कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वी सीमाका स्तम्भ : नक्सामा छ, सीमामा देखिँदैन

११ वटा जंगेपिलर र ४५ मझौला स्तम्भ सम्बन्धित ठाउँमा पाइएन, दशगजामै भारतीयले बनाएका छन् घर

विराटनगर — प्रदेश १ मा ११ वटा जंगेपिलर (दुई देश छुट्याउने ठूला सीमास्तम्भ) नक्सामा मात्रै देखिन्छन् । विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार झापा र सुनसरीमा ४–४ तथा इलाम, मोरङ र सोलुखुम्बुमामा १–१ सीमास्तम्भ बनाउनुपर्ने छ । ती सीमास्तम्भ पहिलेदेखि नै थिएनन् वा कुनै बेला भत्काइए भन्ने यकिन नभएको प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वी सीमाका स्तम्भ : नक्सामा छ, सीमामा देखिँदैन

४५ मझौला स्तम्भ नक्सामा भए पनि सीमामा देखिँदैन । झापामा १८, इलाममा ८, मोरङमा २ र सुनसरीमा १७ मझौला पिलर बनाउन जरुरी रहेको प्रहरीको ठम्याइ छ । झापाका ७५, सुनसरीको ४, ताप्लेजुङ र संखुवासभाका १/१ वटाको मर्मत गर्न ढिलाइ भएको प्रहरीले जनाएको छ । यस्तै, सीमामा रहेका जंगेपिलरहरु कतिपय क्षतिगस्त अवस्थामा पनि छन् । झापामा ३६, सुनसरीमा १ र पाँचथरमा २ वटा जंगेपिलर मर्मत गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

सीमा विवाद फेरि बल्झेपछि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रदेश १ प्रहरी कार्यालयले यो विषयमा खोजबिन गरेको हो । ‘यसबारे प्रदेश सरकार स्तरबाट कुरा भइसकेको छ, लकडाउन खुलेलगत्तै सीमास्तम्भ व्यवस्थित गर्ने काम हुनेछ,’ प्रदेश १ प्रहरी कार्यालयका नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले भने, ‘नागरिक समाज एवं स्थानीय तहबाट यो काम चाँडै गरिनुपर्ने सुझाव आइरहेको छ ।’

प्रहरीका अनुसार प्रदेश १ मा चीनसँगको सीमाक्षेत्रमा समस्या खासै छैन । भारततर्फ भने समस्या बढी छ । भारतले दशगजा नै ठाउँठाउँमा अतिक्रमण गरेको पाइएको छ । दशगजामा कुनै संरचना बनाउन पाइँदैन । तर भारतीयले दशगजामै घर बनाएर बसेको मोरङ, सुनसरी, झापामा देखिन्छ । कपितय स्थानमा खेती पनि गरिएको छ । सीमा क्षेत्र निगरानी गर्ने सशस्त्र प्रहरीका एक अधिकारीले भने, ‘यो दुई देशका उच्चस्तरीय पहलबाट मात्र टुंगिने समस्या हो । पूर्वका सबै सीमाको जानकारी हामीले माथिल्लो निकायमा पठाएका छौं ।’

पाँचथरको फालेलुङ गाउँपालिका ६, आहालमा दुई दिनअघि भएको विवाद सीमा समस्या टुंगो नलगाउनुको परिणाम भएको सशस्त्र प्रहरीका अधिकारीको बुझाइ छ । त्यस स्थानमा गाउँपालिकाले ‘पर्यटकीय संग्रहालय’ बनाउन लागेको थियो । निर्माणस्थल जंगेपिलरभन्दा करिब सय मिटर वर नेपालतर्फ पर्ने फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताएका छन् । तर निर्माण सुरु गर्न जग खन्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले आएर रोकेका छन् । भवन बनाए भत्काइदिने चेतावनी उनीहरुले दिएको केरुङले बताए ।

एसएसबीका सुरक्षाकर्मीले संग्रहालय निर्माणस्थलबाट केही पर्तिर रहेको ५७ नम्बर जंगेपिलरसमेत भारतकै भूमिमा रहेको दाबी गर्दै भारत, कालपोखरीस्थित एसएसबी इन्चार्ज रिङकल कुमारसहितको टोलीले नक्सा देखाएका थिए । ‘भारतीय सुरक्षाकर्मीले नयाँ नक्सा बोकेका थिए, त्यसमा ५७ नम्बरको जंगेपिलरसमेत उतैको जमिनमा घुसाएको पाइयो,’ गाउँपालिका अध्यक्ष केरुङले भने, ‘५७/४ नम्बर सहायक पिलर पनि गायब गरिएको रहेछ ।’

यो प्रदेशको भारतसँग जोडिएको सीमामा सबै खाले गरी १ हजार ६ सय ४५ र चीनसँग जोडिएको सीमामा २६ स्तम्भ (पिलर) रहेको प्रहरीले जनाएको छ । भारतसँग जोडिएको झापामा ९ सय ८८, इलाममा १ सय २०, पाँचथरमा १ सय १३, ताप्लेजुङमा १०, मोरङमा १ सय २४ र सुनसरीमा २ सय ९० सीमा स्तम्भ छन् । चीन सीमासँगको ताप्लेजुङमा २, संखुवासभामा २२ र सोलुखुम्बुमा २ सीमा स्तम्भ छन् ।

प्रहरीका अनुसार कुल १ सय ९७ सहायक पिलरमध्ये झापामा १ सय ६०, इलाममा ५, पाँचथरमा १६, ताप्लेजुङमा ५, मोरङमा ११ र सुनसरीमा २० छन् । नक्सामा देखिए पनि ताप्लेजुङमा पनि एउटा सहायक पिलर गायब रहेकाले निर्माण गर्नुपर्ने प्रहरीले भनेको छ । सबै खाले गरी झापाका २ सय ११, पाँचथरका ४३, ताप्लेजुङका ४ र सुनसरीको २ सीमा स्तम्भको सक्दो चाँडो मर्मत गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

४ सय ४० किलोमिटर सीमा रहेको प्रदेश १ मा २५ बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) र १ सय ७४ चेक प्वाइन्ट छन् । प्रहरीका अनुसार सीमा सुरक्षाका लागि जनशक्ति र भौतिक पूर्वाधारको अभाव छ । १६ वटा आफ्नै जग्गा र भवनमा, ८ वटा सार्वजनिक तथा सार्वजनिक र १ वटा भाडाको जग्गामा बीओपी छन् ।

सम्बन्धित समाचार

‘मेचीपारि’ पनि सशस्त्रको अस्थायी बीओपी

प्रकाशित : जेष्ठ ३, २०७७ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?