एमसीसीबारे खतिवडा- 'अर्थमन्त्री हुँदा पारित गर्न खोजेको थिएँ, अब भूमिका फेरिएको छ'

जयसिंह महरा

काठमाडौँ — अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले नेपाल सरकार र अमेरिकी सरकारबीच भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी सम्झौता) लाई लिएर संसदीय सुनुवाईका क्रममा सोधिएका प्रश्नको जवाफमा आफूले सहजीकरणको भूमिका खेल्ने बताएका छन् ।

एमसीसीबारे खतिवडा- 'अर्थमन्त्री हुँदा पारित गर्न खोजेको थिएँ, अब भूमिका फेरिएको छ'

विगतमा अर्थमन्त्री हुँदा आफूले उक्त सम्झौता पारित गराउन भूमिका खेलेको तर अबका दिनमा भूमिका फेरिएकाले सोहीअनुसार काम गर्ने उनले बताए ।

संघीय संसदको संसदीय सुनुवाईका क्रममा प्रस्तावित राजदूतलाई सत्तारुढ नेकपाका सांसदहरूले एमसीसीसँग जोडेर प्रश्न गरेका थिए । सत्तारुढ नेकपाका सांसदले एमसीसीलाई नेपालको हीतमा बनाउनका लागि कस्तो भूमिका खेल्नुहुन्छ भन्ने प्रश्न गरेका थिए । उनीहरूले विगतमा विभिन्न भूमिकामा रहेका बेला खतिवडाले खेलेको भूमिकालाई पनि उल्लेख गरेर एमसीसीबारे आगामी दिनमा कसरी हेर्ने योजना रहेको छ भनेर सोधेका थिए ।

जवाफमा प्रस्तावित राजदूत खतिवडाले भने, 'अहिले मेरो भूमिका परिवर्तन भएको छ । एसमीसीलाई पारित गराउनका लागि अर्थमन्त्रीका रूपमा यसो गरौं र उसो गरौं भन्ने हुन्थ्यो । अब परराष्ट्र मन्त्रालयले जे निर्देशन दिन्छ त्यो काम गर्ने हो ।'

सन् २०१७ मा एसमीसी सम्झौता भएको र त्यसलाई कार्यान्वयनका लागि योजना पनि तयार भएको खतिवडाले जानकारी दिए । 'त्यतिबेला कार्यान्वयन योजना अगाडि बढाएपछि एमसीसीमा भएका कतिपय प्रावधान नेपालको कानुनसँग बाझिने हुनसक्ने भएको भन्ने कुरा कानुन मन्त्रालयबाट आएपछि अनुमोदनका लागि संसदमा पठाइएको हो र अहिले सदनमा छ,' उनले एमसीसीलाई लिएर आफ्नो आगामी भूमिकाबारे भने, 'उहाँहरू अहिले पनि मेरो नियमित सम्पर्कमा हुनुहुन्छ । बुझाइको फरकले पनि कुरा उठेका छन्, त्यो बुझाउने मेरो काम हुन्छ । उहाँहरूले स्पष्ट पार्नुपर्ने कुरा त्यो गरौंला, त्यसका लागि नोट साटासाट गरौंला भन्नुभएको छ ।'

एमसीसीलाई लिएर अमेरिकी अधिकारीहरूको नेपालमा कुनै स्वार्थ नरहेको खतिवडाको भनाइ थियो । उनले भने, 'उहाँहरूले नेपालमा हाम्रो विकासको मात्रै स्वार्थ हो त्यसबाहेक अरु स्वार्थ होइन भन्ने कुरा गर्नुभएको छ ।' आगामी दिनमा नेपालमा एमसीसीलाई लिएर उठेका कुराबारे अमेरिकी अधिकारीहरूलाई बताउने र सहजीकरण गर्ने खतिवडाको भनाइ थियो ।

अमेरिकाबाट हुने अन्य सहयोगलाई पनि एकद्वार प्रणालीबाट ल्याउन भूमिका खेल्ने खतिवडाको भनाइ थियो । उनले यूएसएड लगायतका निकायबाट हुने सहयोगलाई राष्ट्रिय हितमा प्रयोग हुने गरी बनाउन भूमिका खेल्ने बताए । नेकपाका सांसदहरू सुरेन्द्र पाण्डे, शिवकुमार मण्डल, अमृता थापालगायतले खतिवडालाई प्रश्न गरेका थिए । उनीहरूले एमसीसीलाई नेपालको हित अनुकूल परिमार्जन गर्नुपर्ने बताएका थिए ।

कांग्रेसका सांसदहरू पुष्पा भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, भिमसेनदास प्रधानलगायतले भने कम्युनिस्ट सरकारलाई अमेरिकाले विश्वास नगर्ने बताए । उनीहरूले एमसीसी पारित र कार्यान्वयन गरेर मुलुकको अर्थतन्त्र र विकास अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित समाचारः

प्रकाशित : कार्तिक २७, २०७७ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?