राज्यले किनेको २४ लाख खोपको हिसाब छैन- समाचार - कान्तिपुर समाचार
महामारीमा सरकारी उपहास

राज्यले किनेको २४ लाख खोपको हिसाब छैन

अतुल मिश्र, स्वरूप आचार्य

काठमाडौँ — महामारीमा जीवनरक्षक मानिएको कोभिडको खोप वितरण तथा अभिलेखमा सरकारको गम्भीर कमजोरी देखिएको छ । राज्यको ढुकुटी खर्चेर तथा मित्रराष्ट्रले अनुदानमा दिएकोमध्ये २४ लाख खोप अभिलेखमा नभेटिएको स्वयं स्वास्थ्य सचिव डा. रोशन पोखरेलले स्विकारेका छन् । तर यो बेथिति कसरी भयो र त्यसको जिम्मेवार को हो भन्नेमा छानबिनसमेत भएको छैन । 

हालसम्म सरकारले खरिद गरेको १ करोड २० लाख मात्रा खोप नेपाल आएको छ, त्यस्तै अनुदानबाट २ करोड ८३ लाख ८८ हजार ८ सय ४० डोज आएको छ । यसरी अहिलेसम्म ४ करोड ३ लाख ८८ हजार ८ सय ४० डोज खोप नेपाल आएको छ । मंगलबारसम्म २ करोड ८३ लाख २२ हजार आठ खोप लगाइएको सरकारी अभिलेख छ । यो हिसाबले अहिले भण्डारमा १ करोड २० लाख ६६ हजार ८ सय ३२ डोज खोप हुनुपर्ने हो । तर अहिले भण्डारमा करिब ८४ लाख मात्र छ । यसरी ३६ लाख ६६ हजार खोप अपुग छ ।

खोप लगाउँदा एकदेखि डेढ प्रतिशत खेर जाने गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूकै भनाइ छ । तर चार प्रतिशत खेर गएको मान्दा पनि १२ लाख मात्र कम हुनुपर्ने हो । त्योबाहेक २४ लाख ६६ हजार ८ सय ३२ मात्रा खोप नभेटिनु आश्चर्यजनक भएको स्वास्थ्य मन्त्रालयकै अधिकारीको भनाइ छ । एकातिर ज्येष्ठ नागरिक र बालबालिकाले खोप लगाउन पाएका छैनन्, पहिलो मात्राको खोप लगाउन पनि सर्वसाधारण दिनभरि भीडमा उभिन बाध्य छन् । अर्कोतिर पहुँचका आधारमा खोप लगाउने, त्यसको अभिलेख नराख्ने र कतिपय अवस्थामा खोप खरिदबिक्री भएको टिप्पणी हुँदै आएको छ ।

यी सबै टिप्पणीलाई थप बल दिँदै स्वास्थ्य सचिवले नै मंगलबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा भने, ‘अहिले समग्र अभिलेखमा २० देखि २४ लाख खोपको हिसाब देखिएको छैन । कतिपयलाई खोप लगाए पनि कार्ड वितरण नगरिँदा विवरण नमिलेको हुन सक्छ । अहिले तेस्रो डोज लगाउन आउने कतिपयले पहिलो र दोस्रो डोज लगाउँदा कार्ड नै नपाएको पनि बताउने गरेका छन् ।’

यसअघि लगाइएका खोपको अभिलेख प्रणालीमा अद्यावधि नभएको देखिएको सरकारको भनाइ छ । ‘खोपको अभिलेख राख्नेदेखि लाइन मिलाउनेसम्मको काम एउटै निकायले गर्नुपर्दा पनि केही भद्रगोल देखिएको हो । हामीले केन्द्रबाट खोपको व्यवस्था गर्ने हो । स्थानीय तहमा त्यहीअनुसार जनशक्ति व्यवस्थापन हुनुपर्‍यो । खोप केन्द्रमा भीडभाड हुन नदिन प्रहरी प्रशासनले पनि सहयोग गर्नुपर्‍यो,’ संसदीय समितिमा डा. पोखरेलले भने ।

खोप वितरण तथा अभिलेख अद्यावधिमा भद्रगोल भएको विषयले सरकारको लापरबाही मात्र देखिएको छैन । नेपालजस्ता देशलाई उच्च प्राथमिकतामा राखेर खोप सहयोग गर्ने देशहरूलाई पनि सतर्क बनाउनेछ । त्यस्तै कति सर्वसाधारणले कुन चरणको खोप लगाए ? अब कतिलाई लगाउन बाँकी छ, अब कति आयात गर्ने भनेर योजना बनाउन स्वयं सरकारलाई पनि असहज हुनेछ । ‘अभिलेख दुरुस्त नभएमा आगामी दिनमा हामीलाई कठिनाइ हुने देखिन्छ,’ स्वयं स्वास्थ्य सचिव डा. पोखरेलले भने । अब तेस्रो मात्रा लगाउनेहरूको तथ्यांक भने व्यवस्थित रूपमा राख्ने प्रयास गरिरहेको उनले बताए ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार खोप कार्यक्रमका सुरुवाती दिनमा खोप खेर जाने दर १ प्रतिशत थियो । पछिल्लो समय धेरै स्थानमा खोप लगाउन थालेसँगै त्यो दर बढेकाले विवरण दुरुस्त हुन नसकेको उनको भनाइ छ । ‘नेपालमा खोप दुरुपयोग नै भयो भन्न मिल्ने अवस्था देख्दिनँ,’ उनले भने, ‘चीनले भेरोसेल खोप लगाएकालाई मात्रै प्रवेश दिने घोषणा गरेका बेला भारतीय विद्यार्थी र व्यापारीले पनि नेपालमा आएर खोप लगाए भन्ने सुनिएको थियो तर त्यसको स्वतन्त्र पुष्टि भएन । अहिले त त्यो पनि छैन ।’ स्वास्थ्य सचिव डा. पोखरेलले संसदीय समितिमा ठूला सहरमा बसोबास गर्ने धेरैजसोले दुई मात्रा खोप लगाइसकेको दाबी गरे । ‘सहरी क्षेत्रमा करिब ८० प्रतिशतले नै खोप लगाइसके भन्ने हाम्रो अनुमान छ,’ उनले भने । उनले प्राविधिक कठिनाइका कारण वडा–वडामा खोप पुर्‍याउन कठिन भइरहेको जानकारी दिए ।

पीसीआरको शुल्क घटाउने तयारी

स्वास्थ्य मन्त्रालयका सचिव डा. पोखरेलले पीसीआर परीक्षणको मूल्यमा केही दिनभित्रै समायोजन गरिने जानकारी दिएका छन् । समितिमा उपस्थित सांसदहरूले परीक्षण निःशुल्क हुनुपर्ने आवाज उठाएपछि उनले शुल्क समायोजन हुने बताएका हुन् । ‘हामी पीसीआरको मूल्य पुनः समायोजन गर्ने अन्तिम चरणमा छौं,’ उनले भने, ‘एक–दुई दिनमै हामी शुल्क घटाउँछौं ।’ सरकारी प्रयोगशालामा परीक्षण गराउनेलाई निःशुल्क गर्ने पनि उनले बताए । अहिले सरकारी प्रयोगशालामा पीसीआर गर्दा एक हजार र निजीमा दुई हजार रुपैयाँ शुल्क छ । पीसीआरमा प्रयोग हुने स्वास्थ्य सामग्रीको मूल्य घटे पनि निजी प्रयोगशालाले समायोजन गरेका छैनन् ।

‘माघ दोस्रो साता संक्रमण उत्कर्षमा’

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ दोस्रो साता उत्कर्षमा पुग्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । माघ दोस्रो साताको मध्यतिर दिनमा संक्रमित हुनेको संख्या १९ हजारभन्दा बढी हुने आकलन मन्त्रालयले छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले अस्पताल भर्ना हुने संक्रमितको संख्या बढ्ने प्रक्षेपण पेस गरे ।

डा. पौडेलका अनुसार त्यति बेला करिब १३ हजार व्यक्ति अस्पताल भर्ना हुने, एक हजारभन्दा बढीमा जटिल प्रकारको संक्रमण देखिने र त्यसमध्ये ३ सय ९४ जना गम्भीर हुने आकलन छ । ९ हजार ८ सय ४८ मा भने सामान्य लक्षण मात्रै देखिने प्रक्षेपण छ । डा. पौडेलले दोस्रो लहरमा जस्तो अक्सिजन अभाव हुन नदिन मन्त्रालयले राम्रो तयारी गरेको बताए ।

प्रकाशित : माघ ५, २०७८ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्

खेसरीलाल नआउँदा बर्जु महोत्सवमा आगजनी र तोडफोड, आधा दर्जन सवारी साधनमा क्षति

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको बर्जु गाउँपालिकाले आयोजना गरेको महोत्सवमा मंगलबार आगजनी र तोडफोड भएको छ । गत पुस २२ गतेदेखि संचालन भएको बर्जुमा कोरोनाको ओमिक्रोन भेरिएन्ट संक्रमणलाई मध्यनजर गर्दै सुनसरी जिल्ला प्रशासनले पुस २७ मा भिडभाडको कार्यक्रमहरुमा प्रतिबन्धसहितको आदेश जारी गरेको थियो । 

बर्जु सामुदायिक विकास केन्द्रसमेत सहआयोजक रहेको महोत्सवमा आगजनीबाट नम्बर नखुलेको ४ वटा स्कारपियो, १ सिटीसफारी, एक मोटररसाइकल र १ साइकलमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उच्छृङ्खल समूहले १ हजार वटा प्लास्टकको कुर्सी, स्टेज साउन्ड सिस्टम २ थान र २ वटा जेनेरेटरमा पनि पूर्ण क्षति पुर्‍याएको प्रजिअ यादवले बताए । गाउँपालिकाले प्रशासनको आदेशविपरीत महोत्सव जारी राखेको बेला मंगलबार गाउँपालिकाले भारतीय कलाकार नल्याएको भन्दै तोडफोड र आगजनी गरेको प्रजिअ यादवले बताए ।

आयोजक गाउँपालिका र बर्जु सामुदायिक विकास केन्द्रले भारतीय भोजपुरी कलाकार खेसरीलाल यादव ल्याउने प्रचार गरेर ३ सयदेखि ५ सय रुपैयाँको टिकट बिक्री गरेको थियो । तर ती कलाकार नआएपछि सहभागीहरु आक्रोशित भएर आगजनी र तोडफोड गरेका प्रजिअ यादवले बताए । उनले भने, ‘कोरोना संक्रमण बढेपछि मेला रोक्न भनेर पुस २ गते नै जिल्ला प्रशासनले पत्र दिएको थियो तर अटेर गरेर मेला चालु राखे । यो घटनाको जिम्मा गाउँपालिका र बर्जु विकास केन्द्रले लिनु पर्छ ।’

कोरोना महामारीको बेला बर्जु तालमा मेला लगाएर पैसा कमाउने धन्दा गर्दा घटना भएको जिल्ला प्रशासनले जनाएको छ । भारतीय कलाकार खेसरीलाल आउन तयार भए पनि कोरोना महामारीका कारण आउन नदिने जानकारी आयोजक पक्षलाई अगाडि नै दिएको जिल्ला प्रहरी कार्यालयका एसपी संजयसिंह थापाले बताए । उनकाअनुसार गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीलाई मेला रोक्न बारम्बार चेतावनी दिँदा पनि अटेर गरेर महोत्सव निरन्तर गरेका थिए ।

आयोजकले भारतीय कलाकार खेसरीलाललाई लुकाएर विराटनगरसम्म ल्याएका थिए । उसका सहकलाकारहरु भने सोमबार नै आइसकेका थिए । यसबीचमा गाउँपालिका अध्यक्ष चौधरीले आफूहरुले भारतीय कलाकार ल्याउने भनेर टिकट बिक्री गरिसकेको र कलाकारलाई पैसा समेत दिइसकेकाले मेला संचालन गर्न दिन अनेक पटक अनुरोध गर्दै अन्य विभिन्न नेतामार्फत भनसुन गराए । तर प्रहरी प्रशासनले नमानेपछि खेसरीलाल आउन सकेनन् । टिकट किनेर आएकाहरुले कलाकार नआएपछि हुलदंगा गर्दा उक्त घटना भएको प्रहरीको भनाइ छ ।

मेलामा करिब १० हजार दर्शक उपस्थित भएको बेला हुलदंगा भएपछि प्रहरीतर्फ पनि ईलाका प्रहरी कार्यालय दुहबीको बा १ झ १४१२ नम्बरको स्कारपियो पिकअप गाडीमा क्षति हुनुका साथै २ जना प्रहरी पनि घाइते भएका थिए । एसपी थापाले अराजक भिड तितरबितर गर्न १५ सेल अश्रुग्यास प्रहार गरेको बताए ।

मेलामा तोडफोड भएको विषयमा आयोजक गाउँपालिका अध्यक्ष चौधरीसँग सम्पर्क गर्दा फोन उठाएनन् ।

प्रकाशित : माघ ४, २०७८ २२:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×