कुवेतबाट नेपाली महिला लिएर पहिलो जहाज उड्यो

जेष्ठ २९, २०७७

सुरज कुँवर, होम कार्की

काठमाडौँ — कुवेतबाट नेपाली महिला कामदार लिएर पहिलो जहाज उडेको छ । कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समयअनुसार बिहानको ४ बजे काठमाडौंका लागि उडेको हो ।

कुवेतले बिहीबार बिहान दुईवटा ‘जहाजमार्फत नेपाली महिलालाई नेपाल पठाउन लागेको हो । कुवेतले पहिलो उडान बुधबार हुन नसकेपछि बिहीबार बिहानैबाट नेपालीलाई पठाइएको हो ।  अहिले ६ बजे हुने उडानको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वास्थ्य परीक्षण र चेक इन गर्ने काम सुरु भएको छ ।  ‘हामीलाई मध्यरातमै एयरपोर्टमा लिएर आएको हो । स्वास्थ्य परीक्षण पनि भयो । स्वास्थ्य परीक्षणमा सफल भएपछि बोर्डिङ दिइएको छ’, दोस्राे उडानमा नेपाल आउँदै गरेकी लिम्बूले भनिन्, ‘इमिग्रेसन सकियो, अहिले हामी वेटिङ रुममा छौं ।’

बिहीबार दुई वटा जहाजमा गरी  ३ सय जना नेपाली महिला रहेका छन् । उनीहरुलाई आर्दिया क्याम्प र जिलिप डिपोर्टेसनमा राखिएको थियो । जिलिप डिपोर्टटेसनमा ७० जना थिए । उनीहरु सबै कुवेतमा घरेलु कामदारका रुपमा कार्यरत थिए ।

कोभिड– १९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्नको लागि मंगलबार अनुमति दिइएको थियो । कुवेतले बिना जरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुई वटा चार्टर विमानमार्फत नेपाल पठाउन नेपाल सरकार समक्ष प्रस्ताव राखेको थियो । अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ जना रहेका छन् । जसमा पुरुष एक हजार ६ सय ८८ जना र महिला एकहजार ३ सय ३ जना छन् । 

यी सबै नेपालीलाई नेपाल ल्याउनको लागि कम्तीमा २० वटा उडान गराउने कुवेतको तयारी छ । तर सबैलाई एकैपटक नेपाल ल्याउन नेपाल सरकारले अनुमति दिएको छैन ।    

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully