२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६
कांग्रेस–भाजपा सम्बन्ध

बालुवाटारको ‘राखी कूटनीति’ देखि दिल्ली मुख्यालयसम्म

प्रधानमन्त्री पत्नी राणाले घरबाट व्यक्तिगत तहबाट सुरुआत गरेको कांग्रेस र भाजपाबीचको ‘राखी कूटनीति’ लाई देउवाले भारत भ्रमणको दौरानमा नयाँ दिल्लीमा रहेको भाजपाको मुख्यालयमा छिरेर संस्थागत गर्न लागेका छन् ।
जगदीश्वर पाण्डे

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा पाँचौ पटक सपथ लिएको एक महिना मात्र पुगेको थियो,प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले टुप्लुक्क आइपुगे ।

बालुवाटारको ‘राखी कूटनीति’ देखि दिल्ली मुख्यालयसम्म

व्यक्तिगत र पार्टीस्तरमा सम्बन्ध बिस्तार गर्न मोदीका ‘विशेष दूत’ का हैसियतमा चौथाइवाले ५ दिने भ्रमणमा काठमाडौं आएका थिए । उनको आगमनले संविधान जारीपछि भारतले लगाएको अघोषित नाकाबन्दी र त्यसपछि नक्सा प्रकरणले दुई मुलुकबीच पार्टीहरुबीच नै पनि चिसिएको सम्बन्धलाई सुधार्न देउवालाई भारतका प्रधानमन्त्री मोदी र मोदीलाई नेपालका प्रधानमन्त्री देउवाको साथ छ कि भन्ने देखिएको थियो ।

चौथाइवालेको भ्रमणका दौरान दुई पार्टीको संस्थागत सम्बन्धलाई अघि बढाउन देउवा पत्नी आरजु राणा देउवाले हिन्दु संस्कृतिको सदुपयोग गरिन् ।

चौथाइवाले गत भदौ ६ मा रक्षा बन्धनको बेलुकी बालुवाटार छिरेका थिए । चौथाइवाले आउने थाहा पाएपछि राणा 'राखी' लिएर स्वागत गर्न बसिन् । राणाले चौथाइवालेसँग रहेको दुई मुलुकका फरक पार्टीका नेताहरु बीचको सम्बन्धलाई एकाएक ‘भाई–बेहेन’, 'दिदी–भाई' मा परिणत गरिदिइन् । त्यसलाई राणाको ‘राखी कूटनीति’ समेत भनियो ।

प्रधानमन्त्री पत्नी राणाले घरबाट व्यक्तिगत तहबाट सुरुआत गरेको कांग्रेस र भाजपाबीचको ‘राखी कुटनीति’ लाई देउवाले भारत भ्रमणको दौरानमा नयाँ दिल्लीमा रहेको भाजपाको मुख्यालयमा छिरेर संस्थागत गर्न लागेका छन् ।

किनकी नेपालमा नयाँ दिल्लीमा भ्रमण गर्ने नेपाली प्रधानमन्त्रीहरुले आफ्नो राजकीय होस् या औपचारिक भ्रमणमा देउवाले शुक्रबार गरे जस्तो भारतीय पार्टीहरुको कार्यालय छिरेका छैनन् । भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भाजपाको कार्यालय पुगेका प्रधानमन्त्री देउवाले कांग्रेस–भाजपाको सम्बन्धलाई थप बढावा दिन खोजेको प्रष्ट अनुमान गर्न सकिन्छ ।

भारतका लागि नेपालका पूर्व राजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्याय कांग्रेस र भाजपा बीचमा सम्बन्ध विस्तार गर्नु स्वाभाविक रहेको मान्छन् । ‘भाजपासँग मात्र होइन, नेपाली कांग्रेसले भारतका अन्य पार्टीहरुसँग पनि आफ्नो सम्बन्धलाई सुमधुर बनाउनु पर्छ,’ उपाध्यायले टिप्पणी गरे,‘तर यस अघिसम्म नेपालबाट प्रधानमन्त्रीहरु भारतमा जादा उहाँलाई भेट्न चाहने भारतीय पार्टीका नेताहरु उहाँ बसेकै स्थानमा आउथें र हामीले भेटाउने काम गथ्र्यौं । यस पटक त हाम्रै प्रधानमन्त्री भाजपाको मुख्यालयमा जानु भएछ । यसलाई अध्ययन गर्नु पर्छ । किनकी प्रधानमन्त्री भनेको प्रधानमन्त्री नै हो । पार्टीका नेताहरु भ्रमणमा गए जस्तो होइन ।’

सन् २०१४ देखिमात्र नयाँ दिल्लीमा बलियो केन्द्रीय पार्टीको रुपमा उदाएको भाजपा र नेपाली कांग्रेस बीचमा सुमधुर सम्बन्ध थिएन । किनकी नेपाली कांग्रेस र भारतीय कंग्रेसको त्यस अघि अन्तरपार्टी सम्बन्ध थियो । तर भाजपासँग कांग्रेसले खासै सम्बन्ध स्थापित गर्न सकेको थिएन । त्यस अघि भाजपाले पटक–पटक दिल्लीमा सरकार निर्माण गरे पनि भारतीय राष्ट्रिय कंग्रेस नै भारतीय राजनीतिको संस्थापन पार्टी थियो ।

सन् १९२५ मा स्थापना भएको राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) परिवारको सदस्यको रुपमा सन् १९५१ म ‘जनसंघ’ जन्मियो । त्यहिँबाट दुई चर्चित नेताहरु लालकृष्ण आडवाणी पछि भाजपाको अध्यक्ष भए, अटल विहारी बाजपेयी प्रधानमन्त्री बन्न सफल भए ।

सन् १९७७ मा इन्दिरा गान्धीले संकटकाल लगाएपछि जनसंघ पनि अन्य पार्टीहरुसँग मिलेर जनता पार्टी बन्यो । सन् १९८० मा जनता पार्टीबाट पूर्व जन संघका सदस्यहरु निस्किए र नयाँ पार्टीको रुपमा भाजपा बन्यो ।

सन् १९८४ को आम निर्वाचनमा भाजपाले मुलुकभरबाट जम्मा दुई सिटमात्र जितेको थियो । त्यसपछि रामजन्मभूमि अयोध्यालाई आफ्नो राजनीतिक एजेन्डा बनाएर अघि बढेको बीजेपी सन् १९९६ मा आइपुग्दा भारतको राष्ट्रिय कंग्रेसपछि दोस्रो ठूलो पार्टी बन्न सफल भयो । त्यस बेला भाजपाले केन्द्रमा १३ दिने सरकार पनि बनायो ।

सन् १९९८ मा भने बाजपेयीको नेतृत्वमा भाजपाले राष्ट्रिय प्रजातान्त्रिक समूहसँग मिलेर एक वर्ष सरकार नै चलायो । भाजपाको स्थापनाकालदेखि सन् २०१४ सम्म हेर्दा भारतको बलियो शक्तिको रुपमा उदाइसकेको थिएन ।

तर जब मोदीको नेतृत्वमा केन्द्रमा बहुमतको सरकार नै बन्न सफल भयो । र, दोस्रो पटक पनि बहुमत ल्याएर भाजपाले नै मोदीकै नेतृत्वमा सरकार चलाइरहेका छन् । यसले के स्पष्ट पार्‍यो भने अब भारतको संस्थापन पार्टी भाजपा बन्न पुग्यो । उक्त कुरालाई दोस्रो पटक नेपाली कांग्रेसका सभापति बनेका र पाँचौ पटक प्रधानमन्त्री भएका देउवाले राम्ररी बुझेर भाजपासँगको निकटतालाई अघि बढाउन लागे ।

पछिल्ला वर्षहरुमा भारत स्वतन्त्र भएपछि एकछत्र राज रहेको भारतीय राष्ट्रिय कंग्रेस कमजोर भइरहेको छ भने भाजपा झन्–झन् बलियो हुँदै आइरहेको छ । भाजपा भारतका विभिन्न राज्यहरुमा आफ्नो विस्तारलाई अघि बढाउँदै छ । तर कंग्रेस एकपछि अर्को गर्दै केन्द्रदेखि राज्यहरुमा पनि आफ्नो उपस्थिती गुमाइरहेको छ ।

त्यहि अवस्थालाई हेर्दा पनि नेपाली कांग्रेसले पुरानो साथी भारतीय कंग्रेसलाई छाडेर भाजपातिर हात अघि बढाएको जस्तो पनि देखिन्छ ।

लामो समय भारतमा बसेर पत्रकारिता गरेका वरिष्ठ पत्रकार युवराज घिमिरे भारतमा अब कंग्रेस संस्थापन दल नभएको कारणले पनि नेपाली कांग्रेसले भाजपातिर आफ्नो सम्बन्ध अघि बढाउन खोजेको मान्छन् ।

‘यसअघि निर्वाचनमा तलमाथि हुँदा पनि भारतीय कंग्रेस स्थापित दलकै रुपमा मानिन्थ्यो । तर अहिले कमजोर भएको छ । नेपाली कांग्रेसले भारतको स्थापित दल कंग्रेससँगै अन्य समाजवादी दलहरु, जयप्रकाश नारायणको नेतृत्वमा लगायतसँग थियो । अहिले भारतमा समाजवादी पार्टीहरु विखन्डनको प्रक्रियामा छन्,’ उनले भने । उनका अनुसार भाजपासँग नेपाली कांग्रेसको कुनै सैद्धान्तिक निकटता नरहे पनि अब भारतको संस्थापन दल भाजपा नै भएको वा हुने प्रक्रियामा रहेको छ । ‘भाजपा सैद्धान्तिक रुपमा नेपालका कम्युनिष्टसँग नजिक हुन सक्दैन । त्यसैले कांग्रेस र भाजपा नजिक हुनु एकअर्काको बाध्यता हो,’ घिमिरेले भने,‘यी दुई दल नजिक हुनुमा अलिकति चाहिँ प्रतिक्रियात्मक शैली पनि छ । त्यो के हो भने चीनले विगत चार वर्ष नेपालका कम्युनिष्टहरुसँग नजिक भएर सम्बन्धलाई सँगै अघि बढायो । त्यस बेला चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले नेपाली कांग्रेससँग सहकार्य गरेन । त्यसले पनि नेपाली कांग्रेस र भाजपालाई नजिक ल्याउने काम गर्‍यो ।’

पत्रकार घिमिरे नेपाली कांग्रेस र भाजपा नजिक हुनुु गलत नभएको मान्छन् । तर एउटै जस्तो हुनुचाहि ठिक नहुने उनको तर्क छ ।

‘गल्ली कहाँ हुन्छ भने नेपाल र अर्को मुलुकको पार्टीभन्दा फरक हुनु पर्छ भन्दा पनि विगतमा सीपीसीले नेपालका कम्युनिष्ट पार्टीहरुसंँग जसरी एउटै पार्टीको बिस्तारित रुपको जस्तै गरि ‘सी पथ’ लाई अघि बढाएर छलफल गर्ने काम गर्‍यो, त्यहि कुरालाई निरन्तरता दिएर सभापति देउवाले नेपाली कांग्रेसलाई भाजपाको बिस्तारित रुप नबनाउनु भन्ने हो,’ उनले भने,‘भारत भ्रमणमा जाँदा देउवाले प्रतिपक्ष दलका नेताहरुलाई भेट्ने कार्यक्रम छैन । उनी भाजपाको कार्यालय गए । उनले के बुझ्नु पर्छ भने उनको पार्टी फरक हो, भाजपाको विस्तारित रुप होइन । कम्युनिष्टहरुले गरेको गल्ती देउवाले दोहोर्‍याउन हुन्न ।’

देउवाले आफू सत्तामा आएपछि १४ औं महाधिवेशनको तयारी स्वरुप मुलुकको सत्तारुढ पार्टी बीचको सम्बन्धलाई बिस्तार गर्न असोज २१ देखि २५ सम्म पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा उदय शम्शेर राणा र अजय कुमार चौरसियाको तीन सदस्यीय टोलीको भारत भ्रमण गराए । चौथाइवालेको निमन्त्रणामा गएको उक्त टोलीले नयाँ दिल्लीमा भाजपाका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुको साथै वनारसको भ्रमण समेत गरेको थियो । प्रधानमन्त्री देउवा पनि आइतबार वनारसकै काशी विश्वनाथको दर्शन गरेर नेपाल फर्कने कार्यक्रम रहेको छ । पूर्व राजदूत उपाध्याय प्रधानमन्त्री देउवाको वनारस भ्रमण पनि भाजपासँग नजिक बन्नको लागि सांकेतिक रुपमा रहेको मान्छन् ।

‘मैले भाजपाका साथीहरुलाई सँधै भनेको कुरा चाहिँ के हो भने नेपालको संविधान बन्दा धर्म–संस्कृतिलाई संरक्षण गर्ने भनेको छ । जस्तै, हिन्दुधर्म संरक्षण नै गर्ने हो । हाम्रोमा करिब ८० प्रतिशत हिन्दु छन् । हाम्रोमा धर्मनान्तरण गर्न पाइदैन, कानुनले दण्डनीय भनेकै छ । गाई हाम्रो राष्ट्रिय जनावर छ, त्यसलाई गाई वध र बिक्रि कानुन अनुसार दण्डनीय छ भनेकै छ,’ उनले भने,‘तर भारतले आफ्नो मुलुक र भाजपाकै बलियो उपस्थिती रहेको राज्य सरकारहरुमा यत्तिको कानुन लागु गर्न सकेका छैनन् ।’

उपाध्याय नेपाल र यहाँको संविधानले ग्यारेन्टी गरेको कुरामा मिलेर जाने भन्नेमा भाजपालाई स्पष्ट पार्नु पर्ने मान्छन् । ‘भारतमा नेपालमा गलत संविधान बन्यो भनेर हल्ला फैल्याइएको छ । त्यसैले हामीले हाम्रो व्यवहार र प्रस्तुतिलाई ठिक रुपमा ल्याउन आवश्यक छ भन्ने कुरामा प्रष्ट पार्नु पर्छ,’ उनले भने ।

पूर्वपरराष्ट्रमन्त्री तथा भारतका लागि पूर्व राजदूत भेखबहादुर थापा भने प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको कांग्रेस र भाजपाबीचको सम्बन्ध कसरी अघि बढ्छ भन्ने अहिले नै आकलन गर्न नसकिने मान्छन् । ‘उनीहरु बीचमा भेटवार्ता भइरहेका छन् । अहिले नै यी दुई पार्टी बीचको सम्बन्ध कसरी अघि बढ्छ भन्ने बेला आइसकेको छैन,’ उनले भने ।

प्रकाशित : चैत्र १८, २०७८ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?