कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
रुस-युक्रेन तनाव

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन वार्ता 

जगदीश्वर पाण्डे

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ । नेपालको संघीय संसद्को प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले देउवासँग टेलिफोन संवाद गरेका हुन् ।

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन वार्ता 

प्रधानमन्त्री देउवाका प्रेस चिफ गोविन्द परियारका अनुसार दुई जना बीचमा मंगलबार राति कुराकानी भएको हो ।

उक्त संवादका क्रममा युक्रेनमाथि रुसको आक्रमणलाई सँगै विरोध गर्नुको साथै आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा मिलेर अघि बढ्ने प्रतिबद्धता गरिएको छ ।

विदेश मन्त्री ब्लिन्केनले रुसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको अमेरिकाको समर्थनबारे नेपालका प्रधानमन्त्री देउवासँग कुराकानी भएको आफ्नो ट्विटरमा उल्लेख गरेका छन् । साथै, विदेश मन्त्री ब्लिन्केनले दुई जनाबीचको संवादमा आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा सँगै मिलेर काम गर्न जारी राख्ने विषयमा छलफल भएको पनि प्रस्ट पारेका छन् ।

प्रधानमन्त्रीका प्रेस चिफ परियारका अनुसार दुई जनाबीचको संवादमा अमेरिकाले नेपालको आर्थिक विकासमा विगत लामो समयदेखि निरन्तर गर्दै आइरहेको सहयोगलाई लिएर प्रधानमन्त्री देउवाले विदेशमन्त्री ब्लिन्केनलाई धन्यवाद दिएका थिए । नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले अमेरिकाबाट निरन्तर सहयोग रहेको उल्लेख गरेका थिए । साथै, दुई जनाबीचको संवादमा युक्रेनमाथि रुसी आक्रमणको विपक्षमा अमेरिका र नेपाल दुवै रहेको उल्लेख गरेको परियारले जानकारी दिए ।

नेपालको ऊर्जा र सडक पूर्वाधारका लागि आएको ५०० मिलियन अमेरिकी डलर संसद्बाट फागुन १५ मा अनुमोदन भएको थियो । अनुमोदन भएलगत्तै काठमाडौंस्थित अमेरिकी राजदूतावासले अब एमसीसी सम्झौता कार्यान्वयनको चरणमा अघि बढेको जनाएको थियो ।

विगत ४ वर्षदेखि एमसीसी सम्झौता के हुने भनेर नेपालमा छलफल र बहसमात्र भइरहँदा अमेरिका असन्तुष्ट भएको थियो । रुसले युक्रेनमाथि गरिहेको आक्रमण र नेपालमा एमसीसी सम्झौता अनुमोदन भएको परिप्रेक्ष्यमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले प्रधानमन्त्री देउवासँग कुराकानी गरेका हुन् ।

यसअघि देउवा सरकारमा आएपछि गत साउन १२ मा भारत भ्रमणको दौरानमा अमेरिकी विदेश मन्त्री ब्लिन्केनले एमसीसी सम्झौता लगायत द्विपक्षीय सम्बन्धका बारेमा प्रधानमन्त्री देउवालाई दिल्लीबाट फोन गरेका थिए ।

नेपाल सरकारले फागुन १२ मै युक्रेनमाथि रुसी आक्रमणको आफ्नो स्पष्ट धारणा ल्याइसकेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालले युक्रेनमाथि रुसले गरेको सैन्य कारबाहीको विरोध गरेको थियो । रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि विज्ञप्ति जारी गर्दै कुनै पनि अवस्थामा एउटा सर्वभौम राष्ट्रविरुद्ध गरिने शक्ति प्रयोगको विपक्षमा नेपाल रहने जनाएको थियो ।

‘नेपाल कुनै पनि सार्वभौम देशको विरुद्ध कुनै पनि परिस्थितिमा गरिने शक्ति प्रयोगविरुद्धमा छ र कूटनीति र संवादको माध्यमबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ,’ विज्ञप्तिमा भनिएको थियो ।

साथै, विज्ञप्तिमा नेपाल सरकार संयुक्त राष्ट्र संघको महासन्धिविपरीत युक्रेनको दोनेत्स्क र लुहाँस्क क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिएको बताएको थियो । नेपालले बुधबार संयुक्त राष्ट्र संघमा रुसविरुद्ध भोट हालेको थियो ।

त्यस्तै, संयुक्त राष्ट्र संघका लागि न्यूर्योकस्थित नेपालका नियोग प्रमुख अमृतकुमार राईले पनि युक्रेनमाथि रुसको आक्रमणलाई लिएर नेपालको धारणा राख्दै त्यसको विरोध गरेका छन् । महासभाको आपत्कालीन सत्रलाई सम्धोन गर्दै राईले वार्तामार्फत नै दीर्घकालीन राजनीतिक समाधान खोज्न रुस र युक्रेनलाई आग्रह गरेका छन् ।

प्रकाशित : फाल्गुन १८, २०७८ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?