कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगरको पाठ्यक्रम निष्प्रभावी

नेपाल भाषाको पाठ्यपुस्तक अनिवार्य तर नेवार समुदायका विद्यार्थीको संख्या भने न्यून

काठमाडौँ — काठमाडौं महानगरपालिकाले गत वर्षदेखि लागू गरेको नेपाल भाषाको पाठ्यक्रम ‘येँ देय् म्हसिके’ सबै विद्यालयहरूमा लागू गर्न सकेको छैन । पाठ्यक्रम लागू भएको दोस्रो शैक्षिक वर्ष सकिन लाग्दासमेत महानगरभित्रका अधिकांश संस्थागत विद्यालयमा यसको पढाइ हुने गरेको छैन ।

महानगरको पाठ्यक्रम निष्प्रभावी

पठनपाठन भइरहेका सामुदायिक विद्यालयमा समेत प्रभावकारी हुन सकेको छैन । उक्त पाठ्यक्रम लागू गर्न असम्भव रहेको संस्थागत विद्यालयहरूको भनाइ छ । तर, महानगरले भने सबैखाले विद्यालयमा लागू गरिसकेको दाबी गरेको छ ।

‘येँ देय् म्हसिके’ पाठ्यपुस्तक अव्यावहारिक रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरी बताउँछन् । संविधानले आधारभूत तहसम्म आफ्नो मातृभाषा शिक्षा लिन/दिन पाउने व्यवस्था गरे पनि नेपाल भाषा सबै महानगरवासीको मातृभाषा नभएको उनले बताए । ‘नेपाल भाषा नेवारी समुदायको हो । जसको मातृभाषा हो, उसले संरक्षण गर्नुपर्छ । यसलाई अनिवार्य नभएर ऐच्छिक विषयका रूपमा राख्नुपर्छ,’ उनले भने, ‘यहाँका सबैजसो संस्थागत विद्यालयमा यो पाठ्यपुस्तक पढाइ हुँदैन ।’

नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ । यसअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैंले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था छ । उक्त व्यवस्थाका आधारमा महानगरले यो पाठ्यपुस्तक तयार गरेको जनाएको छ ।

भाषा सिकाउने भन्दा पनि महानगरभित्रका धार्मिक, सांस्कृतिक तथा महानगरको विशेषता प्रयोगात्मक रूपमा अध्ययन गराउनु पाठ्यक्रमको मुख्य उद्देश्य रहेको महानगर शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले बताए । नेपाल भाषामा लेखिएको पुस्तक भए पनि सरल भाषा र बालबालिकाहरूले सजिलै सिक्ने भएकाले अनिवार्य रूपमा लागू गरिएको उनको भनाइ छ ।

‘यःमरी, मरुहिटी, क्वहिटी जस्ता रैथाने शब्दहरू अरू भाषामा बुझाउन सकिँदैन । ती कुराहरूलाई बुझ्ने मात्र होइन, विद्यार्थीहरूले त्यसलाई आत्मसात्समेत गर्न सकून् भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउन अनिवार्य गरिएको हो,’ उनले भने, ‘पहिला महानगरले अनिवार्य र ऐच्छिक दुवै राखेको थियो । सातौं नगरसभाले स्थानीय महत्त्वका विषयहरूलाई स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरेको थियो ।’

नेपालमा बहुभाषा र बहुभाषिक नीति भएकाले स्थानीय भाषा जुन समुदायले सिके पनि फरक नपर्ने तर जबर्जस्ती लाद्न भने नहुने भाषाविद् अमृत योञ्जन तामाङको भनाइ छ । ‘स्थानीय भाषा र विषय सिक्नु नराम्रो त होइन, तर एक भाषाको पक्षमा मात्र जानु नेपाली भाषा अन्य समुदायलाई जसरी लादिएको छ, त्यसरी नै हामी पनि लाद्छौं भन्ने महानगरको मनोविज्ञान भयो,’ उनले भने । नेपाल भाषा नभएर नेवारी विषय पठनपाठन गराइने भएकाले काठमाडौं उपत्यकाका बारेमा नेपाली तथा अंग्रेजी भाषामा पनि अन्य समुदायले थाहा पाइरहेका हुनाले सम्बन्धित भाषाबाटै अध्ययन गर्नुपर्छ भन्नु उपयुक्त नरहेको उनको मत छ ।

महानगरले नेवारी पाठ्यक्रम अनिवार्य गरिदिँदा अन्य समुदायका विद्यार्थीको अध्ययनमा समस्या परेको देखिन्छ । झोंछेस्थित बालसेवा माविमा कक्षा ७ मा अध्ययनरत आयुष चौधरीले नेपाल भाषा अध्ययन थालेको दुई वर्ष हुनै लाग्दा अझै सामान्य लेख्न र पढ्न कठिनाइ भइरहेको बताए । ‘नेपाल भाषामा लेख्न सक्दिनँ, अलिअलि बुझ्छु त्यही पनि फर्काउन आउँदैन,’ उनले भने, ‘कक्षामा मात्र सिक्ने हो । गृहकार्य गर्ने बेलामा समेत अड्किएको अवस्थामा कक्षा शिक्षककै भर पर्नुपर्छ ।’ विद्योदय आधारभूत विद्यालयमा कक्षा ७ मै पढ्ने एक छात्राले आफ्नै राई भाषा नआउने तर अरूको भाषा जबर्जस्ती पढ्नुपरेको गुनासो गरिन् । भनिन्, ‘पढाइ सुरु भएपछि पढ्नै पर्‍यो । पढ्ने नेवारीमा अनि लेख्ने नेपालीमा हो, गाह्रो छ । भाषा सिक्न मन लाग्छ तर आफ्नै राई भाषा आउँदैन ।’

महानगरपालिकाले अनिवार्य रूपमा पाठ्यक्रम लागू गरे पनि विद्यालयहरूमा नेवार समुदायकै विद्यार्थीको संख्या न्यून छ । तर, महानगरले भने नेवार समुदायका विद्यार्थी नभएको विद्यालयमा पनि पढाउनुपर्नेमा जोड दिँदै आएको छ । ‘काठमाडौंको संस्कृति र सभ्यतालाई जस्ताको तस्तै बुझाउन यहींकै भाषा प्रयोग गरे सजिलो हुन्छ,’ शाखा अधिकृत भट्टराईले भने, ‘बौद्धमा एउटा स्कुलमा तामाङ भाषामा पढाइरहेका छन्, ती विद्यालयमा हामीले अनिवार्य गरेका छैनौं ।’

कक्षा १२ सम्म पठनपाठन हुने वसन्तपुरस्थित नवआदर्श माविको आधारभूत तहमा मुस्किलले ६ जना मात्र विद्यार्थी नेवार समुदायका छन् । उक्त विद्यालयमा भर्ना भएका ३ सयमध्ये २ सयको हाराहारीमा विद्यार्थीहरू दैनिक अनिवार्य उपस्थित हुने प्रधानाध्यापक प्रमोदकृष्ण श्रेष्ठले बताए । ‘नेवार समुदायबाट आउने विद्यार्थीहरू एकदमै थोरै छन्,’ उनले भने, ‘गैरनेवार समुदायका विद्यार्थीहरूलाई नै हामीले नेपाल भाषाबाट नेवारी संस्कार, लिपि, सम्पदालगायत पढाइरहेका छौं ।’

काठमाडौं–२३ झोछेंस्थित विद्योदय आधारभूत विद्यालयमा १ सय १४ विद्यार्थी भर्ना भएकामा दैनिक कम्तीमा ५० जना उपस्थित हुन्छन् । यहाँ पनि नेवारी समुदायका १० प्रतिशत मात्र विद्यार्थी रहेको प्रधानाध्यापक रविनकुमार तामाङ बताउँछन् । कक्षा ७ सम्म पठनपाठन हुने उक्त विद्यालयमा नेपाल भाषाका पाठ्यक्रम पढाउनका लागि महानगरले एक जना शिक्षकलाई मात्र नियुक्त गरेको छ । गैरनेवार विद्यार्थीहरूले पनि निकै राम्रोसँग नेवारी भाषा पढाइमा ध्यान दिइरहेको शिक्षिका अनिता शाक्यले बताइन् । भाषा र विषय सिक्नु त्यति गलत नभएको सुनाउँदै प्रधानाध्यापक तामाङले नेवार समुदायकै विद्यार्थीमाझ अझ बढी संस्कार र संस्कृति विषयको शिक्षण प्रभावकारी हुने धारणा राखे ।

झोछेंमै रहेको बालसेवा माविमा पनि करिब १५ जना मात्रै नेवार समुदायका विद्यार्थी पढ्छन् । यहाँ कुल विद्यार्थी संख्या १ सय ५० छ । महानगरमा रहेका अधिकांश सामुदायिक विद्यालयमा न्यून आयस्रोत भएका र बाहिरबाट आउने विद्यार्थीहरू भर्ना हुने भएकाले नेवार समुदायका विद्यार्थी थोरै पढिरहेको प्रधानाध्यापक दीपक दाहालले बताए । विद्यालयमा नेपाल भाषा पठनपाठनका लागि दुई जना शिक्षक नियुक्त गरिएका छन् ।

महानगरले पाठ्यक्रम लागू गरेपछि सामुदायिक विद्यालयमा मात्रै १ सय ७२ शिक्षक नियुक्त गरेको छ । १०० पूर्णांक रहेको यो विषयमा ५० नम्बरको सैद्धान्तिक र ५० नम्बरको प्रयोगात्मक परीक्षा लिइन्छ । पाठ्यक्रममा नेवारी लिपि, भाषा, सम्पदा, कला, संस्कृतिलगायत विषय समावेश छन् । महानगरमा ९२ सामुदायिक र ६ सय ४० वटा संस्थागत विद्यालय छन् ।

प्रकाशित : पुस २७, २०७८ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?