कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहराइनको मास्कबाट सुनसरीमा भेटिएको शवको पहिचान 

मृतककी कान्छी श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा
प्रदीप मेन्याङ्बो

सुनसरी — एकसाता अघि कोसी राजमार्गको धरान–भेडेटार सडकखण्डमा पर्ने आँपगाछी क्षेत्रको जंगलमा २ वटा जेब्रा झोलाभित्र फेला परेको शव इलामको चुलाचुली–५ लुकुवा बस्ने ४३ वर्षीय दिनेश सिग्देलको भएको खुलेको छ ।

बहराइनको मास्कबाट सुनसरीमा भेटिएको शवको पहिचान 

शवको सनाखत भएसँगै प्रहरीले मृतक सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी सिग्देल र करिब ३५ वर्षीय सरोज भण्डारीलाई पनि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ ।

मृतक सिग्देलका जेठी श्रीमती निर्मलाले श्रीमान्को मृत्यु भएको जानकारी गत सोमबार मात्र बहराइनमा कार्यरत आफन्त पर्नेबाट पाएको बताइन् । उनी दुई महिनाअघि मात्र कतारको वैदेशिक रोजगारबाट नेपाल फर्केकी थिइन् । मृतक सिग्देल भने पुस २० गते १५ दिनको बिदा मागेर बहराइनबाट सोही दिन नेपाल आएको जानकारी उक्त कम्पनीमा सँगै काम गरेका झलक गुरुङले दिएको निर्मलाले बताइन् ।

घटना विवरणअनुसार शवको टुक्रा पारिएको शरीरको अंगमध्ये पेन्टको गोजीमा च्यापिएको बहराइनस्थित कम्पनीको सेक्युरिटी गार्डले लगाउने फेसमास्कबाट सिग्देलको पहिचान भएको हो । प्रहरीले उक्त मास्क फेला पारेपछि मास्कमा बहराइनको कम्पनीको नाम र लोगोको आधारमा बहराइनमा मृतक सिग्देलको अनुहारको स्केचसहित सम्पर्क गर्न पुगेको थियो । सोही सम्पर्कको आधारमा उनीसँगै काम गरेका साथीहरुले सिग्देलको पहिचान भएको हो ।

सिग्देलकी जेठी श्रीमती निर्मलाले सोमबार आफ्नो श्रीमान्को हत्या भएको थाहा पाएपछि मंगलबार धरानस्थित इलाका प्रहरी कार्यालयमा दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएका छन् । उनले भनिन्, ‘करिब १० वर्षअघि नै दिनेशले अनिता केसी भन्ने केटीसँग विवाह गरेर विराटनगर बस्दै आएका थिए । मैले बहुविवाह मुद्दा लगाइनँ । अनिता पट्टि आठ वर्षकी छोरी पनि छिन् । चुलाचुलीमा भएको १७ कठ्ठा जमिन बेचेको रकम र बहराइनमा कमाएको रकम सबै कान्छीको हातमा थियो । तर उनी बहराइन भएको बेला यता नेपाल अनिता अर्कै युवकसँग लागेपछि सम्पतीकै कारण हत्या भएको लाग्छ ।’ निर्मलातर्फ २ छोरा र २ छोरी छन् ।

सिग्देलको शव धरान–४ स्थितको जंगलका एक किलोमिटरको दूरीमा हात खुट्टा, टाउको र शरीर टुक्राटुक्रा पारिएको अवस्थामा एकसाता अघिमात्र फोला परेको थियो । प्रहरीले गत बुधबार मृतक सिग्देलको दायाँ खुट्टा र टाउको फेला पारेको थियो भने बिहीबार बायाँ हात र शरीर फेला पारेको थियो ।

प्रहरीले भने घटनाको विस्तृत जानकारी दिएको छैन । पक्राउ परेका अनिता र भण्डारीले प्रहरीलाई उक्त घट्ना पुस २२ गते भएको बयान दिएको प्रहरी स्रोतले जनाएको छ । पुस २० गते नै काठमाडौं आएर २१ गते विराटनगरस्थित कान्छी श्रीमतीसँग भेट भएको र २२ गते स्लिपिङ ट्याब्लेट दिएर घाँटी थिचेर हत्या गरी शरीर टुक्राटुक्रा पारेको जानकारी आफूलाई प्रहरीले दिएको मृतकका एक आफन्तले कान्तिपुरलाई बताए ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा र इलाका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (डप्एसपी) नरेन्द्र कुँवरले हत्याकाण्डबारेमा अनुसन्धान गर्दै जादा केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए । एसपी थापा र डीएसपी कुँवरले पक्राउ परेकाहरुले बयान फेरिरहेकाले अनुसन्धान भइरहेको बताए । एसपी थापाले भने, ‘सम्पत्ति र युवतीकै विषयमा यस्ता हत्या हुने गरेका छन् । हामी हत्याको कारण खोजिरहेका छौं ।’

उक्त घटनाको बारेमा धरानस्थित प्रदेश १ को संघीय प्रहरी कार्यालयका अपराध अनुसन्धान शाखा, इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको थियो । शवको सनाखत हुन नसक्दा प्रहरीले अनुहारको स्केच तयार गरेर सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन १०, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?