२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बालेन लोकप्रियताको अर्थ

बालेन त्यति बाचाल पनि हुन चाहेनन्, चर्को स्वरमा पनि बोलेनन् । पार्टीका उम्मेदवारहरूले जस्तो अरुलाई बिझाउने कुरा पनि गरेनन् । समग्रमा उनले आफूलाई कालो चस्मा भित्रै लुकाई राखे ।
युवराज लुइँटेल

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयर पदको लागि बालेनले प्राप्त गरेको सुररुवाती मतको भित्री कारण पर्गेल्न नसकेर धेरै राजनीतिक पण्डितहरू यतिखेर 'हाइवरनेसन’ मा छन् भनिन्छ । धेरैको चुनावी आकलन र विश्लेषणले पनि अन्तर्निहित सत्यको पहलुलाई खुट्याउन सकेको छैन।

बालेन लोकप्रियताको अर्थ

सबैथरी विश्लेषकहरू यो अनपेक्षित चुनावी परिणामलाई बालेनकै वरिपरि रहेर बुझ्ने प्रयास गरिरहेका छन्।

बालेन किन कालो चस्मामा लुक्छन् भन्ने कुराले कसै-कसैलाई आश्चर्यमा पारेको छ। काठमाडौंका मतदाताको 'मुडी भोटिङ बिहेविअर’लाई नानीमैयाँ दाहालसम्म तानेर वा पद्मरत्न तुलाधरको जनपक्षीय उम्मेदवारीसम्म जोडेर विश्लेषण गर्दा पनि बालेनले तानेको सुरुवाती मतको सरल र एकरेखीय विश्लेषण यथार्थपरक हुन सक्दैन।

बालेनको चुनावी क्रेजको विश्लेषण उनको व्यक्ति–वृत्त भित्रैबाट पनि खोज्न त सकिन्छ, तर त्यो यथार्थ नजिक पुग्दैन। व्यक्ति बालेनको वरिपरिमात्र घुम्न थालियो भने हामी त्यहीँ कतै हराउनेछौं । बालेन एक प्रवृत्ति हो र यस्तो प्रवृत्ति खास–खास समयमा खास–खास सन्दर्भमा उदाउँछ।

बालेन प्रवृत्तिको विश्लेषण गर्दा त्यसको गतिलो पृष्ठपोषण गर्ने मूलधारको राजनीतिलाई सन्दर्भमा लिनु आवश्यक हुने नै भयो। राजनीतिक मूलधारका दलहरूले अनदेखा गरेको आधुनिक युवापुस्ता र तिनीहरू रम्ने–रमाउने 'साइबर संसार’ (सोसल मिडिया, सञ्जालीय गतिविधि र मतदातासँगको 'कनेक्टिभिटी') र त्यसमार्फत देखा पर्दै गरेको पुस्तागत एकतालाई पनि यस्ता परिचर्चाभित्र जोड्नु वाञ्छनीय नै हुन्छ।

बालेन: व्यक्ति र प्रवृत्ति

काठमाडौं महानगरपालिकाका अधिकांश मतदाताजस्तै व्यक्तिगत रूपमा बालेनलाई म चिन्दिन। उनीसँग मेरो प्रत्यक्ष भेटघाट वा देखादेख भएको पनि छैन। हाम्रोतिर उनी भोट माग्न पनि आएनन्। उनको तर्फबाट अरू कोही माइक फुक्दै पनि आएन। हाम्रो टोलतिर मूलधारका दलको राम्रै बर्चस्व छ, जुन बालेनका निम्ति ठूलो व्यवधान थियो। त्यसलाई चिर्ने उनले प्रयास नै गरेनन्।

तर मत खसाल्ने दिनसम्म आइपुग्दा हाम्रो घरभित्र बालेनको जबरजस्त क्रेज पसिसकेको थियो र त्यो निकै दबाबमूलक थियो। बालेन क्रेज मूलत: मिडिया सिर्जित थियो। मिडियाले खास–खास समयमा उसले रुचाएका (वा भनौं मिडिया अपील भएका) खास–खास व्यक्तिलाई यसरी प्रस्तुत गरिदिन्छ कि त्यो व्यक्ति वास्तवमै त्यस्तै छ भन्ने भान पर्छ जनसाधारणमा । र, त्यो वास्तविक जस्तै लाग्छ। यसो भनौं, बालेनले प्रत्यक्ष र सामूहिक भेटघाटको मूलढोकाबाट भन्दा मिडिया क्रेजको जस्केलाबाट मतदाताको घरसम्म पुग्ने चुनावी रणनीति अख्तियार गरे।

बालेनको घर–परिवार, साथी–संगतिजस्ता कुरा पनि मतदाताको जानकारीमा आउन बाँकी नै छ। उनी कुन वैचारिक–सैद्धान्तिक आलोकमा जीवन र जगतलाई बुझ्न चाहन्छन्न्? काठमाडौंको सामाजिक मानचित्रमा उनी आफूलाई कसरी प्रविष्ट गराउँछन्? काठमाडौंको समाजको बनोट/चरित्र उनलाई कस्तो लाग्छ? यसमा उनी कस्तो रुपान्तरण चाहन्छन् ? कि उनी महानगरपालिकाबाट हुने सेवा–प्रवाहको सुधार र सुशासनको प्राविधिक र पपुलिस्ट अजेण्डामा मात्र सीमित रहन रुचाउँछन् ? यी केही अहम् प्रश्नहरूमा आफ्ना मतदातालाई आश्वस्त नपारीकनै उनले क्रेज सिर्जना गरेर प्रारम्भिक मत आकर्षित गर्न सकेका छन्।

उनको '-याप’ कला, त्यसमार्फत युवापंक्तिसम्म उनको पहुँच, इन्जिनियरको पेशागत पहिचान, उदीयमान युवाको एक छवि पनि उनीसँग छँदैथियो। यत्तिको वैयक्तिक पृष्ठभूमि पनि नबोकेकी रञ्जु दर्शनाले पनि त्यही जस्केलोबाट उल्लेख्य मत बटुल्न सफल भएको २०७४ सालको चुनावलाई सन्दर्भमा लिने हो भने बालेनको उम्मेदवारीलाई त्यसै मेसोमा बुझ्न सकिन्छ।

बालेनले आफूलाई मतदातासमक्ष खुलाउने भन्दा पनि लुकाउने र कुनै पनि सम्भावित विवादभन्दा माथि रहने चुनावी रणनीति लिएको बुझ्न सकिन्छ। ताकि मतदाताको कुनै पनि तह र तप्कामा आफूबारे प्रश्न नऊठून्। उनी त्यति बाचाल पनि हुन चाहेनन्, चर्को स्वरमा पनि बोलेनन्। पार्टीका उम्मेदवारहरूले जस्तो अरुलाई बिझाउने कुरा पनि गरेनन्। समग्रमा उनले आफूलाई कालो चस्मा भित्रै लुकाई राखे ।

विरासतको परम्परागत राजनीति

मूलधारका राजनीतिक दलहरूले काठमाडौंमा फेरि पनि एक वा अर्को रूपमा विरासतको राजनीतिलाई निरन्तरता दिए। गठबन्धनको तर्फबाट आएको नेपाली कांग्रेसकी उम्मेदवारले मतदातालाई कम आकर्षित गरेको हो कि भन्ने प्रारम्भिक मत परिणामबाट देख्न सकिन्छ । 'अहिलेसम्म घर सम्हालेको र अब महानगर सम्हाल्ने’ उनको तर्कले मतदातालाई नतानेको हो कि भन्ने प्रारम्भिक मतपरिणाममा देखिन्छ । बरु उनको उम्मेदवारीलाई राजनीतिक घरानाको तर्फबाट थोपरिएको विरासतको राजनीतिको रुपमा नै बढी महसुस गरियो। नेपाली कांग्रेसको भर्खरै सम्पन्न महाधिवेशनताका भएको गुट–उपगुटको व्यवस्थापनका क्रममा भएको भद्र सहमतिको क्रममा यो उम्मेदवारी परेको कुरा बुझ्न मतदातालाई हम्मे थिएन।

एमालेको तर्फबाट आएको उम्मेदवारी पनि योभन्दा खासै भिन्न हुन सकेन। एकपटक सोही जिम्मेवारीमा 'टेस्टेड’ व्यक्तिलाई पुनः दोहोर्‍याउनुपर्ने कारण पार्टीको तर्फबाट कहिल्यै बाहिर आएन। आफ्नै केही विवादास्पद अभिव्यक्ति र अन्तरक्रिया उनका लागि सहज नभएको संकेत देखिँदैछ ।

भ्रष्टाचार नगर्ने प्रण गरेका, अवसर पाउन बाँकी रहेका युवाहरूले केही नयाँ सोच वा विकल्प दिन्छन् कि भन्ने आशा गरेको रुपमा पनि यो प्रारम्भिक चुनावी नतिजालाई बुझ्नुपर्ने हुन्छ।

विरासतको परम्परागत राजनीतिप्रति मतदाताले प्रतिप्रश्न गरिरहँदा राजनीतिक दलको विकल्प राजनीतिक दल नै हो, स्वतन्त्र उम्मेदवार होइन भन्ने कुरा आत्मसात गर्न एउटा प्रयोग नगरी यसैपालि नसिकिने भयो।

नयाँ मतदाता, नयाँ अपेक्षा

यसपटकको चुनावमा काठमाडौं महानगरपालिकामा कम्तिमा २० हजार बढी मतदाता १८ वर्ष पूरा गरी पहिलोपटक मताधिकार प्रयोग गर्ने अवस्थामा पुगेका थिए । उनीहरूलाई बालेनको क्रेजले झ्याप्पै आकर्षित गर्‍यो। राजनीतिक दलहरूमै विचारको पक्ष ओझेल परिराखेको यो समयमा २०५० साल आसपास जन्मिएको मतदाताको यो समूहबाट विचार–केन्द्रित, पार्टी–केन्द्रित मतदानको अपेक्षा गर्न पनि सुहाएन।

युवा मतदाताको ठूलो पंक्ति २०४० सालपछि जन्मिएको हो। त्यो युवा पंक्तिको मेमोरी (समझ) मा २०४७ सालको राजनीतिक परिवर्तन त्यति गढिलो छैन। त्यसपछिका राजनीतिक ऊहापोहले उनीहरूलाई खासै आकर्षित गरेकै छैन। उनीहरू सिद्धान्तभन्दा 'पर्फर्मेन्स’ र सेवा प्रवाहमा शीघ्रता तथा सुधारको अपेक्षा गर्छन्। राजनीतिक दलका पुराना नेताकार्यकर्तालाई उनीहरूको ऐतिहासिक त्याग–समर्पण वापत यतिखेर पुरस्कृत गर्ने कुरामा पनि उनीहरू सहमत हुँदैनन्।

कुनै खास राजनीतिक दलको अनुशासन र सीमाभित्र बसेर वैचारिक धारको राजनीति गर्ने कुरा उनीहरूको रुचिभित्र पर्दैन। त्यो धैर्य उनीहरूमा छैन। परम्परागत राजनीतिको भाषामा भनिने 'पूर्णकालीन कार्यकर्ता’ हुने रहर पनि उनीहरूमा छैन। एउटा खुट्टा पेशामा टेकेर आंशिक र मौसमी राजनीति गर्ने वा सुधारमुखी हस्तक्षेपको राजनीति गर्ने प्रवृत्ति उनीहरूको व्यवहारमा प्रकट हुन्छ उनीहरूको राजनीतिले जनतासँग प्रत्यक्ष संवाद पनि गर्दैन। मिडियाको भरपूर उपयोग, सामाजिक सञ्जालको व्यापक प्रयोग र फरक भाषामा वैकल्पिक राजनीतिको दाबी गर्छ।

पढाइ सकेर पेसामा जोडिने उमेरमा टेक्दै गरेका, परिवारको बिँडो थाम्नुपर्ने जिम्मेवारीमा प्रवेश गर्दै गरेका, विज्ञान–प्रविधिका नवीन प्रविधि र साधनमा रम्ने–रमाउने यो पुस्ता परिणामको राजनीतिभन्दा पनि हस्तक्षेपको राजनीतिमै सीमित छ।

कुनै पनि विचार, सिद्धान्त र अर्थ–राजनीतिबाट निरपेक्ष रही सामाजिक सञ्जालमार्फत् संयोजन गरिने लोकप्रिय सामाजिक अभियान हुँदै प्रयोगको राजनीतिमा जोडिन चाहेको यो पुस्ता बरोबर माइतीघर मण्डलामा जम्मा हुन्छ । तर मण्डलाको भौतिक र राजनीतिक ‘स्पेस’ कसले तयार गरिदियो भन्ने कुरालाई उनीहरूकै भाषामा भन्नुपर्दा 'बालै’ दिँदैन ।

दिमागमा असन्तोषको शब्दकोश, हातमा स्मार्टफोनमार्फत् संसारभरको सूचना र वैश्विक ’एक्सपोजर’ लिएर सञ्जालीय सम्बन्धमार्फत् यो पुस्ता राजनीतिमा हस्तक्षेप गर्ने तहसम्म पुगेको छ,उनीहरूमा जनतासँग खुल्लम–खुल्ला संवाद र अन्तरक्रिया गर्ने 'कन्फिडेन्स’ विकास होला/नहोला हेर्न बाँकी छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?