कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुद्रा व्यापारीले बेच्छन् दोब्बर महँगोमा तरकारी

व्यापारीले होलसेल मूल्यभन्दा दोब्बर बढी लिएर उपभोक्तालाई बेचिरहेका त छन् नै, तरकारीको मूल्यमा एकरूपतासमेत छैन

काठमाडौँ — ललितपुर सानेपाकी सिर्जना कार्की शुक्रबार बिहान ११ बजे कालीमाटी तरकारी बजारमा तरकारीको स्टल चहार्दै थिइन् । टोलमा भन्दा सस्तोमा पाइने आसले उनी कालीमाटी पुगेकी हुन् । उनले केही सस्तोमा तरकारी त पाइन् तर उनले तिरेको मूल्य व्यापारीले होलसेलमा किनेको भन्दा झन्डै दोब्बर थियो । कालीमाटी तरकारी बजारमै भेटिएकी जुना सुनारले पनि व्यापारीले धेरै नाफा राख्ने गरेको गुनासो गरिन् । 

खुद्रा व्यापारीले बेच्छन् दोब्बर महँगोमा तरकारी

बजारमा तरकारीको भाउ ह्वात्तै बढेपछि सिर्जना र जुनाजस्तै उपभोक्ताहरू सोझै कालीमाटी तरकारी बजार पुग्ने गरेका छन् । तर त्यहाँ पनि स्वाभाविक मूल्यमा किन्न पाउँदैनन् । कालीमाटी तरकारी बजारमा होलसेलमा बिहान ५८ रुपैयाँमा किनेको गोलभेंडा व्यापारीले दिउँसो ९० रुपैयाँ प्रतिकिलोले बिक्री गरिरहेको भेटिन्छ । व्यापारीले १ सय ५५ रुपैयाँमा होलसेलमा अदुवा किनेर खुद्रामा २ सय ५० मा बेच्छन् ।


कालीमाटी र चाबहिल गणेश मन्दिरको तरकारी बजारको दूरी आठ किलोमिटर मात्रै छ । कालीमाटीबाट खरिद गरेर लगेको तरकारी चाबहिलका व्यापारीले दोब्बरभन्दा बढी मूल्य लिएर बिक्री गर्ने गर्छन् । कालीमाटीबाट शुक्रबार ५८ रुपैयाँमा खरिद गरेको गोलभेंडा चाबहिलका व्यापारीले बिहान ८ बजे एक सय रुपैयाँ प्रतिकिलोमा बेचिरहेका थिए ।


त्यही गोलभेंडा बल्खुमा ८० रुपैयाँमा, शान्तिनगर, सूर्यविनायक, गठ्ठाघर तरकारी बजारमा ७० रुपैयाँ, नख्खु तरकारी बजार, भक्तपुरको तौमडी र जडिबुटी मनोहरा तरकारी बजारमा ८० रुपैयाँमा बिक्री भइरहेको छ । कालीमाटीमा ९४ रुपैयाँ किलोमा होलसेलमा पाइने प्याज बजारमा एक सय २० रुपैयाँसम्म पर्छ । कालीमाटीमै खुद्रा मूल्य एक सय १० रुपैयाँमा छ । चाबहिलमा भने सबैभन्दा महँगो एक सय ३० रुपैयाँमा पसलेले बेचिरहेका छन् । नख्खु तरकारी बजार, सूर्यविनायकमा भने एक सय २० रुपैयाँ मूल्य छ । भक्तपुरको तौमडीमा एक सय रुपैयाँमा उपभोक्ताले किनिरहेका छन् ।


कालीमाटीमा ९५ रुपैयाँमा पाइने काउली लगनखेल तरकारी बजारमा १ सय ५० रुपैयाँसम्म बिक्री गर्ने गरेको पाइएको छ । चाबहिलमा एक सय ४० रुपैयाँमा बिक्री भइरहेको छ । कालीमाटीमा ८५ रुपैयाँमा होलसेलमा किनेको करेला लगनखेल तरकारी बजारमा दुई सय, चाबहिलमा १ सय ४०, मनोहरा तरकारी बजारमा १ सय ३०, कालीमाटी खुद्रा बजारमा एक सय, बल्खुमा एक सय २०, शान्तिनगरमा एक सय, ग्वार्कोमा १ सय २०, गठ्ठाघर तरकारी बजारमा एक सय १० मा बिक्री गर्ने गरेको पाइएको छ । कालीमाटी तरकारी बजारमा ९८ रुपैयाँ होलसेलमा किनेको बोडी चाबहिलमा एक सय ८० रुपैयाँसम्म बिक्री गर्ने गरिएको छ ।


त्यही बोडी बल्खुमा १ सय २०, शान्तिनगर, लगनखेलमा एक सय २०, नख्खु, तौमडी, गठ्ठाघर, मनोहरामा १ सय ३० मा बक्री गरिँदै छ । कालीमाटीमा १ सय ५५ पर्ने अदुवा २ सय ५० सम्ममा बेचिँदै छ । ९५ रुपैयाँमा पाइने सिमी १ सय ५० सम्म, ९८ रुपैयाँमा पाइने गाँजर १ सय ८० मा बिक्री गरिरहेका छन् । व्यापारी भने घाटा खाएर बिक्री गरिरहेको दाबी गर्छन् । ‘बोराको हिसाबले सामान ल्याएर किलोमा बेच्नु पर्दा कहिलेकाहीं घाटा हुन्छ,’ शान्तिनगरमा आलु र प्याज बिक्री गर्ने पुष्पा भुजेलले भनिन्, ‘बोरामा कहिलेकाहीं बिग्रेका पनि पर्छन् ।’


चाडपर्व भित्रिएसँगै तरकारीको बजार मूल्य अकासिएको हो । सर्वसाधारणको आयले धान्न नसक्ने गरी मूल्यवृद्धि भए पनि सम्बन्धित निकायको ध्यान जान नसकेको उपभोक्ताको गुनासो छ । मध्यपुर थिमि–३ गठ्ठाघरका भरत बुढाथोकीले भने, ‘व्यापारीले आफूखुसी मूल्य तोक्दा पनि सरकारले अनुगमनमा चासो दिएको छैन ।’ काठमाडौं–३२ मनोहराकी शर्मिला श्रेष्ठले एक महिनामा होलसेल मूल्य नै दोब्बर वृद्धि भएको बताइन् ।

प्रकाशित : आश्विन ११, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?