‘देशमा न्याय छ भन्‍ने लागेको थियो’- समाचार - कान्तिपुर समाचार

‘देशमा न्याय छ भन्‍ने लागेको थियो’

‘हामीले हाम्री छोरी गुमायौं, अब हाम्रीजस्ता धेरै छोरी सुरक्षित छैनन्, सुरक्षाकर्मीले गरेको हत्यालाई न्यायालयले सदर गरिदिएको छ ।’
बिनु सुवेदी, कृष्ण ज्ञवाली

काठमाडौँ — बैठक कोठामा यताउता टहलिएको केहीबेरमा हरिप्रिया ढकाल भित्तामा टाँसिएका हँसिला दुई फोटोछेउ पुगिन्, एकछिन रोकिइन् र लामो सुस्केरा हाल्दै भनिन्, ‘न्याय बेचेर खाए !’ हरबार कोठामा चक्कर मार्दा उनी तिनै फोटोछेउ पुगेर टक्क रोकिन्छिन्, मनमा हुन्डरी चल्छ । अहिलेको हुन्डरी झन् वेगमा चलिरहेको उनकै उदासीले बताइरहेको छ ।

‘उसलाई फोटो खिच्न भनेपछि औधी मन लाग्थ्यो, जहाँ पुगे पनि फोटो खिचिहाल्थी,’ हरिप्रियाले उकुसमुकुस पोखिन्, ‘उसले छाडेपछि मैले फोटो खिच्न पनि छाडिदिएँ ।’ छोरीले नै छोडेर गएपछि हरिप्रिया बाहिरफेर घुम्न जान पनि छाडिन्, रङ रमाइलो र उत्सव उनका सम्झना मात्रै रहे, जसरी छोरी गीता ढकाल सम्झनाबाहिर रहन सकिनन् । ‘साथी थिई, उही नभएपछि केही भएन,’ उनले भनिन् ।

आमाहरूलाई हरसन्तानको माया बराबरी नै लाग्दो हो तर आमाको पहिलो अनुभूति हुने भएकाले होला, पहिलो सन्तानको माया विशेष हुन्छ भन्छन् । त्यसैले हरिप्रियालाई तीन सन्तानमा जेठी छोरी गीताकै मायाले छपक्कै भिजाउँथ्यो, भिज्न त उनका परेला अहिले पनि भिज्छन् तर याद र वियोगले । त्यसैले गीताको हत्या भएयता उनी बिस्तारै बिरामी पर्दै गइन्, स्मरणबाट धेरै चीज हराए, आँखाको ज्योति पनि हराउँदै गयो, छोरी गुमाउँदाको सन्तापले हरिप्रिया पनि बलियो रहिनन् । अझ पछिल्लोपटक छोरीको हत्या गर्ने रञ्जन कोइरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएपछि उनी झन्झन् बेचैन भएकी छन् । ‘लकडाउन भएका बेला सर्वोच्चले गरेको फैसला सुन्नेबित्तिकै यस्तो पनि हुन्छ भनेर म त छक्क परेँ,’ हरिप्रियाले भनिन्, ‘त्यसपछि के–के भयो भनिसाध्य छैन, बयान गरिसाध्य छैन ।’ हुन पनि अन्यायमा पर्दा निस्किएको ज्वालामुखीले मनभित्र कताकता राँको बाल्छ, के हिसाब हुन्छ र !

यो समाज यसै पनि छोरीहरूका निम्ति ‘भरपर्दो’ छैन, त्यसपछि न्यायालयबाटै यो किसिमको फैसला आउँदा धेरैले मुखामुख गरेका छन्, अचम्म मानेका छन् । हरयातनाको साक्षी बसेर न्यायको अनुभूति गरेको ढकाल परिवार पनि करिब साढे ८ वर्षपछि पुरानो घाउले पिरोलिएको छ । अमेरिकाबाट आएकी एउटी बुहारी र नातिसहित बूढानीलकण्ठस्थित घरमा बसिरहेका गीताका बुबा हरेराम र आमा हरिप्रियाका अधिकांश समय आफैंमाथि बज्रिएको अन्यायको घनले हिर्काएको चोट सुमसुम्याएरै बित्छ । आँखामा आँसु रित्तिइसकेको छ, न्यायदाताले दिएको अन्यायको घाउ झन्झन् बल्झिएको छ । तर सुक्खा आँखाहरूको पीडाको भाका झन् गहिरो हुँदो रहेछ । ‘हामीले हाम्री छोरी गुमायौं, अब हाम्रीजस्ता धेरै छोरी सुरक्षित छैनन्,’ हरेरामले कान्तिपुरसँग भने, ‘सुरक्षाकर्मीले गरेको हत्यालाई न्यायालयले सदर गरिदिएको छ ।’ हरिप्रिया पनि गुमेकी छोरीभन्दा पनि अब गुम्ने सम्भावना बोकेका छोरीहरूको पीरले हुरुक्कै हुन्छिन्, बोल्दाबोल्दै रोकिन्छिन् र उही छोरीसितैका सम्झनाका पोको फुकाउन थाल्छिन् । छोरी जन्मिएदेखि उनको हत्या भएसम्मका कुनै पल स्मरणबाट मेटिएकै छैनन् । ‘अलि अघिसम्म त नातिहरू पनि आउँथे, अहिले आउनै छाडे,’ उनले गीताका दुई सन्तान सम्झिइन्, ‘नातिहरू आएर चुपचाप बसेर जान्थे, कान्छोले आमाको फोटो छेउमा पुगेर आँसु बगाउँथ्यो, हामीले नदेख्ने गरी पुछ्थ्यो ।’ हरिप्रियाले यसो भन्दै गर्दा उनका आँखामा टल्किएका आँसु हामीले देख्यौं ।

पहिलो जति महत्त्वपूर्ण हुन्छ सम्भवतः अन्तिम घटना उत्तिकै स्मरणयोग्य । सायद त्यसैले हरिप्रियाले पनि हामीसँग त्यही दिनको स्मरण गरिन्, जुन दिन गीतासँग अन्तिम संवाद भएको थियो । ‘अमेरिकाबाट आएका उसका भाइबहिनी फर्किने बेला भएको थियो, मैले गीतालाई फोन गरेर भाइ र बहिनी आएका छन्, बस्न आ न भनेँ, उसले खुट्टा मर्केको छ, आउन सक्दिनँ भनी,’ हरिप्रियाले सुनाइन्, ‘मैले भाइलाई गाडीसहित लिन पठाउँछु भनेकी पनि हो । ऊ आउन मानिन । जहाँ गए पनि सुत्ने त हो नि, होस् यहीँ बस्छु भनी ।’

त्यो नै आमाछोरीबीचको अन्तिम कुराकानी थियो । ‘मलाई याद छ, त्यति बेला १२ बजेर ५ मिनेट गएको थियो,’ हरिप्रियाले भनिन् । त्यो दिन छोरी माइतीमा आएकी भए घटना नै हुँदैनथ्यो कि भनी आमा हरिप्रिया चुक्चुकाउँछिन् । गीताले ‘छोरालाई लिएर गएको’ बताएपछि एक्ली छोरीलाई माइत आउन जोडबल गरेकी थिइन् । त्यो दिन साँझदेखि गीताको फोन ‘स्विच अफ’ भयो । घरमा काम गर्ने र वरपरका मान्छेका अनुसार, त्यो दिन बेलुकी घरमा गाडी आई रोकिएर एक घण्टापछि निस्किएको थियो । गाडीमा हेडलाइट निभाइएको थियो । ‘सबैको शव जलाउन पशुपतितिर ल्याउँछन्, उसले मेरी छोरीलाई मारेर उल्टो बाटो लग्यो, टिस्टुङ पुर्‍याएर जलायो,’ हरिप्रियाले भनिन्, ‘त्यो बेला त छोरी नभए पनि देशमा न्याय छ भन्ने लागेको थियो, तर अहिले त्यही पनि बाँकी रहेन ।’

***

सर्वोच्च अदालतले कानुनका दफा/उपदफा केलाउनु आफ्नो ठाउँमा छ । तर रञ्जनलाई रिहा गर्नुपर्नाको प्रमुख आधार नाबालक छोराहरूको हेरचाहलाई देखाइएको छ, जुन विल्कुल झूटो हो । घटना हुँदा १४ र ११ वर्ष उमेरका रञ्जन र गीताका छोराहरू अहिले २२ र १९ वर्षका भइसकेका छन् । घटनापछि घरतिरकी हजुरआमाकामा बसेका उनीहरूलाई मामाघरमा ल्याएर राख्न र पढाउन हजुरबाबु (गीताका बाबु) हरेरामले हर प्रयास गरे । जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दिए । प्रशासनले समेत घरतिरका मान्छे र संरक्षकको जोडबल हुँदाहुँदै मामाघरतिरका हजुरबाबुको हकदाबी अलि कमजोर हुने भन्दै सम्झाएर पठायो । कतिपयले भने जेलबाट रिहा भएपछि रञ्जनकी प्रेमिका ताराले छोराहरूको हेरचाह गरेको दाबी गर्छन्, यसलाई हरेराम पत्याउँदैनन् । ती छोराहरूको संरक्षणका लागि घर र मामाघरमा तानातान भएको अवस्थामा सर्वोच्च अदालतले संरक्षकको अभावलाई पनि मनन गर्नुपर्ने भनी रिहा गरिदियो ।

***

प्रत्यक्षदर्शी मंगलमान तामाङले अदालतमा गरेको बयानअनुसार, २०६८ पुस २७ गते राति टिस्टुङको नेत्राङ सडक छेउमा ठूलो आगो बलेको थियो । स्थानीय बासिन्दाले सडकमा हिँड्नेले जाडोबाट जोगिन आगो बालेको अनुमान गरे । भोलिपल्ट त्यही ठाउँमा जलेको शव भेटिएपछि होहल्ला भयो । घटनाको अनुसन्धानका लागि पुगेको मकवानपुर प्रहरी शवको बाँकी अवशेष लिएर फर्कियो । अवशेष त्रिवि शिक्षण अस्पतालमा पठाइयो । शवमा भएको घडी चिनिने अवस्थामा थियो जुन गीताकी आमा हरिप्रियाले सिंगापुर भ्रमणका क्रममा छोरीलाई उपहार ल्याइदिएकी थिइन् ।

शव भेटिएको ठाउँमा भोलिपल्ट एक व्यक्तिले शंकास्पद गतिविधि देखाए । स्थानीयले हेर्दा यताउति गर्ने र अरू बेला दाउराले भुइँ खोतल्नेलगायत गतिविधिले तिनले गरेका थिए । स्थानीयनजिक जान थालेपछि हत्त न पत्त उनी खरानी रङको गाडी लिएर गलत साइडबाट हुत्तिए । तत्काल स्थानीय बासिन्दाले बाटोमा मोटरसाइकल तेर्स्याए । गाडी रोकियो र गाउँलेले साँचो खोसे ।

घटनास्थल पुगेका रञ्जनले आफ्नो परिचयपत्र देखाए अनि बनावटी कुरा गर्न थाले । शवमा आगो लागेकाले अनुसन्धानका लागि सशस्त्र प्रहरीबाट आएको बताएका उनको कुरामा विश्वास नभएपछि स्थानीय बासिन्दाले कोइरालालाई प्रहरीको जिम्मा लगाए । प्रहरीले पनि सशस्त्रको डीआईजी भएको थाहा पाएपछि सलाम ठोकेर छाडिदियो ।

मंगलका अनुसार, त्यस दिन रञ्जन पक्राउ नपरेको भए घटनाबारे सायदै त्यति छिटो सूचना मिल्ने थियो । तर अहिले मंगल र रञ्जनलाई पक्रन सघाउ पुर्‍याउने सुनीता तामाङको हंशले ठाउँ छोडेको छ । ‘रञ्जन छुट्दै छन् रे भन्ने खबर थाहा पाउनेबित्तिकै हामीले हरेराम बुबा (गीताका बुबा) लाई फोन गर्‍यौं,’ मंगलले कान्तिपुरसँग फोनमा भने, ‘सर्वसाधारण भए त जेलमा हुन्थे होला, उनी छुटिहाले । त्यत्रो शक्तिशाली मान्छेले अब हामीलाई पनि केही पो गर्ने हुन् कि भन्ने पो डर लागिरहेको छ ।’

त्यस रात शव जलाउँदै गर्दा अर्कोपट्टिबाट ट्रक आएको रहेछ । अतालिएका रञ्जन हत्त न पत्त जल्दै गरेको शव काल्नामुनि फालेर काठमाडौं फर्के । तर उनलाई शव पूरै जलेन, चिनिने गरी भेटिने हो कि भन्ने शंकाले सताउन थाल्यो । विचल्लित र छटपटाहटमा बेचैन उनी फेरि गाडी लिएर त्यही ठाउँ पुग्दा स्थानीय बासिन्दाले भेटेका हुन् । त्यहाँ जानुअघिसम्म उनलाई प्रहरीले भोलिपल्टै शव बरामद गरेको र लिएर गएको थाहा थिएन । त्यसैले उनी पानीको बोतलमा पेट्रोल बोकेर घटनास्थल पुगेका थिए । त्यहाँबाट फर्कंदै गर्दा नागढुंगामा उनी पक्राउ परे । रञ्जन अहिले यसरी छुट्दा न्यायालयमाथि प्रश्न उठ्नु अस्वाभाविक होइन । गीताका बुबा हरेरामले सम्झिएअनुसार रञ्जनलाई जन्मकैद गर्ने पुनरावेदन अदालतको फैसलाको पूर्णपाठ आउनेबित्तिकै लिन उनी अदालत पुगेका थिए । उनलाई एक न्यायाधीशले रजिस्ट्रारको कार्यकक्षमा भेटाएपछि भनेका थिए, ‘तपाईंहरू यति धेरै अन्यायमा पर्नुभएको रहेछ, संसारको जुन कुनामा गए पनि आउने फैसला यही हो ।’

***

रञ्जन २०४६ सालमा प्रहरी निरीक्षक भएका थिए । २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना भएपछि उनी प्रहरीको डीएसपीबाट सोझै एसपी भएर सशस्त्रमा गए । उनी एसपीबाट बढुवा हुँदै डीआईजीसम्म भएका थिए । अपराध अनुसन्धानमा पोख्त, चतुर भएका कारण उनी सशस्त्र प्रहरीभित्र पनि काविल अधिकृतका रूपमा चिनिन्थे र सम्भावित आईजीका रूपमा उनको नाम आउँथ्यो ।

कान्छो छोरा जन्मेलगत्तै रञ्जन र पत्नी गीताको सम्बन्धमा दरार आउन थालेको थियो । रञ्जन श्रीमतीको चरित्रमाथि आक्षेप लगाउँथे, आफैंचाँहि तारा रेग्मीसँग विवाहेत्तर सम्बन्धमा थिए । मनमुटाव बढ्दै गएपछि कोइरालाले सम्पत्ति आफ्नो नाममा गराउने प्रयास थाले किनभने चपलीको घर पत्नी गीताका नाममा थियो । सफल नभएपछि उनले सम्बन्धविच्छेदका साथै अंश दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका थिए । प्रतिउत्तरमा गीताले मानाचामलको मुद्दा हालिन् ।

‘शरीरभरि बुटैबुटले हिर्काएको डाम बोकेर माइत आउँथी, कति समयसम्म त पीडा लुकाएरै बसी अति भएपछि नै उसले मानाचामलको मुद्दा दर्ता गरेकी हो,’ हरिप्रियाले भनिन् । मानाचामल मुद्दामा जिल्ला अदालतले तलबको आधा हिस्सा गीतालाई दिनू भनी आदेश गरिदियो । चपलीस्थित घरमा श्रीमती बस्दै आएकामा तलबसमेत आधा दिनुपर्ने भएपछि रञ्जन विक्षिप्तजस्तै थिए ।

०६८ भदौमा डिफेन्स कोर्सका लागि चीन गएका रञ्जन एकैचोटि पुस २१ गते फर्केका थिए । उनी सोझै घर नगई प्रेमिका तारा रेग्मीको निवासमा पुगेको उनका चालकको बयानबाट खुल्छ । जनकार प्रहरी अधिकारीहरूका अनुसार, चीनबाट सुटुक्क नेपाल आएका उनी कहीं कतै थाहा नदिई श्रीमतीको हत्या गरी चीन फर्कने योजनामा थिए । तर विभिन्न प्रतिकूल परिस्थिति र अन्य घटनाले उनको पोल खुल्यो र प्रहरीमा ‘हो, मैले नै गरेको हुँ’ भनी एक वाक्यमा अपराध कबुल गरे ।

रञ्जन योजनाबद्ध र क्रूर हिसाबले अघि बढेका थिए भन्ने प्रहरीको अनुसन्धान र मिसिलबाटै खुल्छ । घटना हुनुअघि नै पत्नीको साथमा रहेको कान्छो छोरालाई आफ्नो घरमा ल्याएका उनले त्यही दिन (२०६८ पुस २७) बिहान नयाँ जर्किनमा १ सय २३ लिटर पेट्रोलको जोरजाम गरेका थिए । अपराध अनुसन्धानमा पोख्त उनी घटनापछि पूरै शव नष्ट गरे, अनुसन्धानले पूर्णता पाउँदैन र आफू फसिँदैन भन्नेमा विश्वस्त थिए । छोरालाई घरमा ल्याएपछि उनी त्यो दिन दोस्रोपटक पत्नी बसेको चपलीस्थित घरमा पुगेका थिए ।

दुई जना मात्रै भएको घटनामा गीताको हत्या भइसकेको छ भने रञ्जनले आफ्नो कर्तुत बताउने कुरै भएन । रञ्जनले प्रहरीमा दिएको बयानअनुसार गीताले पैसा मागेपछि वादविवाद र झगडाका क्रममा धकेलाधकेल हुँदा भित्तामा टाउको ठोकिएपछि अचेत भएर उनको मृत्यु भएको हो । तर प्रहरी अधिकारीहरूका अनुसार, खुट्टा फ्याक्चर भएको अवस्थामा रहेकी गीता पतिलाई धकेल्न सक्ने अवस्थामा थिइनन् । ‘श्रीमतीको घाँटी थिचेर वा यस्तै अरू ढंगले मारे,’ मिसिल अध्ययन गरेका एक प्रहरी अधिकारीले भने, ‘सिरानीले मुख थुनिदिएर हत्या गरेको भनी अनौपचारिक रूपमा उनले बताएका थिए ।’ भोलि प्रमाण हुन सक्ने भन्दै उनी सिरानीको खोलसमेत गाडीमा बोकेर हिँडेका थिए ।

पत्नीको हत्यापछि शव त्यही कोठामा राखेर बाहिरपट्टि ताला लगाई निस्केका उनी पुस २७ गते तेस्रो पटक घरमा प्रवेश गरे र शव घरबाट निकालेर गाडीमा राखे अनि बाहिर निस्किए । त्यसरी निस्कँदा उनले घरको मूलढोका हैन, करेसाबारीको ढोका प्रयोग गरेका थिए । मूलढोका अलि खुला ठाँउमा थियो र वरपरकाले देख्ने सम्भावना हुन्थ्यो । बेडरुममा गहना असरल्ल थियो । बारीमा कुनै गह्रौं सामान घिसारेजस्तो डाम थियो । ‘यी सबै प्रमाण हुँदाहुँदै पनि हाम्री छोरीको हत्यारा कसरी छुट्यो ?’ गीताका बुबा हरेरामले भने, ‘अब अरू छोरीहरूमाथि यस्तो घटना हुँदा न्याय माग्न कहाँ जाने ? भरोसा कसको गर्ने ?’

***

पक्राउ परेपछि रञ्जनले कुनै पनि हिसाबले न्यायालयलाई सहयोग गरेनन् । अनेक हर्कत देखाएर अनुसन्धान र न्याय निरुपणलाई अल्मल्याए । उनका पुराना सहकर्मी एवं घटना हुँदाका बेला उनको मुद्दाको अनुसन्धान गरेका प्रहरी अधिकृतहरूका अनुसार प्रहरीमा बयान गरेर पछि त्यसमा भएको हस्ताक्षर आफ्नो होइन भनेर निहुँ खोजे । बाध्य भएर बयानको प्रति नै राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पठाएर प्रमाणित गराउनुपर्‍यो ।

गीताका बाबु हरेरामका अनुसार, जिल्ला अदालतमा मुद्दा विचाराधीन भएकै अवस्थामा रञ्जनले ‘यो मुद्दामा मलाई फसाइस्, तँलाई म जेलबाट छुटेपछि जे पनि गर्छु’ भनी धम्की दिए । उनका छोरा प्रदीपमाथि पनि हातपातको प्रयास भएपछि अदालतका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनुपरेको थियो । कोइरालाले नै ससुराली पक्षलाई अवेहलनाको मुद्दा लगाए, जुन पछि खारेज भयो । उनले प्रहरीसमक्ष आफ्नो हात कमजोर रहेको दाबी गर्दै मारेको भए आफैंले शव व्यवस्थापन गर्न नसक्ने जिकिर गरिरहेका थिए ।

घटनाको अनुसन्धानका दौरान प्रहरी अधिकारीहरूका अनुसार अदालतमा बयान दिने क्रममा भने रञ्जनले आरोप स्विकारेका थिएनन्, बरु आफूमाथि नै अपहरणको आरोप लागेकाले पत्नी खोज्न बाइरोडको बाटो नारायणगढ जाने क्रममा पिसाब फेर्न रोकिएको र टिस्टुङका गाँउलेले नियन्त्रणमा लिएको दाबी गरेका थिए । उनले बाहिर भवितव्यको कसुर स्थापित गराउन खोजेका थिए तर मिसिलमा त्यो कुरा थिएन । मागदाबी नै नभएको विषयलाई इजलासले सम्बोधन गरिदिएपछि रञ्जन विजयी भावमा हात हल्लाउँदै कारागारबाट बाहिरिए ।

अवकाशप्राप्त एआईजी केशव बरालले २०६८ माघ ९ गते कान्तिपुरसँग भनेका थिए, ‘कानुन पालना गराउने ठाउँमा बसेको व्यक्ति आफै विधिको शासनविपरीत गई जघन्य हत्यामा संलग्न हुनुले ठूलो अनिष्टको संकेत गर्छ ।

यसले आम मानिसमा पनि कानुनप्रति विश्वास घटाउने काम गरेको छ ।’ अपराध अनुसन्धानमा पोख्त विज्ञहरूले देखेको जोखिमलाई सर्वोच्च अदालतले मानवीय पक्ष र सहुलियतको आवरणमा खारेज गरिदिएको छ । सुरक्षाकर्मीले बर्दीको आडमा गरेको त्यो जघन्य अपराधलाई दशकपछि न्यायालयले अनुमोदन गरेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १०, २०७७ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्

नेयमारले दिलाए पीएसजीलाई फ्रेन्च कप

एजेन्सी

पेरिस — नेयमारको एक मात्र गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शुक्रबार सेन्ट इटियनलाई १–० ले पराजित गर्दै फ्रेन्च कप जितेको छ । कोरोना भाइरस संक्रमणको महामारीपछि फ्रान्समा मार्च ११ यता माथिल्लो दर्जाको फुटबल भएको यो पहिलो पल्ट हो । 

नेयमारले १४ औं मिनेटमा निर्णायक गोल गरे । केलियन एमबापेको चोटका कारण पीएसजीका लागि यो जित महँगो सावित हुन सक्नेछ । कुर्कुचाको चोटका कारण उनले अर्को महिना हुने युरोपेली च्याम्यिन्स लिगको क्वाटरफाइनल गुमाउन सक्नेछ ।

पीएसजीलाई यसअघि फ्रान्सेली लिग वानको विजेता घोषित गरिएको थियो । युरोपका प्रमुख फुटबल देशमध्ये फ्रान्स कोरोना भाइरस संक्रमणको महामारीका कारण लिग रोकिएको एक मात्र देश हो ।

प्रकाशित : श्रावण १०, २०७७ ०६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×