‘पल्टनबाट फोन आउन थाल्यो’

रुपन्देहीको बेलहिया नाकाबाट केही दिनयता १२/१५ जनाको संख्यामा गइरहेका भारतीय सेनामा कार्यरत नेपाली बुधबार भने एकै दिन ५० जनाभन्दा धेरै फर्किए

रुपन्देही, पाल्पा — गत चैतमा घर बिदामा आएका भारतीय सेनामा कार्यरत रूपन्देहीका एक युवा लकडाउनले यतै रोकिएका थिए । अहिले भारतमा लकडाउन खुकुलो भएर सार्वजनिक सवारीसाधन चल्न थालेपछि उनीहरूलाई फिर्ता बोलाइएको छ । ‘म गएपछि अर्को साथी बिदा बस्न पाउँछन्,’ उनले भने, ‘अहिले पल्टनले बोलाएको छ, सुनौलीबाट लिन पल्टनकै गाडी आउने कुरा छ ।’

‘पल्टनबाट फोन आउन थाल्यो’

उनका अनुसार एउटै पल्टनका ७० जनाभन्दा बढी साथी बिदामा आएका थिए । काममा बोलाइएकाले शनिबारसम्म फर्किने तयारी गरेको उनले सुनाए । भारत र चीनबीच बढेको तनावका विषयमा अहिले केही जानकारी नगराइएको उनले बताए । ‘नुनको सोझो गर्नैपर्छ,’ ती युवाले भने, ‘लड्न पठाए जानैपर्छ ।’ लामो समय काम गरिसकेकाले उनले तनावका बेला ज्यान जान सक्ने परिवारलाई थाहा भएकाले यसमा चिन्ताभन्दा हौसला दिनुपर्ने बताए ।

बिदामा आएको चार महिना भइसकेको बताउने अर्का एक सैनिकले अर्को सातासम्म फिर्ता हुन सूचना आएको बताए । ‘बिदा सकिन लाग्दा लकडाउन भयो,’ उनले भने, ‘अहिलेसम्म उता तनाव थियो, अब मिलिट्रीमा आउन भनेर बोलाएको छ ।’ अहिलेसम्म ठूलो लडाइँमा जान नपरेको उनले सुनाए । मनमा चिन्ता हुनेभन्दा पनि जागिरका हिसाबले काम गर्नुपर्ने उनले बताए । ‘बिदामा नआएको भए उतैबाट खटाउँथ्यो कि,’ उनले भने, ‘लड्नकै लागि सेनामा भर्ती भइयो, त्रासले त काम नै गर्न सकिन्न ।’

भारत र चीनबीच लद्दाखमा तनाव बढ्दै गएपछि बिदामा घर आएका भारतीय सेनामा कार्यरत नेपाली यहाँस्थित सुनौली नाका हँुदै कार्यक्षेत्रमा फर्किने क्रम बढेको छ । यसअघिको तुलनामा बुधबार संख्या बढेको हो । यसरी फर्किनेले बिदा सकिएको र लकडाउन पनि खुकुलो भएकाले फर्किन थालेको बताएका छन् ।

दुई दिनअघि लद्दाखमा सिर्जना भएको तनावका कारण भारत सरकारले आफ्ना सैनिकलाई एकत्रित गर्न बोलाएको हुन सक्ने धेरैको अनुमान छ । ‘म लकडाउनअघि बिदामा आएको थिएँ । मेरो बिदा सकिएको र लकडाउन पनि सहज भएकाले फर्केको हुँ,’ भारतीय सेनामा कार्यरत रूपन्देहीको सैनामैनास्थित मुर्गियाका प्रकाश न्यौपानेले भने । हैदराबादस्थित गोर्खा रेजिमेन्टमा कार्यरत उनले सीमामा तनावका कारण भारत सरकारले बिदामा रहेकालाई बोलाएको जानकारी आफूलाई नभएको बताए । यहाँ भेटिएका भारतीय सेनामा कार्यरतले खुलेर कुरा गर्न चाहेनन् । उनीहरूले आफू कार्यरत पल्टनबाट हाजिर हुन खबर आएको र यसबारे बोल्ने निर्देशन नभएकाले बोल्न नमिल्ने बताए ।

पाल्पाका विभिन्न स्थानमा छुट्टीमा घर आएका भारतीय सेनामा कार्यरतलाई पनि बोलाउने क्रम सुरु भएको छ । भारतीय सैनिकमा कार्यरत युवाले आफूहरूलाई अप्ठ्यारो पर्ने भन्दै धेरै कुरा खोल्न चाहेनन् । ‘सुरक्षाको कुरा हो, हामीले धेरै कुरा भन्न मिल्दैन,’ तानसेन नगरपालिका–७ का गुनबहादुर पुन मगरले भने, ‘कसैलाई फोन आएको छ, कतिपयलाई आएको छैन ।’ गोर्खा रेजिमेन्टमा कार्यरतलाई बढी फोन आउन थालेको छ । यस रेजिमेन्टमा कार्यरतले सुरक्षाका विषयमा बोल्न नमिल्ने बताए । कतिपय फर्किने तयारीमा छन् भने कतिपय अब बोलाउँछ भन्ने मनस्थितिमा छन् ।

विभिन्न गोर्खा रेजिमेन्टमा कार्यरतलाई पल्टनले खबर गरेका छन् । ‘अहिलेसम्म मलाई फोन आएको छैन,’ पुन मगरले भने, ‘तर बोलाउँछ भन्ने मनस्थितिमा छु ।’ बिदामा आएका उनका केही साथीलाई फोन आइसकेको छ ।

लकडाउन खुकुलो हुँदै गएकाले पनि अब बोलाएको हुन सक्ने उनीहरूले बताए । भारतीय सैनिक गोर्खा रेजिमेन्टमै कार्यरत एक युवाका अनुसार फोन आइरहे पनि जान नसकेको बताए । ‘धेरै दिनदेखि फोन आइरहेको छ,’ उनले भने, ‘तर हामी जाने कसरी भन्नेमा अन्योल छ ।’ उनका अनुसार जिल्लामा सयभन्दा बढी बिदामा आएका छन् । पाल्पाका मात्रै ५ सयभन्दा बढी भारतीय फौजमा भएको र जिल्लामा भारतीय गोर्खा रेजिमेन्टका भूतपूर्व सैनिकको संख्या ७ हजारको हाराहारीमा रहेको उनको अनुमान छ ।

भारतीय गोर्खा रेजिमेन्टका भूतपूर्व सैनिक जहरसिंह थापा सारुका अनुसार अहिलेको परिस्थितिमा पल्टनबाट बोलावट आउनु स्वाभाविक हो । ‘स्वयं कार्यरतलाई पनि धेरै कुरा बताएकै हुँदैन,’ उनले भने, ‘जसले गर्दा सुरक्षामा अप्ठ्यारो परोस् ।’ भारतीय सेनामा कार्यरत गोर्खा पल्टनलाई संकटका बेलामा ‘मोबिलाइजेसन’ गरेको हुन्छ तर उनीहरूलाई के कसरी र कुन स्थानमा पठाएको छ भन्ने कसैलाई थाहा हुँदैन । एकैपटक ड्युटीमा गएपछि मात्र थाहा हुन्छ । ‘कतिपयलाई फरवार्ड, रिजर्भ, अफेन्सिभ, डिफेन्सिभ राख्ने भन्ने थाहा नै हुँदैन,’ उनले भने, ‘बोलाउनु स्वाभाविक नै हो । बोलाएको पनि होला ।’

लकडाउनका कारण भारतमा पनि यातायातका साधन सञ्चालन नभएकाले घर आएका भारतीय सैनिक फर्कन नपाएको उनले बताए । भारत र चीनबीच तनाव बढेका बेला उनीहरूलाई बोलाउनु स्वाभाविक हुने उनले सुनाए । पाल्पाकी सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सुनौली जानका लागि भारतीय सेनामा कार्यरत कोही पनि पास लिन नआएको बताइन् ।

नाकामा छैन प्रबन्ध

सीमावर्ती भारतको सुनौली नाकामा कार्यरत एक प्रहरीले सीमामा आइपुगेका भारतीय सैनिकलाई लैजान वा सुरक्षित राख्नका लागि छुट्टै प्रबन्ध गर्नेबारेमा माथिल्लो निकायबाट कुनै सन्देश नआएको बताए । ‘घर फर्कनका लागि अन्य सर्वसाधारण जसरी नै सैनिक पनि आइरहेका छन्,’ उनले भने, ‘सैनिकका लागि भनेर अलग्गै प्रबन्ध केही छैन । सर्वसाधारणका लागि उपलब्ध बसबाटै उनीहरूलाई पनि सीमानाबाट ओसार्ने काम गरिएको छ ।’

उनका अनुसार दुई साताअघि गोरखपुरको कुडाघाटस्थित भारतीय सैनिक क्याम्पबाट एक सेनाका अधिकारी सुनौली आएका थिए । उनी बिदामा नेपाल गएका सबै सैनिकलाई बोलाएर नाकामा भेला गराएर गोरखपुर नलैजाँदासम्म तीन–चार दिनका लागि बस्ने खाने प्रबन्ध मिलाउनमा जुटेका थिए । तर, ती सैनिक अधिकृत फर्केर आएका छैनन् । थप निर्देशन नआएको उनले बताए ।

सीमावर्ती इलाका प्रहरी बेलहियाका अनुसार ५/६ दिनदेखि भारतीय सेनामा कार्यरत नेपालीहरू फर्किइरहेका छन् । यसअघि नाकाबाट फर्किने सैनिकको संख्या दैनिक १२/१५ जनासम्म थियो । बुधबार ५० भन्दा धेरै रहेको नेपालबाट भारततर्फ जाने यात्रुको स्वास्थ्य जाँचमा खटिएका भारतीय स्वास्थ्यकर्मीले जनाए । ‘लकडाउन खुकुलो भएपछि सवारी साधनको सहजताले गर्दा फर्केका हुन सक्छन्,’ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले भने, ‘अन्य भित्री कारण भए पनि त्यसबारेमा अहिलेसम्म हामीलाई जानकारी मिलेको छैन ।’ सरकार वा पल्टनबाट फर्किने सूचना जारी गरिएको भए नाकामा भारतीय सैनिकको उपस्थिति धेरै हुने र लैजानका लागि यसअघि अलग्गै गाडीको व्यवस्था हुने गरेको उनले बताए ।

संयुक्त बैठक स्थगित

नेपालतर्फ बुधबार तय गरिएको सीमावर्ती भारतको महाराजगन्ज जिल्लासँग जोडिएका रूपन्देही र नवलपरासी जिल्लाका सुरक्षा अधिकारीहरूको संयुक्त सुरक्षा बैठक स्थगित भएको छ । बैठकमा वरिष्ठ अधिकारी उपस्थित हुन नसक्ने कारण जनाउँदै भारतीय सुरक्षा अधिकारीले बैठक स्थगित गरेका हुन् । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतीय सुरक्षा निकायकै पहलमा पूर्वनिर्धारित संयुक्त बैठकको आयोजना गरिए पनि उनीहरूले अर्को दिन बैठक तय गर्ने भन्दै हाललाई स्थगित गरेको जानकारी दिएको बताए । ‘बैठक स्थगित गर्नुपर्ने आन्तरिक कुरा जानकारी नभए पनि बैठकमा सहभागी हुनुपर्ने व्यक्ति नआएकाले बैठक अर्को दिन तय गरौंला भन्दै बुधबारको बैठक स्थगित गरे,’ पन्थले भने, ‘बैठक स्थगित गरिएको जानकारी उनीहरूले मंगलबार राति मात्रै दिएका हुन् ।’

महाराजगन्ज जिल्लाका डीएम (जिल्ला अधिकारी) ले यसबारेमा फोनबाट कुरा गरेका थिए । प्रजिअ पन्थका अनुसार बुधबार हुने भनिएको बैठकमा नवलपरासीस्थित गण्डक नहरको सरसफाइ र सञ्चालन, कोरोना संक्रमणको रोकथामबारे सूचना आदानप्रदान र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका बारेमा बैठकको एजेन्डा तय गरिएको थियो । बैठकमा सहभागी हुनुपर्ने कुन व्यक्ति आउन नसक्ने भएका हुन् भन्नेबारेमा भने खुलाइएको छैन ।

प्रकाशित : असार ४, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?