कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशमा थपिए १३ मन्त्री र एक राज्यमन्त्री

प्रदेश १ मा १३, कर्णालीमा ८ सदस्यीय मन्त्रिपरिषद्

मोरङ, सुर्खेत — प्रदेश १, मधेस र कर्णाली प्रदेशका मुख्यमन्त्रीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्रकुमार राईले आठ मन्त्री थपेर मन्त्रिपरिषद्लाई १३ सदस्यीय बनाएका छन् । पाँच मन्त्री नियुक्त भएसँगै कर्णालीको मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ । मधेसमा भने एक राज्यमन्त्री थपिएको हो । 

प्रदेशमा थपिए १३ मन्त्री र एक राज्यमन्त्री

प्रदेश १ मा माओवादी केन्द्रबाट उपनेता रामकुमार राई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री र प्रमुख सचेतक झलकबहादुर मगर कृषि तथा पशुपक्षी विकासमन्त्रीमा नियुक्त भएका छन् । एकीकृत समाजवादीका तर्फबाट राजन राई सामाजिक विकासमन्त्री, खिनु लङ्वा (लिम्बू) पर्यटन तथा संस्कृतिमन्त्री र उपेन्द्र घिमिरे यातायात व्यवस्था तथा सञ्चारमन्त्री भएका छन् । घिमिरे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका नातेदार हुन् भने लङ्वा वरिष्ठ नेता झलनाथ खनालनिकट हुन् ।

कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रतापप्रकाश हाङ्गाम र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रकाश सरावगीले शपथ लिएका छन् । थापा र हाङ्गाम कांग्रेस सभापति शेरबहादुर देउवानिकट र सरावगी नेता कृष्णप्रसाद सिटौलानिकट हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी पाँचदलीय गठबन्धनको सरकारले आइतबार ७ बाट मन्त्रालयको संख्या १२ पुर्‍याउने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्रालयमा भने मन्त्रीका अलावा राज्यमन्त्री राखिएको छ । मन्त्रिपरिषद्मा कांग्रेसलाई ५, एकीकृत समाजवादीलाई मुख्यमन्त्रीसहित ४, माओवादी केन्द्रलाई ३ र जनता समाजवादी पार्टीलाई एक मन्त्रालय परेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एक मात्र सांसद विष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री छिन् ।

मन्त्रिपरिषद्ले तत्कालीन सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय मात्रै विभाजन गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार झिकेर यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय बनाएका छन् । जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि उत्पन्न हुँदा आइतबार बिहान ११ बजेका लागि तोकिएको शपथग्रहण ३ घण्टा ढिलो भएको थियो । मुख्यमन्त्री राईले कांग्रेसका प्रतापप्रकाश र सरावगीको मन्त्रालय हेरफेर गरेको भन्दै कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आपत्ति जनाएका थिए । शपथग्रहण सुरु हुने बेला सच्याइएको थियो ।

प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले शपथ लिँदै । तस्बिर : रासस

यसअघि नियुक्त जनता समाजवादी पार्टीका नेता जयराम यादव स्वास्थ्यमन्त्री, कांग्रेसका उपनेता हिमाल कार्की सडक, पूर्वाधार तथा सहरी विकासमन्त्री, माओवादी केन्द्रका नेता इन्द्र आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र कांग्रेसका प्रमुख सचेतक केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री छन् ।

मन्त्रिपरिषद् विस्तारमा आफ्ना नेता कोही नसमेटिएपछि कांग्रेसको शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । संसदीय दल नेता राजीव कोइरालाले कांग्रेसको संसदीय दललाई पाखा लगाएर सभापति शेरबहादुर देउवाको सल्लाहमा मुख्यमन्त्री राईले मन्त्रालय बाँडफाँट र मन्त्रीको नाम छनोट गरेको टिप्पणी गरे । ‘दादागिरी भयो । यसको कडा प्रतिवाद गर्छौं । यस्तो क्रियाकलापले गठबन्धनमा असर पर्न सक्छ,’ उनले भने । शेखर कोइरालानिकट आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पदबाट राजीनामा दिने बताएका छन् । प्रदेश १ संसदीय दलमा कोइरालानिकट सांसदको बहुमत छ ।

प्रमुख प्रतिपक्षी दल एमालेका प्रदेश सांसद तथा पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले मुख्यमन्त्री राई नेतृत्वको सरकारको यो अन्तिम भोज भएको प्रतिक्रिया दिए । अर्थ विज्ञ वेदराज आचार्यले जसरी पनि सत्ता टिकाउन मन्त्रालयको संख्या बढाएर व्ययभार थप्दा प्रदेश र प्रदेशवासीको विकास र समृद्धिको सपना अधुरै रहने बताए । आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले भने संविधानले दिएको अधिकारमा टेकेर मन्त्रालयको संख्या बढाइएको तर्क गरेका छन् ।

कर्णालीमा मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्ता साझेदार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । कांग्रेसका जीवनबहादुर शाही गत कात्तिक १६ मा मुख्यमन्त्री बनेका थिए । उनले २ सातापछि एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र मंसिर १४ मा माओवादी केन्द्रका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्ति गरेका थिए ।

आइतबार थप पाँच मन्त्रीले प्रदेश प्रमुख तिलक परियारसँग पद तथा गोपनीयताको शपथ लिएका छन् । जसमध्ये एकीकृत समाजवादीका तर्फबाट पदमबहादुर रोकाया भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री नियुक्त भएका छन् । कांग्रेसका तर्फबाट यज्ञबहादुर बुढाक्षेत्रीले सामाजिक विकासमन्त्री र हिमबहादुर शाहीले आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रका तर्फबाट छिरिङडम्डुल (कार्चेन) लामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र गणेशप्रसाद सिंह ऊर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । मूर्ति चोरीको कसुरमा जेल सजाय भोगेका गैरसांसद लामालाई मन्त्री बनाउन लागिएको भन्दै चौतर्फी आलोचना भए पनि माओवादीले निर्णय नसच्याएको हो ।

मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउतले एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । राज्यमन्त्री यादव रौतहट क्षेत्र नं. ३ (क) बाट निर्वाचित प्रदेश सांसद हुन् । मधेस प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्री र ४ राज्यमन्त्री छन् ।

प्रकाशित : माघ २४, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?