कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

‘राखी कूटनीति’

सम्बन्ध सुधारेर सरकार सञ्चालनमा कुनै अप्ठ्यारो परिस्थिति आउन नदिने देउवाको रणनीति 

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग सम्बन्ध सुधार गर्ने प्रयासमा जुटेका छन् । त्यसको पछिल्लो प्रयासका रूपमा भारतीय जनता पार्टी (बीजेपी) विदेश विभाग प्रमुख विजय चौथाइवालेको चारदिने नेपाल भ्रमणलाई लिन सकिने विदेश मामिलाबारे जानकार कांग्रेस नेताहरू बताउँछन् । 

‘राखी कूटनीति’

पार्टीका सहमहामन्त्री प्रकाशरण महतको निमन्त्रणामा आइतबार नेपाल आएका चौथाइवालेले चार दिनमा राजनीतिक भेटघाट तीव्रता मात्र पारेनन्, जनैपूर्णिमाका अवसरमा प्रधानमन्त्री–पत्नी आरजु राणासँग ‘राखी’ समेत बाँध्न भ्याए । कतिपयले यसलाई सम्बन्ध सुधारका लागि ‘राखी कूटनीति’ को संज्ञा दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र चौथाइवालेलाई बालुवाटार बोलाएर आरजुले ‘राखी’ लगाइदिनुमा धार्मिक संस्कृतिसँग जोडिएका सम्बन्ध मात्रै नभई सरकार र पार्टीलाई एकैसाथ सन्देश दिन खोजिएको जानकारहरू बताउँछन् । देउवा–पत्नी आरजुले चौथाइवालेलाई राखी बाँधेर ‘रोटीबेटी’ को सम्बन्ध बलियो बनाउने सन्देश दिन खोजिएको छ ।

२०७२ असोज ३ मा संविधान जारी भएदेखि दुई देशबीच मात्र नभई व्यक्तिगत तहमा समेत देउवाको सम्बन्ध भारतीय संस्थापन पक्षसँग सुमधुर थिएन । संविधान जारी गर्नुअघि देउवा भारत भ्रमणमा जाँदा उसले राखेको चासो ‘संविधानमा प्रतिबिम्बित’ नभएपछि भारत चिढिएको थियो । संविधान जारी गर्नासाथ नाकाबन्दी गरेर भारतले तत्कालै आफ्नो असन्तुष्टिको प्रतिक्रिया दिएको थियो । केपी ओली सरकारले २०७७ जेठ ७ मा लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्ध झन् चिसिएको थियो । चुच्चे नक्सा जारी गर्दा देउवाले पार्टीको बैठक गरेर सहमति गरेका थिए ।

देउवा सरकार पनि भारतको चाहनाभन्दा बाहिरबाट बनेको जानकारहरूको बुझाइ छ । उनले संसद्बाट विश्वासको मत नलिएसम्म भारतीय प्रधानमन्त्री मोदीले बधाई नदिनुलाई पनि भारतीय असन्तुष्टिका रूपमा अर्थ्याइएको थियो ।

देउवालाई एकातर्फ सत्ता गठबन्धन दललाई मिलाएर सरकार सञ्चालन गर्नुपर्ने बाध्यता छ भने अर्कोतर्फ मंसिरमा हुने पार्टी महाधिवेशनबाट फेरि सभापति बन्ने चाहना छ । यी दुवै लक्ष्य प्राप्तिका लागि भारतसँगको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता देउवाले ठानेका छन् । देउवानिकट एक नेताका अनुसार सम्बन्ध सुधार गर्न देउवाले प्रधानमन्त्री हुनुअघिदेखि नै प्रयास नगरेका भने होइनन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेका सहमहामन्त्री सुनीलकुमार थापा र सांसद एवं व्यवसायी विनोद चौधरीमार्फत देउवाले यस्तो पहल गरेका थिए । भारतसँगको ‘कनेक्सन’ कै कारण देउवाले थापालाई पार्टीको सहमहामन्त्री दिएका थिए ।

‘त्यतिबेला जति प्रयास गरे पनि भारतसँग देउवाको सम्बन्धमा सुधार नभएको बाहिर आइरहेको थियो,’ कांग्रेसका एक नेता भन्छन्, ‘देउवा पार्टीको महाधिवेशनअघि नै भारतसँगको सम्बन्ध सुधार गर्ने मौका खोजिरहेका थिए । महाधिवेशन सार्दै यहाँसम्म ल्याउनुको एउटा महत्त्वपूर्ण कारण पनि यही थियो ।’ कांग्रेस नेता नारायण खड्काका अनुसार नयाँ सत्तासँग सम्बन्ध बढाउनु भारतले गर्दै आएको पुरानै परम्परा हो । ‘दुई देशबीचका समस्या र मुद्दामा समझदारीका साथ अघि बढ्नुपर्छ भन्ने मान्यतामा भारत रहँदै आएको छ । अहिले चौथाइवालेको नेपाल भ्रमण पनि त्यसैको निरन्तरता हुन सक्छ,’ खड्काले भने । देउवाका लागि यतिबेला सरकारभन्दा पार्टीको महाधिवेशन पहिलो प्राथमिकतामा देखिन्छ । मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइले पनि यही देखाउँछ ।

संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिको उम्मेदवारी घोषणाले देउवा तनावमा छन् । निधिले केही दिनअघि देउवालाई भेटेरै आफू उम्मेदवार भइछाड्ने बताउँदै समर्थनका लागि आग्रह गरेका थिए । पछिल्लोपटक नयाँ पार्टी समीकरणका लागि महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निधिले पहल गरिरहेका छन् । ‘हामी तीन जनाबीच को हुने भन्नेमा ठोस छलफल भएको छैन । तर १३ औं महाधिवेशनमा उम्मेदवार भएका तीनै नेता (देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला) बाट नेतृत्व बाहिर आउनुपर्छ भन्नेमा हामीबीच समझदारी छ,’ निधिले कान्तिपुरसँग भने, ‘सभापतिजीलाई छुट्टै भेटेर सरकारलाई समय दिनुहोस् । पार्टी हामीलाई छाड्नुहोस् भनेको छु ।’

अब हुने स्थानीय, प्रदेश र संसदीय निर्वाचनका लागि पनि देउवाले सरकारतिर समय दिनुपर्ने निधिको भनाइ छ । त्यसका लागि प्रधानमन्त्रीले आफ्नो ‘इमेज’ निर्माण गरेर पार्टी र मुलुककै लागि काम गर्नुपर्ने निधिको सुझाव छ । ‘सरकारको प्रभावकारिता र इमेज निर्माण भएन भने त्यसले पार्टीलाई मात्रै होइन, मुलुक र लोकतन्त्रलाई नै क्षति गर्छ । सरकारले प्रभावकारिता देखाउन सक्यो भने निर्वाचनमा पार्टीलाई जिताउन सजिलो हुन्छ ।’

देउवा भने मंसिरमा फेरि सभापति बनेर चुनावमा टिकट (उम्मेदवार) आफैं बाँड्ने र निर्वाचनपछि छैटौं पटक प्रधानमन्त्री हुने ध्याउन्नमा छन् । त्यसका लागि योजनाबद्धभन्दा रणनीतिक ‘मुभ’ मा देउवा देखिएका छन् । सरकार विस्तार हुन नसकेको, प्रतिनिधिसभा अन्त्य गरेर दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएको र स्वार्थ बाझिने गरी मन्त्री बनाएको विषयलाई लिएर भइरहेका आलोचनाप्रति देउवाको कुनै चासो छैन । तर, सरकार र पार्टीको महाधिवेशनलाई लिएर भारतले अपनाउने सक्ने भूमिकाको विषयमा भने देउवा चनाखो देखिन्छन् ।

कांग्रेस नेता खड्काले ठूला पार्टीको महाधिवेशनप्रति भारत मात्रै नभई अन्य मुलुकले पनि ध्यान दिने बताउँछन् । ‘कांग्रेसको सभापति बन्नु भनेको कुनै पनि बेला प्रधानमन्त्री हुन सक्ने व्यक्ति हो भन्ने मनोविज्ञानले काम गरेको छ । त्यस्तो व्यक्तिले कस्तो विदेश नीति अपनाउँछ भन्नेमा भारतलगायत सबै मुलुकले चासो राख्छन्,’ खड्काले भने, ‘अर्को पार्टी–टु–पार्टी सम्बन्ध विस्तारको कुरा पनि हुन्छ ।’

प्रकाशित : भाद्र ९, २०७८ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?