२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

एकैदिन २४ जनामा कोरोना संक्रमण

प्रदेश ५ मा २३ र प्रदेश २ मा १ जना थपिए
कपिलवस्तुमा सोमबारमात्रै १६ जना संक्रमित पत्ता लागेपछि जिल्ला सिल

कपिलवस्तु, रुपन्देही, बर्दिया — स्वाब संकलन र परीक्षण तीव्र पारिएसँगै सोमबार एकै दिन २४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । प्रदेश ५ का रूपन्देही, कपिलवस्तु र बर्दियामा गरी २३ जना तथा प्रदेश २ को सप्तरीमा १ जनामा संक्रमण देखिएको हो । योसँगै मुलुकमा संक्रमितको संख्या १३४ पुगेको छ भने प्रदेश ५ मा मात्रै ५३ जना संक्रमित भएका छन् ।

एकैदिन २४ जनामा कोरोना संक्रमण

प्रदेश ५ मा चार दिनयता परीक्षण र स्वाब संकलन तीव्र पारिएको छ । पीसीआर किट अभावले स्वाब संकलन र परीक्षण प्रभावित थियो । स्थानीयसँगै राष्ट्रिय प्रयोगशालामा स्वाब पठाएर परीक्षण गर्दा थप व्यक्तिहरूमा संक्रमण देखिएको हो ।

रूपन्देहीमा सोमबार सम्मरीमाई गाउँपालिकाका चार र लुम्बिनी सांस्कृतिक नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । उनीहरूमा सम्मरीमाई गाउँपालिका–१ का दुई र ४ का दुई जना छन् । सम्मरीमाई–७, बेतकुइयास्थित भैसागान मदरसाको क्वारेन्टाइनमा राखिएका उनीहरू भारतको मुम्बईबाट आएका हुन् । ४६, ४५, ३० र २६ वर्ष उमेरका चारै जना पुरुष परिवारको सम्पर्कमा पुग्न पाएका थिएनन् ।

क्वारेन्टाइन संयोजक मुन्सीप्रताप माझीका अनुसार चार जनामध्ये एक जनालाई वैशाख २५ मा र तीन जनालाई वैशाख २६ मा क्वारेन्टाइनमा ल्याइएको थियो । उक्त क्वारेन्टाइनमा अहिले पनि १ सय ५२ जना छन् । संक्रमित उनीहरूसँगै बसेका थिए । सबैको स्वाब संकलन गरिए पनि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकाको विवरण उपलब्ध हुन नसकेको वडाध्यक्ष श्रीनारायण यादवले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित बौद्ध विश्वविद्यालय क्वारेन्टाइनमा राखिएकामध्ये दुई जनामा संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा व्यवस्थित तथ्यांक र अभिलेख नभएकाले उनीहरूको पहिचान खुल्न नसकेको वडाध्यक्ष नहमुल हक मुसलमानले बताए । बौद्ध विश्वविद्यालयको क्वारेन्टाइनमा वैशाख २० देखि २६ गतेसम्म आएका ६२ जनाको थ्रोट स्वाब संकलन गरेर पठाएकामा दुई जनाको पोजिटिभ आएको र उनीहरूको विवरण तयार गर्ने काम भइरहेको क्वारेन्टाइन संयोजक धु्रव घिमिरेले बताए । क्वारेन्टाइनमा अधिकांश मुम्बई र कानपुरबाट आएका छन् । २६ गतेपछि पनि १ सय ८९ जना थप भएको घिमिरेले बताए । रूपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले संक्रमण देखिएका ६ जनाकै विवरण संकलनको काम भइरहेको बताए । संक्रमित अधिकांश परिवारको सम्पर्कमा नपुगी क्वारेन्टाइनमा पुगेको जानकारी पाए पनि थप विवरण खोजी भइरहेको उनले बताए ।

कपिलवस्तुमा सोमबार १६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएका स्वाब परीक्षणबाट सोमबार बिहान १० जनामा र साँझ थप ६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार यशोधरा गाउँपालिका–८, बैदोलीका चार जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू चारै जना एक साताअघि सीमाबाट लुकेर आएका थिए । त्यसपछि स्थानीय अनिरुद्ध माविको क्वारेन्टाइनमा राखिएको थियो । ‘राति परेकाले ट्राभल हिस्ट्री लिन सकेका छैनांै,’ यशोधरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुवेले भने, ‘मंगलबार धेरै कुरा थाहा हुन्छ ।’

बुद्धभूमि नगरपालिका–७, मानपुरका दुई जना संक्रमित भएका छन् । उनीहरू पनि ५/६ दिनअघि लुकेरै आएका थिए । उनीहरू पनि मुम्बईबाट आएका हुन् । उनीहरूको ट्राभल हिस्ट्री र क्लोज कन्ट्याक्ट लिने काम भइरहेको बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखा प्रमुख डोलविक्रम बेल्बासेले बताए । सोमबार संक्रमण पुष्टि भएका व्यक्ति समूहगत र एक्लाएक्लै आएको खुलेको छ । उनीहरूको शनिबार स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको थियो । भारतसित सीमा जोडिएको यशोधरा गाउँपालिकामा सोमबार पहिलोपटक आठ जनामा संक्रमण देखिएको हो । यशोधरा–५, बैदोलीका चार, यशोधरा–८ बासखोरका तीन र पकरभिटवाका एक जनामा संक्रमण पाइएको हो । त्यस्तै बुद्धभूमि नगरपालिका–७ मानपुरका सात र वडा १० गगनीका एक युवामा संक्रमण पुष्टि भएको हो । उक्त नगरपालिकामा पनि पहिलोपटक संक्रमण देखिएको हो । जिल्लाबाट शनिबार २ सय ९० जनाको स्वाब परीक्षण गर्न पठाइएको थियो । ९९ सय जनाको परीक्षण गर्दा १० जना फेला परेका थिए । १ सय ५३ जनाको परीक्षण गर्दा थप ६ जना फेला परेका छन् । अब परीक्षण गर्न ३८ जनाको बाँकी छ ।

बर्दियाको राजापुर नगरपालिका–५, बदालपुरकी ११ वर्षीया बालिकामा सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको छ । राजापुरस्थित क्वारेन्टाइनमा रहेकी ती बालिकाको केही दिनअघि परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले राजापुरकी संक्रमितबारे सोमबार अबेर विस्तृत जानकारी लिन लागेको बताए । बालिका क्वारेन्टाइनमा रहेको उनले बताए । राजापुर–५ का वडाध्यक्ष रामबहादुर चौधरीले केही दिनअघि कैलालीको भजनीबाट फर्केर आउने क्रममा बालिकालाई क्वारेन्टाइनमा राखिएको बताए । ‘हजुरआमासँग आफन्तको घर गएकी थिइन्,’ उनले भने, ‘हजुरआमाको रिपोर्ट नेगेटिभ आएको जानकारी छ ।’ बालिका १४ दिन क्वारेन्टाइनमा बसेर मंगलबार घर फर्कने तयारीमा थिइन् । क्वारेन्टाइनमा स्वास्थ्य कार्यालयबाट टोली खटिएको छ । यसअघि रूपन्देहीमा एक, कपिलवस्तुमा पाँच र नेपालगन्जमा २४ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो समय संक्रमण पुष्टि भएका अधिकांश सीमाबाट लुकीछिपी आएका हुन् ।

बाँकेको नेपालगन्ज–८, जोलनपुर्वामा संक्रमण समुदायमा फैलिएको थियो । उक्त वडामा मात्र २३ जनामा संक्रमण पुष्टि भएको थियो । रूपन्देही र कपिलवस्तुका संक्रमितको बुटवलस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ भने बाँके र बर्दियाका संक्रमितको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

संक्रमितसँगै २२ जना

बुद्धभूमि–७, मानपुरका संक्रमित युवा भारतबाटै समूहमा यहाँ आएको खुलेको छ । भारतको नासिकबाट २२ जना एउटै मिनी पिकअप ट्रकमा आएका थिए । उनीहरूले प्रतिव्यक्ति २ हजार १ सय रुपैयाँ भाडा तिरेर सीमासम्म आएको बताए । उनीहरू सीमानजिक तुल्सियापुर र डुमनैया १४/१४ दिन क्वारेन्टाइनमा बसेका थिए । त्यसपछि गत वैशाख १३ गते कृष्णनगर नाका हुँदै भित्रिएका हुन् । उनीहरूसँगै भारतीय क्वारेन्टाइनमा बसेका ३५ जनालाई भित्र्याइएको थियो । उनीहरूको आरडीटी परीक्षण नेगेटिभ देखिएको थियो ।

आफ्नो नगरपालिकामा आएपछि उनीहरूलाई स्थानीय गौतम बुद्ध माविको क्वारेन्टाइनमा राखिएको थियो । उनी घर नगएर सिधै क्वारेन्टाइनस्थल पुगेका थिए । आफूहरू दुई भाइ सँगसँगै आएको उनले बताए । आफूसँगै बुद्धभूमि–७ मानपुर, वडा ९ इमिलिया, शुद्धोदन गाउँपालिकाको बिठुवाका साथी पनि सँगै आएको उनले बताए । ‘५/६ जना मसँगै क्वारेन्टाइनमा बसेका छन्,’ उनले भने, ‘अरू कताकता छन् थाहा छैन ।’

बुद्धभूमि–१०, गगनीका संक्रमित व्यक्ति मुम्बईबाट आएका हुन् । मुम्बईबाट लखनउसम्म गाडीमा आएका थिए । उनीसँगै गाडीमा १५ जना आएका थिए । लखनउबाट सीमासम्म हिँडेर आएका थिए । मुम्बईबाट घर आउँदा १९ दिन लागेको उनले बताए । उनी रंगपुर नाकाबाट चोर बाटो हुँदै गत वैशाख २६ गते जिल्ला प्रवेश गरेका थिए । गाउँमा आएपछि आफ्नो घर नगएर सिधै क्वारेन्टाइन आएको उनले बताए । छिमेकीको साइकल चढेर गोरुसिंगेस्थित क्वारेन्टाइन पुगेका थिए । उनी सवार साइकल चार दिनपछि छिमेकीले लगेका थिए ।

यशोधरामा भद्रगोल

यशोधरा गाउँपालिकामा आठै जना संक्रमित सीमाबाट लुकीछिपी आएका थिए । कोही चार दिनअघि आएका छन् । कोही एक साताअघि आएका छन् । उनीहरू गाउँपालिकामा आएको अभिलेख स्वास्थ्य शाखाले उपलब्ध गराउन सकेको छैन । ‘खोरियाका तीन जना एक/दुई दिन घर बसेको कुरा छ,’ सिंहखोर स्वास्थ्य चौकी प्रमुख केशव घिमिरेले भने, ‘म पनि बुझ्दै छु ।’ उनका अनुसार परिवारले पनि ढाँटेका छन् । ‘छिमेकमा बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘धेरैतिरबाट उनीहरू घर बसेको कुरा आएको छ ।’

पकरभिटवा र बैदोलीका संक्रमित घर गए/नगएको नखुलेको परसोहिया स्वास्थ्य चौकीका इन्चार्ज माधव अर्यालले बताए । ‘हामी उनीहरूको ट्राभल हिस्ट्री र क्लोज कन्ट्याक्ट पहिचान गर्न लागेका छौं,’ उनले भने । गाउँपालिकाको अनिरुद्ध मावि बैदोलीमा रहेको क्वारेन्टाइनमा उनीहरू बसेका थिए । त्यहाँको अवस्था भद्रगोल छ । सुरक्षा व्यवस्था फितलो छ । क्वारेन्टाइनमा बसेका व्यक्ति घर आउने जाने गरिरहेको एक स्वास्थ्यकर्मीले बताए । त्यसले जोखिम बढेको छ । संक्रमित सबै भारतको मुम्बई र दिल्लीबाट चारदेखि सात दिनअघि आएका मजदुर भएको गाउँपालिकाले जनाएको छ । सोमबार संक्रमित १० जनालाई बुटवलस्थित कोरोना अस्पताल लगिएको छ ।

परीक्षण बढेन

खुला सिमानाको फाइदा उठाउँदै बेरोकटोक आउँदा संक्रमणको जोखिम बढ्दो छ । तर, त्यस अनुपातमा कोरोना परीक्षण गरिएको छैन । कममात्र परीक्षण भइरहेको छ । सीमामा जाँच हुँदैन । लुकेर भित्रिन्छन् । घर परिवारमा पुग्छन् । कसैले देखेमात्र उनीहरू क्वारेन्टाइनसम्म पुग्ने गरेका छन् । जिल्लामा सोमबारसम्म २ हजार १ सय ३१ जना क्वारेन्टाइनमा छन् । दशगजामा अलपत्रको संख्या ठूलो छ ।

सोमबार साँझसम्म जिल्लाका ५ सय ३ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । जिल्लामा १ हजार १ सय ८० आरडीटी किट आएकामा १ हजार ९ जनाको परीक्षण गरिएको थियो । अहिले आरडीटी किट अभाव छ । सोमबार कृष्णनगरमा ५०, विजयनगरमा ३० र शिवराजमा ६६ जनाको स्वाब संकलन गरिएको छ । उनीहरूको स्वाब परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको छ । शनिबार पठाइएको स्वाब परीक्षणको रिपोर्ट आएको छैन । जिल्लाको यशोधरा गाउँपालिका, कपिलवस्तु र बुद्धभूमि नगरपालिकाका क्वारेन्टाइनमा बसेका २ सय ९० जनाको स्वाब संकलन गरी शनिबार पठाइएको हो । त्यसमध्ये ९९ को परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

विभागबाट टोली

संक्रमण फैलिएपछि स्वास्थ्य सेवा विभागको चार सदस्यीय टोली यहाँ आएको छ । उनीहरूले संक्रमित फेला परेका ठाउँका स्वास्थ्यकर्मीसँग छलफल गरेका छन् । संक्रमितको घरपरिवारलाई सचेत र सतर्क बनाउन स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । त्यस्तै संक्रमितहरूको ट्राभल हिस्ट्री र क्लोज कन्ट्याक्ट पहिचान गर्ने तरिका बताएका छन् । समुदायलाई कसरी जोगाउने भन्नेबारे जानकारी दिएका छन् । संक्रमितको विस्तृत विवरण उपचारमा संलग्न चिकित्सकले लिई फर्म पठाउने छन्, त्यसलाई भरेर सचेतना गर्न पनि जानकारी दिइएको एक स्वास्थ्यकर्मीले बताए । ‘जोखिम भए पनि डराइहाल्नुपर्ने अवस्था छैन,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले भने, ‘जनस्तरबाट सतर्कता अपनाउनु आवश्यक छ ।’ संक्रामक रोग भएकाले समुदाय पनि सचेत भई लाग्नुपर्ने उनले बताए । उनले भने, ‘जति परीक्षण बढाउँछौं, उति सुरक्षित हुन्छौं ।’

एक साता जिल्ला सिल

सीमाबाट लुकेर आएका व्यक्तिमा धमाधम कोभिड–१९ संक्रमण देखिन थालेपछि कपिलवस्तु प्रशासनले सोमबार एक साताका लागि जिल्ला सिल गर्ने निर्णय गरेको छ । लकडाउन पालना प्रभावकारी तुल्याउन यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ । जिल्लाका दशगजामा भारतका विभिन्न सहरबाट आएका सर्वसाधारणको भीड छ । उनीहरू रातिको समय मुलुक प्रवेश गरिरहेका छन् । त्यसले संक्रमणको जोखिम बढाएको छ । संक्रमण फैलिन नदिन जिल्लाभित्र गाडी चलाउन र सर्वसाधारणलाई हिँडडुलमा रोक लगाइएको छ । जिल्लामा रहेका उद्योग, कारखाना, व्यापार, व्यवसाय र निर्माणसँग सम्बन्धित काम सोमबार साँझदेखि जेठ ५ गते राति १२ बजेसम्मका लागि रोक लगाइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) क र संक्रामक रोग ऐन, २०२० को दफा २ (१) बमोजिम पूर्ण रूपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडीलाई पनि जिल्लाभित्र मान्छे ओराल्न र चढाउन कडाइ गरिएको उनले बताए । ‘संवेदनशील अवस्था भएकाले कठोर निर्णय गर्नुपरेको हो,’ उनले भने, ‘खाद्यान्न र तरकारी खरिद गर्न बिहान ७ देखि ९ बजेसम्म समय दिइएको छ ।’ पूर्वपश्चिम राजमार्गअन्तर्गत वाणगंगा नगरपालिकाले सोमबार दिउँसो तीन दिनका लागि नगर क्षेत्र सिल गर्ने निर्णय गरेको थियो ।

सोमबार दिउँसो नगरका सरोकारवालासँगको छलफलपछि नगर कार्यपालिका बैठक बसेर उक्त निर्णय गरिएको हो । सोमबार मध्यरातबाट निर्णय लागू हुने नगर उपप्रमुख चक्र अर्यालले बताए । संक्रमणको जोखिम बढिरहेकाले नगरमा सतर्कता अपनाइएको उनले बताए ।

प्रकाशित : वैशाख ३०, २०७७ ०६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?