कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देवदहकी किशोरीको ‘बलात्कारपछि हत्या’

रूपन्देहीको देवदह–२ मा झुन्डिएको अवस्थामा भेटिएकी किशोरीको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट खुलासा

रूपन्देही — आफूलाई जबर्जस्ती गर्ने केटाकै जिम्मा लगाइएपछि मृत फेला परेकी देवदह–११ की किशोरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शव पोस्टमार्टम गर्ने लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक र घटना अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार किशोरीको बलात्कारपछि हत्या भएको देखिएको हो ।

‘थप पुष्टि गर्न फरेन्सिक जाँच गर्ने तयारी गरिएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक हेमकुमार थापाले भने, ‘समग्र घटना पनि शंकास्पद देखिन्छ ।’ मंगलबार यहाँ गरिएको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा बलात्कार भएको देखिएपछि थप पुष्टिका लागि फरेन्सिक जाँच गर्न नमुना काठमाडौं पठाइएको थापाले बताए ।

१३ वर्षीया अंगिरा पासी गत शनिबार अपराह्न गाउँनजिकै देवदह–२ स्थित रोहिणी खोला किनारमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । शुक्रबार राति घरबाट निस्केकी उनलाई खोज्ने क्रममा गाउँलेले कोइला भनिने २५ वर्षीय वीरेन्द्र भरसित बस्तीनजिकको खरियानमा भेटेका थिए । स्थानीयका अनुसार गाउँले पुगेर प्रश्न गर्न थालेपछि वीरेन्द्र भागे भने किशोरीलाई घरमा ल्याए । त्यसपछि किशोरीले ‘इज्जत’ फालेको भन्दै गाउँभेला गरिएको थियो । भेलाले किशोरीलाई वीरेन्द्रको जिम्मा लगाउने निर्णय गर्‍यो ।

शनिबार उज्यालो भएपछि वडाध्यक्ष अमरबहादुर चौधरीको उपस्थितिमा पुन: गाउँभेला गरियो । स्थानीय सुकुल पासीका अनुसार भेलामा एक सयभन्दा बढी स्थानीय सहभागी भएका थिए । उनका अनुसार वडाध्यक्ष सहभागी भेलामा धेरैले बोलेनन् । भेलामा वडाध्यक्षले बालिकालाई अब तिमी के गर्छौ भनेर सोधेपछि उनले ‘यसले (केटा) मेरो इज्जत बिगारिदियो, यसैसँग जान्छु’ भनेकी थिइन् । पीडित परिवार र स्थानीय बासिन्दाका अनुसार वडाध्यक्ष चौधरीले अंगिराको हात वीरेन्द्रलाई थमाएका थिए ।

तर चौधरीले हात थमाएको कुरा स्वीकार गरेनन् । ‘शुक्रबार राति हात थमाइसकेका रहेछन्,’ उनले भने, ‘मलाई विवाह दर्ता गर्नका लागि दबाब दिएका थिए, कानुनले नमिल्ने भन्दै मैले मानिनँ ।’ समाजको कुरा काट्न नपाउँदै क्वारेन्टाइनबाट फोन आएपछि आफू बाहिरिएको उनले दाबी गरे । साँझ किशोरी झुन्डिएको खबर सुनेपछि आफू घटनास्थल पुगेको उनले बताए । आफूले यस्तो घटना होला भनेर कल्पना नगरेको उनको कथन छ ।

आमाद्वारा किटानी जाहेरी

किशोरीकी आमा शान्ति पासीले जबर्जस्ती करणीपछि हत्या गरिएको दाबीसहित प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी छन् । इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता गरिएको जाहेरीमा स्थानीय २५ वर्षीय कोइला भनिने वीरेन्द्र भरले देवदह–२, पेटबनियास्थित रोहिणी खोलाछेउमा शनिबार अपराह्न उक्त कसुर गरेको उल्लेख छ । उनले वीरेन्द्र, उनका बाबु अकाली र आमा शीतली भरविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

परिवारले सोमबारै जाहेरी दर्ता गर्ने प्रयास गरेका थिए । प्रहरीले नमानेपछि अधिकारकर्मीको दबाबमा मंगलबार साँझ दर्ता गरिएको थियो ।

जाहेरीमा आमाले शुक्रबार साँझ छोरी घरबाट निस्किएको र अबेरसम्म नआएपछि परिवार र गाउँले मिलेर खोजी गर्दा करिब ११ बजेतिर बस्तीपूर्वको खरियानमा जबर्जस्ती करणी गरिरहेको अवस्थामा फेला पारेको उल्लेख गरेकी छन् । तत्काल वीरेन्द्रलाई गाउँलेले नियन्त्रणमा लिएको र छोरीको उद्धार गरेको उनको जाहेरीमा छ । त्यसै राति गाउँभेलाले कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । तर, शनिबार बिहान ७ बजे भएको भेलामा वीरेन्द्रले अंगिरालाई श्रीमती स्विकार्ने जनाएको उल्लेख छ ।

साथै देवदह–११ का वडाध्यक्ष चौधरीले छोरीलाई विपक्षीको जिम्मा लगाएको शान्तिले जाहेरीमा उल्लेख गरेकी छन् । त्यसपछि वीरेन्द्रले अंगिरालाई घरमा लगेको र जबर्जस्ती करणी कसुरबाट बच्नका लागि श्रीमती सकारेको उनले जनाएकी छन् । घरमा लगेपछि वीरेन्द्रकी आमा र ठूली आमाले किशोरीलाई लट्ठीले कुटेको र जहाँबाट ल्याएको हो, त्यहीं छाड्न भनेको जाहेरीमा उल्लेख छ । शनिबार अपराह्न देवदह–२, पेटबनियास्थित रोहिणी किनारको रूखमा झुन्डिएको अवस्था छोरी फेला परेको शान्तिले उल्लेख गरेकी छन् ।

आफूले घटनास्थलमा पुगेर हेर्दा छोरीको कपडा च्यातिएको, रूखमा चुन्नीको पासो लगाएर झुन्ड्याइएको जस्तो देखिएको, शवमा घाउचोट रहेको जाहेरीमा छ ।

पोस्टमार्टम रिपोर्टमा बलात्कार गरेको खुलिसक्दा र मृतककी आमाले किटानी जाहेरी दिइसक्दा पनि बुधबार साँझसम्म आरोपी पक्राउ परेका छैनन् । इलाका प्रहरी बुटवलका डीएसपी प्रतीतसिंह राठौरले आरोपीविरुद्ध पक्राउ पुर्जी जारी गरेर खोजी भइरहेको बताए । मंगलबार पोस्टमार्टम गरेपछि परिवारले शव बुझेका थिए । किशोरीको बुधबार बिहान अन्त्येष्टि गरिएको छ ।

स्थानीय विद्यालयमा ७ कक्षामा पुगेपछि अंगिराले पढाइ छाडेकी थिइन् । उनका बाबुको ९ वर्षअघि मृत्यु भइसकेको छ । चार बहिनी र एक भाइमध्ये अंगिरा काइँली हुन् । ‘दोषीलाई कारबाही हुनुपर्छ भन्ने विषयमा कटिबद्ध छु,’ देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसी भन्छन्, ‘नाबालिका भएकाले सहमतिमा यसरी जिम्मा लगाउन मिल्दैन । प्रहरीले अनुसन्धान सुरु गरिसकेकाले दोषी पत्ता लगाएर कारबाही हुन्छ ।’

जिम्मा लगाउनु अपराध : अधिकारकर्मी

जिल्लास्थित अधिकारकर्मीले जनप्रतिनिधिकै उपस्थितिमा नाबालिक किशोरीलाई केटाको जिम्मा लगाउनु कानुनविपरीत भएको प्रतिक्रिया दिएका छन् । इन्सेक प्रतिनिधि रीमा बीसीले एउटी नाबालिका र युवकलाई आपत्तिजनक अवस्थामा देखेपछि प्रहरीलाई सम्पर्क गर्नुको साटो इज्जत र समाजको त्रास देखाएर जबर्जस्ती युवकको जिम्मा लगाउनु अपराध भएको बताइन् । ‘समाजले त्रास देखाएकाले पनि मनोबल गिरेर किशोरी युवकसँग जान बाध्य भएकी हुन सक्छिन्,’ उनले भनिन्, ‘कानुनअनुसार विवाहका लागि २० वर्ष उमेर पुग्नुपर्छ । किशोरीको १३ वर्ष मात्रै छ ।’

अधिकारकर्मी विनोद पहाडीले घटनापूर्वको प्रकृति बुझ्दा नियोजित ढंगले हत्या भएको हुन सक्ने बताए । ‘जनप्रतिनिधिको उपस्थितिमा बिहान ९ बजे जिम्मा लगाइएकी किशोरी साँझ मृत भेटिनु अपराध हो,’ उनले भने, ‘सामाजिक सहिष्णुता कायम गर्न किशोरीलाई आमाको र युवकलाई प्रहरीको जिम्मा लगाउनुपथ्र्यो ।’

नाबालिकालाई जबर्जस्ती विवाह गर्न दबाब दिने ‘सामाजिक मतियार’ लाई समेत कानुनले सजायको व्यवस्था गरेको अधिवक्ता महेन्द्र पाण्डेले बताए । शारीरिक सम्बन्ध भएको अवस्थामा पनि विवाहमा परिणत गरिदिनु अपराध भएको उनले बताए । घटनामा पीडित भएकी किशोरीको उमेरका आधारमा मतियारलाई सजाय हुने उनले जनाए । ‘घटनाको प्रकृतिले किशोरीमाथि भएको करणी र किशोरीले आत्महत्या नै गरेको भए पनि त्यस्तो कार्य गर्नका लागि दबाब सिर्जना गर्ने समाज, केटा सबै अपराधी ठहरिन्छन्,’ उनले भने ।

प्रकाशित : जेष्ठ १५, २०७७ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?