२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

‘मेचीपारि’ पनि सशस्त्रको अस्थायी बीओपी

पर्वत पोर्तेल

मेचीपारि, झापा — भारतले नेपाली भू-भाग लिपुलेक अतिक्रमण गरेर मानसरोवर जोड्ने बाटो निर्माण सुरु गरेपछि सरकारले छाङरुमा सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोष्ट (बीओपी) खडा गरेको छ ।

‘मेचीपारि’ पनि सशस्त्रको अस्थायी बीओपी

यता पूर्वी नेपालको अन्तिम सीमाबिन्दु तत्कालीन महेशपुर गाविसमा पर्ने ‘मेचीपारि’मा समेत सरकारले अस्थायी बीओपी खडा गरेको छ । हाल भद्रपुर नगरपालिका ३ मा पर्ने यो गाउँ भारतको बिहारसँग जोडिन्छ । यहाँ भारतले विभिन्‍न कालखण्डमा करिब डेढ सय विघा जमिन कब्‍जा गरेको थियो । सरकारले कोरोना रोक्ने बहानामा यो क्षेत्रमा अस्थायी बीओपी खडा गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेटक्‍वार्टर झापाका प्रमुख एसपी रेशमकुमार थक्सुले मेचीपारिको मेची आधारभूत विद्यालयमा अस्थायी पोष्ट राखिएको जानकारी दिए । उनका अनुसार इन्स्पेक्टर सञ्‍जयकुमार गोइतको कमाण्डमा ३५ जना सशस्त्र प्रहरी यो क्षेत्रमा परिचालन गरिएको छ । ‘कोरोनाको संक्रमणपछि बीओपीलाई स्थायी रुपमा राखिने योजना छ’, एसपी थक्सुले भने ।

यो क्षेत्रका जनप्रतिनिधि अरुण राजवंशीले स्थायी रुपमै सशस्त्र प्रहरीको बीओपी स्थापनाका जमिनको खोजी सुरु भएको जानकारी दिए । राजवंशीले भने,‘यो गाउँमा भारतीय अतिक्रमण रोक्न पनि सुरक्षा पोष्ट जरुरी छ ।’

सरकारले यसअघि २०६०को दशकमा प्रहरी चौकी राखेको थियो । असईको नेतृत्वमा चौकी राखेपछि भारतका आपराधिक समूहबाट हुँदै आएको गतिविधि रोकिएको स्थानीयको भनाइ छ ।

स्थानीय उमेश कुर्मीले प्रहरीको उपस्थितिका कारण डकैती, लुटपाटलगायतका घटना निमिट्यान्नै भएका बताए । विगतमा यो गाउँ भारतीय डाका समूहले दिनदहाडै लुटपाट मच्चाउने गर्थे । ‘अब सशस्त्र प्रहरी समेत बसेपछि हामी ढुक्क बनेका छौ’, उनले भने,‘भारतले सीमा अतिक्रमण गर्ने साहस गर्ने छैन ।’

प्रकाशित : जेष्ठ २, २०७७ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?