२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०९
विप्लवको विस्फोट

३२ महिनापछि छोटु ठाकुरको हातमा कैंची

दुई वर्षभन्दा लामो सास्ती र छटपटीपछि केही महिनापहिले छोटुले मैजुबहालमा १४ हजार रूपैयाँ भाडा तिर्ने गरी नयाँ सैलुन खोलेका छन्, साढे तीन लाख खर्चेर सैलुनमा कुर्सी टेबल, ऐना र अन्य सरसामान जोडेका छन्
जनकराज सापकोटा

काठमाडौँ — छोटु ठाकुर करिब तीन वर्षअघिको त्यो समय सम्झिन चाहँदैनन् । नसम्झिएर पनि उनलाई सुख छैन । जब वर्षौं लामो औषधि उपचार र महिनौंको थेरापीपछि पनि पूर्ववत् अवस्थामा नफर्किसकेको हात र बूढीऔंला सम्झिन्छन्, जब भाँचिएका तीन करङ बेलाबखत चस्किएझैं हुन्छ तब उनलाई २०७६ जेठ १२ को घटना सम्झना ताजा भइहाल्छ । त्यो दिन सिंगो काठमाडौं चैनमा थिएन । भयको बाक्लो तुवाँलोले छोपिएजस्तो भएको थियो । 

३२ महिनापछि छोटु ठाकुरको हातमा कैंची

सरकारले २०७५ फागुन २८ मा नेत्रविक्रम चन्द नेतृत्वको समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो । त्यसलगत्तै सरकारले उक्त समूहका नेता–कार्यकर्तामाथि निगरानी बढाउन, सार्वजनिक रूपमा कार्यक्रम गर्न नदिन सुरक्षा निकायलाई परिचालित मात्रै गरेन, देशैभरि पक्राउ र धरपकडलाई पनि तीव्र बनायो । यही पृष्ठभूमिमा आफ्नो शक्ति देखाउन विप्लव समूहले सुकेधारा, अनामनगर र थानकोटमा एकै दिन तीन विस्फोट गराएको थियो ।

एकपछि अर्को गर्दै भएका विस्फोटमध्ये एउटा जीवलाल भनिने छोटुको सुकेधारास्थित सैलुनभित्र भएको थियो । ५० वर्षीय छोटुले त्यस दिन झन्डै ३ बजे मात्रै खाना खाने फुर्सद पाएका थिए । प्लाईले बारेको सैलुनभित्रको कोठाबाट खाना खाएर बाहिर निस्कँदा कुर्सीमा तीन जना बसिरहेका थिए । लगत्तै ठूलो स्वरमा विस्फोटको आवाज आयो । उनी घटनास्थलमै बेहोस भए । विप्लव समूहका दुई जनाको घटनास्थलमै र अर्का एकको चाबहिलस्थित ओम अस्पतालमा मृत्यु भयो ।

महोत्तरी मूल घर भएका छोटुको कोखा, दायाँ खुट्टाको गोलीगाँठो, दायाँ करङ र दायाँ कुहिनोमा गम्भीर चोट लाग्यो । त्यसपछिका चार महिना उनले उपचारका क्रममा ट्रमा सेन्टरमा बिताए । जेनतेन उभिन सक्ने हालतमा जब अस्पतालबाट डिस्चार्ज भए तब उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेर १४ दिनसम्म थुनामा राख्यो । कपाल काटेर जीवनयापन गरिरहेका मामुली नाई छोटु राज्यको आँखामा गम्भीर अपराधका मतियारजस्ता भए । उनीमाथि महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त महाराजगन्जले छोटुमाथि छुट्टाछुट्टै अनुसन्धान गरेका थिए । जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध राजद्रोह आरोपमा संगठित आपराधिक समूहमा आबद्ध भई विस्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा चल्यो । तर महिनौं लामो प्रहरी अनुसन्धानले न उनी विप्लव समूहमा आबद्ध भएको पुष्टि गर्‍यो न त विस्फोटको घटनामै उनको संग्लनता देखायो । अदालतले पनि उनीमाथिको आरोप पुष्टि गरेन ।

घटनाको २० महिनापछि २०७७ फागुन २० मा विप्लव समूह सरकारसँग सहमति गरेर मूलधारको राजनीतिमा फर्कियो तर आफ्नै पौरखको भरमा जीवन चलाइरहेका छोटुको जिन्दगी भने तहसनहस भयो । थुनाबाट मुक्त भएपछि उनको बस्ने डेरा पनि थिएन किनकि सैलुनकै एकछेउमा बेरबार पारेर उनी बस्दै आएका थिए । विस्फोटले झन्डै ८ लाख रुपैयाँ लगानीमा बनाएको उनको सैलुन नामोनिसान नरहने गरेर ध्वस्त भएको थियो ।

कम्तीमा पनि मासिक २५ देखि ३० हजार रुपैयाँ कमाउने छोटु सडकमा आइपुगे । उनको कुममा डाक्टरहरूले रड राखिदिएका थिए । हात राम्ररी चल्थेन । नियमित औषधिको खर्चको भार त उनीमाथि थपिएको थियो नै, उपचारमा लागेको ५ लाखभन्दा धेरै कर्जा पनि उनको थाप्लोमाथि थियो । उनी कहिले मनकारीको सहयोगमा गाँस जुटाउँथे, कहिले नाई संगठनका पदाधिकारीको सहयोगमा औषधिमूलोको खर्च धान्थे । २ वर्ष ७ महिना त उनले गौशालाको एक सामान्य लजको सामूहिक कोठामा आउने–जाने सयौं सेवाग्राहीसँग बिताए । यसबीचमा उनले भोगेको सास्ती र हैरानीको हिसाब उनी अझै गर्न सक्दैनन् । छोटुले सुनाए, ‘राम्रोसँग सैलुन चलेको थियो । दुई–चार पैसाको दुःख थिएन तर विस्फोटपछि भात खान पनि अरूलाई गुहार्नुपर्ने अवस्थामा पुगें ।’

उनले चिने–जानेका साथीभाइको सैलुनमा काम गर्न खोजे तर बूढीऔंला राम्ररी चल्दैनथ्यो । दाह्री मिलाउने र खौरिनेजस्ता सामान्य काम गरेर हात पर्ने एकाध सय उनलाई छाक टार्न पर्याप्त हुन्थेन । यही बीचमा एक मनकारीले उनलाई नङकट, बाला, औंठीजस्ता सामान दिएर सडकपेटीमा बसेर व्यापार गर्न सहयोग गरे तर प्रत्येक दिनजसो नगर प्रहरीले लखेट्ने गरेपछि उनको व्यापार सपना पनि तुहियो ।

बेलाबखत सञ्चारमाध्यममा उनका दुःखबारे समाचार आइरहन्थे । नेपाल नाई ट्रेड युनियनको पहल र छोटु आफैंको कुदाकुदपछि घटनाको डेढ वर्षपछि गृह मन्त्रालयले उनलाई २ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति दियो । त्यो रकम उनले उपचारमा लागेको कर्जा तिर्न खर्च गरे । बचेको केही हजार लिएर उनका छोरा यूएई उडे तर भनेजस्तो काम र तलब नभएपछि उनी एक वर्ष नपुग्दै घर फर्किए ।

केही महिनाअघि लजमा बसिरहेका बेला विप्लव समूहका एक जना उनलाई भेटन आए । आफूहरूको क्रान्तिका कारण दुःख पाएको बताए । त्यसपछिका दिनमा विप्लव समूहका ती कार्यकर्ताले तीन पटक गरेर ९९ हजार रुपैयाँ उनलाई थमाइदिए । छोटुले सुनाए, ‘सबै गरेर मेरो १५ लाख रुपैयाँभन्दा धेरै क्षति भयो । शरीर थिलथिलो भयो तर मैले सरकार र विप्लव समूहले दिएको रकमलाई न्याय मान्नुपर्ने भयो ।’

छोटु हात मात्रै राम्ररी चल्न थाल्नेबित्तिकै फेरि सैलुन खोल्ने ताकमा थिए । आफ्नै कमाइको भरमा बाँच्नुको आनन्द र आत्मविश्वासबारे उनी भलिभाँती जानकार थिए । उनले चिने–जानेका र आफन्त सबैसँग हारगुहार लगाइरहेका थिए । दुई वर्षभन्दा लामो सास्ती र छटपटीपछि केही महिनापहिले उनले मैजुबहालमा १४ हजार रुपैयाँ भाडा तिर्ने गरी खाली सटर भेटे । सबैसँग कर्जा काढेर, साढे तीन लाख खर्चेर सैलुनमा कुर्सी टेबल, ऐना र अन्य सरसामान जोडे । छोटुले सुनाए, ‘विस्फोटपछि मेरो सैलुनको सबै सामान क–कसले लगे–लगे, न राज्यले त्यसको जतन गरिदियो न अरू कसैले ।’

अहिलेको नयाँ सैलुनमा छोटुले आफैंले अर्डर दिएर दुईवटा घुम्ने कुर्सी हालेका छन् । एकातिर बडेमानको ऐना राखेका छन् । उनले सुनाए, ‘पहिलेको सैलुनमा त चारवटा ऐना थिए । २७ हजार रुपैयाँ पर्ने लचकदार हाइड्रोलिक कुर्सी थिए ।’ पुरानो सैलुनमा वर्षौंको मिहिनेतले जोडेका प्रत्येक सामानको याद छोटुलाई अहिले पनि आउँछ । उनले सुनाए, ‘प्रत्येक दिनको थोपा–थोपा कमाइ जोडेर केही न केही सामान थप्दै गएको छु ।’

क्रान्ति गरेर दुनियाँ बदल्ने भन्दै हिंसात्मक राजनीतिको बाटोमा हिँडेको शक्तिले राज्यसँग प्रतिशोध लिन भन्दै गरेको विस्फोट छोटुको जिन्दगीमा कसरी आएर बज्रियो भन्ने बुझ्न गरिखाने वर्गका छोटुको जिन्दगी काफी छ । उनको बदलिएको जिन्दगी नै यसको प्रमाण हो । उनलाई क्रान्ति गरेर दुनियाँ बदल्छु भन्नेसँग, दमनकै भरमा विद्रोह नियन्त्रण गर्छु भन्ने राज्यसँग उत्तिकै रोष छ । त्योभन्दा धेरै रिस उनको मनमा आफूले मतदान दिएका माओवादी नेता गिरिराजमणि पोखरेलप्रति छ । उनले भने, ‘विस्फोटको दसौं दिन अस्पतालमा आएर भेटेका थिए । नआत्तिनुस् हामी छौं भनेका थिए तर त्यसपछिका दिन उनी फर्केर आएनन् । म सडकमा भिख मागेर खाने दिन हुँदा पनि उनले सम्झेनन् ।’

छोटु लय बिथोलिएको दिनबाट बिस्तारै लय भएको पुरानै दैनिकीमा फर्किन संघर्ष गर्दै छन् । सुत्नका लागि सस्तो लज चहार्नुपर्ने उनी हिजोआज सैलुनको सटर तानेर त्यहीभित्रको लामो बेन्चमा सुत्न थालेका छन् । उनीसँग एक मनकारीले दिएको एक थान ग्यास सिलिन्डर छ । ग्यास चुलो किनेका छन् । केही दिनमा भाँडाकुँडा किनेर सैलुनभित्रै पकाएर खाने उनको धोको छ । त्योभन्दा ठूलो कुरा उनलाई कुममा राखिएको रड निकाल्न अस्पतालमा लाग्ने खर्च जुटाउनु छ । उनले सुनाए, ‘मासिक ४ हजार ५ सय रुपैयाँको त दबाई मात्रै खान्छु । खर्चबाट पैसा उब्रियो भने आफैं सामलतामल किनेर पकाएर खान मन छ । सधैं होटलमा खाँदा मेरो स्वास्थ्यलाई पनि त राम्रो गर्दैन ।’

प्रकाशित : चैत्र २५, २०७८ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×