२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘जार काटेको मार्ग’

मस्तिष्कमा एउटै प्रश्न ओहोरदोहोर गरिरह्यो ‘जार काटेको मार्ग’ हिँडिरहँदा– को थियो होला त्यो जार ? कसले, कहिले यस सडकमा जार काट्यो ?
धनकुमारी सुनार

भैसेपाटीको एउटा गल्लीको नाम हो– ‘जार काटेको मार्गर्’ । म हिँड्ने त्यस मार्गको सडकछेउको पर्खालमा पहिलोपटक त्यो नाम पढ्दा शरीर सिरिङ्ग भएको थियो । आयतन आकारको सेतो नम्बर प्लेटमा सात अक्षरमा लेखिएको छ– ‘जार काटेको मार्ग’ । सोचें– यस्तो पनि नाम हुन्छ ? कसले राख्यो यो नाम ? जार काटेको मार्गको उल्टोपट्टि पश्चिमतिर छ– एमआर मार्ग । पूर्वतिर छ– ‘महिला घर’ सडक ।

‘जार काटेको मार्ग’

जार काटेको मार्गमा महिनौंसम्म दैनिक हिँड्नुपर्‍यो । त्यस सडकमा हिँडिरहँदा मस्तिष्कमा एउटै प्रश्न ओहोरदोहोर गरिरहन्थ्यो– को थियो होला त्यो जार ? कसले, कहिले यो सडकमा जार काट्यो ?

हरेक बस्ती, गाउँ, शहरका नाम छन् । एक अर्काबाट फरक हुन चाहिन्छ नाम । नामका अर्थ हुन्छन्, सन्दर्भ र इतिहास हुन्छन् । ‘मारिएको’ अर्थ दिने मैले सुनेका अरू पनि नाम छन्– ‘चोरमारा’, ‘बाघमारा’ आदि । मेरो अनुमान छ– कुनै बेला चोर मारिएको ठाउँ ‘चोरमारा’, बाघ मारिएको ठाउँ ‘बाघमारा’ ।

‘जार काटेको मार्ग’ माथिको मेरो कौतूहल साम्य भएन । केही समयपछि भैंसेपाटीको एक घरअघि थिएँ म । दुईतले त्यस घरको भुइँतलामा किराना पसलसहित दुग्धजन्य पदार्थ बिक्री गर्ने एक अधबैंसे पुरुष थिए काउन्टरमा । मैले सोधें, ‘यो सडकको नाम कसरी जार काटेको मार्ग भयो ?’ उनले तत्कालै भने, ‘मैले सुनेको हो, यही चोकमा काटिएको थियो रे एक जार । यहाँ काटिएपछि ५० मिटरसम्म टाउकोबिनाको उसको जीउ हिँडेको थियो रे । मेरा बुवाले भनेको हो । सबैले यही भन्छन् ।’ ती पसलेका अनुसार, त्यो सडकको चोकमा मान्छे काटिएकै हो । नेपालमा जार काट्न पाइने कानुन थियो नै । सतीप्रथाको नाममा महिलालाई जिउँदै पोल्ने चलन थियो नै ।

‘जार काटेको मार्ग’ भैंसेपाटी–१८ मा पर्छ । ऐतिहासिक किंवदन्तीसँग जोडिएको चोभार डाँडा भएकाले पनि यो वडा प्रसिद्ध छ । महामञ्जुश्रीले चन्द्रहर्ष खड्गले चोभारको गल्छी खोलेको कथा त धेरैले सुन्नुभएकै छ । उनैले प्राचीन समयमा काठमाडौं उपत्यकाको दहको पानी चोभारबाहिर पठाएर बस्ती बसाएको कथा प्रख्यात छ । त्यो ऐतिहासिक चोभार डाँडा आज जार काटेको मार्गको साक्षी भएर गमक्क छ ।

पिरतीको हत्या

म सानै छँदा आमा अनेक कथा सुनाउँथिन् । तिनमा स्वास्नी लाने जारसँग कसैले जारी लिएको, कसैले काटेको कथा पनि हुन्थे । ती कथा बडो डरलाग्दा हुन्थे । देवी, देउता भाकलका नाउँमा हुने जात्राका मायापिरती अनि बैंसालु महिला–पुरुषबीच रातभरि हुने गीतको जुहारीका कथा पनि सुनाउँथिन् आमा । जुहारी खेलेपछि मन परेकी केटी घिसार्ने चलन थियो रे उबेला । गीतमा हारे केटोसँगै पछि लागेर जानुपर्थ्यो रे केटी । प्रेमको अंकुर टुँसाएपछि प्रेमी नरिवल, मिश्री र सुकमेल पोको पारी मन परेकी मायालुछेउ पुग्नेगरी टाढैबाट फ्याँक्थ्यो अनि प्रेमिका अरूको आँखा छली फुत्त टिपेर खोकिलामा लुकाउँथिन् । मिस्री–नरिवलमिश्रित रसपूर्ण मायामा मिलनको सम्भावनाचाहिँ कति हुँदो हो ? थाहा छैन । तर, आमाले सुनाइरहने कथा थिए ती ।

जंगबहादुरले जारी गरेको विसं १९१० को मुलुकी ऐनमा जार अर्थात् मान्छे काट्न पाइन्छ भनि लेखिएको थियो । उबेला महिला दाससरह थिए । पुरुष (मर्द) लाई मन परे अविवाहित युवती घिसारेर लैजान पाइने सामाजिक–सांस्कृतिक अधिकार थियो । महिला विवाहित छ र अर्को पुरुषले जबर्जस्ती लगे वा विवाहेत्तर महिला–पुरुषको माया बसेर सँगै बस्न चाहे पहिलो लोग्नेले कानुनतः स्वास्नीको मोल (जार) बाट लिन पाउँथ्यो । जारलाई जातबाट पतिया (तल झार्ने, भात पानी बार्ने) गरिन्थ्यो । ‘ठूला’ भनिएका जातका स्वास्नी पानी नचल्ने जातका पुरुषले लगे कुनै मुलाहिजा नगरी काट्न पाइन्थ्यो । मुलुकी ऐनमा प्रस्ट लेखिएको थियो, ‘छोइ छिटो हालनु पर्न्या जात गैह्र कसैले. तागाधारि लगायत पानि चलन्या. चोषा जातका सधवाको करणि गर्‍यामा. भात पानि मा वोर्‍याको हवस्. वोर्‍याको नहवस्. अैन नहुदै अघि अदालतवाट ज्यान काटिंथ्यो. अैन भया पछि राजषत ठहर्नाले अंस सर्वस्व गरि दामल गर्नु भंन्या लेषियाको छ तापनि. साधुले मेरो जार काटछु भन्या. काट्न पाउछ ।’

तर, जारसम्बन्धी कानुनमा पनि जातअनुसार व्यवस्था थियो । त्यो व्यवस्था यस्तो छ– ‘उपाध्या जैसि व्राम्हणले उपाध्या जैसिकै जारि गर्‍या भन्या. साधुले मुडि जनै झिकि जात पतित गरि. उस्को अंस सर्वस्व गरि. आफु लिंछ तापनि मैले माफ गरि छाडि दिया भनि. केही नगरि छाडछ तापनि साधुको षुस हुंछ, जारि गर्न्याले उस्को हातको भात षायाको रहेनछ भन्या र अरूलाइ वोर्‍याको रहेनछ भन्या साधुले सजाय नगरि जारिको षत माफ गरि छाड्या का मानिसको जात जादैन आफ्ना जातैमा रहंछ अैनले सजाय हुन्य हाडनाता रहेनछ भन्या राजषत् पनि लाग्दैन ।’

मुलुकी ऐनमा जंगबहादुरले ‘चोखो’ र ‘बिटुलो’ भनेर श्रेणीगत गरेको तल्लो र पिंधमा रहेको पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने जातका पुरुषले तागाधारी र पानी चल्ने जातका सधवाको करणी गरे साधु (महिलाको लोग्ने) ले जार काट्न पाउने लेखिएको छ । अन्तरजातीय प्रेम र सहवास गर्दा हाम्रा प्रेमी पुर्खा कति काटिए ? सम्झँदा पनि उकुसमुकुस हुन्छ । जार काट्ने चलन विसं २०२० को मुलुकी ऐन आएपछि मात्रै हट्यो । तर, ऐनमा अर्काकी स्वास्नी हो भन्ने जानी–जानी वा सो थाहा पाउने मनासिब कारण भई कसैले त्यस्तो स्वास्नीमानिसलाई स्वास्नी बनाउन लगेमा जारी गरेको ठहर्छ लेखिएको छ । जारी खतमा साधुको नालिस परे जार र जारी गरिएको स्वास्नीलाई एकदेखि दुई महिनासम्म कैद र एक हजारदेखि दुई हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था थियो नै ।

सृष्टि निरन्तरताका लागि महिला–पुरुषको आकर्षण स्वाभाविक र प्राकृतिक हुन्छ । वर्षौं बिताए पनि कसैसँग रत्तीभर अनुराग उम्रिँदैन, कसैसँगको अनुभूतिले मात्रै पनि पूर्ण तृप्ति दिन्छ । यदि जबर्जस्ती अर्काकी प्रेमिका (श्रीमती) खोस्ने अपराध गरिएको थिएन भने भैंसेपाटीको ‘जार काटेको मार्ग’ मा थिए– प्रेमको उत्कर्षरूपी मर्ममा प्रहार गर्ने हत्यारा । सँगै जीवन बाँच्न चाहने जोडीलाई विच्छेद गरी प्रेमी काटिएको हो भने भैंसेपाटीको इतिहासमा एक क्रूर दिन हो त्यो । ज्यान–बाजी लगाउने सर्तमा पनि प्रेम गर्ने, ‘जार काटेको मार्गमा’ काटिने त्यो ‘जार’ साँचो अर्थमा एक असल प्रेमी थियो, जसले युगान्तरसम्म प्रेमिल जोडीलाई प्रेरणा दिइरहनेछ ।

प्रकाशित : मंसिर २४, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?