लिपुलेकमा भारतको सडक : स्थानीय प्रशासन र बासिन्दा चकित

मनोज बडू

दार्चुला — भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरे पनि स्थानीयस्तरमा यसबारे कुनै जानकारी छैन । शुक्रबार भारतीय सञ्चार माध्यममा तवाघाट–लिपुलेक सडक उद्घाटन गरेको समाचार आएपछि यहाँका सरकारी निकायलगायत स्थानीय चकित भएका हुन् ।

गत फागुन पहिलो साता स्थलगत रिपोर्टिङमा जाँदा भारतीय पक्षले नेपाली भूमि प्रयोग गरेर व्यास गाउँपालिका १ र २ वडाको सीमाको पारितर्फ धमाधम सडक बनाइरहेको थियो । माल्पा र बुदीको बीचमा कडा चट्टानी भूभागमा सडकको यता र उता ६ ठाउँबाट मेसिनले कटिङ भइरहेको थियो । लिपुलेकबाट बुदीसम्म एक वर्षअघि नै सडक बनेको थियो ।

बुदीबाट लिपुलेकसम्म ३६ किलोमिटर दूरी छ । बुदीबाट कालापानी २७ किलोमिटर र सीतापुल १० किलोमिटरको दूरीमा छ । माल्पा र बुदीको ९ किलोमिटर क्षेत्रमा दुवैतर्फबाट निर्माण गत वर्षबाटै सुरु भएपछि करिब एक महिनाअघि सडक जोडिएको व्यासका स्थानीयले बताएका छन् ।

देशकै त्रिदेशीय सीमा नजिक व्यास गाउँपालिका २ दुम्लिङमा रहेको अस्थायी प्रहरी चौकीका इन्चार्ज रूपसिंह सावदका अनुसार भारतले लिपुलेक सडक उद्घाटन गरेको यहाँ कसैलाई थाहा छैन । ‘लकडाउनका कारण भारतीय सुरक्षाकर्मीसित समन्वय हुन सकेको छैन, २५ दिनअघि माल्पा बुदी खण्डमा सडक जोडिएको सुनिएको थियो,’ उनले भने, ‘बुदी बजारको घट्टेखोलामा पुल हाल्न बाँकी थियो । त्यसमाथिको लिपुलेकसम्म पहिले नै सडक निर्माण भइसकेको थियो ।’

चीनको सीमासित सडक जोडिएको लिपुलेक व्यास गाउँपालिका १ मा पर्ने भए पनि नेपालीको पहुँच बाहिर छ । धेरै अघिदेखि भारतका उच्च सुरक्षा निगरानीमा रहेको गुन्जीभन्दा माथिको भागमा नेपाली नागरिकले जान पाउँदैनन् । २४ किलोमिटर कालापानीयता छियालेकमाथिको क्षेत्रमा भारतीय नागरिकले पनि धार्चुला तहसिल कार्यालयका उपजिल्लाधिकारीले जारी गरेको पास भएपछि मात्र जान पाउँछन्

नेपालबाट जाने बाटो नहुँदा व्यासका स्थानीय पनि भारतीय उपजिल्लाधिकारीले जारी गरेको पासले नै छियालेकमा ‘इन्ट्री’ गराएपछि सुरक्षाकर्मीले अगाडि बढ्न दिन्छन् । छियालेकबाट ६ किलोमिटर हिँडेर सितापुलबाट नेपाल प्रवेश गर्न पाइन्छ ।

सन् १९९९ मा सुरु भएको ९५ किलोमिटर तवाघाट लिपुलेक सडक खण्ड निर्माण २०२० मा पूरा भएको भारतीय सञ्चार माध्यमले बताइरहेका छन् । तवाघाट दार्चुला सदरमुकामपारि धार्चुलाबाट १६ किलोमिटरमा पर्छ । तवाघाटबाट गर्भाधारसम्म दुई लेनको सडक बनेको र गर्भाधारमाथि एक लेनको ट्रयाक खोलिएको छ । त्योभन्दा माथि दुई लेन सडक बनाउने काम पनि सँगै चलिरहेको व्यास गाउँपालिका २ दुम्लिङका देवेनसिंह बुढाथोकीले बताए ।

भारतले खोल्यो नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो

अहिले नेपालतर्फ दुम्लिङभन्दा माथि मानिसको उपस्थिति छैन । मंसिर सुरुमै व्यासका स्थानीय बेंसी झरेका थिए । उनीहरू आउनु एक साताअघि नै व्यासको प्रहरी चौकी दुम्लिङ झरेको थियो । व्यासको उक्त चौकी अहिले पनि दुम्लिङमै छ । व्यास जाने बाटो नहुँदा दुम्लिङमाथि के भइरहेको छ भन्ने नेपाली पक्षलाई थाहै छैन ।

विगतमा व्यासका बासिन्दा वैशाख पहिलो साता गाउँ फर्कन्थे । यो वर्ष लकडाउनका कारण माथि उक्लन पाएका छैनन् । ‘स्थानीय व्यास पुगेपछि मात्र माथि जाने नेपाल प्रहरी स्थानीय नै नगएपछि जाने कुरा आउँदैन,’ उनले भने ।

व्यासका स्थानीय जितसिंह बोहराका अनुसार सन् २०१५ मा चीन र भारतबीच भएको लिपुलेक नाकाबाट व्यापार विस्तार गर्ने सहमतिपछि लिपुलेक सडक निर्माणले तीव्रता पाएको हो । नेपाली भूमि लिपुलेकमा भारत चीनबीच व्यापारिक नाका खोल्ने सम्झौता भएपछि एक/दुई साता नेपाली भूमिमा नसोधी सम्झौता गरेको कुरा उठ्यो, पछि सबै सेलायो । ‘भारतले त्यहीँबाट लिपुलेक नाका जोड्न तल र माथिबाट सडक निर्माणलाई ५/६ खण्डमा विभाजन गरेर ट्रयाक खोलिसकेको छ, हामी हेरेको हेरै छौं । हामीले व्यास जाने घोडेटो मर्मत गर्न नसकेर भारतीय बाटो प्रयोग गर्नुपरेको छ,’ उनले भने ।

भारतले सीमामा सडक निर्माण गरिरहेको बारे कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि प्रहरी टोली त्यो क्षेत्र गएको पनि थियो । गत फागुन ४ गते दार्चुला महोत्सव उद्घाटन गर्न आएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले फागुन ५ मा व्यास क्षेत्रको हवाई निरीक्षण गरेका थिए । मन्त्री पोखरेलले बीओपी राख्ने जग्गा निरीक्षणका क्रममा छाङरुसम्म हेलिकप्टरमा पुगेका हुन् । सदरमुकाम फर्केपछि मन्त्री पोखरेलले आकाशबाट सडक निर्माण भइरहेको बारे केही देख्न नसकेको बताएका थिए ।

भारतले एकतर्फी रूपमा सडक संरचना बनाइरहेको र महाकालीमा काठे पुल हालेर अवैध वारपार गरिरहेको बारे कान्तिपुरमा लगातार समाचार छापिएपछि प्रहरी टोलीसमेत गएको थियो । प्रहरीले भारतले सडक खनिरहेको क्षेत्रमा वारपार गर्न राखेको काठे पुल हटाएको थियो ।

प्रकाशित : वैशाख २७, २०७७ ०६:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भारतमा २८ नेपालीमा कोरोना संक्रमण, एक जनाको मृत्यु

सुरेशराज न्यौपाने

नयाँदिल्ली — दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ  भने एक जनाको मृत्यु भएको छ ।

संक्रमित नेपालीहरुमध्ये २३ जना रोजगारीका लागि भारतमा बस्दै आएका हुन् भने अन्य पाँच जना केही महिनाअघि मात्र भारत आएका थिए ।

संक्रमित नेपालीहरुमध्ये एक जनाको मृत्यु भइसकेको छ भने १२ जना उपचारपछि निको भइसकेका छन् । बाँकी १५ जनाको उपचार चलिरहेको छ । दूतावासका अनुसार मृत्यु हुनेमा हरियाणा रोहतकका ४५ वर्षीय पुरुष छन् । पाल्पा घर भएका ती संक्रमित नेपाली कामकै सिलसिलामा रोहतकमा बस्दै आएका थिए ।

पछिल्लो संक्रमण बैतडी, दोगडा केदार गाउँपालिकाका २३ वर्षीय पुरुषमा देखिएको छ । ती संक्रमित नेपाली एसियाकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार मानिने आजादपुर तरकारी बजारको एउटा फलफूल पसलमा काम गर्दै आएका थिए । उक्त बजारमा सुदूरपश्चिमका थुप्रै युवाहरु काम गर्ने गर्छन् । स्वास फेर्न गाह्रो हुने र छाती पोल्नेलगायतका कोरोना भाइरसको लक्षण देखिएपछि बिहीबार उनको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको सुदूरपश्चिम नेपाली समाजका कोषाध्यक्ष महादेव भट्टले कान्तिपुरलाई बताए । संक्रमण देखिएपछि उनलाई पहिले रामनोहर लोहिया कोरोना अस्पताल लगिएको थियो । तर, त्यहाँ बेड खाली नभएपछि सुल्तानपुरीको क्वारेन्टाइन सेन्टरमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको भट्टले जानकारी दिए ।

संक्रमित नेपालीहरुमध्ये पनि सबैभन्दा बढी महाराष्ट्रका छन् । महाराष्ट्रको मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको सुदूरपश्चिम अछाम मूल घर भएको एक नेपाली परिवारका आठ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । संक्रमित सबैजना उपचार पछि निको भइसकेका छन् । मुम्बईकै थानेमा रहेका अन्य तीन जनामा नेपाली कामदारहरु पनि संक्रमण देखिएको छ । कैलाली घर भएका उनीहरुको उपचार चलिरहेको दूतावासले बताएको छ । साथै मुम्बईकै दानावरमा बस्ने अर्का एक ५७ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको पोजिटिभ देखिएको छ । उनको पनि स्थानीय उपचार भइरहेको बताइएको छ ।

महाराष्ट्रकै अर्को सहर पुनेमा बस्दै आएको अछामको एकै परिवारको तीन जना संक्रमित भएका छन् । २८ वर्षीय घरमूली, उनकी २२ वर्षीय श्रीमती र ५ महिनाका छोरामा भाइरसको देखिएको हो । उनीहरु सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।

त्यसैगरी हरियाणाको गुडगावँस्थित एउटा औषधी पसलमा काम गर्दै आएकी ३१ वर्षीय महिला नर्समा पनि संक्रमण पुष्टि भएको छ । दिल्लीस्थित दूतावासका अनुसार नवलपरासी घर भएकी ती महिला नर्सको हाल उपचार चलिरहेको र अवस्था सामान्य रहेको छ ।

साथै दक्षिण भारतको बैंग्लुरुमा बस्दै आएका बझाङ, चैनपुरका चार जना नेपालीहरुमा पनि कोभिड–१९ देखिएको थियो । सबैभन्दा पहिले परिवारका घर मूली र उनकी श्रीमतीमा संक्रमण देखिएको थियो । तर, उनीहरु निको भइसके पछि दश वर्षीय छोरामा पनि संक्रमण देखियो । त्यसबाहेक त्यही परिवारसँग सम्पर्कका रहेका अर्का एक जना नेपाली पुरुषमा पनि कोभिड–१९ देखिएको थियो । यिनीहरु सबै जना उपचारपछि निको भइसकेका छन् ।

त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पुरुषसँगै बस्ने अर्का एकजना १५ वर्षीय युवामा पनि संक्रमण देखिएको छ । उनको रोहतककै मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

यसबाहेक केही महिनाअघि भारत आएका पाँच जना नेपाली जसमा संक्रमण देखिएको थियो । जसमध्ये एक जना उपचारपछि निको भइसकेको छ भने चार जनाको भने अझै उपचार चलिरहेको छ । तिनीहरुमध्ये हरियाणाको अम्बालामा रहेका संक्रमित उपचार पछि की भइसकेका छन् भने उत्तरप्रदेश (यूपी) को बागपतमा रहेका बाँकी चार जना संक्रमितको हाल मेरठमा उपचार चलिरहेको छ । र उनीहरुको अवस्था सामान्य रहेको छ ।

प्रकाशित : वैशाख २७, २०७७ ०६:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×