कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुवेतबाट नेपाली बोकेको दोस्रो विमान पनि उड्यो

होम कार्की, सुरज कुँवर

काठमाडौँ — कुवेतबाट १ सय ४९ जना नेपाली महिला कामदार लिएर जजिरा एयरलाइन्सको दोस्रो जहाज पनि बिहीबार काठमाडौंका लागि उडेको छ । कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर जे ९१५४३ जहाज स्थानीय समयअनुसार बिहान ६ बजे उडेको हो ।

कुवेतबाट नेपाली बोकेको दोस्रो विमान पनि उड्यो

यो उडान ४ घण्टा ४५ मिनेटपछि त्रिभुवन विमानस्थलमा अवतरण हुनेछ । यसअघि जजिरा एयरलाइन्सको जे ९१५४१ नम्बरको पहिलो उडान स्थानीय समयअनुसार बिहान ४ बजे उडेको थियो जसमा १ सय ५७ जना महिला छन् । यी उडानमा गैरकानुनी हैसियतमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदार छन् । उनीहरूलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेको थियो ।

सबै जनाको विमानस्थलमै स्वास्थ्य परीक्षण गरिएको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दीपेन्द्रविक्रम खाँडले इकान्तिपुरलाई बताए । उनीहरूलाई मध्यराति विमानस्थल लगिएको थियो । ‘नेपाल आउन पाउँदा निकै खुसी लागेको छ । यसको वर्णन गर्न सक्तिनँ । अब मर्न परे पनि नेपालमै मर्ने हो’, दोस्रो उडानमा रहेकी रीता लिम्बूले भनिन् ।

पहिलो र दोस्रो उडानमा बालबालिका भने छैनन् । अस्थायी क्याम्पमा ११ जना बालबालिका थिए । ‘बच्चाका आमा र हामी एउटै क्याम्पमा थियौं तर उहाँहरूको नाम आएन । हामीलाई बसमा हालेर ल्यायो । उहाँहरूको नाम नआउँदा दुःखित हुनुहुन्थ्यो’, लिम्बूले भनिन् । उनीहरू आर्दिय क्याम्पमा थिए ।

कोभिड–१९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्न मंगलबार अनुमति दिएको थियो । कुवेतले बिनाजरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुईवटा चार्टर विमानमार्फत नेपाल पठाउन सरकारसमक्ष प्रस्ताव राखेको थियो । अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा २ हजार ९ सय ९१ जना छन् । तिनमा पुरुष १ हजार ६ सय ८८ र महिला १ हजार ३ सय ३ जना छन् । यी सबैलाई नेपाल पठाउन कम्तीमा २० वटा उडान गराउने कुवेतको तयारी छ । तर सबैलाई एकैपटक ल्याउन नेपाल सरकारले अनुमति दिएको छैन ।

प्रकाशित : जेष्ठ २९, २०७७ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?