कागजमा सिल, नाकामा भीड

मूल नाकाबाटै स्वास्थ्य सुरक्षा मापदण्डबिना निर्बाध आवागमन

भैरहवा, कपिलवस्तु, नेपालगन्ज — सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि सीमानाका सिल गरेको छ तर नाकामा भने त्यसको आभास छैन । स्वास्थ्य सुरक्षा मापदण्डबिना नाकामा निर्बाध आउजाउ हुने गरेको पाइएको हो । रूपन्देहीको भैरहवा–सुनौली मूल नाकाभन्दा पूर्वको गल्लीबाट एक साताअघि हूलका हूल सर्वसाधारण आवतजावत गरिरहेका थिए ।

कागजमा सिल, नाकामा भीड

दुवै मुलुकका सुरक्षाकर्मीले केहीलाई सामान्य सोधपुछ गरेको देखियो तर रोकेको देखिएन । अहिले भारतमा लाग्ने हाटबजारमा किनमेल गर्नेका कारण नाकामा भीड देखिएको हो ।

यहाँको दशगजा नजिकै भारतको सुनौली बजारमा सातामा मंगलबार र शुक्रबार हाटबजार लाग्ने गर्छ । हाटमा दाल, तरकारीदेखि दैनिक उपभोग्य सामान, शृंगारका सामान, कृषि औजार, बीउबिरुवा, खेलौना र लत्ताकपडालगायत पाइन्छ । लकडाउनमा यो हाटबजार बन्द थियो । भारतमा लकडाउन हट्नासाथ फेरि सञ्चालन भएको हो । नेपालमा सार्वजनिक यातायातका साधन सञ्चालन भएपछि पनि सुनौलीमा गएर किनमेल गर्ने नेपालीको चाप दिनप्रतिदिन बढिरहेको छ । यसअघि औषधि उपचार र अति जरुरी काम परेका व्यक्ति मात्र कारण खुलाएर नाकाबाट आवतजावत गर्थे ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे मंसिर मसान्तसम्म सिमाना सिल रहेकाले नाकामा आवागमन रोकिएको र तस्करी हुन नपाएको दाबी गर्छन् । ‘बेलहियाबाहेक अन्य नाकाबाट आउजाउको अनुमति छैन,’ उनले भने, ‘मूल नाकाबाट आउजाउ गर्नेको पनि स्वास्थ्य जाँच र अभिलेख राख्ने गरिएको छ ।’ मूल नाकाबाहेक अन्य स्थानबाट लुकीछिपी आवागमन भएको भए तत्कालै सुरक्षाकर्मीे परिचालन गरिने उनले जनाए ।

बेलहियामा नेपाली सेनाले स्थापना गरेको सहायता तथा स्वास्थ्य कक्ष साँझ ५ बजेपछि खाली रहन्छ । सर्वसाधारणको आवागमन भने रातिसम्मै हुन्छ । भारतबाट आउनेको स्वास्थ्य जाँचका लागि नगरपालिका र स्वास्थ्य कार्यालयले स्थापना गरिएका हेल्प डेस्क रित्ता देखिन्छन् ।

लामो समयदेखि सिमाना बन्द रहँदा दैनिक घरगृहस्थी चलाउन गाह्रो भएको भन्दै स्थानीयले सिमाना खोल्न माग गर्न थालेको सशस्त्र प्र्रहरी बल नेपाल २७ नम्बर गण रूपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजकुमार पोखरेलले बताए । ‘लामो समयसम्मको सिमाना बन्द गरिँदा चेली र बेटीको सम्बन्ध बिग्रिन थाल्यो भन्ने गुनासो आउन थालेको छ,’ उनले भने, ‘मूल नाकाबाहेकका सीमावर्ती क्षेत्रबाट छिर्ने प्रयास हुने गरेका छन् ।’ भारतबाट नेपाल आएकालाई लिन ट्याक्सीवालाहरू सिमानामै पुग्न थालेका छन् ।

मूल नाकाबाहेकका धकधही, लुम्बिनी र मर्चवार क्षेत्रका सिमानाबाट सहज रूपमा आवागमन भइरहेको छ । ती क्षेत्र हुँदै नेपालबाट केराउ, मरिच भारततर्फ तस्करी हुने गरेको छ भने भारतबाट आलु, प्याज, चिनी, लत्ताकपडाको अवैध आयात हुने गरेको छ ।

खुला आवतजावत

प्यूठानको बांगेसालका तीन नेपाली गत शुक्रबार कपिलवस्तुको कृष्णनगर हुँदै सीमा पार गरेर भारतको बढनी पुगे । सीमामा सुरक्षाकर्मीले सोधपुछ गरेनन् । रोजगारीका लागि दिल्ली गएका उनीहरूसित भारतीय आधार कार्ड थिएन । जिल्लाकै गोरुसिंगेबाट आएका चार महिला पनि खाद्यान्न र लत्ताकपडा किन्न बढनी बजार पुगे । सामान खरिद गरेर उनीहरू पनि निर्बाध स्वदेश फर्किए ।

गाडी आवतजावत गर्ने लिंक गेट र पुरानो भन्सार कार्यालय नजिक बढनी पुलिसचौकीबाट आवतजावत भइरहेको छ । दैनिक एक हजारभन्दा बढी आउजाउ गर्छन् । अहिले नेपाल भित्रिनेभन्दा बाहिरिने बढी छन् । बढनीबाट दैनिक दिल्ली, पन्जाब, चण्डीगढ, जालन्धर, चेन्नाई, मुम्बई र लखनउलगायत ठाउँमा बस सेवा सञ्चालन भइरहेको छ । ठूलासाना गरेर दैनिक १० भन्दा बढी बसले सेवा दिइरहेका छन्, जसका अधिकांश यात्रु नेपाली हुने गरेका छन् ।

भारतीय आधार कार्ड भएका नेपालीलाई सहजै छाडिन्छ । अन्य नेपालीका लागि भने प्रहरीलाई पैसा दिनुपर्छ । नेपालीलाई भारत प्रवेश गराउने काम कृष्णनगरका स्थानीय ट्राभल एजेन्सीले गर्छन् । उनीहरूले प्रतिव्यक्ति ५० देखि सय रुपैयाँ प्रहरीलाई दिएपछि छाड्ने गर्छन् । यताबाट जाँदा सुरुमा सशस्त्र र त्यसपछि नेपाल प्रहरीको चेक प्वाइन्ट छ । दुवै निकायलाई रकम नदिएसम्म जान दिँदैनन् ।

बाँकेको जमुनाह नाका कागजमा मात्र सिल छ । नाका परिसरमा भारत आउजाउ गर्नेका कारण चहलपहल देखिन्छ । तरकारी किन्न अनि घुम्न जानेहरू निर्धक्क भारत पसिरहेका छन् । भारतमा रेल सञ्चालन गरिएपछि जमुनाह नाकाबाट स्वदेश आउने र जान खोज्ने नेपालीको चाप बढेको हो । प्रशासनले भारतबाट आउने नेपालीलाई प्रवेश दिइएको र सवारीसाधनलाई निषेध गरिएको बताएको छ तर केही समययता भारतसँग जोडिएका सीमानाकामा आवागमनको चाप बिस्तारै बढ्दै गएको छ ।

प्रकाशित : मंसिर २४, २०७७ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?