कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठग ‘महाराज’ विरुद्व काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

जनकराज सापकोटा

काठमाडौँ — ‘ठग महाराज’ विजय भण्डारीविरुद्व काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अमेरिका लैजाने भन्दै रकम उठाएर सर्म्पक बाहिर रहेका ‘महाराज’ले गत वैशाखमा पीडितहरुलाई दिएको चेक नसाटिएपछि दुई जनाले चेक बाउन्स भएको भन्दै प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

ठग ‘महाराज’ विरुद्व काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

९ लाख ८५ हजार रकम उल्लेखित दुई चेक नसाटिएपछि सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।


प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले ‘महाराज’ विरुद्ध प्रहरीमा जाहेरी परेको बताए । उनले उजुरी उपर अनुसन्धान सुरु भइसकेको बताउँदै भने, ‘थप पीडितहरु पनि सर्म्पकमा आइरहेका छन् ।’


पक्राउ पुर्जी जारी भएलगत्तै ‘महाराज’ विरुद्ध महायज्ञ आयोजक समितीले नै जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी गरेको थियाे । पशुपतीनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीले ‘महाराज’लाई पक्राउ गरी कारबाही गरी पाउँ भनेर प्रशासनमा आयोजकको तर्फबाट उजुरी दर्ता गराइएको बताए ।कान्तिपुरसँगको कुराकानीमा अध्यक्ष पुडासैनीले ‘महाराज’ले आफूहरुलाई झुटो आश्वासन दिएको र ढाँटेको निष्कर्षमा पुगेपछि उजुरी गरेको बताए । उनले भने, ‘हदैसम्मको कारबाही होस् भनेर उजुरी दिएका छौं ।’


आफ्नो ठगीले भरिएको विगतबारे झुटो कुरा बताएर ‘महाराज’ले आफूहरुको नैतिक बेइज्जती गरेको आयोजकको ठम्याई छ । अध्यक्ष पुडासैनीले ‘महाराज’कै कारण महायज्ञ बिथोलिएका कारण आफूहरुलाई तनाव भएको बताए । उनले भने, ‘ऊ त भाग्यो नै । हामीलाई तनाव थपिदियो ।’


उनले महायज्ञमा आमन्त्रित केही गुरुहरुले पनि ‘महाराज’को धन्दा विरुद्ध प्रशासनका अर्को उजुरी दिएको सुनाए । ‘महाराज’को ठगी धन्दाबारे कान्तिपुरमा श्रृंखलाबद्ध समाचार प्रकाशित भएपछि महायज्ञबिचमै रोकिएको थियो । गुल्मी घर भएका विजयले केही वर्ष अघिसम्म विष्णु प्रपन्नाचार्यको नाममा महायज्ञ लगाउँदै अमेरिका लैजाने भनेर सयौंसँग करोडौं रुपैयाँ उठाएका थिए । ठगी धन्दाकै कारण पटक–पटक जेल सजाय भोगेका उनले पछिल्लो पटक कैदमुक्त भएपछि नाम बदलेर ‘महाराज’को आवरणमा ठगी धन्दा चलाएका थिए ।

महाराजको ठगी

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले महायज्ञमा कार्यरत केही कर्मचारी, सप्लार्यसहरुले ‘महाराज’ले दिएको चेकको भुक्तानी नपाएको विषयमा आफूलाई निवेदन आएको बताए । उनले मन्दिर आयोजक समितिले आफूलाई भेटी आर्थिक कारोबारको सबै काम ‘महाराज’ले नै गरेको बताएको पनि सुनाए ।

प्रकाशित : माघ २०, २०७६ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?