शान्ति पासी भन्छिन्, ‘मेरी छोरीको हत्या भएको हो’

‘१३ वर्षकी छोरीको बलत्कार र हत्या गरियो, न्याय दिलाइपाउँ’
शान्ति पासी

काठमाडौँ — गत शनिबार अपराह्न देवदह नगरपालिका–२ स्थित रोहिणी खोलामा झुन्डिएको अवस्थामा फेला परेकी देवदह–११ बड्की गुम्मीकी किशोरी अंगीरा पासीको जबरजस्ती करणीपछि हत्या गरिएको दाबीसहित उनकी आमा शान्ति पासीले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । शान्तिसँग त्यो घटनाबारे कान्तिपुरकी सन्जु पौडेलले गरेको कुराकानी :

जेठ ९ गते (शुक्रबार) साँझ खाना खाइसकेपछि सबै सुत्न गयौं । राति ११ बजेतिर उठेर हेर्दा छोरी अंगिरा बिस्तारामा देखिनँ । हत्तपत्त गाउँले गुहारेर छोरी खोज्न थालें । अँध्यारो थियो, त्यसैले केही छिमेकीलाई खोज्न पठाएर म घरमै बसेँ । केही बेरमै छोरीलाई लिएर उनीहरु आए ।

घर आइसकेपछि छोरीलाई कहाँ गएको, के भयो ? भनी सोध्दा छोरी चुप लागेर उभिइँ । मेरी छोरी घर आउँदा पनि डराएकी, रोइरहेकी थिइ । उसलाई वीरेन्द्र भर भन्ने केटाले ललाईफकाई गरेर बलात्कार गरेको रहेछ । गाउँलेले खोज्दा छोरी भेटिएको ठाउँमा वीरेन्द्र पनि रहेछ । मान्छे आएको देखेपछि भागेछ । सात कक्षा पढ्दा पढ्दै छोडेकी हो । बल्ल १३ वर्ष भएकी थिइ ।

मेरो परिवार गरीब छ । म एकल महिला हुँ । मेरा पतिको पहिल्यै मृत्यु भइसकेको हो । हामीलाई गाउँमा तल्लो जातिको भन्छन् । छोरीको इज्जत गइसकेपछि अर्को ठाउँमा विवाह हुँदैन । त्यही केटाले जिम्मा लिएर लान्छ भने छोरीलाई राम्रै होला भनेर पठाएकी थिएँ । छोरीले पनि केटासित जान राजी भएकाले समाजको भनाइँमा केही विरोध नगरी बस्न बाध्य भएँ । उनीहरुको घर हाम्रोबाट धेरै टाढा पनि छैन ।

त्यसपछि गाउँलेले पाका मान्छे र केटाको परिवार डाकेर छलफल थाले । छोरीलाई केटाको जिम्मा लगाउन भनिरहेका थिए । वीरेन्द्र भर, उसको बाबु र आमा पनि छलफलमा आए ।

गाउँलेले मेरो छोरी र केटालाई तिमीहरु एकअर्कालाई स्वीकार्छौ भनी सोधे । मेरी छोरीको शिर झुकेकै थियो । ‘उसले मेरो इज्जतमाथि खेलबाड गर्‍यो अब म यसैसँग जान्छु’ भनी । केटाले पनि स्वीकार्छु भन्ने जवाफ दियो । तर, केटाकी आमाले छोरीलाई र हाम्रो परिवारलाई तल्लो जातको भन्दै गाली गरिन् । तैपनि सुनेरै बसें । आफू एक्लो बोलेर के हुन्छ र भन्ने सोंचेर बोल्न पनि सकिनँ ।

केटाको आमाले मेरी छोरीलाई आफ्नो घरमा पस्न नदिने भन्दै छोरालाई केटी लिएर नआउनु भनेकी थिइन् । रातिको ३ बजिसकेको थियो । उज्यालो भएपछि वडाध्यक्षको उपस्थितिमा छोरी जिम्मा लगाउने निर्णय गरी सबै घर–घर गए । घर जानुअघि केटाका बुवा–आमालाई छोरा भागेमा तिमीहरु जिम्मा हुनेछौ भनी पठाइएको थियो । मेरो छोरी र मसँग अन्य महिला दिदीबहिनीलाई हाम्रो घर पठाइयो ।

बिहान होउन्जेल पर्खियौं । उज्यालो भएपछि छलफल फेरि सुरु भयो । वडाध्यक्ष अमरबहादुर चौधरी पनि आए । भेलामा गाउलेले सबै कुरा बताएपछि केटा र मेरी छोरीलाई फेरि ‘राजी छौ ?’ भनेर वडाक्ष्यले सोध्नुभयो । दुबैको ‘एकअर्कालाई स्वीकार्छौं’ भने । वडाध्यक्षले मेरो छोरीको हात वीरेन्द्रको हातमा थमाइ दिनुभयो । क्वारेन्टाईनमा जानुपर्ने फोन आयो भनेर वडाध्यक्ष हिँड्नुभयो । त्यहाँबाट छोरी र केटालाईसँगै पठाएर हामी आआफ्नो घर आइयो ।

वडाध्यक्षकै उपस्थितिमा छोरी केटालाई जिम्मा लगाइदिएपछि ढुक्क परेर बसें । तर, साँझ छोरीको मृत्युको खबर आयो । मेरी छोरीलाई केटा र उसकी आमा मिलेर मारेका हुन् । उनले सबैका अगाडि यो तल्लो जातिलाई घरमा ल्याउन दिन्न भनेकी थिइन् ।

हामी घर फर्किएपछि छोरी र वीरेन्द्र घर नगएर खोलातिर गएको र रुख छेउमा बसेको गाउँलेले सुनाएका थिए । केहीबेरमा घर गएको र केटाकी आमाले कुटेर पठाएपछि फेरि खोलातिरै गएर बसेको छिमेकीले बताए । साँझ ५ बजेपछि छोरी रुखमा झुण्डिएको खबर सुनें ।

त्यसपछि दौडिँदै खोला छेउ पुग्दा पुलिस आइसकेको थियो । छोरीलाई झुण्डिएको देखें । उसको शरीरको माथिल्लो भागमा लगाएको लुगा केही खुकुलो भएर तल झरेको थियो । छोरीको शव हेर्न जाँदा केटाले लगाउने गरेको घाँटीको चाँदीको सिक्री छोरीको भित्री वस्त्रमा अड्किएको देखेको थिएँ ।

मैले त्यसै दिन बलत्कार र हत्याको जाहेरी दिन खोजेकी थिएँ । तर, पुलिसले दर्ता गर्न मानेन । भोलिपल्ट बल्ल लियो । मैले जबरजस्ती करणी र हत्या गरेको भनेर उजुरी दिएकी छु । मलाई सरकारले न्याय दिन्छ भन्ने आश छ । मेरी अवोध छोरीमाथि भएको अन्यायमा सरकारले न्याय दिलाउनै पर्छ । हत्यारालाई कारबाही हुनैपर्छ ।

हामी तल्लो जाति भनेर हेपिएका मान्छे हौं । मेरा पतिको पहिल्यै मृत्यु भइसकेको छ । मेरी १३ वर्षकी छोरीलाई मार्नेलाई कानूनले कारबाही गरोस् ।

प्रकाशित : जेष्ठ १४, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्

भारतबाट आएकाहरु भन्छन्–‘सरकार एक बोतल पानी त देऊ’

कलेन्द्र सेजुवाल, चाँदनी कठायत

सुर्खेत — वीरेन्द्रनगर नगरपालिका–२ खोलीगाउँका कर्णबहादुर सार्की तीन दिनको यात्रापछि मंगलबार साँझ ६ बजे सुर्खेत उपत्यकाको प्रवेशद्वार सुब्बाकुनामा पुगे ।

भारतको उत्तराखण्डस्थित रानीखेतबाट आएका उनलाई लागेको थियो, ‘अब त घर आइपुगियो, क्‍वारेन्टाइमै भए पनि भोकतिर्खा मेट्नुपर्ला ।’ सुब्बाकुनादेखि उनको घरको दुरी करिब ५ किलोमिटर मात्र टाढा छ ।

पेटभरि खाने र मस्तले निदाउने उनको कल्पना भने मनमै मर्‍यो । बुधबार दिउँसो करिब २ बजे कान्तिपुरकर्मी सुब्बाकुना पुग्दा उनी भन्दै थिए, ‘बरु भारत सरकारले ठाउँठाउँमा खानेकुरा दिएको थियो, घर–आँगनमै आएपछि त झन् विजोग भयो, हामीजस्ता गरिबको लागि सरकार कहिल्यै साथमा नहुने रहेछ ।’

कर्णबहादुरको समूहमा उनीसहित ९ जना आएका थिए । सरकारले उनीहरुलाई न त वीरेन्द्रनगरको क्वारेन्टाइनमा लग्यो, न त खाने व्यवस्था नै गर्‍यो । भारतबाट तीन–चार दिनको यात्रा तय गरेर मंगलबार साँझ आइपुगेका उनीहरु रातभर सुब्बाकुनाको जंगलमा गएर बसे । १५–१६ घण्टासम्म मुखमा पानीको थोपा पनि परेन ।

बुधबार बिहान करिब ८ बजे कोपिला भ्याली विद्यालयले एक–एकवटा पानीको बोतल र बिस्कुट बाँड्यो । दिउँसो मोटे ग्याङ समूहले पानी, फ्रुटी र चाउचाउ दियो । ‘हाम्रो लागि न त सरकार छ, न देश, बरु अरु मान्छे आएर खानेकुरा दिएर गए,’दिल्लीबाट आएका वीरेन्द्रनगरकै अमर थापाले भने, ‘दुःख पर्दा नहेर्ने सरकार हाम्रो लागि कहिले चाहिने हो ? बरु हात खडा सक्दैनौं भनेको भए हुन्थ्यो नि !’

यी दुईमात्र होइनन् मंगलबार साँझदेखि बुधबार बिहानसम्म सुब्बाकुना आइपुगेका उनीजस्तै करिब ८० जना व्यक्ति भोकभोकै बसेका थिए । सुर्खेत उपत्यकाकामै कर्णाली प्रदेश सरकार र प्रदेशको स्रोतसाधन सम्पन्न वीरेन्द्रनगर नगरपालिका भए पनि उनीहरुको पीडा भुलाउन कोही गएनन् ।

भारतबाट दुःख–कष्ट सहेर आएका उनीहरुको लागि कर्णाली प्रदेश प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट भोक र प्यासको यात्रा थप उकालो लाग्छ । केही स्वयंसेवीले फाटफुट रुपमा चाउचाउ र पानी दिए पनि सरकारको तर्फबाट खानपिनमा कुनै सरोकार देखिँदैन ।

प्रदेश सरकारले बबईमा राखेको हेल्थ डेस्कका प्रमुख अशोक भण्डारी भारतबाट आउने कर्णालीवासीको ‘भोक–यात्रा’ अनुभूति गर्ने एक भुक्तभोगी हुन् । ‘उनीहरु आउने बित्तिकै भोक लाग्यो, पानी खान भए पनि देऊ भन्छन्, यो दृश्य देख्दा मन कटक्क खाने गर्छ,’ उनले भने, ‘हामीले कहिलेकाहीँ आफूसँग भएको पानी, चाउचाउ र बिस्कुट दिने गर्छौं, सधैंभरि दिन पनि कहाँ सकिन्छ र ?’

उनका अनुसार जेठ १ गतेदेखि हालसम्म भारतबाट करिब १० हजार व्यक्ति कर्णालीमा प्रवेश गरेका छन् । मान्छे आउने क्रम अझै रोकिएको छैन । पछिल्लो समय आउने व्यक्तिहरु कोरोना संक्रमणको उच्च जोखिममा रहे पनि नाकामा स्वास्थ्य परीक्षण र ल्याब परीक्षणको काम भने सोमबारदेखि रोकिएको छ ।

‘हामीले ज्वरो नाप्ने र परामर्श दिने काम गरिरहेका छौं, यो पनि सबैको सकिने कुरा भएन,’ उनले भने, ‘बरु जतिसक्दो छिटो भोक, तिर्खा मेटाएर क्वारेन्टाइनमा बसाल्ने व्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो ।’

पञ्चपुरी नगरपालिका–९, विद्यापुरका लालबहादुर आलेमगरले त सरकारले नै आफूहरुमाथि पक्षपात गरेको आरोप लगाए । मंगलबार राति ११ बजे सुब्बाकुना पुगे पनि पछि आएकालाई गाडीमा हालेर लगेको, आफूहरुलाई भने अलपत्र छोडिएको उनको गुनासो थियो । ‘जनता त सबै एउटै होलान्, हामीलाई यतै बस भनेर अरुलाई लगेर गए,’ ५५ वर्षीय उनले भने, ‘चार दिनदेखि भात खान पाइएको छैन, यस्तै भए त कसरी पो बाँच्ने हो ?’


वीरेन्द्रनगरको सुब्बाकुनामा रोकिएका सुर्खेतका विभिन्न स्थानीय तहका नागरिकहरु ।

भारतबाट आएकालाई सम्बन्धित स्थानीय तहले गाडी पठाएर लैजाने व्यवस्था गर्ने गरेका छन् । तर, भनेको बेला गाडी नपठाउँदा उनीहरु भोकभोकै बस्ने गरेका छन् । यस्तो अवस्थामा प्रदेश सरकारले बाटोमा खानाको व्यवस्था गर्नतर्फ ध्यान दिएको देखिँदैन ।

लेकबेंशी नगरपालिका, दशरथपुरका इन्द्रबहादुर विकले कोरोनाको भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ता लाग्न थालेको बताउँछन् । ‘भारतको बोर्डर पास भएपछि खाना त टाढाको कुरा भइहाल्यो, घाँटी भिजाउने पानी पनि पाइएन,’ गुजरातबाट आएका उनले भने, ‘सरकार यसरी सुतेको त मैले कहिल्यै पनि देखेको थिइनँ ।’

थेग्‍न गाह्रो भयो : प्रदेश सरकार

प्रदेश सरकारले भने एकैपटक हजारौँको संख्यामा मान्छेहरु भित्रिन थालेपछि थेग्नै गाह्रो भएको बताउने गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभाको वैठकमा बोल्दै केन्द्र सरकारले जहाँ छन् त्यहीँ व्यवस्थापन गर्ने भने पनि कार्यान्वयन नभएकाले समस्या भएको बताए । ‘केन्द्र सरकारले प्रदेश सरकारले व्यवस्था नगरुन्जेल नागरिकलाई व्यवस्थापन गरिदिन आग्रह गरेका छौँ,’उनले भने, ‘तर नागरिकहरु कतै पनि नरोकिएपछि भोक प्यासले आक्रोश पोख्दै भित्रिएको अवस्थाले सरकारलाई अप्ठ्यारो परेको छ ।’ कर्णाली भित्रिनेलाई खानपानको व्यवस्था गर्न पनि समस्या भएको उनले बताए ।

प्रदेश भित्रिने सबैको आरडीटी चेकमा पनि समस्या भएको मुख्यमन्त्री शाहीको भनाइ छ । आरडीटी जाँच गर्ने की नगर्ने भन्ने पनि अन्यौल रहेको उनले संसदमा बताए । ‘एकैचोटि पीसीआर गर्ने कि भन्ने छलफल पनि चलायौँ, अब भारतबाट आएका धेरैजसोमा संक्रमण छ कि भन्‍ने आशंका पनि छ,’उनले संसदमा भने, ‘सकेसम्म आरडीटी र पीसीआर दुवै चेक गर्ने निचोडमा सरकार पुगेको छ ।’

भारतबाट आउने व्यक्तिलाई क्वारेन्टाइनमा व्यवस्थित गरेर संक्रमण समुदायमा जानबाट रोक्ने प्रयास भइरहेको उनले बताए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×