कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पैसाको लोभमा ३ साझेदारको हत्या

मोरङ र गोदावरीमा भेटिएका तीन शव जग्गा कारोबारीका, हत्या आरोपित उनीहरुकै साथी 

विराटनगर — मोरङको धनपालथान गाउँपालिका र ललितपुरको गोदावरीमा तीन जनाको शव फेला परेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ पर्नेमा काठमाडौंको बल्खु बस्दै आएका सिरहा नगरपालिका–२१ का ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा–४ सिसबनीका २९ वर्षीय अमित साह भनिने दीनानाथ सोनार र धनपालथान–७ कमलपुरका ६२ वर्षीय नासिर आलम छन् ।

पैसाको लोभमा ३ साझेदारको हत्या

पक्राउपछि शुक्रबार उनीहरूलाई विराटनगरमा सार्वजनिक गर्दै संयुक्त लगानीबाट आउने मोटो रकम एक्लै हात पार्न मण्डलले तीन साझेदारको हत्या गराएको खुलेको प्रहरीले जनाएको छ ।

काठमाडौंको क्षेत्रपाटी बस्दै आएका सप्तरीको शम्भुनाथ–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र भक्तपुर बस्ने धरान–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको हत्या गरी मोरङको धनपालथान–७ को उखु खेतमा ५ फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको थियो ।

ठेक्कापट्टा गर्दै आएका चौधरीको माघ १२ र त्यसको भोलिपल्ट श्रेष्ठको शव बरामद भएको थियो । यस्तै, काठमाडौंको गोठाटार बस्ने तेह्रथुमको संक्रान्ति–२ का ६३ वर्षीय मोहन लिम्बूको शव गत बिहीबार गोदावरी–१२ ठेचोमा उसैगरी गाडेर माथिबाट ढलान गरेको अवस्थामा भेटिएको थियो । ठेँचोकी स्थानीय दिप्ती गुरुङको गोदामघर मण्डलले अनलाइन कारोबार गर्नका लागि भन्दै तीन महिनादेखि भाडामा लिएको खुलेको छ । भाडामा लिए पनि खाली राखिएको उक्त गोदामघर परिसरबाट लिम्बूको शव गाडेको अवस्थामा भेटिएको हो ।

लिम्बूलाई मंसिर २८ मा, श्रेष्ठलाई पुस ५ मा र चौधरीलाई पुस ७ गते घाँटीमा डोरी र गम्छाले कसेर हत्या गरेपछि गाडेको अनुसन्धानबाट खुलेको मोरङका प्रमुख एसपी जनार्दन जीसीले बताए । ‘शव गाडेपछि छिटो सडाउनका लागि नुनको प्रयोग गरिएको छ,’ उनले भने, ‘शव गाड्नका लागि प्रयोग गरिएको कोदालो, खन्ती र ६ प्याकेट नुन बरामद भएको छ ।’

श्रेष्ठ, चौधरी, लिम्बू र मण्डल घरजग्गा कारोबारका साझेदार थिए । उनीहरूबीच चार वर्षअघिदेखि मित्रता थियो । ‘काठमाडौंमा जग्गा कारोबारमा भएको मुनाफा र बैंक ग्यारेन्टीबाट आउने कमिसन रकम एक्लै हत्याउन मण्डलले तीनै जनाको हत्या गराएको अनुसन्धानबाट खुलेको छ,’ एसपी जिसीले भने, ‘पक्राउ परेका सोनार र आलमलाई पैसा दिएर हत्या गर्न लगाएको भनिएको छ । तर अनुसन्धानपछि मात्रै पूर्ण जानकारी आउँछ ।’

चौधरीले ठेक्कापट्टा गर्न आवश्यक बैंक ग्यारेन्टीका लागि धितो दिलाएबापत दिने भनिएको कमिसन रकम बाँडफाँडमा समेत विवाद भएको अनुसन्धानबाट खुलेको उनले बताए । विराटनगर–रंगेली हुलाकी राजमार्ग छेउछाउको क्षेत्रको जग्गामा लगानी गरेमा दुई वर्षभित्र पाँच गुणा बढी मूल्य असुल हुने लोभ देखाएर दुई साझेदारलाई झुक्याई मोरङमा ल्याएर पालैपालो हत्या गरिएको खुलेको छ ।

मण्डल केही दिनदेखि काठमाडौंबाट मोरङमा आउजाउ गरिरहेका थिए । जग्गा कारोबारबाट आउने लाखौं रुपैयाँ एक्लैले हात पारौं भन्ने चाहना हत्याको कारण भएको मोरङ प्रहरीले जनाएको छ । ‘मण्डलले भाडाको टेम्पोमा घटनास्थलसम्म कारोबारी साझेदारलाई पालैपालो थोरै पनि शंका नहुने गरी मजाले गफ गर्दै लगेको खुलेको छ,’ एसपी जीसीले भने । साथीहरूलाई लिएर घटनास्थलमा पुग्नु अगाडिदेखि मण्डलको निर्देशनमा अन्य सहयोगीहरूले खाल्डो खन्ने काम गरेका थिए ।

‘हत्यामा सहयोगीको यकिन संख्या खुलिसकेको छैन,’ उनले भने । मण्डललाई गत बिहीबार काठमाडौंबाट, उनका सहयोगीहरू सोनारलाई विराटनगर–५ दामाबन्दी चोकबाट र आलमलाई विराटनगर–१७ मटेरुवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मण्डलले हत्याका लागि प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिएर सोनार, आलमसहित थप ६/७ जनाको प्रयोग गरेको प्रहरीको शंका छ ।

स्थानीयले सोनार, आलम र मण्डललाई केही दिन अघि पटकपटक घटनास्थल भएको क्षेत्रमा ओहरदोहर गरेको देखेका थिए । उखु खेतमा शंकास्पद ढंगले खाल्डो खनिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यहाँ पुगेर अनुसन्धान थालिएपछि दुवै शव भेटिएको थियो । सोधपुछको क्रममा नियन्त्रणमा लिइएका सोनार र आलमको बयानको आधारमा मण्डल पक्राउ परेका हुन् । तीन जनालाई एक साथ राखेर केरकार गरेपछि लिम्बूको पनि हत्या भइसकेको र शव गोदावरीमा गाडेको खुलेको हो ।

मण्डलका साझेदार चौधरी र श्रेष्ठ जग्गा कारोबारीसँगै निर्माण व्यवसायमा पनि संलग्न थिए । दुवैको शव चिनिने अवस्थामा थिएन । लुगा, जुत्ता, दाहिने हातमा बाँधेको राखी र रुमालको आधारमा चौधरीको तथा कपडा एवं पर्सभित्रको सवारीचालक अनुमतिपत्रको आधारमा श्रेष्ठको सनाखत भएको हो । प्रहरीका अनुसार २९ मंसिरमा मण्डल, श्रेष्ठ र चौधरी काठमाडौंबाट मोरङ आएको कल डिटेल रेकर्ड (सीडीआर) बाट देखिन्छ । लिम्बूको हत्या भइसकेको चौधरी र श्रेष्ठलाई थाहा थिएन ।

‘लिम्बू पनि आउँछन्’ भन्दै मण्डलले श्रेष्ठ र चौधरीलाई मोरङ पुर्‍याएका थिए । कल डिटेलकै आधारमा यो हत्याकाण्डबाट पर्दा उठेको हो । पक्राउलगत्तै मुख नखोलेका मण्डललाई उनका दुई सहयोगीका अगाडि राखेपछि घटना बताएको प्रहरीले जनाएको छ । श्रेष्ठ, चौधरी, लिम्बू र मण्डलले जग्गा, जलविद्युत् र सिमेन्ट उद्योगमा पनि सँगै लगानी गरेको खुलेको छ ।

प्रकाशित : माघ २२, २०७८ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?