एमसीसी मुख्यालयले भन्यो : अनुमोदन स्वीकार, सम्झौता कार्यान्वयनको दिशातर्फ

कान्तिपुर संवाददाता

काठमाडौँ —  अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलरबराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट अनुमोदन भएको स्वीकार गर्दै अब कार्यान्वयनको दिशातिर भएको जनाएको छ ।

एमसीसी मुख्यालयले भन्यो : अनुमोदन स्वीकार, सम्झौता कार्यान्वयनको दिशातर्फ

एमसीसी मुख्यालयले मंगलबार राति विज्ञप्ति जारी गर्दै नेपालको संघीय संसद्बाट फागुन १५ गते अनुमोदन भएको एमसीसी सम्झौतालाई आफूले स्वीकार गरेको जनाएको हो ।

सम्झौतालाई लिएर नेपालमा विवाद भएपछि सत्ता गठबन्धनले १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो । नेपाल कम्प्याक्ट (सम्झौता) अनुमोदन गर्ने निर्णय एउटा सार्वभौमिक लोकतान्त्रिक राष्ट्रको रुपमा सदा नेपाल सरकारमा निहीत रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन वार्ता

अमेरिका र एमसीसी मुख्यालयले यसअघि पटक–पटक सम्झौता अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय लिने अधिकार नेपाल सरकार र सार्वभौम संसद्को रहेको उल्लेख गर्दै आएको थियो ।

सम्झौताको अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा काम जारी राख्न बाटो खुला गरेको एमसीसी मुख्यालयले जनाएको छ । ‘जसले बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले फागुन १५ मा अनुमोदन भएको केही घन्टामै विज्ञप्ति निकालेर ‘अनुमोदनले सम्झौता कार्यन्वयनको लागि बाटो खोलेको’ जनाएको थियो ।

मंगलबार राति नै एमसीसी अनुमोदनको सम्बन्धमा एमसीसी बोर्ड अध्यक्षसमेत रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गर्दै अगामी दिनमा मिलेर अघि बढ्ने बताएका थिए ।

मुख्यालयद्वारा विज्ञप्तिमा नेपालको कुन जनसंख्याको झन्डै ८० प्रतिशत (२ करोड ३० लाखभन्दा बढी) नेपालीलाई सहयोग गर्ने आशाका साथ नेपालको ऊर्जा र यातायात क्षेत्रलाई आधुनिकीकरण गर्ने आफ्नो लक्ष्य निर्धारण गरी नेपाल सरकारले २०१७ मा एमसीसी अनुदानमा हस्ताक्षर गरेको पनि जनाएको छ ।

‘यो वर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औं वर्ष हो । यी ७५ वर्षमा नेपालले अतुलनीय र अतुलनीय परिवर्तनहरू देखेको छ । एमसीसी र अमेरिकी जनता यी परिवर्तनहरूमा नेपालको साथमा उभिएका छन् र देशलाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरू र थपमा सहयोग गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ,‘नेपालसँगको संयुक्त राज्य अमेरिकाको सम्बन्ध एउटै सम्झौताभन्दा फराकिलो छ । हामी देश, यसको लोकतान्त्रिक मूल्य र दीर्घकालीन आर्थिक समृद्धिलाई समर्थन गरिरहनेछौं ।’

नेपालमा अमेरिकाले संसद्बाट व्याख्यात्मक घोषणासहितको अनुमोदनलाई के गर्छ भनेर प्रश्न भइरहदा यसअघि अमेरिकी राजदूतावास र मंगलबार राति एमसीसी मुख्यालयले अनुमोदनसँगै कार्यान्वयनको तिरतर्फ उन्मुख भएको प्रस्ट पारेको हो ।

प्रकाशित : फाल्गुन १८, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?