कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भिक्षाका भरमा विद्यालय

सुनिता बराल

महोत्तरी — ईश्वरी पौडेल महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माविका प्रधानाध्यापक हुन् । उनी आफूलाई गुरुकुल (विद्यालय) को गोठालाका रूपमा चिनाउँछन् ।

भिक्षाका भरमा विद्यालय

हुन पनि उनी एक दशकयता बिहान उठेदेखि राति अबेलासम्म विद्यालयकै लागि खटिरहेका हुन्छन् । उनकै सक्रियताका कारण विद्यालयको अवस्था सुधार हुँदै गएको छ ।

विद्यालयको इतिहास जति बलियो छ, उति सुदृढ भौतिक पूर्वाधार भने देखिँदैन । यो विद्यालय ३ सय ४ वर्षअघि गुरुकुलका रूपमा स्थापना भएको हो । यति पुरानो विद्यालय संरक्षण र संवर्द्धनका लागि राज्यले चासो नदिएको गुनासो प्रधानाध्यापक पौडेलको छ । यो महोत्तरी जिल्लामै आवासीय सुविधा भएको एक मात्रै सामुदायिक विद्यालय हो ।

यहाँ विभिन्न जाति र धर्मका विद्यार्थीले संस्कृत पढ्छन् । २७ जिल्लाका ६० बटुक आवासीय सुविधासहित अध्ययनरत छन् । उनीहरूको सम्पूर्ण जिम्मेवारी विद्यालयले लिएको छ । विद्यालयमा कुल विद्यार्थी संख्या भने १ सय ५५ छ । १२ जना शिक्षक छन् ।

रातो दौरा–सुरुवाल र ढाकाटोपीमा सजिने बटुकहरू ५ बजे उठ्छन् । ९ बजेसम्म पूजापाठ र रुद्राभिषेक चल्छ । १० बजेदेखि विद्यालयको नियमित कक्षामा अध्ययन हुन्छ । उनीहरू साँझ ध्यानजपमा व्यस्त रहन्छन् ।

राजकीय संस्कृत माविमा नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी पाँच सय पूर्णाङ्क बटुकले अनिवार्य पढ्नैपर्छ । त्यसबाहेक संस्कृत भाषा पढाइ हुन्छ ।

कक्षा ११ र १२ मा ८ सय पूर्णाङ्कमा वेद, व्याकरण, न्याय, ज्योतिष र दर्शन गरी पाँच वटा विषयमध्ये एउटा विषय विद्यार्थी बटुकले रोज्न पाउँछन् । ब्राह्मण बटुकहरू वेद तथा पितृकार्यका लागि कर्मकाण्ड पढ्छन् ।

रामलाल दासका शिष्य जयकृष्ण दासले १७७५ सालमा मटिहानीमा संस्कृत पाठशालाका नाममा गुरुकुल स्थापना गरेका हुन् । नेपालको शिक्षाको इतिहासमा भने यो विद्यालय १८६८ सालमा स्थापना भएको उल्लेख गरिएको छ । आधुनिक शिक्षा प्रणाली अघि बढ्दै जाँदा संस्कृत कम प्राथमिकतामा परेपछि राजकीय संस्कृत माविको अवस्था खस्किएको हो ।

कुनै समय गुरुकुल निकै धरमरको अवस्थामा पुगेको थियो । प्रधानाध्यापक पौडेलकै सक्रियताका कारण पछिल्लो समय विद्यालयको भौतिक अवस्थामा सुधार भएको छ । तर संस्कृत भाषा पढाउने दक्ष जनशक्ति पाउन गाह्रो रहेको पौडेल बताउँछन् ।

३५ वर्ष पहिले राजकीय संस्कृत माविमा पढ्ने ५४ बटुकलाई लक्ष्मीनारायण मठले रासन भत्ता र १० जनालाई १ सय ५० रुपैयाँका दरले छात्रवृत्ति वृद्धि दिन सुरु गरेको थियो । उक्त रकम बटुकलाई खाना खुवाउन पर्याप्त नभएको विद्यालय परिवारले जनाएको छ ।

आयस्रोतका लागि विद्यालयले दानमा प्राप्त १४ बिघा जग्गा भाडामा लगाएको छ । उक्त जग्गाबाट वार्षिक २ लाख रुपैयाँ प्राप्त हुन्छ तर त्यति रकम विद्यालय सञ्चालनका लागि पर्याप्त छैन ।

त्यसैले बटुकलाई खाना, उपचार, विद्यालय सञ्चालनलगायतका लागि चन्दा माग्ने गरिएको छ । विद्यालयको एक सय वर्ष पुरानो ८ कोठे पक्की भवन यस वर्ष भत्किएपछि पुनर्निर्माण भइरहेको छ ।

विगतमा गुरुकुलमा विद्यार्थी चकटीमा बसेर पढ्ने गर्थे । संस्कृत ब्राह्मणले मात्रै पढ्ने विषय मानिन्थ्यो । गुरुकुलमा संस्कृत पढ्नेलाई उच्च सम्मान दिइन्थ्यो ।

२०३२ सालमा प्रधानाध्यापक बनेका अमिरीलाल मण्डलले आफ्नै पालामा विद्यालयमा बेन्चको व्यवस्था गरेको जानकारी दिए । अहिले आधुनिक शिक्षाले संस्कृत शिक्षालाई ओझेलमा पारेको उनको बुझाइ छ ।

प्रकाशित : असार २५, २०७९ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?