कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर पठाइएका संक्रमितको अनुगमन भएन

प्रदेश ५ मा हालसम्म ३,७७७ जनामा संक्रमण पुष्टि भएकामा १,४०५ जना घर गइसकेका छन् । उनीहरू के गर्दैछन् भन्ने न स्थानीय तहलाई छ, न त प्रदेश सरकारलाई ।

कपिलवस्तु, रुपन्देही, बर्दिया — कपिलवस्तुको यशोधरा गाउँपालिका–८ खोरियाका ६ जना संक्रमितलाई आइसोलेसनबाट घर पठाएको दुई साताभन्दा बढी भयो । संक्रमण पुष्टि भएपछि १४ दिन आइसोलेसनमा बसे । त्यस क्रममा लक्षण र चिह्न नदेखिएको र बिरामी नभएको जनाउँदै घर पठाइएको थियो । उनीहरूको दोस्रो र तेस्रो पटक पीसीआर परीक्षण गरिएन ।

घर पठाइएका संक्रमितको अनुगमन भएन

महाराजगन्ज नगरपालिका हरदौनाका चार जना संक्रमितलाई पनि १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गरियो । बाहिरी रोग र लक्षण नदेखेको भन्दै उनीहरूलाई घर पठाइएको थियो । उनीहरू गाउँघरमा हेलमेल भएर परिवारसँग बसेका छन् । उनीहरूलाई डिस्चार्ज गर्ने बेलामा स्वास्थ्यकर्मीले एक साता घरमा छुट्टै बस्न भनेका थिए । उनीहरूले अटेर गरेका छन् । घर आएपछि अलग्गै बस्नुपर्ने नियम पालना गरे/नगरेको कसैले अनुगमन गरेको छैन । ‘आइसोलेसनबाट पठाएपछि फलोअप छैन,’ मायादेवी गाउँपालिकास्थित भैसकुण्डाका बलिउद्दिन मुसलमानले भने, ‘उनीहरू परिवार र गाउँमा घुलमिल भएका छन् । निस्फिक्री हिँडडुल गरिरहेका छन् ।’ जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय पालिकाले परीक्षणबिनै घर पठाइएकाको ‘फलोअप’ गरेका छैनन् । उनीहरूले घर फर्केर के गरिरहेका छन्, कसैलाई सरोकार छैन ।

संक्रमण व्यापक हुन नदिन ‘ट्राभल हिस्ट्री’ लिएर संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपथ्र्यो । सात सयभन्दा बढी संक्रमित हुँदा पनि कन्ट्याक्ट ट्रेसिङमा ध्यान दिइएको छैन । सुरुमा यशोधरा, मायादेवी गाउँपालिका र कृष्णनगर नगरपालिकाका केही सीमित संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरियो । डेढ महिनायता कन्ट्याक्ट ट्रेसिङ गरिएको छैन । जिल्ला र स्थानीय तहका जनशक्ति क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा खटिनुपर्दा सघन रूपमा कन्ट्याक्ट ट्रेसिङ गर्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताए । ‘ट्रेसिङ छुटाउनै नहुने काम हो,’ उनले भने, ‘तर समयमा गर्न सकेनौं ।’ अब सुरु गर्ने योजना बनाएको उनले बताए । ‘समुदायमा संक्रमणको चिन्ता छ,’ एक स्वास्थ्यकर्मीले भने, ‘हामी बल्ल योजना बनाउँदै छौं ।’

कपिलवस्तुमा ७१ महिलासहित ७ सय ३६ जना संक्रमित छन् । त्यसमध्ये ६ सय ६९ जना घर फर्किसकेका छन् । यीमध्ये दोस्रो र तेस्रो पटक गरिएको स्वाब परीक्षणमा दुवै रिपोर्ट नेगेटिभ आएपछि संक्रमणमुक्त भएका ४२ जना मात्र हुन् । गत जेठ २४ गते सरकारले १४ दिन आइसोलेसनमा बिताएर लक्षण र बिरामी नभएकालाई घर पठाउने निर्देशिका लागू गर्‍यो । त्यसपछि अधिकांश आइसोलेसन रित्तिएका हुन् । उक्त निर्देशिका जारी हुनुपूर्व संक्रमितको दोस्रो र तेस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने गरिएको थियो ।

कोरोना भाइरस हटस्पट मानिएको कपिलवस्तुमा बिहीबारसम्म ६७ संक्रमित मात्र आइसोलेसन सेन्टरमा छन् । ‘स्थानीय तहलाई क्वारेन्टाइन र आइसोलेसन खाली गराउन कारण चाहिएको थियो,’ एक स्वास्थ्यकर्मीले भने, ‘सरकारको नयाँ नीति आएपछि सोचेजस्तै भयो ।’ अहिले जिल्लाका १० मध्ये चार स्थानीय तहका आइसोलेसन र पाँच स्थानीय तहका क्वारेन्टाइन खाली भएका छन्् । अहिले पाँच स्थानीय तहका ३६ क्वारेन्टाइनमा ३ सय २६ जना रहेका छन् ।

रूपन्देहीको कोटहीमाई गाउँपालिका–१, रामनगरका उदयराज लोध र अशोक लोध अहिले घरमै छुट्टै बस्नुपर्थ्यो । एक साता घरमै सामाजिक दूरी कायम गरेर बस्ने सर्तमा पाँच दिनअघि आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका थिए । घर पुगेको अर्को दिनबाट काममा खटिएका छन् । दैनिक परिवारका अन्य सदस्यसँगै खनजोतमा व्यस्त हुन्छन् । खेतीपातीको सिजन भएकाले काम नगरी सुख छैन । तर, सामाजिक दूरीको मतलब गर्दैनन् । लोध दाजुभाइजस्तै जिल्लामा घरमा आइसोलेसनमा बस्ने गरी डिस्चार्ज गरिएका धेरै संक्रमितले सामाजिक दूरीको बेवास्ता गरेका छन् । दैनिक काममा खटिएका छन् ।

संक्रमण पुष्टि भएपछि आइसोलेसन सेन्टरमा राखिएका बाँकेका तीन जनालाई बिहीबार परीक्षण नगरी घर पठाइएको छ । बर्दियाका विभिन्न आइसोलेसन सेन्टरमा राखिएका ५७ जनालाई पनि बुधबार घर पठाइयो । बाँके र बर्दियामा १४ दिन राखेर बिनापरीक्षण घर पठाउन थालेपछि समुदायमा त्रास बढेको छ । यसरी पठाइएका व्यक्तिले भने परीक्षण माग गर्दै आएका छन् । ‘मेरो आरडीटी नेगेटिभ आयो । तर, सँगै बस्ने साथीको पीसीआर पोजिटिभ देखियो,’ बर्दियाको राजापुर नगरपालिको आइसोलेसनमा बसेका व्यक्तिले भने, ‘त्यसपछि मेरो स्वाब जाँदा पोजिटिभ रिपोर्ट आयो । १४ दिन बसेपछि घर पठाए । पीसीआर परीक्षण गरेर घर पठाएको भए ढुक्क भइन्थ्यो ।’

चिकित्सकले बिदाइ गर्दा एक सातासम्म होम आइसोलेसनमा बस्न सुझाव दिने गरेका छन् । यसरी घर गएका व्यक्ति बसे/नबसेको प्रभावकारी अनुगमन हुन सकेको छैन । खेतीपातीको समय भएकाले उनीहरू परिवारसँग काममा जुटेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले नयाँ निर्देशिकाअनुसार संक्रमितलाई घर पठाइरहेको बताए । दुई साता आइसोलेसनमा राखेपछि कुनै लक्षण नदेखिए घर पठाउन सकिने निर्देशिकामा उल्लेख रहेको उनले बताए । ‘निर्देशिकाअनुसार घर पठाइएको हो,’ उनले भने, ‘होम आइसोलेसनमा बस्नेहरूको अनुगमन पनि भइरहेको छ ।’

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले मन्त्रालयको निर्देशिकालाई कार्यान्वयन गरिरहेको बताए । ‘घर पठाउँदा आइसोलेसनमा बसेका व्यक्तिलाई स्वास्थ्य अवस्थाबारे सोधपुछ गर्छौं । कोरोनाको कुनै लक्षण नदेखिए घर पठाउँछौं,’ उनले भने, ‘लक्षणबिना परीक्षण नगर्नु भनेपछि हामीले जाँच गर्ने कुरै भएन ।’ बाँकेका १ सय ११ क्वारेन्टाइनबाट १० हजार ३ सय ५२ जना घर फर्किएका छन् । अहिले ३ सय १६ जनामात्रै क्वारेन्टाइनमा छन् । बाँकेमा ३ सय ६३ जना संक्रमित छन् । तीमध्ये ३ सय २७ घर गइसकेका छन् । बर्दियामा अहिले ८ सय ८ जना क्वारेन्टाइनमा छन् । १३ हजार १ सय २२ जना क्वारेन्टाइनबाट घर फर्किसकेका छन् । आइसोलेसन सेन्टरमा ३९ संक्रमित छन् । १ सय ३७ संक्रमितलाई घर पठाइएको छ ।

प्रदेश ५ मा चारवटा कोरोना विशेष अस्पताल र १ सय २७ वटा आइसोलेसन सेन्टर रहेका छन् । बिहीबार दिउँसोसम्म प्रदेशभरि ३ हजार ७ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म १ हजार ४ सय ५ जना संक्रमित डिस्चार्ज भएर घर गइसकेका छन् । यसरी घर गएका संक्रमितहरू के गर्दैछन्, त्यसको जानकारी न स्थानीय तहलाई छ, न त प्रदेश सरकारलाई । प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले १४ दिन आइसोलेसनमा बसेका संक्रमितबाट कोरोना नसर्ने भएकाले निगरानी नगरिएको बताए ।

‘विश्व स्वास्थ्य संगठनले १० देखि १२ दिनपछि नै शरीरमा कोरोना भाइरस भए पनि नसर्ने पुष्टि गरेको छ । लक्षण नदेखिएका संक्रमितबाट अरूमा नसर्नेसमेत बताएको छ,’ उनले भने, ‘त्यसैले ती व्यक्ति कहाँ छन्, के गर्दैछन् भन्नेमा निगरानी गरिएको छैन ।’ उनले मानसिक भय हटाउन आइसोलेसनबाट गएपछि सामाजिक दूरी कायम राखेर नियमित काम गर्दा समस्या नहुने दाबी गरे ।

प्रकाशित : असार १९, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?