कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योजना कमलपोखरीमा, ‘सुन’ लेपन न्युरोडमा

मातृका दाहाल

काठमाडौँ — सुन तस्करीमा संलग्न बाराका इल्ताफ हुसेन अन्सारी र भारतको गुजरातदेखि आएको आपराधिक समूहले न्युरोडका एक कालिगढमार्फत १५ केजी चाँदीमा सुनजस्तो देखिने पहेंलो जलप लगाएको खुलेको छ ।

कमलपोखरी अपार्टमेन्टमा बसेर तस्करी र लुटपाटको योजना बनाएका अन्सारीले न्युरोडमा केही साताअघि नै मनिस मल्लिकमार्फत चाँदीमा जलप लगाएर पहेंलो धातु तयार पारेको पत्ता लागेको हो । शुक्रबार नियन्त्रणमा लिइएका मनिसले यसबारे प्रहरीलाई खुलासा गरेका थिए, उनी सोही दिन साँझ रिहा भएका छन् ।

सो धातु वीरगन्ज हुँदै गुजरातसम्म पुर्‍याउने योजना रहे पनि सूचना बीचमै चुहिएपछि अन्सारी मंगलबार सामान छोडेर सुन्धाराबाट भागेका थिए । प्रहरीले सोही ठाउँबाट १५ केजी पहेंलो धातु, ७ सय ५० ग्राम असली सुन र २ थान पेस्तोल बरामद गरेको थियो । ‘वीरगन्ज वा भारततिरै सामान लगेर बेच्ने रणनीति रहेको अहिलेसम्मको अनुसन्धानबाट देखिन्छ तर बीचमै सूचना चुहिएपछि अन्सारीको योजना विफल भयो,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘आफू पक्राउ परिने डरले सामान घुमुवा प्रहरीलाई दिएर ऊ फरार भएको हुन सक्छ ।’

महानगरीय प्रहरी वृत्त दरबारमार्गका दुई जना घुमुवा बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठले ‘सेटिङ’ मा अन्सारी, उनका सहयोगी सञ्जय पटेल र निलेश सखियालाई बा६च ५५१९ नम्बरको स्कार्पियो गाडीसँगै भगाएका थिए । घटनाको अघिल्लो दिन घुमुवाले लाजिम्पाटमा गरगहना सफाइ गर्ने पसल सञ्चालक कौशल पटेल र देवानसिंह पटेलमार्फत यसबारे सूचना पाइसकेका थिए । तर सामान नियन्त्रणमा लिएर प्रहरीमा बुझाउनेभन्दा कौशल, देवान र घुमुवा प्रहरीले लुटपाट गरेर बाँड्ने योजना बुने । अर्कातिर डीएसपी रञ्जन दाहाललाई घुमुवाले यसबारे सूचना पनि दिए । तर सूचना दिएको रुट एकातिर, अन्सारी वीरगन्ज जान लागेको रुट अर्कै बताउँदा अन्योल थपियो । घुमुवाले डीएसपी दाहाललाई नक्सालको होटल मेरियट नजिकैबाट अन्सारीको समूह हात्तीसार हुँदै सुन बोकेर जान लागेको सूचना दिएका थिए । त्यहीअनुसार दाहालले तत्कालै प्रहरी टोली खटाए । तर सूचना दिएभन्दा विपरीत अन्सारी र उनीसँगै रहेका अन्य दुई सहयोगी कमलपोखरी अपार्टमेन्टबाट सीटी सेन्टर–कृष्ण पाउरोटी–कमलादीबाट घण्टाघर हुँदै निस्किए । अन्सारीलाई प्रहरीले फेला पार्न सकेन । डीएसपी दाहाल अत्तालिँदै घुमुवालाई गाडी पिछा गर्न आदेश दिए । प्रसन्न र बहादुरसिंह गाडी पछ्याउँदै अघि बढे । तर गाडी नियन्त्रणमा लिनुभन्दा अन्सारीबाट सामान फुत्काएर गायब बनाउने रणनीति घुमुवाको थियो । घुमुवा प्रहरीलाई लेपन गरिएको नभई सक्कली सुन भन्ने सूचना आएको थियो ।

केही मिनेटमै सहिदगेट अगाडि गाडी रोकेर निलेश सखिया ओर्लिए । प्रसन्न र बहादुरसिंहलाई झोला दिएर अन्सारी र सञ्जय पटेलसँगै निलेश त्रिपुरेश्वर हुँदै भागे । गाडी अन्सारीले चलाएका थिए । बहादुरसिंहसँग भएको झोलाबाट प्रसन्नले एक केजीको बिस्कुट निकाल्न भ्याइसकेका थिए । झोला हात पारेका घुमुवाले यताउता हेर्दै गर्दा डीएसपी दाहाल आकासे पुल नजिकैको माइक्रो स्टेसन नजिक आइपुगे । ‘झोलामा के हो’ भनेर डीएसपीले सोधे । ‘बाटोमा सुन फ्याँकेर गाडी भाग्यो’ भनेर घुमुवाले भनेपछि डीएसपीले त्यहींबाट ‘मेट्रो कन्ट्रोल’ मा गाडी नम्बर टिपाए । घुमुवासँग भएका अर्का व्यक्ति देखाउँदै ‘ऊ को हो’ भनेर सोधेपछि प्रसन्नले ‘सुराकी दिने मानिस उमेश श्रेष्ठ हो सर’ भनेर ढाँटे । प्रसन्नले केही समयअघि निकालेको एक केजी पहेंलो धातु सुराकी भनिएका उमेशलाई दिइसकेका थिए । उनी बागबजारमा मोबाइल पसल सञ्चालन गर्छन् ।

घुमुवासँग भएको सामानबारे डीएसपी दाहालले त्यहीँबाट महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीलाई जानकारी गराए । ज्ञवालीले अनुसन्धानमा असर पुग्ने भन्दै सामान भेटिएको सक्कली ठाउँ कमलादी उल्लेख गर्न लगाए । तर घटनाको मुचुल्का भने सुन्धारा नै उल्लेख गरियो । स्थानीय जनप्रतिनिधि र जनसेवा प्रहरीलाई साक्षी राखेर मुचुल्कामा घटनास्थल सुन्धारा राखियो । सामान बोकेर त्यहीँबाट डीएसपी दाहाल परीक्षण गराउन सुनचाँदी व्यवसायी महासंघको कार्यालय पुगे । अनि मात्रै थाहा भयो, तस्करीको सामानमध्ये १५ केजी चाँदीमा लेपन गरिएको रहेछ, ७ सय ५० ग्राम सुन मात्र असली रहेछ । एसएसपी ज्ञवालीले त्यसको केहीबेरमा पत्रकार सम्मेलन गरेर कमलादीबाट सामान र हतियार बरामद गरिएको जानकारी दिए । तर प्रहरीले किन घटनास्थल ढाँट्यो भन्ने प्रश्न उठेको छ ।

पूर्वी नवलपरासी प्रहरीको सहयोगमा महानगरीय अपराध महाशाखाको टोलीले निलेश, देवान र अपार्टमेन्टका काम गर्न ल्याइएका विजय पटेललाई दुम्कीबासबाट पक्राउ गरेको थियो । उनीहरूको बयानका आधारमा दुवै घुमुवा प्रहरी, कौशल र उमेश पक्राउ परे । तर घटनाका मुख्य योजनाकार अन्सारी र उनका सहयोगी सञ्जय पटेल फरार छन् ।

पछिल्लो अनुसन्धानअनुसार कौशलले घुमुवा प्रहरीलाई सूचना दिएर सामान अन्सारीबाट लुट्ने र त्यसबापत कौशलले घुमुवालाई १५ लाख दिने सहमति भएको थियो । त्यही कारण डीएसपी दाहाललाई घुमुवाले सही सूचना नदिई अन्सारी हिँड्ने रुट नै अन्यत्र देखाएको खुलेको छ । तर घुमुवा र लाजिम्पाटमा व्यापार गरी बस्ने पटेलबीच सेटिङ भत्किएपछि सबै योजना भताभुंग भएको स्रोत बताउँछ । घुमुवाले सके घटना लुकाउने, नसके सामान बरामद गरेर त्यसको कमिसन बाँड्ने, त्यो पनि योजना विफल भए सामान बरामद गरेर डीएसपीलाई बुझाएर काम देखाउने तीन वटा रणनीति अपनाएको बयान दिएका छन् ।

फरार भएका अन्सारी २०७२ जेठ ३० मा जाली नोट कारोबारको अभियोगमा सातदोबाटोबाट पक्राउ परेका थिए । ललितपुर जिल्ला अदालतले २०६७ जेठ २६ मा दोषी ठहर गर्दै अन्सारीलाई ३ वर्ष कैद र २ करोड ६१ लाख ९ हजार बिगो कायम गरेको थियो, फैसलाको ५ वर्षपछि पक्राउ परेका उनी कैद भुक्तान गरी छुटेका थिए । त्यसपछि उनी सुन तस्करीमा ‘सिफ्ट’ भएको प्रहरी उच्च स्रोत बताउँछ ।

प्रकाशित : श्रावण १८, २०७७ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

मुसहर मन्थन

मुसहरमाथि जारी आर्थिक, सामाजिक र राजनीतिक विभेदको कारक स्थानीय मधेसी समाज हो भने राजनीतिक अधिकार, भूमिहीनता र नागरिकतालगायत समस्याको कारक राज्यका नीतिनियम र नियत हुन् ।
प्रमोद मिश्र, तुलानारायण साह

हालै मधेसमा मलर सदाको भोकले, राजु सदाको क्वारेन्टिनमा सामान्य औषधिबिना र शम्भु सदाको प्रहरी हिरासतमा सामान्य मृत्यु नभई महादलित भएकाले जानीजानी वा परिस्थितिजन्य हत्या भएको हो । यी घटनाले मधेसमा हामीलाई मुसहर महादलित समुदायबारे सोच्न बाध्य बनाएका छन् ।

हाम्रा अगाडि केही प्रश्न टड्कारा छन्— यदि यी महादलितको सट्टा तथाकथित मध्यम वा उच्च जातका व्यक्ति भएका भए के यिनको मृत्यु हुने थियो ? हुने थिएन भने पहिचानसहितको राज्य पाइसकेको मधेसबारे कसरी एउटा राम्रो भविष्यको आशा गर्ने ? मधेसमा मुसहरलगायत दलित समुदायमा के–कस्तो परिवर्तन भइराखेको छ, जसले भविष्यप्रति हामीलाई आशावान् बनाउँछ, यस्ता विषम घटनाहरू हुँदाहुँदै पनि ?

गत डिसेम्बर (२०१९) मा हामी दुवैले पूर्व झापादेखि पश्चिम कैलालीसम्म भ्रमण गर्दा मधेसी समाजमा विविध परिवर्तन भइरहेको महसुस गरेका थियौं । समाजमा वर्गीय, जातीय, लैंगिक सबै प्रकारका सम्बन्धहरू फेरिन खोजेको हामीले देखेका थियौं । आजको मधेस बीस वर्ष पुरानो मधेस छैन । नयाँ पुस्ताका कतिपय किशोरी गाउँगाउँमा समेत बेधडक साइकलमा एक्लै आवतजावत गरिरहेका छन् र स्कुलमा छात्राहरूको नेतृत्व गर्दै वकिल बन्ने महत्त्वाकांक्षा पालिरहेका छन् । त्यहाँ लैंगिक सम्बन्ध फेरिँदै छ । ग्रामीण भेग होस् वा सहरी, उच्च जातका बालिका हुन् वा दलित समुदायका, शिक्षा आर्जनमा आतुर देखिन्छन् । यातायात र सञ्चारमाध्यमको विकाससँगै महिलाको आवतजावत फेरिएको छ । यात्रा लामो भए पनि विभिन्न आन्तरिक र बाह्य कारणहरूले गर्दा त्यहाँ लैंगिक, जातीय र वर्गीय सम्बन्ध पनि फेरिँदै छ ।

तर समष्टिगत रूपमा हेर्दा परिवर्तनको लहरसँगै विभेदका घटना पनि भइरहेका छन् । लकडाउनको प्रारम्भमै सप्तरीको कञ्चनरूप नगरपालिकाको पथरी टोलमा मलर सदाको मृत्यु भयो । स्थानीय अधिकारकर्मीहरूका अनुसार, मलरको मृत्युको कारण भोक थियो । उनी विराटनगरमा मजदुरी गर्थे । लकडाउन सुरु भएपछि उनी कामबाट निकालिएर र घर फर्के । नगर वा वडा तहका नेताको कुरा त छाडिदिऔं, प्रदेश २ सरकारले सम्म मलर सदाको मृत्यु भोकका कारण भएको मान्दैन ।

सिरहाका गैरदलित मध्यम जातका एक युवा मजदुरी गर्न भारत गएका थिए । लकडाउनकै बेला घर फर्किंदै गर्दा धनुषाको जटही नाकामा उनको मृत्यु भएको थियो । उनको भोकका कारण मृत्यु भएको भन्दै पीडित परिवारलाई प्रदेश सरकारले राहतस्वरूप ५ लाख रुपैयाँ दिने निर्णय गर्‍यो । मलर सदालाई राहत नदिने प्रदेश सरकारको निर्णयलाई दलित अधिकारकर्मीहरूले भेदभाव भनेका छन् । मलरको परिवारलाई राहत दिलाउनका लागि विभिन्न तहबाट प्रयास जारी छ । मलर सदाको मृत्युको केही सातापछि धनुषाको सबैला प्रहरी थानामा स्थानीय शम्भु सदाको मृत्यु भयो । प्रहरीले नै हत्या गरेर आत्महत्याको नाटक गरेको शम्भुको परिवार पक्षको दाबी छ । शम्भुले चलाएको ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको थियो । शम्भुलाई प्रहरी हिरासतमा राखिएको थियो । प्रहरीले बारम्बार घूसबापत मोटो रकम मागिरहेको थियो । शम्भुका परिवारले दिन सकेनन् ।

एक दिन शम्भुले आत्महत्या गरेको खबर आयो । जनकपुर भेगका दलितहरू आन्दोलित भए । कैयौं दिनको संघर्षबाट छानबिन गर्ने र राहत दिने सहमति भयो । शम्भुको मृत्युलाई लिएर भइरहेको आन्दोलन सेलाएको पनि थिएन, धनुषाको एक ग्रामीण क्वारेन्टिनमा अर्का युवा राजु सदाको मृत्यु भयो । प्रकाशित समाचारहरूअनुसार, राजुको मृत्यु कोरोनाका कारण नभई झाडापखालाले गर्दा भएको थियो, जहाँ उनलाई कसैले जीवनजलसम्म उपलब्ध गराएको थिएन । दलितहरू फेरि आन्दोलित भए । असारको चर्को गर्मी र वर्षाका बीच हजारौं दलित जनकपुरका सडकमा कैयौं दिनसम्म आन्दोलित रहे । अन्ततः प्रदेश सरकारले राजु सदाको परिवारलाई पनि राहत दिने निर्णय गर्‍यो । मृत्युबारे छानबिन गर्ने पनि सहमति भएको छ ।

जनकपुरको माटो आन्दोलनका लागि निकै मलिलो छ । राणा शासनको विरोधदेखि गणतन्त्रसम्म आइपुग्दा जनकपुरका सडकमा अनगिन्ती आन्दोलन भएका छन् तर मुसहरहरूको यस्तो आन्दोलन, जसले राज्यलाई झुकाउन सफल भएको छ, सायद पहिलो हो । यसले मुसहर जातिमा नयाँ चेतनाको विकास भएको प्रस्ट सन्देश दिएको छ । गाउँ र देशबाहिर रोजगारीले गर्दा समाजमा गरिबी घटेको देखिन्छ, तथापि दलित समुदायको अवस्थामा धेरै सुधार आएको छैन । माओवादी जनयुद्धयता जातीय सम्बन्ध बदलिइरहेको छ । यात्राका क्रममा हामी सप्तरीका एक जना पञ्चायतकालीन खुँखार जमिनदारको घर पुग्यौं । माओवादी विद्रोहले के परिवर्तन ल्यायो भनेर उनका निकै पढे–लेखेका छोरालाई सोध्दा, हामीसँगै बसेका एक जना दलित अभियन्तातर्फ इसारा गर्दै उनले भने, ‘परिणाम के भन्नु ! त्यसैले गर्दा त आज यहाँ सुटबुट पहिरिएर हामीसँगै बसिराख्नुभएको छ । हामीले ‘तपाईं’ भन्नुपर्छ । नत्र पहिले कहाँ यस्तो हुन्थ्यो ?’ त्यसै गरी मधेस आन्दोलनले पनि ऊर्जा थपेकै थियो । रेमिट्यान्सले पनि सघाएको छ । रेमिट्यान्सका लागि बिदेसिने क्रम मधेसका उच्च र मध्यम जातमा मात्र सीमित रहेन । तुलनात्मक रूपमा दलितहरूले कम लाभ लिएजस्तो देखिन्छ तर प्रभावशून्य चाहिँ छैन । हामी यात्राका क्रममा झापादेखि पर्सासम्मका अनेकौं गाउँमा बास बसेका थियौं । ती गाउँहरूमा धनी–गरिब, उच्च जात र दलित, महिला र पुरुषबीचको बदलिँदो सम्बन्धका अनेकौं आयाम हेर्ने–बुझ्ने प्रयास गर्‍यौं ।

चरम गरिबी

सप्तरी जिल्लाको पूर्वी गाउँ गोइठीमा दुई रात बस्दा दुवै बिहान हामी मुख्य गाउँबाट अलि छुट्टै रहेको मुसहरी टोल घुमेका थियौं । दिउँसो राजपूत जमिनदारहरूको गाउँ कोइलाडी र ब्राह्मणहरूको गाउँ तिलाठी गएका थियौं । हनुमाननगर र मधुवापुरजस्ता गाउँहरू घुम्दा बाटो छेउछाउका अनेक मुसहरी टोलबस्ती घुमेका थियौं । हाम्रो दृष्टिमा मधेसमा अहिले पनि सबैभन्दा गरिबीले पिल्सिएको कुनै जातीय समूह छ भने त्यो मुसहर नै हो । सप्तरीका पूर्वी गाउँहरूमा घुमिएका मुसहर बस्तीहरूको अवस्था हृदयविदारक थियो । गोइठीको मुसहरी टोलमा बनेको बाटो हालै ढलान गरिएको थियो तर ससाना घरहरू माटो र फुसकै थिए । गाउँका दर्जनौं युवा, जसमध्ये कतिपय काठमाडौंमा काम गर्थे, कसैले पनि एसएलसीसम्म पढेका थिएनन् । ती प्रायः ट्र्याक्टरमा काम गर्दा रहेछन् । एक–दुई जना ड्राइभर र बाँकी मजदुर । मधेसका गाउँहरूमा ट्र्याक्टर बहुउपयोगी साधन भएको छ । खेतीकिसानीदेखि ढुवानी र भाडा कमाउने सबै काम ट्र्याक्टरले गर्दो रहेछ ।

गोइठीको मुसहरी टोलका बालबालिकाको पढाइ अत्यन्त कमजोर अवस्थामा रहेको देखिन्थ्यो तर गाउँकै कुनामा दिनाभद्रीको मन्दिर भने इँटा र सिमेन्टीको बन्दै थियो । कुनै एनजीओबाट आउने गैरदलित एक शिक्षिकाले ‘ऐ, यिनीहरूले पढेर के गर्छन् ? हाम्रो भाग त खोस्ने हुन् नि’ भन्ने गरेको र त्यहीँको स्कुलका मध्यम जातका शिक्षकहरूले मुसहर छात्रछात्रासँग जात होच्याउने बोली बोल्ने र खेल्न छोड्दिन भन्ने गरेको गाउँका पुरुष–महिलाले बताए । गाउँको स्कुलमा कम से कम एक जना दलित शिक्षक भइदिए आफ्ना बच्चाहरूलाई हेप्ने थिएनन् भन्ने तिनको भनाइ थियो ।

मालिक फेरिँदै छ

हामी सप्तरीको पश्चिमी भेग बिसनपुर चोकभन्दा अलिक उत्तरतर्फको मुसहरी बस्ती पनि पुगेका थियौं । त्यहाँ एक मुसहर अगुवाको श्रद्धाञ्जली सभा आयोजना गरिएको रहेछ, जुन हामी पुग्दा सम्पन्न भइसकेको थियो । मञ्च खाली अवश्य थियो तर त्यसको बनावट र रंगरोगनले कार्यक्रमको भव्यता जनाउँथ्यो । त्यहाँ भइरहेको भोजमा त्यस भेगका यादव थरका एक जमिनदार मुसहर अगुवाहरूसँगै बसेर खाना खाँदै थिए । चारैतिर अन्य मुसहर स्वागतमा खट्दै थिए । खानका लागि रेडिमेड टपरी (पात) को मात्र व्यवस्था थिएन, पिउनका लागि आँगनको एक कुनामा झन्डै एक ट्र्याक्टर मिनरल पानीका बोतल थुपारिएका थिए, जसले ठूलै भोजको आयोजना भइरहेको प्रमाण दिन्थे ।

मुसहर बस्तीमा त्यत्रो भव्य भोज सामान्य कुरो त होइन नै, मुसहरको घरमा जमिनदार आफैं पुगेर सँगै भोज खानु पनि असामान्य परिस्थिति हो । चरम गरिबी र अभावबाट गुज्रिरहेका आम मुसहर समुदायको जमिनदारसँगको सम्बन्ध भनेको मजदुर र मालिकको हुने गरेको छ । मालिकको घरमा हुने भोजभतेर, खेतीपातीमा मुसहरहरू जोतिनु मधेसी समाजको समान्य प्रचलन थियो तर त्यहाँ हामीले फरक दृश्य देखिरहेका थियौं ।

यस्तो कहिलेदेखि हुन थालेको हो ? यो आम चलन भएको छ कि अपवाद हो ? हामीले यसबारे धेरै कोणबाट चिन्तन गर्‍यौं । ती जमिनदार (जो पञ्चायतकालदेखि नै स्थानीय र जिल्ला तहको राजनीतिमा पनि सक्रिय छन्) व्यक्तिगत रूपमा उदार प्रवृत्तिका रहे पनि आधारभूत रूपमा लोकतन्त्रमा भोटको राजनीतिबाट अभिप्रेरित भएर मुसहरको घरमा भोज खान पुगेका रहेछन् भन्ने निष्कर्षमा हामी पुग्यौं । सप्तरी जिल्लामा मात्र लगभग २५–२६ प्रतिशत दलित समुदायको जनसंख्या छ । दलित अगुवा भोला पासवानका अनुसार प्रदेश २ मा दलितको जनसंख्या १७ प्रतिशत छ । त्यस प्रदेशको जुनसुकै निर्वाचन क्षेत्रमा दलितको उल्लेख्य जनसंख्या छ । सप्तरी र सिरहाका दलितहरूले विगतमा अनेकौं आन्दोलन गरेर समाजमा जातीय, वर्गीय र राजनीतिक सम्बन्ध फेर्ने प्रयास गरेका छन् । विगतमा परम्परागत रूपमा छालाको काम गर्ने मोचीहरूले सञ्चालन गरेको सिनो बहिष्कार आन्दोलनको प्रभाव पूर्वदेखि पश्चिमसम्म परेको कुरा हामीले भ्रमणका क्रममै थाहा पायौं । त्यस्तै, माओवादी जनयुद्धको समयमा ठाउँठाउँमा भएका ज्याला वृद्धि आन्दोलनले दलितहरूलाई जागृत गरेका थिए । जनयुद्धपछि सुरु भएको समानुपातिक निर्वाचन प्रणालीले दलित समुदायमा राजनीतिक चेतनाको मात्रै विस्तार गरेन, बरु मतदाताबाट नेता बन्ने महत्त्वाकांक्षाको पनि विकास भयो । त्यसकारण अहिलेका दलितहरू अन्धसमर्थक भएर मालिकहरूले जता भन्यो उतै भोट दिइहाल्ने अवस्थाभन्दा माथि उठेर भागीदारी र अधिकार खोज्ने अवस्थामा पुगेका छन् । दलितहरूमा पलाएको त्यो चेतका कारण जमिनदारहरू दलितका घरघर पुग्न थालेको हाम्रो बुझाइ रह्यो ।

विकासे मोडलको समस्या

पूर्व–पश्चिम मधेस भ्रमणका क्रममा हामी महोत्तरीको बर्दिबास र रौतहटको सन्तपुर मुसहर बस्तीमा पनि गएका थियौं । ती दुवै ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेसनले मुसहर बस्तीलाई पुनर्निर्माण गरेको छ । पुराना फुसका घर गुजुमुज्ज परेको बस्तीलाई फाउन्डेसनले पूरै पुनर्निर्माण गरिदिएको छ । इँटाले बनेका, रातो रङले रंगिएका भित्ताहरू र नीलो रङको जस्ताको छाना भएका साना तर चिटिक्क परेका दुईतले घरहरू अत्यन्त व्यवस्थित पाराले बनाइएका छन् । बच्चाहरूलाई पढ्न र खेल्न छुट्टाछुट्टै ठाउँहरू, भ्युटावर पनि निर्माण गरिएको त्यो अत्याधुनिक बस्तीमा पुग्दा नेपालभित्र हो कि बाहिर, ठम्याउन गाह्रो हुन्छ । मधेसकै अन्य मुसहर बस्तीका तुलनामा त्यहाँ पुग्दा स्वर्ग नै पुगेको अनुभूति हुन्छ । तर, त्यस बस्तीका मुसहरहरूसँगको संवादबाट अनेकौं समस्या पनि उब्जेको थाहा भयो हामीलाई ।

हामीसँगको संवादमा कतिपयले भनेका थिए— यो घर त रंगीचंगी बनेको छ तर घरभित्र ग्यास चुलोमा मात्र खाना पकाउन मिल्ने व्यवस्था छ । हामी ग्यासको सिलिन्डर किन्न सक्ने अवस्थामा छैनौं । घरबाहिर चुलो बालेर खाना पकाउनुपर्ने हुन्छ । पहिला फुसको घर हुँदा हाँस, कुखुरा, खसी–बाख्रा पाल्थ्यौं । सानोतिनो आम्दानीको स्रोत थियो । यो नयाँ झिल्के बस्ती बनेपछि खसी–बाख्रा पाल्न पाइन्न । अनुमति छैन । हामीले संवाद गरेमध्ये प्लस टु सिद्ध्याएकी एक मात्र महिलाले के काम गर्नुहुन्छ तपाईं भनेर सोद्धा भनिन्, ‘केही पनि गर्दिनँ । कामको लागि बाहिर कत्ति निवेदन दिइसकें, तर हामीलाई कसले नोकरी दिन्छ ?’

बर्दिबास र सन्तपुरका बस्तीलगायत अन्य बस्तीका युवाहरूसँग संवाद गर्दा थाहा भयो— मुसहर युवाहरूमा धर्म, राजनीति र रोजगारीबारे धेरै छटपटी छ । बस्तीमा चरम गरिबी देखिन्थ्यो तर पाँचवर्षे बालक एन्ड्रोइड मोबाइल सेटमा कुनै कार्टुन भिडियो हेरिरहेको पनि देखिन्थ्यो । घरका छाना फुसका थिए तर छानामाथि डिसहोमको एन्टेना देख्न पाइन्थ्यो । स्कुल जाने विद्यार्थीहरू कमै भेटिन्थे तर टेलिभिजन सेटसामु झुन्डहरू प्रशस्त थिए । सोध्दा अम्बेडकरको नाम त्यहाँ कसैलाई थाहा थिएन तर माओवादी, ईसु र नयाँ ईश्वरको नाम धेरैलाई थाहा हुन थालिसकेको रहेछ । यस्ता दृश्य देख्दा मुसहर समुदायमा परिवर्तनको बेजोड उकुसमुकुस रहेको भान भयो ।

नैनपुरको कथा र व्यथा

हामी सिरहाको धनगढीस्थित नैनपुर टोलका अभियन्ता गंगाराम यादवको घरमा एक रात बास बसेका थियौं । बिहानीको समयमा वरिपरिका दुइटा मुसहरी टोल घुम्यौं । नजिकैको गोविन्दपुरको मुसहर बस्तीमा निकै सकारात्मक परिदृश्य देखियो । करिब २०–२५ घर भएको त्यस बस्तीका लगभग सबै बालबालिका स्कुल जाँदा रहेछन् । घरको बनोट पनि राम्रो, अन्य बस्तीभन्दा सफा । इँटाको पर्खाल र जस्ताको छाना भएका चिटिक्क परेका घरहरू देखिन्थे । त्यस टोलको अवस्था केकस्तो कारणले सुधारिएको हो भनेर सोधखोज गर्दा सबै जनाले एक युवाको नाम लिए । अशोक सदा नामका ती युवा गैरसरकारी संस्था (गैसस) दलित जनकल्याण युवा क्लबमा काम गर्दा रहेछन् । उनकै प्रयासमा त्यस टोलका बालबालिका स्कुल जान थालेका रहेछन् । अशोक आफू स्नातक तहमा पढ्ने, दिउँसो गैससमा नोकरी गर्ने, बिहान–बेलुका टोलका बालबालिकालाई पढाउने र अभिभावकहरूलाई जागरुक बनाउने काम गर्दा रहेछन् ।

त्यस बस्तीभन्दा अलि पर नैनपुरकै अर्को टोलमा संबतिया देवी सदायसँग भेट भयो । संबतिया देवीको उमेर लगभग ८६ वर्षको हुँदो हो । उनी कुष्ठरोगी रहिछन् । हातखुट्टाका कुनै पनि औंला दुरुस्त थिएनन् । लगभग सबै गलिसकेका देखिन्थे । उनका ५ सन्तान र १३ नातिनातिना रहेछन् । उनका श्रीमान् परीक्षण सदाय, छोराछोरी, नातिनातिना सबैसँग नागरिकता रहेछ, तर उनीसँग रहेछ । संबतिया देवीले नागरिकता पाउन नसक्नुको कारण सामान्य तर जटिल रहेको थाहा भयो । उनको जन्म सिरहाकै सखुवा गाउँमा भएको हो तर हाल माइतमा कोही छैन । नागरिकताका लागि वडा कार्यालयको सिफारिस चाहिन्छ । वडा कार्यालयले जन्मेको ठाउँको सिफारिस हेरेपछि मात्र सिफारिस दिने चलन छ ।

संबतियाको भनाइ थियो, ‘दस–बाह्र वर्षको उमेरमा बाख्राबाख्री चराइरहेको बेला ठूलो भूकम्प आएको थियो । जताततै जमिन फाटेको सम्झिन्छु । आफू सानै हुँदा बुबाआमा सबैको मृत्यु भयो । सानै उमेरमा विवाह भएर यहाँ बस्न थालेकी हुँ । त्यति बेला नागरिकता बनाउने चलन थिएन । हामीलाई थाहा पनि भएन । अहिले आएर वृद्धभत्ता लिनलाई नागरिकता चाहिने रहेछ । बनाउन खोज्दा माइतीबाट सिफारिस ल्याउन भन्छन् । माइतीमा मेरो कोही छैन । आफू बुढेसकालमा कहाँकहाँ जानु ? छोराहरू धेरैपटक गए तर कसैले सिफारिस गरिदिएन । म कुष्ठरोगी, वृद्धभत्ता पाएकी भए अलिक राहत हुन्थ्यो । केही गर्दा पनि नागरिकता बनेन ।’ नैनपुरका दुई उदाहरण देखेर हामीलाई लाग्यो— सानो गैसससँगको आबद्धताले अशोक सदा कति राम्रो परिवर्तनको वाहक बनेका छन् ! अर्कातर्फ सामान्य नीतिगत समस्याका कारण संबतिया देवीले नागरिकता पाउन सकेकी छैनन् ! मधेसका मुसहर समुदायले समाजबाट मात्र होइन, राज्यबाट पनि विभिन्न प्रकारका पीडा बेहोरिरहेको तथ्य नैनपुरका यी दुई प्रसंगले प्रमाणित गरे ।

राजनीतिमा निर्णायक बन्ने प्रयास

मधेसका मुसहर मूलभूत रूपमा माटाको काम गर्ने समुदाय हुन् । मुसहरको जीवन माटामा आश्रित हुन्छ । सामन्ती सोच र व्यवहार व्याप्त रहेको मधेसी समाजमा मुसहर सबैभन्दा पीँधमा परेको अति विपन्न समुदाय हो । मुसहरलगायत मधेसका दलित समुदाय समाज र राज्य दुवैबाट प्रताडित छन् । मुसहरमाथि जारी आर्थिक, सामाजिक र राजनीतिक तीनै प्रकारका विभेदको कारक स्थानीय मधेसी समाज हो भने, राजनीतिक अधिकार, भूमिहीनता र नागरिकता लगायतका समस्याको कारक राज्यका नीतिनियम र नियत हुन् ।

हामीले भेटेका अनेकौं अगुवाको धारणा बुझ्दा उनीहरू संगठित हुने प्रयास गरिरहेको आभास भयो । खास गरी जनकपुर वरिपरिका मुसहर समुदायका युवाहरूले यसतर्फ गम्भीर प्रयास गरिरहेको बुझिन्छ । अहिले जनकपुरमा जारी मुसहरहरूको आन्दोलन एक दिनको प्रयास होइन । २०७३ जेठमा जनकपुरको बाह्रबिघा मैदानमा मुसहरहरूको विशाल भेला भएको थियो, जसका प्रमुख अतिथि थिए बिहारका पूर्वमुख्यमन्त्री जितनराम माझी । त्यस भेलामा मधेसका अनेकौं जिल्लाबाट हजारौंको संख्यामा मुसहरहरू आएका थिए ।

केही वर्षयता मुसहर अगुवाहरूले बर्सेनि दिनाभद्री दिवस, माटो दिवस भव्यताका साथ मनाउन थालेका छन् । ती कार्यक्रममा विभिन्न जिल्लाका हजारौंहजारको संख्यामा मुसहरहरूको उपस्थिति हुँदो रहेछ । अहिलेको जनकपुरको आन्दोलन पनि त्यही प्रयासको एक कडी हो, जसको चालढाल हेर्दा प्रदेश २ का मुसहर लगायतका दलितहरू राजनीतिक रूपमा संगठित हुने प्रयासमा रहेको बुझिन्छ ।

समग्र भारतमा त छँदै छ, सीमावर्ती बिहार र युपीमा वर्षौंको प्रयासपछि संगठित भएका दलितहरू राजनीतिमा हस्तक्षेपकारी अवस्थामा पुगेको विदितै छ । त्यसको सन्देश मधेसमा बडो सकारात्मक ढंगले पुगेको देखिन्छ । आफ्नो समुदायको जनसंख्यालाई सचेत मतदातामा परिणत गर्न सकियो भने आफ्नै समुदायबाट नेता पैदा हुन सक्ने बुझाइ मधेसका दलित अगुवाहरूको छ । मधेस विद्रोहयता यादव र वैश्य जातिहरूले जसरी मधेसको राजनीतिमा वर्चस्व स्थापित गरिरहेका छन्, त्यसले दलितहरूलाई थप ऊर्जा प्रदान गरेको छ । अहिले जसरी केही सीमित संख्यामा युवा अध्येता र राजनीतिक कार्यकर्ताहरूले पहल गरिरहेका छन्, यो क्रम केही वर्ष मात्र जारी रह्यो भने मधेसको राजनीतिमा दलित समुदाय निर्णायक भएर उदाउने निश्चित छ ।

प्रकाशित : श्रावण १८, २०७७ १०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×