन्द्रले बिहीबार बिहान जगन्नाथसहित उनको पक्षमा खुलेका पार्टीका पूर्वजिल्ला सभापतिद्वय कृष्णलाल सापकोटा र टीकाराम न्यौपाने, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेललाई देउवा बसेको होटल सिराइचुलीमा बोलाएका थिए ।

‘हामी बोलाइएको समयमै होटल पुग्यौं, पौडेलजीले उम्मेदवारी फिर्ता लिन नमिले पनि निष्क्रिय रहन आग्रह गर्नुभयो,’ पूर्वसांसद श्रेष्ठले भने, ‘मुलुक संकटमा परेकाले गठबन्धन गर्नुपरेको भन्दै रेनुजीलाई सहयोग गर्न भन्नुभयो तर हामीले अब सम्भव छैन भन्यौं ।’ श्रेष्ठका अनुसार जगन्नाथले बरु रेनुको उम्मेदवारी फिर्ता गर्ने वातावरण मिलाउन भनेका थिए । रामचन्द्रले केहीबेर पर्खेर प्रधानमन्त्रीसँग भेट्न आग्रह गरेका थिए तर सोही समयमा ज्योतिनगरमा चुनावी सभा तय भएकाले आफूहरू हिँडेको श्रेष्ठले बताए । कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार पौडेलसँगको कुराकानी सकारात्मक भइदिएको भए स्वतन्त्र समूहलाई देउवासँग भेट गराउने तयारी थियो ।

कोइरालाबिना चुनावी सभा
सभामा कांग्रेस नेता शेखर कोइरालाका साथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएनन् । कांग्रेसले तीन दिनअघि सार्वजनिक गरेको देशव्यापी चुनावी सभाको तालिकामा भने भरतपुरमा थापा र शर्मा वक्ताका रूपमा जाने उल्लेख थियो । तालिकामा नेता कोइरालाको नाम नभए पनि भरतपुरको चुनावी सभाको ब्यानरमा उनको फोटोसहित प्रचार गरिएको थियो । कार्यक्रममा शेखर समूहका केन्द्रीय सदस्य दिनेश कोइराला उपस्थित थिए तर उनले बोलेनन् ।

प्रकाशित : वैशाख २३, २०७९ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?