‘सुन तस्कर’ इल्ताफ बाराबाट पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सुन तस्कर’ इल्ताफ बाराबाट पक्राउ

मातृका दाहाल

काठमाडौँ — साउन १३ गते काठमाडौंबाट फरार भएका ‘सुन तस्कर’ इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ परेका छन् । सुनले लेपन गरेको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन  तथा दुई थान पेस्तोलसहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परे पनि उनी फरार थिए ।

अन्सारीसँगै फरार रहेका भारतको गुजरातका सञ्जय पटेल भने अझै पक्राउ परेका छैनन् । १३ गते बिहान सुन्धाराबाट प्रहरीको घुमुवा टोलीले पिछा गरेपछि अन्सारी, पटेल, निलेश सखियालगायतको गिरोहले भारत लैजान लागेको सुनचाँदी त्यहीँ छाडेर भागेका थिए । त्यसको भोलिपल्ट मुख्य आरोपी निलेश सखिया, उनका सहयोगी विजय पटेल, कौशल पटेल र देवानसिंह पटेललाई पक्राउ परेका थिए । कौशलबाहेक तीन जना पूर्वी नवलपरासीको दुम्कीबासबाट पक्राउ परेका थिए ।

त्यसपछि प्रहरीले फरार अन्य व्यक्तिको खोजी कार्य जारी राखेको थियो । सोही अभियोगमा प्रहरीका दुई घुमुवा प्रशन्न श्रेष्ठ, बहादुरसिंह कठायत र सुन लुकाउन सघाउने बागबजारका मोबाइल पसल सञ्चालक उमेश श्रेष्ठ पक्राउ परिसकेका छन् ।

चाँदीमा सुनको लेपन लगाउने न्युरोडका कालिगढ मनिष मल्लिकलाई भने सोधपुछ गरेर छाडिएको थियो । सुनचाँदी तस्करीमा संलग्न हुनुअघि अन्सारी नक्कली भारतीय नोटको कारोबारमा पक्राउ परेर कैद भुक्तानपछि छुटेका थिए । भारतीय नागरिक निलेश सखियाले उनै अन्सारीमाफर्त सुन तस्करीको सञ्जाल विस्तार गरेका थिए ।

सखिया भारतीय चलचित्र निर्माता पनि हुन् । उनले पछिल्लो पटक सन् २०१९ मा ‘पेनाल्टी’ नामक चलचित्र बनाएका थिए । प्रहरीलाई दिएको बयानअनुसार सखियाले चलचित्र निर्माणमा नोक्सान बेहोरेपछि सुन तस्करीमा हात हालेका थिए ।

त्यसदिन काठमाडौंबाट बरामद गरिएको सुनचाँदी अन्सारीले वीरगन्जसम्म पुऱ्याइदिने र त्यहाँबाट सखिया आफैले गुजरात लिएर जाने तयारीमा रहेको प्रहरी स्रोतले बताएको छ ।

उनीहरुले गुजरातलगायत भारतका विभिन्न स्थानमा सक्कली सुन भन्दै जलप लगाएको पहेँलो धातु दिएर ठगी गर्ने योजना पनि खुलेको छ ।

यसैबीच बाराबाट पक्राउ परेका अन्सारीलाई लिन महानगरी अपराध महाशाखाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । प्रहरी निरीक्षकको नेतृत्वमा बिहीबार बिहान महाशाखाले अन्सारीलाई लिन टोली पठाएको हो । महाशाखाकै सूचनाका आधारमा बारा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साउन १३ गते सुन्धाराबाट फरार हुँदा प्रयोग गरिएको अन्सारीको बा ६ च ५५१९ नम्बरको स्कार्पियो साउन १४ गते ललितपुरको नखिपोट क्षेत्रबाट प्रहरीले बरामद गरेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २९, २०७७ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्

गोंगबु घटना : ‘हत्यामा संलग्‍न’ साली लिन चितवनबाट एम्बुलेन्स लिएर आएका थिए ‘भिनाजु’

मातृका दाहाल

काठमाडौँ — गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको औषधि खुवाएर हत्या गरेपश्चात कल्पना मुडभरी (पौडेल) ले एम्बुलेन्स चालकलाई बोलाएर चितवन भागेको खुलेको छ । ३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेको प्राविधिक अनुसन्धानमा  खुलेको छ  ।

अनि एम्बुलेन्स लिएर कल्पनालाई लिन चितवनबाट भिनाजु गोंगबु आएका थिए । ती एम्बुलेन्स चालकलाई कल्पनाले ‘भिनाजु’ भनेर सम्बोधन गर्ने गरेको पनि प्रहरीले बताएको छ । एम्बुलेन्स चालक नाताले वा सम्बोधनमा मात्रै भिनाजु हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन ।

कोठामा हत्या गरेर नजिकै शव लुकाएपछि कल्पना आइतबार १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवन भागेकी थिइन् । चितवन माइतीघरमा रहेकै बेला कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो । एम्बुलेन्स चालक र दुई छोराछोरी पनि चितवनबाटै पक्राउ परेका हुन् ।

कल्पना श्रीमानसँग अलग भएर छुट्टै बस्दै आएकी थिइन् । कल्पनालाई चितवनबाटै पक्राउ गरेर काठमाडौं ल्याइएको छ । केहीबेरमा उनलाई सार्वजनिक गर्ने प्रहरी तयारी छ । स्रोतका अनुसार कल्पना र कृष्णबहादुरको पहिलेदेखि नै आउजाउ थियो । एकापसमा दुवै परिचित थिए ।

अफगानिस्तानलगायत मुलकमा बसेर आएका कृष्णबहादुर काठमाडौंमै व्यापार व्यवसाय गर्ने तयारीमा भएको बताइए पनि यसको पनि यकिन भइसकेको छैन । कृष्णबहादुर हत्या भएको दिन राति कल्पनाकै कोठामा बस्न गएका थिए । यसबाट पनि उनीहरुबीच निकट सम्वन्ध रहेको बुझ्न सकिन्छ ।

यद्यपि दुई जनाबीच कुन किसिमको सम्बन्ध भन्नेबारे खुलाइएको छैन । आर्थिक लेनदेन वा अरु विवादले हत्याको रुप लियो भन्ने पनि खुलेको छैन ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २७, २०७७ १०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×