कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रन्टलाइनमा खटिनेले जे भोगे

काठमाडौँ — कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको एक महिना नाघेको छ । तत्कालै लकडाउन हटेर नागरिकको दिनचर्या सामान्यतर्फ जाने छाँटकाँट देखिँदैन । लकडाउन कार्यान्वयन गराउन प्रहरी र स्थानीय प्रशासन दिनरात खटिएका छन् । कोही बाहिर निस्किए बल प्रयोग गरेर भए पनि रोक्ने रणनीति प्रहरीले अपनाएको छ ।

फ्रन्टलाइनमा खटिनेले जे भोगे

तर दैनिक ज्यालादारी मजदुर र सर्वसाधारण लकडाउनमै घर फिर्न त्यत्तिकै व्यग्र छन् । सम्भव भए प्रशासन र प्रहरीबाटै अनुमति लिएर घर फिर्ने, नभए सुरक्षाकर्मीलाई छलेर हिँड्न उनीहरू खोजिरहेका छन् । यसबीचमा हिँडडुल गर्दा सुरक्षाकर्मीले दुव्र्यवहार गरेका घटना पनि बाहिरिए । कान्ति बाल अस्पतालका ३ चिकित्सक र धरानका स्वास्थ्यकर्मी लकडाउन उल्लंघनको आरोपमा सुरक्षाकर्मीबाटै पिटिए ।

फिल्डमा खटिने सुरक्षाकर्मी र उनीहरूलाई आदेश दिने निकायका अधिकारीको दिनचर्या पनि त्यति सहज छैन । फिल्डमा एक जना सुरक्षाकर्मीले दिनमा १५ देखि १८ घण्टासम्म खटिनुपरेको छ । खाना खाने टुंगो छैन । भनेको बेला शौचालय जान पाइँदैन । घर बिदामा रोक लगाइएको छ । आदेश दिने निकायका अधिकारी पनि बिहान ९ बजे निस्किएर राति ९ बजेतिरै घर फर्कनुपर्ने अवस्था छ । गृहसचिव, प्रमुख जिल्ला अधिकारी, विपद् व्यवस्थापनको जिम्मा पाएका अन्य अधिकारी तथा सुरक्षाकर्मीले लकडाउन अवधिको अनुभव कान्तिपुरलाई सुनाएका छन् ।

‘घरबाटै खाजा बोकेर आउँछु’

महेश्वर न्यौपाने, गृहसचिव

गृहसचिव महेश्वर न्यौपाने घरबाट बिहान ९ बजे कार्यालय निस्कन्छन् । राति ८/९ बजे घर फर्कन्छन् । बिहानदेखि घर फर्कंदासम्म उनका दुइटा मोबाइल फोनमा निरन्तर कल आइरहन्छ । कतिपय उठाउन पनि पाउँदैनन् । ‘घरका सदस्यसँग बसेर घरायसी सुखदु:ख साटासाट नगरेको १ महिना भइसक्यो, लकडाउनपछि श्रीमती र छोराछोरीसँग बसेर खाना पनि खान पाएको छैन,’ न्यौपानेले भने, ‘बिहान घरबाटै खाजा बोकेर आउँछु, दिउँसो केही समय निकालेर खान्छु, हिजोआज एकछिन पनि फुर्सद मिल्दैन ।’

गृहसचिवको कार्यकक्षमा ४/५ जनाभन्दा बढी मान्छे जम्मा हँुदैनन् । ‘घरमा पनि मेरो कोठामा परिवारका सदस्यहरू प्रवेश गर्दैनन्, सामाजिक दूरी कायम गर्नुपर्छ,’ न्यौपानेले थपे । उनले कोभिड–१९ को संकट जतिसक्दो छिटो सामान्य होस् भन्ने आफ्नो चाहना रहेको बताए ।

‘मौसमी प्रकोप व्यवस्थापन प्रमुख चुनौती’

अनिल पोखरेल, प्रमुख कार्यकारी, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल पनि लकडाउन सुरु भएयता घरबाट बिहान ९ बजे निस्केर राति ९ बजे मात्रै फर्कन्छन् । उनले यसबीचमा परिवारका सदस्यसँग बसेर कुराकानी गर्न नपाएको सुनाए । ‘एकातिर महामारीविरुद्ध जुध्नुपर्ने र अर्कातर्फ नियमित र मौसमी प्रकोप नियन्त्रण तथा व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी छ । दुवैलाई एकैपटक न्यूनीकरण, व्यवस्थापनलगायत प्रतिकार्य योजनामै समय बित्ने गरेको छ,’ उनले भने, ‘व्यक्तिगत र घरायसी विषय त सोच्न पनि सकिएको छैन ।’

कोभिड–१९ संक्रमण फैलिन सक्ने भन्दै धेरैपटक परिवारका सदस्यले बाहिर ननिस्कन उनलाई आग्रह गरेका थिए । ‘तर घरमा बस्ने अवस्थै छैन,’ उनले भने ।

‘घर जान पाएको छैन’

विश्वराज पोखरेल

डीआईजी, महानगरीय प्रहरी कार्यालय

लकडाउन कार्यान्वयनमा सबैभन्दा बढी समय र अग्रभागमा रहेर खटिनेमा सुरक्षाकर्मी पर्छन् । नियमित शान्तिसुरक्षा व्यवस्थापनदेखि लकडाउन पालना र अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रहरीको भूमिका सबैभन्दा बढी हुन्छ । अझ राजधानीको सुरक्षा व्यवस्थापन गर्नु, लकडाउन पालना गराउनु र नागरिकसँग सम्बन्ध सुमधुर बनाउनु प्रहरीका लागि उत्तिकै चुनौतीपूर्ण छ । १८ घण्टासम्म ड्युटीमा खटिनुपर्ने सुरक्षाकर्मीको न खाने न आराम गर्ने समय टुंगो छ । महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेल लकडाउन घोषणाको २ दिन अघि चैत ९ गतेयता घर नगई काममा खटिएका छन् । विशालनगरस्थित उनको घर र कार्यालयको दूरी मुस्किलले केही किलोमिटर मात्रै छ तर कार्यालयमै बसेर उनी राजधानीको शान्तिसुरक्षा व्यवस्थापन र लकडाउन कार्यान्वयनमा खटिएका छन् । ‘बिहान ६ बजे उठेदेखि राति १२ बजेसम्म काममै खटिनुपरेको छ,’ उनले भने ।

सामाजिक दूरी कायम गर्नुपर्ने कारणले समेत घर नगएको उनले बताए । ‘आफू पनि काममा खटिए मात्रै मातहत युनिटका प्रहरी उच्च मनोबलका साथ परिचालन हुन सक्छन्,’ उनले भने ।

‘सरुवाको धम्की पनि आयो’

जनकराज दाहाल, प्रमुख जिल्ला अधिकारी, काठमाडौं

लकडाउनपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल दिनमा १ हजार कलसम्म फोन रिसिभ गरेका छन् । दिनमा ५ वटासम्म बैठक गर्नुपरेको छ । ‘कसैले खान पाइनँ भनेर फोन गर्छन्, कतिले सवारी पास माग्छन्,’ उनले भने ।

अस्थायी पास लिन आउने थुप्रैलाई उनले रोकिदिए । कतिपय सांसदको आग्रह नमान्दा प्रजिअ दाहाललाई सरुवा गरिदिने धम्की पनि आयो । सत्तारूढ र विपक्षी दलका कतिपय सांसदलाई अनावश्यक पास दिन नसकिने भन्दै फर्काइदिएको उनले बताए । ‘लकडाउनले मलाई सहनशील र धैर्यवान हुन निकै सहयोग गरेको छ,’ उनले भने ।

शान्तिसुरक्षा, उपभोग्य वस्तु व्यवस्थापन तथा सहज आपूर्ति, अन्तरसरकारी निकायबीच समन्वय, अस्थायी पास व्यवस्थापन, लकडाउन कार्यान्वयनलगायतसँग जोडिएकाले दबाब र व्यस्तताका बीच काम गर्नुपरेको उनले सुनाए । ‘नागरिककै जस्तो त्रास हामीलाई पनि हुन्छ,’ उनले भने, ‘तर कानुन कार्यान्वयन गर्ने तहमा बसेपछि कतिपय अवस्थामा निर्मम पनि हुनुपर्ने रहेछ ।’

प्रजिअ दाहालले लकडाउनपछि परिवारका सदस्यसँग बाध्यताले परपर हुनुपरेको उनले बताए । ‘समय दिएन भनेर श्रीमती तथा छोराछोरीले गुनासो गर्छन्,’ उनले भने ।

‘उपचारमा खटिँदा मनमनै चिसो पस्छ’

डा. श्रवणकुमार मण्डल, मेडिकल अफिसर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

चीनको वुहानमा कोरोना महामारी फैलिएपछि हुबेई प्रान्तबाट नेपालीलाई जहाज पठाएर सरकारले माघ ४ गते स्वदेश ल्यायो । उनीहरूको स्वास्थ्य जाँच गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएकामध्ये एक थिए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका इमर्जेन्सी विभागका मेडिकल अफिसर डा. श्रवणकुमार मण्डल । सरकारले सामान्य मास्क र पन्जाको भरमा चिकित्सकको टोली विमानस्थलमा खटाएको थियो । ‘अहिलेजस्तो महामारी र त्रास त्यतिबेला थिएन, हामी पीपीईबिनै विमानस्थलको हेल्थ डेस्कमा खटिएका थियौं,’ डा. मण्डलले भने, ‘बिनासावधानी विमानस्थल खटिएको सम्झँदा अहिले पनि मन झसंग हुन्छ ।’

यसबीचमा उनलाई एक्कासि रुघाखोकी लाग्यो, ज्वरो पनि आयो । उनी आत्तिए । तर परीक्षण गर्दा कोरोना देखिएन । त्यसपछि लामो सास फेर्दै काममा फर्किएको उनले सुनाए । अहिले सावधानीका उपाय अपनाएर उपचारमा खटिँदा बाहिर देखिने गरी डर र त्रास भने नहुने उनले बताए । ‘भित्रभित्रै भने कतै न कतै चिसो पस्छ,’ उनले भने ।

टेकुमा जाने जुनसुकै बिरामी सुरुमा मण्डलले नै हेर्छन् । त्यसपछि मात्र विशेषज्ञ चिकित्सकले हेर्छन् । बिहान ९ बजे अस्पताल आइसक्ने मण्डल बेलुका ८/९ बजेतिर फर्कन्छन् । उनी कोठा बाहिरै बरन्डामा कपडा फेरेर साथीको घरमा गएर सुत्छन् । मानसिक असर बिरामी आमामा नपरोस् भनेर बाहिरै बस्ने गरेको उनले बताए ।

‘हाम्रा लागि अवसर’

डा. दीपक सिग्देल, सिनियर कन्सल्टेन्ट फिजिसियन, कोसी अस्पताल, विराटनगर

विराटनगरको कोसी अस्पतालमा कोभिड–१९ संक्रमित १८ नेपाली र १२ भारतीय गरी ३० जनाको उपचार भइरहेको छ । कोसी अस्पतालले कोभिड–१९ संक्रमितको उपचारका लागि पुरानो नेसनल ट्रेडिङको भवनमा छुट्टै अस्पताल बनाएको छ । अस्पतालमा संक्रमितको उपचार गर्न फ्रन्टलाइनमा खटिएकामध्येका एक हुन् सिनियर कन्सल्टेन्ट फिजिसियन डा. दीपक सिग्देल । १७ वर्षदेखि कोसी अस्पतालमा कार्यरत उनले कोभिड–१९ संक्रमितको उपचार सरुवा रोगसम्बन्धी चिकित्सकलाई अवसर भएको बताए ।

‘कोभिड–१९ ले विश्व नै डराएको छ । हामी फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी झन् जोखिममा हुन्छौं,’ उनले भने, ‘तर चुनौती, भय र त्रासका बीच जिम्मेवारी पूरा गर्नु हाम्रो कर्तव्य हो ।’

उपचारमा संलग्न चिकित्सकहरूले संक्रमितबाट जोगिन संयमित भएर काम गर्नुपर्ने उनले बताए । ‘मेरो परिवार काठमाडांैमा छ, दिनहुँजसो फोन तथा म्यासेन्जरमा कुराकानी हुन्छ,’ उनले सुनाए, ‘आमाले नडराउनु भन्नुहुन्छ । श्रीमतीले पनि सबैले गरिरहेका छन्, नडराई काम गर्नु भनेर हौसला दिन्छिन् ।’

उपचारमा खटिँदा समय मिलाएर समाचार हेर्ने तथा सुन्ने गरे पनि अहिले त्यो पनि छाडिसकेको उनले बताए । ‘कामको चापका बेला समाचारले एक प्रकारको तनाव सिर्जना हुने रहेछ,’ उनले भने, ‘महामारी छिटो सिद्धिँदैन भन्ने हामीले बुझ्नुपर्छ । घरमै बसेर सबैले सामाजिक दूरी कायम राख्नुपर्छ । आत्मबल उच्च राखेर बस्नुपर्छ ।’

‘डर हट्दै गएको छ’

बेली पौडेल

आइसोलेसन वार्ड इन्चार्ज (नर्स), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

टेकु अस्पतालकी नर्स बेली पौडेल हाल कोभिड–१९ संक्रमणको उपचारका लागि बनाइएको आइसोलेसन वार्डकी इन्चार्ज हुन् । गएको माघमा कोभिड–१९ संक्रमित एक जना भर्ना भएका थिए । त्यसबेला उनी कोभिड–१९ बारे त्यति जानकार थिइनन् । ‘जोखिम पनि यस्तो होला भन्ने लागेको थिएन, रोगको सर्ने प्रकृति र जटिलता थाहा थिए,’ उनले सुनाइन्, ‘सुरुमा आएका बिरामीसँग नजिक गएर कुराकानी गरियो, पीपीई लगाएकी थिइनँ । पछि ती मानिसको रिपोर्ट पोजिटिभ आयो ।’ ती मानिसमा संक्रमण पुष्टि भएपछि आफूहरूलाई पनि रोग सर्‍यो कि भन्ने त्रासले सताएको उनले बताइन् । पौडेलसहित १९ जना नर्स १४ दिन घरमै आइसोलेट भएर बसेका थिए । ‘धन्न, मलाई कुनै लक्षण देखिएन,’ उनले भनिन्, ‘एक जनालाई अलि गाह्रो भयो । तर रिपोर्ट नेगेटिभ आयो ।’

उनी अस्पतालमा लगाएको कपडा घर गएर फेर्छिन् अनि नुहाउँछिन् । हिजोआज डर हट्दै गएको उनले बताइन् ।

प्रकाशित : वैशाख १४, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?