चन्द समूहले गराएको विस्फोटमा घाइते छोटु भन्छन्- ‘गरिखानेको जिन्दगी बर्बाद बनाए’

राजनीतिसँग सरोकार नराख्ने छोटुको सैलुनमा विस्फोट गराउने चन्द समूह सरकारसँग वार्ता गरीवरी नयाँ राजनीतिक यात्रामा निस्किसकेको छ । संयोगले बाँचेका छोटु भने थलिएको जीउ बोकेर अदालत र अस्पताल धाउन बाध्य छन् ।
जनकराज सापकोटा

काठमाडौँ — गौशालाछेउको आनन्दलोक लजमा जीवकुमार ठाकुर ‘छोटु’ बस्न थालेको ६ महिनाभन्दा बढी भइसक्यो । २०७६ जेठ १२ गतेको घटना नभएको भए उनी सायदै भाडाको लजमा बस्नुपर्थ्यो । त्यो दिन काठमाडौंको शान्तिनगरस्थित एक डेरामा र सुकेधारास्थित छोटु ठाकुरको सैलुनमा नेत्रविक्रम चन्द नेतृत्वको समूहले ठूलो विस्फोट गराएको थियो ।

चन्द समूहले गराएको विस्फोटमा घाइते छोटु भन्छन्- ‘गरिखानेको जिन्दगी बर्बाद बनाए’

यिनै चन्दले गत बिहीबार सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीति बाटो तय गरे । उनकै समूहले गराएको विस्फोटमा परेपछि राजनीतिसँग कुनै साइनो नभएका छोटु ठाकुरको जिन्दगी भने दुःखको खाडलमा जाकियो ।

बिहीबार लजमा पुग्दा छोटु पेट दोब्राएझैं गरी मलिन अनुहार पारेर बसिरहेका थिए । रातभर पखाला चलेपछि थकित बनेका उनले आफ्नो सैलुनमा विस्फोट गराउने चन्द समूहले सरकारसँग वार्ता गरेको खबर पनि पाएका रहेनछन् ।

विस्फोटपछि दायाँ करङ, दायाँ खुट्टाको गोलीगाँठो र दाहिने हातको कुहिनामा गम्भीर चोट लागेका छोटु उपचारका क्रममा चार महिना ट्रमा सेन्टर बसे । जेनतेन उभिन सक्ने भएपछि डिस्चार्ज त भए तर प्रहरीको नियमित निगरानीमा रहेका उनलाई राज्य विप्लवको अभियोगमा प्रहरीले पक्राउ गर्‍यो । महानगरीय प्रहरी वृत्त महाराजगन्जमा १४ दिन थुनामा बसेपछि उनी साधारण तारिखमा छुटे ।

सैलुनको कमाइको भरमा गरिखाने छोटु त्यतिन्जेलसम्म सडकमा आइपुगिसकेका थिए । उपचारको ऋण पनि उनको थाप्लोमा परिसकेको थियो । ‘बीचमा प्लाईले बारेर सैलुनभित्रै सुत्थें । विस्फोटपछि सबै सामान कता पुग्यो पुग्यो,’ उनले सुनाए, ‘त्यसपछि त रात कटाउने ठाउँ पनि खोज्दै हिँड्नुपर्‍यो ।’ करिब ८ लाख रुपैयाँ खर्चिएर तयार पारेको सैलुनको संरचना र सामान चार महिना अस्पताल बसेर फर्किंदा केही पनि बाँकी नरहेको उनको भनाइ छ । ‘ऐना र र्‍याक त विस्फोटमा तोडफोड भयो । तर घुम्ने कुर्सी र अरू सामान क–कसले लग्यो मैले थाहा पाइनँ,’ उनले भने ।

अस्पतालबाट निस्केपछि पक्राउ परेका छोटुको चन्द समूहसँग सम्पर्क र सम्बन्ध भएको आशंकामा प्रहरीले उनको कल डिटेल संकलनदेखि निकट सम्पर्कमा रहेकासँग बयानसमेत लिएको थियो । त्यतिबेला उनीसहित पक्राउ परेकामाथि महानगरीय प्रहरी कार्यालय र महानगरीय प्रहरी वृत्त महाराजगन्जले समेत छुट्टाछुट्टै अनुसन्धान गरेको थियो । महानगरीय प्रहरी कार्यालयमा रहेर घटनाको अनुसन्धानमा रहेका एक प्रहरी अधिकारीले छोटुको कुनै राजनीतिक संलग्नता नदेखिएको पुष्टि भएको कान्तिपुरलाई बताए । ‘कल डिटेल र बयानबाट मात्रै होइन, पक्राउ परेका विप्लवकै अन्य कार्यकर्ताले पनि उनलाई नचिनेको देखियो,’ उनले भने, ‘बम बोकेर कतै जाँदै गर्दा कार्यकर्ताहरू सैलुन छिरेका बेला विस्फोट भएको रहेछ ।’

महाराजगन्जबाट छुटेपछि छोटु कहिले आश्रममा त कहिले नाई संगठनको अफिसमा सुते । अनेकतिर भौतारिएपछि गौशालाको आनन्दलोक लज पुगे, रातको एक सय तिर्नेगरी । कोरोना संक्रमणका बेला केही महिना महोत्तरीस्थित गाउँ फर्किएका उनी दुई महिनायता आनन्दलोकमै आइपुगेका छन् । उनले भने, ‘नियमित उपचार गराउन र केही काम पाइएला कि भनेर लजमा बस्न थालेको हुँ ।’ यतिबेला छोटुलाई अरू कुराको भन्दा प्रहरीले बरामद गरेर अदालतमा बुझाएको पैसा र सरसामानको चिन्ता छ ।

घटनाको दिन उनी सदाझैं काममा जुटेका थिए । बिहानैदेखि कपाल काट्नेको भीड थियो । आठ वर्षको उमेरदेखि कपाल काट्ने पेसामा लागेका ५० वर्षीय छोटुले दिउँसो ३ बजेतिर मात्रै खान खाने फुर्सद पाएका थिए । खाना खाएर फर्किंदा उनले सैलुनमा तीन जना केटा देखे । उनी भित्रमात्रै के छिरेका थिए, कानको जाली फुट्ने गरी विस्फोटको आवाज आयो । एकैछिनमा उनी उछिट्टिएर सैलुनबाहिर पुगे । त्यसपछि उनी बेहोस भए । दुई जनाको घटनास्थलमै र दुई जनाको चाबहिलको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

विस्फोटको दिनसम्म पनि छोटुलाई चन्द समूहबारे थाहा थिएन । राजनीतिमा सामान्य पनि चासो नराख्ने उनी सैलुनको कमाइले काठमाडौंमै रहेकी छोरीको खर्च र घरमा रहेका छोरा र श्रीमतीको व्यवहार चलाइरहेका थिए । आफू घाइते भएपछि उनले अनेकतिर ऋणधन गरेर उपचार खर्च जुटाए । स्वास्थ्य मन्त्रालयले उपचारमा सहुलियत दिए पनि अनेक परीक्षण र औषधिको खर्चले ऋणमा डुबे । ‘८ लाखको सैलुन माटोमा मिल्यो,’ उनी भन्छन्, ‘उपचार र खाँदा बस्दा ४/५ लाख ऋण पुग्यो ।’

विस्फोटपछि प्रहरीले आफ्नो मोबाइल, १५/१६ हजार नगद, नातिनीलाई किनिदिएको सुनको नथिया प्रहरीले प्रमाण हुन सक्ने भन्दै जफत गरेको उनले बताए । प्रहरीले उक्त सामान काठमाडौं जिल्ला अदालतमा बुझाएको उनले सुनेका थिए । आइतबार जिल्ला अदालतको २ नम्बर फाँटमा पुगेर फर्केपछि उनले भने, ‘१५/१६ चोटि अदालत धाइसकें । मेरो सामान कहिले दिने हुन् ?’

काठमाडौंका दुई ठाउँमा ज्यानै जाने गरी भएको विस्फोटपछि गत वर्षको असोजमा प्रहरीले काठमाडौं जिल्ला अदालतमा राजद्रोहको आरोपमा संगठित आपराधिक समूहमा आबद्ध भई विस्फोटक पदार्थसम्बन्धी कसुर गरेको अभियोगमा इमान सिंह भन्ने नेत्रविक्रम चन्द (विप्लव), काठमाडौंका माइला लामा, हरिबहादुर खड्का, सुरेन्द्र महर्जन, भीमढुंगाका माइला लामालाई प्रतिवादी बनाएर अदालतमा अभियोग पेस गरेको थियो । अदालतका अनुसार उक्त मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ । प्रतिवादीका रूपमा छोटुको नाम नभए पनि विस्फोटपछि बरामद सामानलाई प्रहरीले दसी प्रमाणका रूपमा अदालतमा पेस गरेको बुझिन्छ । छोटुले सुनाए, ‘म काम गरिखानेको जिन्दगी पनि बर्बाद बनाए । मेरो सामान फिर्ता पनि दिँदैनन् । किन हो मैले बुझेको छैन ।’

उपचारपछि उनको हातमा डाक्टरहरूले स्टिल राखिदिएका छन् । सजिलोसँग हात चल्न अझै ५/७ महिना लाग्छ । उनले भने, ‘प्रहरीले लगेको पैसा र अरू सामान दिए पनि मलाई औषधि किनेर खान हुन्थ्यो । हातमात्रै राम्रोसँग चल्ने भए काम गरेर खान सक्थें । अहिले त मागेर खानुपर्ने हालतमा पुगेको छु ।’ गत चैतमा उनलाई गृह मन्त्रालयले २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएको थियो । सबै औषधि उपचार गर्दा लागेको ऋण तिर्दैमा सकियो । ‘२० महिनाभन्दा बढी भइसक्यो । अरूसँग सापट मागेर खाइरहेको छु,’ उनले भने ।

राजनीतिसँग सरोकार नराख्ने छोटुको सैलुनमा विस्फोट गराउने चन्द समूह सरकारसँग वार्ता गरीवरी नयाँ राजनीतिक यात्रामा निस्किसकेको छ । उसका नेता–कार्यकर्ता थुनामुक्त भइरहेका छन् । तर गरिखाने छोटु भने विस्फोटपछि थलिएको जीउ बोकेर अदालत र अस्पतालमा धाउन बाध्य छन् । उनी भन्छन्, ‘अरू मलाई केही पत्ता छैन । मेरो हातमात्रै चल्थ्यो भने दुनियाँसँग हात पसारेर खानु पर्थेन ।’

प्रकाशित : फाल्गुन २६, २०७७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?