प्रस्तावित राजदूतहरू खतिवडा, रेग्मी र विक संसदीय सुनुवाइ समितिबाट अनुमोदन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रस्तावित राजदूतहरू खतिवडा, रेग्मी र विक संसदीय सुनुवाइ समितिबाट अनुमोदन

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसदको संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ । 

संसदीय सुनुवाई समितिको बिहीबारको बैठकले अमेरिकाका लागि प्रस्तावित राजदूत युवाराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माको नाम सुनुवाई पछि अनुमोदन गरेको हो ।

असोज १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडा, रेग्मी र विकलाई राजदूतमा सिफारिस गरेको थियो । सरकारले राजदूत सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाईका लागि समितिलाई पत्र पठाएको थियो ।

संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाई पछि अनुमोदन भएको जानकारी दिए । समितिको बैठकले राजदूतमा सिफारिस खतिवडा, रेग्मी र विकलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको उनले बताए ।

संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आफ्नो योग्यता, क्षमता र कार्ययोजनाबारे समितिलाई जानकारी दिएका थिए । प्रस्तावित राजदूतहरूले आफूविरुद्ध समितिमा परेका उजुरीका आधारमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

राजदूतमा प्रस्तावित खतिवडा र रेग्मीविरुद्ध उजुरी परेका थिए । उनीहरूविरुद्ध विगतमा विभिन्न सार्वजनिक पदमा रहेका बेला अनियमितता गरेको र पदीय आचरणविपरीत काम गरेको आर‍ोपसहितका उजुरी परेका थिए । तर, उजुरीकर्ताहरू भने संसदीय समितिले बोलाउँदा आएनन् ।

खतिवडा पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार हुन् भने रेग्मीले मुख्यसचिवबाट राजीनामा दिएपछि राजदूतमा सिफारिस भएका हुन् ।

संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका प्रस्तावित राजदूतहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ ।

संसदीय सुनुवाईकाे बैठकले न्यायपरिषदमा सिफारिस भएका रामप्रसाद श्रेष्ठविरूद उजुरी आह्वान गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेकाे छ । दसदिने सूचना गर्ने र त्यसपछि सुनुवाइ गर्ने निर्णय भएकाे हाे ।

सम्बन्धित समाचारः

प्रकाशित : कार्तिक २७, २०७७ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ९ सय ७३ कोरोना संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ७३ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहिबार संक्रमित पुष्टि हुनेमा ४ सय २८ महिला र ५ सय ४५ पुरुष रहेका छन् ।

काठमाडौंमा ७ सय ६४ भक्तपुरमा ८३ र ललितपुरमा १ सय २६ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा १९ सय १३ रहेका छन् ।

प्रकाशित : कार्तिक २७, २०७७ १६:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×