कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सर्पदंशबाट बर्सेनि ३ हजारको मृत्यु’

सर्पले टोकेपछि उपचारमा जान ढिलाइले मृत्युका घटना

काठमाडौं,सुनसरी — नेपालमा हरेक वर्ष सर्पदंशबाट ३ हजार जनाको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ जेनेभा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्व स्वास्थ्य संगठनका ६ जना चिकित्सकले एक वर्ष लगाएर गरेको अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो । तराईका २३ जिल्लामा वार्षिक सर्पदंशका ३७ हजार ६ सय ६१ वटा घटना हुने गरेको निष्कर्ष अध्ययनको छ ।

‘सर्पदंशबाट बर्सेनि ३ हजारको मृत्यु’

प्रतिष्ठित लेनसेट जर्नलमा मंगलबार प्रकाशित ‘नेपालको तराई क्षेत्रमा मानिस र घरपालुवा पशुमा सर्पदंश : मल्टिक्लस्टर रेन्डम सर्भे’ शीर्षकमा प्रकाशित आलेखले बर्सेनि सर्पदंशका २६ हजार ७ सय ४९ देखि ३७ हजार ६ सय ६१ वटा घटनाहरू हुने गरेको उल्लेख गरेको छ । ती घटनाहरूमा २ हजार ३ सय ८६ देखि ३ हजार २ सय २५ जनाको मृत्यु हुने गरेको जर्नलमा उल्लेख छ ।

यसअघि विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानमा हरेक वर्ष सर्पदंशका घटनाहरू २० हजार वटा हुने र त्यसमा एक हजार मानिसको मृत्यु हुने गरेको उल्लेख थियो । उक्त अनुसन्धान अस्पतालमा भएका घटनाहरूमा आधारमा तयार गरिएको थियो । यसको मुख्य अनुसन्धानकर्तामा प्रतिष्ठानका डा. सञ्जीवकुमार शर्मा र ग्याब्रिल अल्कोबासहित अन्य ४ जना छन् ।

२३ जिल्लाका २ सय ४९ गाउँका १३ हजार ८ सय ७९ वटा घरहरूमा एक वर्ष लगाएर गरिएका सर्वेक्षणबाट यो नतिजा प्राप्त भएको मुख्य अनुसन्धानकर्ता डा. शर्माले बताए । सर्पदंश घटनाहरूमध्ये ४८.८ प्रतिशतलाई विषालु सर्पले टोकेको पाइएको थियो । तीमध्ये ७.८ प्रतिशत मानिसहरूको मृत्यु भएको अनुसन्धानमा उल्लेख छ । घाइतेहरूमध्ये ९ प्रतिशतमा मानसिक तनाव हुने गरेको पनि पाइएको छ । उनीहरूमा सर्पले डसेको स्थानमा पुन: जान डराउने जस्ता मानसिक आघात परेको पाइएको अनुसन्धानकर्ता शर्माले बताए । २० प्रतिशत घाइतेहरू शल्यक्रिया गरेर लामो समय अस्पताल बसेर काममा फर्कने गरेको पाइएको थियो ।

‘हाम्रो अनुसन्धानले तराईमा हरेक एक लाख मानिसमा २ सय ५१ जनालाई सर्पले टोक्ने गरेको देखाएको छ,’ डा. शर्माले कान्तिपुरसित भने,‘यो तथ्यांक भनेको हरेका एक लाख मानिसमध्ये २२ जनाको मृत्यु सर्पदंशका कारण हुन्छ ।’ सर्पदंशका कारण मृत्यु हुनेहरूमा अधिकांश महिला र बालबालिका छन् । मृत्यु हुनेहरूमध्ये ६४ प्रतिशत महिला छन् । यस्तै, यी घटनाहरू सबैभन्दा बढी पूर्वी नेपालमा धेरै पाइएको छ भने मध्य नेपाल मृत्युदर बढी पाइएको थियो । यसअघि सन् २००४ मा पूर्वी नेपालमा गरिएको एक अनुसन्धानले सर्पदंशका कारण ८० प्रतिशत मानिसहरू अस्पताल पुर्‍याउनुअघि नै ज्यान गुमाएका थिए ।

सर्पदंशसँग सम्बन्धित भएर तराई क्षेत्रमा यसअघि यस्ता अध्ययनहरू नभएको उनले बताए । अध्ययनमा सर्पले अधिकांशको घुँडाभन्दा तलको भागमा टोक्ने गरेको पाइएको छ । ७३ प्रतिशतलाई पाखुराको तल्लो भागमा टोकेको पाइएको थियो । सबैभन्दा बढी गोमन सर्पले टोकेको र त्यसपछि करेतले टोकेको पाइएको डा. शर्माले बताए ।

विश्वमा हरेक वर्ष २० लाखभन्दा बढी सर्पदंशका घटनाहरू हुने गरेको छ । यसमा ८१ हजारदेखि १ लाख ३८ हजार मानिसले ज्यान गुमाउने गरेका छन् । यो अध्ययनले पहिलो पटक मानिस र पशुहरूमा हुने सर्पदंशका घटनाको पनि तथ्यांक निकालेको डा. शर्माले बताए । ‘नेपाल कृषिप्रधान मुलुक भएकाले पहिलो पटक सर्पदंशबाट हुने मानवीय र पशुपन्छीको क्षतिबारे अनुसन्धान गरिएको हो । अनुसन्धानमा सर्पले कुखुरालगायतलाई डस्दा शतप्रतिशत र चौपाया गाई–गोरु, रांगा–भैंसी र खसीबाख्रामा ७८.६ प्रतिशत मृत्यु दर रहेको पाइयो,’ उनले भने, ‘यसको अर्थ पशुपन्छीपालन व्यवसायमा पनि सर्पदंशले व्यापक हानि नोक्सानी पुर्‍याएको पुष्टि हुन्छ ।’ १ लाख ८३ हजार ९ सय ४९ वटा घरपालुवा पशुपन्छीमध्ये ४२ देखि २ सय २ लाई सर्पले टोक्ने गरेको र तीमध्ये ७९ देखि एक सय वटा मरेको पाइएको अनुसन्धान प्रतिवेदनमा छ ।

भारतमा हरेक वर्ष १२ लाख सर्पदंशको घटना हुने गरेको र तिनमा ५८ हजार जनाको मृत्यु हुने गरेको अनुसन्धानहरूले देखाएका छन् । तर नेपालमा मृत्युका जोखिम घटाउन ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्पदंश व्यवस्थापन कार्यविधि नै निकालेको छ । सर्पदंशका अधिकांश घटनामा परेकाहरूले आफ्नै कारणले ज्यान गुमाउने गरेको उक्त कार्यविधिमा उल्लेख छ । घरेलु औषधि सेवन, अत्तालिएर र झारफुक अनि समयमा नै अस्पताल नपुर्‍याउँदा मृत्युका घटना हुने गरेका छन् ।

नेपालमा हालसम्म ८२ प्रजातिका सर्प पाइएको रेकर्ड छ । तीमध्ये करिब २१ प्रजाति विषालु छन् । गोमन, राज गोमन, करेत, रुसेल्स भाइपर, र कोरल स्नेक (कर्कट नाग) धेरै विषालु हुन् ।

यसैबीच, डा. शर्मासहितको समूहको अध्ययनले देखाएको बर्सेनि ३ हजार जनाभन्दा बढीको मृत्यु हुने तथ्यांक 'अपत्यारिलो' भएको प्राध्यापक एवं सर्प अनुसन्धानकर्ता डा.करनबहादुर शाहले बताएका छन् । ‘अनुसन्धानको मोडल मिलेन वा जानेनन्, मोडलिङ गरेको हो भने डिमान्ड फ्याक्टरहरूको इस्टिमेट गर्नुपर्छ । यो रिजल्टले सही सूचना दिँदैन,’ उनले भने, ‘यो अनुसन्धानले राखेको तथ्यांकलाई मान्न सकिँदैन ।’ यस्ता तथ्यांकले सर्पहरुप्रति मानिसकाे वैरभाव आउन र सर्पहरु मारिन सक्‍ने उनले बताए ।

सर्पदंशका घटना धेरै हुने पूर्वी तराईका स्वास्थ्य संस्थामा सरकारले उपचार सेवा सहज बनाएको छ । ठाउँ ठाउँमा नेपाली सेनाले उपचार केन्द्र राखेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समिर अधिकारी रिपोर्ट पुरा नहेरिकन भन्न नसकिने तर नेपालमा सर्पदंशको ठूलो समस्या रहेको बताए । सर्पदंशको समस्यालाई सामान्य सावधानीबाट जोगाउन सकिने पनि उनले बताए । यसका लागि मन्त्रालयले विभिन्‍न ट्रेनिङ प्याकेजहरु बनाएको उनले जानकारी दिए । यो अनुसन्धान स्वीस नेशनल साइन्स फाउन्डेशन परियोजना अन्तर्गत गरिएको थियो ।

प्रकाशित : फाल्गुन ३, २०७८ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?