कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानको जंगलभित्र फरक-फरक स्थानमा फेला पर्‍यो टुक्रा पारे‍र फालिएको शव

फरक फरक स्थानमा भेटिएका शवका टुक्रा एकै मानिसको हुनसक्ने प्रहरीको आशंका
प्रदीप मेन्याङ्बो

(सुनसरी) — सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको आपगाछी मोडको जंगलको बेग्लाबेग्लै ठाउँमा जेब्रा झोलामा पोको पारी फालिएको अवस्थामा मानिसको टुक्रा–टुक्रा अंग फेला परेको छ ।

धरानको जंगलभित्र फरक-फरक स्थानमा फेला पर्‍यो टुक्रा पारे‍र फालिएको शव

धरानस्थित प्रदेश १ संघीय प्रहरी कार्यालय अपराध अनुसन्धान नियन्त्रण शखाका प्रवक्ता एसपी भीम दाहालका अनुसार गत बुधबार भेडेटार जाने सडक खण्डको आपगाछीदेखि ४ घुम्ती मास्तिर जेठमाने गोलाईको जंगलमा टाउको र दायाँ खुट्टा फेला परेको थियो भने बिहीबार करिब १ किलोमिटरको दुरीमा फेरि बायाँ हात र बायाँ खुट्टासहित शरीर फेला परेको छ ।

‘अनुहार अलिअलि चिनिने अवस्थामा छ । जनैसमेत लगाएका पाइएकाले बाहुन–क्षेत्री वा तागाधारी समुदायको अधवैंशे मानिसको शव भएको प्रारम्भिक अनुमान गरिएको छ,’ उनले भने । जंगलमा घाँस दाउरा खोज्न गएका र गोठालाहरुले जंगलमा दुर्गन्ध फैलिएको थाहा पाएपछि जेब्रा झोलाबाट टाउको बाहिर निस्केको देखेर प्रहरीलाई जानकारी दिएका थिए ।

बुधबार र बिहीबार फेला परेको मानिसको टुक्रिएका विभिन्न अंग एउटै व्यक्तिको हुनसक्ने एसपी दाहालले बताए । उनले भने, ‘फेला परेको शवको टुक्राहरुको प्याटर्न हेर्दा एउटै व्यक्तिको जस्तो देखिएको छ । तर पोस्टमार्टम नगरी यसै भन्न सकिने अवस्था भने छैन ।’ सामान्य जिन्स पेन्ट र टिसर्ट लगाएको अवस्थामा शव फेला परेको उनले बताए ।

पहिलो दिन दायाँ खुट्टा र टाउको फेला परेपछि जंगलमा शरीरका अरु अंगपनि खोजी गर्न तालिम प्राप्त कुकुर प्रयोग गर्दा दोश्रो दिन धरान–भेडेटार सडक खण्डबाट करिब ३० मिटरभित्र खर्दु सामुदायिक वनको धर्रधरे जंगलमा अर्का जेब्रा झोलाबाट मानिसको बायाँ हात बाहिर निस्केको अवस्थामा शवको टुक्रा फेला परेको एसपी दाहालले बताए ।

उनले भने, ‘प्रारम्भिक अनुसन्धानका आधारमा यो हत्या कुनै ‘प्रोफेसनल’ ले गरेको हुनपर्छ । व्यक्तिको हत्या गरेपछि टुक्राटुक्रा परेर जेब्रा झोलामा पोको पारी एक किलोमिटरको फरकमा छुट्टा छुट्टै स्थानमा फ्याँक्नुको अर्थ कुनै प्रोफेसनल मर्डर हुनुपर्छ ।’ शवको अवस्था हेर्दा बढीमा पाँचदिन अघि हत्या भएका जस्तो देखिएकाले प्रहरीले त्यसबीचमा घरबाट बेपत्ता भएका र सम्पर्कमा नआएका आफ्ना श्रीमान, दाजुभाइका बारेमा जानकारी दिन आग्रह गरेको छ ।

मृतकको पहिचान हुन सकेको छैन । फेला परेका शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७८ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?