नेकपाको स्थायी कमिटी बैठकमा ओली अनुपस्थित

कान्तिपुर संवाददाता

काठमाडौँ — बालुवाटारमा जारी सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । शुक्रबार बिहान ११.२० देखि सुरु भएको दोस्रो दिनको बैठकमा अध्यक्ष ओली उपस्थित नभएको एक नेताले जानकारी दिए । बैठक पुष्पकमल दाहालले अध्यक्षता गरेर सञ्चालन भएको छ ।

बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले आ-आफ्ना धारणा राखेका थिए ।

दोस्रो दिनको बैठकमा ओली अनुपस्थित भए पनि सचिवालयका नेताहरु र स्थायी कमिटीका अन्य नेताहरुले आफ्ना धारणा राख्नेक्रम चलिरहेको ती नेताले बताए ।

बैठकमा परराष्ट्रमन्त्री समेत रहेको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा विवाद र समाधानका लागि सरकारले गरेका प्रयासबारे जानकारी गराएका छन् ।

बैठकमा प्रधानमन्त्री ओली नआएपछि सदस्यहरुले प्रश्न उठाएका थिए । त्यसपछि महासचिव विष्णु पौडेलले बैठक सुरु गर्दै गर्नु भन्ने सन्देश प्रधानमन्त्रीबाट आएको त्यहाँ सुनाएको ती नेताले बताए ।

तर, प्रधानमन्त्रीका सञ्‍चार विज्ञ रामशरण बजगाईंले भने सरकारका अन्य काममा व्यस्त भएका कारण प्रधानमन्त्री बैठकमा उपस्थित हुन नसकेको बताए ।

बैठकमा तय भएका ७ एजेन्डामा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन् । विविधमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषय समेटिएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : असार १२, २०७७ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्

जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको मृत्यु

कान्तिपुर संवाददाता

मोरङ — मोरङको कानेपोखरीमा जीपले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गको कानेपोखरी-७ मा बिहीबार राति भएको दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको हाे । 

झापाबाट पश्चिमतिर आइरहेको बा १४ च ९६४३ नम्बर जीपले विपरीत दिशाबाट गइरहेको मे १० प २७५६ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका २ का ३८ वर्षीय गजेन्द्रकुमार गुरुङ र झापाको बुद्धशान्ति गाउँपालिका ४ का ३३ वर्षीय लोकेन्द्रकुमार लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भएको गाडीले पैदलयात्री एक महिलालाई ठक्कर दिएको थियो । ठक्करले अन्दाजी ४० वर्षीया ती महिलाको पनि मृत्यु भएको छ। उनको नाम खुलेको छैन ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : असार १२, २०७७ १३:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×