कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाली भूमि मिचेर भारतद्वारा सडक निर्माण

मनोज बडू

माल्पा, दार्चुला — ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ । भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक बनाएर डोजर र निर्माण सामग्री ढुवानी गरिरहेको छ ।

नेपाली भूमि मिचेर भारतद्वारा सडक निर्माण

त्रिदेशीय सीमा क्षेत्र ब्यास गाउँपालिका–१ र २ को सीमा क्षेत्रमा करिब एक किलोमिटर परबाट डेढ सय मिटर तथा त्यसकै केही अढाइ सय मिटर परको दूरीबाट करिब तीन सय मिटर जतिको डोजर जाने सडक बनाएको छ ।


एकतर्फी रुपमा सीमा क्षेत्रमा भारतले निर्माण गरिरहेको सडकका कारण महाकाली साँघुरिदै र नेपालतर्फको घोरेटो बाटोमा समेत क्षति गरेको छ । नदीको वारिपारि ठूल्ठूला ढुंगाहरुले पानी नै देखिँदैन । धेरै ठाउँमा नदीले कटान गरेपछि ब्यास जोड्ने घोरेटोको भत्किएको छ । भारतीय पक्षले २०७४ सालमा पनि नेपाललाई कुनै जानकारी नदिई अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा काठेपुल राखेको र नेपाली भूमिमै आएर डोजर ओसारपसार गर्न ठाउँ–ठाउँमा सडक खनेको थियो ।


नेपाली भूमिमा भारतले डोजर गुडाउने बाटो बनाएको तीन साता बढी भएको स्थानीयले बताए । एउटा काठेपुल डेढ महिना अघि र दोस्रो महिना दिन अघि राखेको हो । उनले भने, 'सडक खनेको ठ्याक्कै दिन बिर्सें । चानचुन दुई साताभन्दा बढी नै भएको छ ।'


माल्पा नजिकको काटार नजिक अन्तर्राष्ट्रिय सीमा नदी महाकालीकोबीच भागमा ठूल्ठूला ढुंगा नदीको माथि राखेर पानीलाई ढुंगामुनि छिराएर जुनसुकै सवारी साधन गुड्ने सडकजस्तै पुल बनाएको छ । त्यसको करिब ७ सय मिटर पर पेल्सितिमा महाकाली वारपार गर्ने राम्रो काठेपुल राखेको छ । ‘भारतले दुईवटै ठाउँमा तीनदेखि चार मिटर चौडा सडक खनेर दैनिकजसो निर्माण सामग्री ढुवानी गर्दै आएको छ,’ स्थानीय एक जना कामदारले भने, ‘आवश्यक परे डोजरहरु पनि यताउता हुने गर्छन् । उक्त ठाउँको भारततिर कडा चट्टानी भूभाग र नेपालतर्फ माटो भरिएको जमिन हुँदा भारतले निर्माण सामग्री ढुवानी गर्न सडक खनेको हो ।


माल्पा नजिक काठका तीन/चार डड्डी लगाएर सामान तार्ने र त्यसको करिब ६ सय मिटर पर काटार पानीमा कल्भर्ट जस्तै पुल राखेको छ । प्रायजसो उक्त क्षेत्रबाट आवतजावत गर्ने मानिसहरु यही बाटो प्रयोग गर्ने गरेको कामदारले बताए । उनले भने, 'हामी त जुनसुकै बाटो प्रयोग गरेर सामान ढुवानी गर्दै आएका छौं । काटार पानी नजिकको पुलबाट जान करिब ३० मिटरको उचाई चढ्नुपर्ने हुँदा माल्पानजिक काठको सानो पुल बनाएर आवतजावत गरिन्छ ।'


उक्त क्षेत्रमा भारतले मनोमाढी ढंगले नेपाली भूमि आएर डोजर लैजान सडक खनेको र महाकाली नदीमा काठेपुल लगाएको बारेमा नेपाली पक्ष बेखर छ । यस विषयमा जिल्ला प्रशासन कार्यालय, सीमाको रेखदेख गर्न जिल्लामा रहेको सीमा सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधि बुझ्दा बेखबर भएको प्रतिक्रिया दिएका छन् ।


अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा भारतले बनाएको पुल । तस्बिरः कान्तिपुर ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्दा राज्यको ध्यानाकर्षण हुनुपर्ने हो तर त्यो हुन सकेको छैन । अन्तर्राष्ट्रिय सीमा नाघेर हाम्रो देशमा आएर सडक खनेको बारेमा कुनै निकायबाट जानकारी हुन नसकेको प्रमुख जिल्ला अधिकारी यदुप्रसाद पौडेलले बताए ।


जिल्लाका स्थानीय प्रशासनिक निकाय र उक्त क्षेत्रका कुनै पनि जनप्रतिनिधिबाट भारतले अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा पुल लगाएको भन्दा हाम्रै देशमा डोजर ल्याएर सडक निर्माण गरेकोबारे कुनै किसिमको खबर आफू कहाँ नपगेको प्रजिअ पौडेलको भनाइ छ । उनले भने, 'अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा यसरी संरचना निर्माण गर्नु ठूलो विषय भएकोले बुझेर जानकारी दिनेछु ।'


सीमा क्षेत्रको रेखदेख र सीमाको सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई पनि भारतले नदीमाथि पुल राखेको र सडक खनेको विषयमा कुनै जानकारी नभएको सीमा सुरक्षा बल सशस्त्र प्रहरी हेडक्वाटर सीमा गुल्म दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टले बताए । 'अहिले माथिल्लो क्षेत्रमा जानलाई बाटो नभएको र गस्तीका लागि जान हिमपात भएकाले माथिल्लो सीमा क्षेत्रमा गस्ती जान सकेको छैन,' उनले भने । त्यस्तै ब्यास गाउँपालिकालाई पनि सीमा क्षेत्रमा भारतले के गरिरहेको बारेमा कुनै जानकारी हुन सकेको छैन ।


ब्यास गाउँपालिका–१ का स्थानीय सबै चिसोका कारण सदरमुकाम झरेसँगै सरकारी कार्यालय पनि तल बेंसी राखिएका छन् । ‘ब्यासको छाङ्गरु र तिंकरका कार्यालय तल आएपछि गाउँपालिकाको कुनै संयन्त्र नहुँदा उताको बारेमा बुझ्न सकिएको छैन,’ गाउँपालिकाका उपाध्यक्ष हेमा भट्टले भनिन्, ‘सीमा क्षेत्रमा केहि भएको भए गाउँपालिकाले जिल्ला प्रशासनलाई जानकारी गराउने हो । कुनै जानकारी पाए अवश्य गराउने छौं ।’


राज्यले ब्यास क्षेत्रलाई त्रिदेशीय सीमा रहेको हुनाले ब्यास सामरिक महत्वको क्षेत्र भन्दै आएको छ । वर्षका ६ महिना मानवविहीन हुने ब्यासमा राज्यको पनि उपस्थिति अहिलेसम्म गराउन सकेको छैन । सामरिक क्षेत्रको ब्यासको सुरक्षाका लागि ब्यास गाउँपालिका २ दुम्लिङ्मा अहिले ८ जना नेपाल प्रहरीका सुरक्षाकर्मी रहेका छन् । उक्त अस्थायी प्रहरी चौकीलाई माथिल्लो सीमा क्षेत्रको खबर के छ भनी बुझ्दा सब ठिक भएको उत्तर दिए । चौकी इन्चार्ज रुपसिह कुँवरका अनुसार घाटिबगडभन्दा माथि जाने बाटो छैन । उनले भने, 'सीमा गस्तीका लागि भारतीय बाटो प्रयोग गर्न सकिँदैन । कहिले काँही घाटीबगडसम्म जाने गरेका छौं ।'


स्थानीय कामदारहरु भारततिर उक्त क्षेत्रमा निकासका लागि बाटो नहुँदा दुवैतिरबाट सडक निर्माणका लागि डोजर जाने र कामदारहरुलाई सामान ढुवानीका सडक र काठेपुल बनाएको बताउँछन् । यसअघिका वर्षमा भारतीय पक्षले महाकाली नदीमा काठेपुल लगाएर कामदार मार्फत निर्माण सामग्री ढुवानी लगायत अन्य चिज ओसारपसार गर्ने गरेका थिए ।


भारतले सन् २०२० भित्र उक्त सडकलाई लिपुपास (लिपुलेकबाट तिब्बत)सम्म पुर्‍याउनका लागि ठाउँ–ठाउँमा सडक निर्माण गरिरहेको छ । भीर भएको क्षेत्रमा दुवैतिर कटान गरेर सडकलाई तीव्र गतिमा अगाडी बढाइरहेको ब्यासका स्थानीय बताउँछन् । उक्त क्षेत्रमा पुल निर्माणका काम भने निजी कम्पनीलाई जिम्मवारी दिइएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७६ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?