कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक आफ्नै भूमिमा बनाइएको हो : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली — भारतले शुक्रबार उद्घाटन गरिएको सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै उक्त सडक खण्ड उत्तराखण्डको राज्यको पिथौरागढ जिल्लामा पर्ने र तिर्थालुहरुले कैलाश मानसरोवर यात्राका लागि प्रयोग गर्दै आएको साविककै मार्गअन्तर्गत रहेको उल्लेख गरेको छ ।

सडक आफ्नै भूमिमा बनाइएको हो : भारतीय विदेश मन्त्रालय

‘अहिलेको परियोजनाअन्तर्गत सोही सडकलाई तीर्थालु, स्थानीय र व्यापारीलाई सहज हुने गरी स्तरोन्नति गरिएको मात्र हो,’ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ

साथै मन्त्रालयले नेपाल र भारतबीचका सबै सीमासम्बन्धी विषय सम्बोधन गर्न लागि विदेश सचिवस्तरीय संयन्त्र रहेको उल्लेख गर्दै नेपालासँगको सीमा निर्धारण प्रक्रिया चलिरहेको जनाएको छ । साथै भारत सीमासम्बन्धी विषयहरुलाई नेपालसँगको निकट र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनाअनुरुप समाधान गर्न प्रतिबद्ध रहेको समेत वक्तव्यमा उल्लेख छ

त्यसैगरी परराष्ट्र सचिवस्तरीय वार्ताका लागि लामो समयदेखि आनाकानी गर्दै आएको भारतले उक्त बैठक राख्न तयार रहेको समेत जनाएको छ । शनिबार जारी विज्ञप्तिमा कोभिड–१९ को संकट टरेपछि दुवै पक्षबीचको सहमतिमा मिति तय गरेर सीमा विवाद सम्बन्धमा छलफलका लागि परराष्ट्र सचिवस्तरीय बैठक बस्‍ने जनाइएको छ । ‘दुवै मुलुक र सरकारले कोभिड–१९ को आपत्कालीन चुनौतीलाई सफलतापूर्वक सामना गरिसकेपछि दुवै पक्षको सहमतिमा मिति टुंगो लगाएर विदेश सचिवस्तरीय वार्ता गर्नका लागि आवश्यक प्रक्रिया जारी रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि नेपालको परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमा गर्दै आइरहेको गतिविधि रोक्नको लागि आग्रह गरेको थियो । परराष्ट्रले भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर शुक्रबार उद्घाटन गरेको कुरा खेदका साथ थाहा हुन आएको बताएको थियो । दार्चुलाको लिपुलेक हुँदै तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्गको शुक्रबार दिउँसो भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत् उद्घाटन गरेका थिए । भारतले एकतर्फीमा रुपमा नेपाली भूमि हुँदै सडक बनाएको समाचार प्रकाशित भएसँगै नेपालमा भारतीय अतिक्रमणविरुद्ध व्यापक विरोध भइरहेको छ ।

सम्बन्धित समाचार

लिपुलेकमा भारतको सडक : स्थानीय प्रशासन र बासिन्दा चकित

भारतले खोल्यो नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो

प्रकाशित : वैशाख २७, २०७७ २२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?