कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरकारीको विषादी, आस्था राउत र कोरोना भाइरसमा सांसदहरूको चासो

काठमाडौँ — राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा सांसदहरूले भारतबाट आयातित तरकारीको विषादी जाँच रोकिएकोमा आपत्ति जनाएका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय विभानस्थलमा सुरक्षा जाँचका क्रममा प्रहरी कर्मचारीलाई अभद्र व्यवहार र पछि गालीगलौच गरेको आरोप पक्राउ परेकी गायिका आस्था राउतबारे सांसदहरूले कुरा उठाएका छन् ।

तरकारीको विषादी, आस्था राउत र कोरोना भाइरसमा सांसदहरूको चासो

सांसदहरूले चीनमा देखा परेको कोरोना भाइरस र त्यसबाट नेपालमा पर्नसक्ने प्रभाव एवं बच्नका लागि सरकारले गरेका तयारीबारे चासो व्यक्त गरेका छन् ।

सत्तारुढ नेकपाका सांसद बलराम बाँस्कोटाले भारतबाट आयातित तरकारीमा सरकारले विषादी जाँच रोकेकोमा आपत्ति जनाए । उनले तत्काल विदेशी मुलुकबाट आउने तरकारीमा विषादी जाँच पुनः सुरु गर्न सरकारको ध्यानाकर्षण गराए । उपभोक्ता विषादीयुक्त तरकारी खान बाध्य हुनुपरेको उनको गुनासो थियो ।

कृषिमा युवाहरूलाई संलग्न गराउनुपर्ने बाँस्कोटाको धारणा थियो । उनले कृषिको व्यवसायीकरण, बजारीकरण र सहकारीकरण तथा युवाहरूलाई कृषिमा परिचालन गर्ने विषयमा भएको प्रगतिबारे संसदलाई जानकारी गराउन कृषि मन्त्रालयसँग माग गरे ।

कांग्रेस सांसद प्रकाश पन्थले चीन लगायत दर्जनौं मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन थालेकाले सरकारलाई त्यसको रोकथामका लागि पूर्व तयारी थाल्न ध्यानाकर्षण गराए । पन्थले चीनमा अध्ययनरत विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीलाई सुरक्षित नेपाल फर्काउन गम्भीर भएर लाग्न सरकारसँग आग्रह गरे ।

नेपालमा भ्रमणवर्ष चालिरहेको अवस्थामा विश्व समुदायलाई नेपाल सुरक्षित छ भन्ने विश्वास दिलाउने गरी काम गर्न अग्रह गर्दै पन्थले कोरोनाको संक्रमण थप फैलिन नदिन प्रभाकारी उपाय अपनाउनुपर्ने बताए ।

सरकारले उखुसँग सम्झौता गरेअनुसार भुक्तानी दिलाउन नसकेको विषय पनि सांसद पन्थले संसदमा उठाएका छन् । सीमा सुरक्षा र विवाद समाधानमा सरकार गम्भीर नभएको उनको आरोप थियो । सरकारले काम भन्दा पनि काण्डमा बढी विश्वास गरेको भन्दै ऐन नै बनाएर सरकार भ्रष्टाचारमा लिप्त भएको उनको आरोप थियो । सदन कराउँदै जान्छ, सरकार पिना सुकाउँदै जान्छ भन्ने उखान संशोधन गर्न उनले प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका थिए ।

सांसद कमला ओलीले महिलाको सशक्तिकरणका लागि पुरुष सरह महिलाहरूलाई पनि विकासका काममा सहभागी गराउन आग्रह गरेकी थिइन् । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पनि महिलाहरूको सशक्त भूमिका रहेको उल्लेख गर्दै उनले अबका दिनमा पनि महिलालाई विकास निर्माणका काममा समान अवसर दिनुपर्ने धारणा राखिन् ।

गायिका आस्था राउत पक्राउ परेको विषय पनि संसदमा उठेको छ । सांसद कोमल वलीले गायिका राउतलाई पक्राउ गरेर थुनामा राखेको विषयमा प्रहरी प्रशासनप्रति आक्रोश व्यक्त गरिन् । उनले आस्थालाई पक्राउ गरेर थुनामा राखेर काठमाडौं जिल्ला प्रशासनले गल्ती गरेको बताइन् । ४ हजार धरौटी तिरेर गायिका राउत भने रिहा भइसकेकी छन् ।

सांसद वलीले ४ दिन थुनामा राखेर राउतबारे अनुसन्धान गर्न जिल्ला प्रशासनले प्रहरीलाई दिएको अनुमति गलत भएको बताएकी थिइन् । अनुसन्धानका आधारमा थुन्ने अधिकार भएपनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भीर खालको अपराध गरेको र तीन वर्ष भन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्न सक्ने भन्दै उनले राउतको मुद्दामा यस्तो नहुँदापनि थुनामा राख्नु गलत भएको तर्क गरिन् ।

कानुनको मिसयुज भएको छ । फैजदारी अभियोगमा माफी पाएर उन्मुक्ति पाउनुपर्छ भन्ने छैन । तर उसले गैर कानुनी कार्य गरेको छ कि छैन,' वलीले भनिन्, 'अस्थाले गाली, गलौच गरेको पनि छैन । अपशब्द पनि गरेको छैन् । कानुननले जे जे गर्नुहुन्न भनेको छ त्यो गरेको देखिँदैन । त्यो अवस्थामा थुनामै राख्नुपर्ने अवस्था देखिएको छैन् ।’

आस्थाप्रति प्रहरी प्रशासनले बदनियत राखेर थुनामा पठाएको वलीको धारणा थियो । सिडियोले यस्तो सामान्य घटनामा कसरी थुन्ने आदेश दिन सक्छ । उजुरी गर्नासाथ यसरी थुन्ने आदेश दिने हो भने फैजदारी न्यायको मूलमर्म नै नष्ट हुन्छ । पहिले सुन्ने अनि थुन्ने हो । प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ,' उनले भनिन् ।

राष्ट्रियसभामा तीन विधेयक र एक प्रतिवेदन पेश

राष्ट्रियसभाको मंगलबारको बैठकमा सरकारले तीन विधेयक पेश गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक), २०७६ तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ पेश गरेका हुन् ।

विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा बैठकमा पेश गरेका थिए ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : माघ १४, २०७६ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?