२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बाघ र मान्छेको पुरानो ‘दुस्मनी’

जसरी जनताका लागि राणा शासन अँध्यारो युग थियो, जंगली जनावरका लागि पनि त्यो युग अँध्यारै थियो
दृष्टान्त विडारी

यो पृथ्वी जति मान्छेको हो, उत्ति नै जनावरको पनि हो । यसमा अब थप बहसको आवश्यकता रहेन । केचाहिँ बहस गर्न ढिलो भइसक्यो भने मानव–जनावर द्वन्द्वलाई कम गर्ने व्यावहारिक उपायहरू के–के हुन सक्छन् ? ती उपाय कसरी अवलम्बन गर्न सकिन्छ ?

बाघ र मान्छेको पुरानो ‘दुस्मनी’

मान्छे र जनावरबीचको कुनै पनि भेट, जसले जनधन, बसोबास, मान्छे वा जनावरको ज्यान जोखिममा पर्छ, त्यसलाई मानव–वन्यजन्तु द्वन्द्व भनिन्छ । प्राकृतिक स्रोत र साधन उपयोग गर्ने प्रतिस्पर्धामा मान्छे र वन्यजन्तु आमनेसामने हुने गर्छन् । बाघ, हात्ती, गैंडा, ब्वाँसोजस्ता डरलाग्दा जनावर मात्रै नभएर मृग, बँदेल, मुसो आदिसँग पनि मान्छेको परापूर्वकालदेखि नै द्वन्द्व चल्दै आएको छ । अफ्रिकामा बबुन बाँदरले चौपाया मार्ने घटना होस् वा युरोपमा भालु र ब्वाँसोले गर्ने आक्रमण होस् वा नेपालमा हात्ती र गैंडाले बाली नाश गर्ने घटनै किन नहोस्, यी सबै मानव–जनावर द्वन्द्व हुन् ।

अहिले नेपालमा देखिएको डरलाग्दो र दुवै पक्षलाई घातक हुने द्वन्द्व भने बाघ र मान्छेको हो । हाम्रो देशमा १२ राष्ट्रिय निकुन्ज, एक वन्यजन्तु आरक्षण र ६ वटा संरक्षित क्षेत्र छन्, जुन देशको २३.३९ प्रतिशत क्षेत्रफल हो । यी क्षेत्रमध्ये चितवन राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुन्ज, बाँके राष्ट्रिय निकुन्ज, पर्सा राष्ट्रिय निकुन्ज र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा बाघको बसोबास छ । यीबाहेक निकुन्जवरिपरि रहेका मध्यवर्ती क्षेत्र र सामुदायिक वनमा पनि बाघहरू विचरण गरिरहेका छन् । मध्यपहाडी क्षेत्रबाट भने बाघ करिबकरिब विस्थापित भइसकेको छ ।

नेपालले ‘टीएक्सटू मिसन’ मा अपार सफलता हासिल गर्दै बाघको सङ्ख्या दोब्बर पुर्‍याएको हो । सन् २०१० मा रुसमा भएको बाघ सम्मेलनमा भाग लिँदा नेपालमा बाघको संख्या २२१ थियो । ताजा बाघ गणनाअनुसार हाल नेपालमा ३५५ वटा पाटेबाघ छन्, जसमध्ये ४९ वटा बाघ संरक्षित क्षेत्रबाहिर अभिलेख गरिएको छ ।

नेपालमा मान्छे–बाघको द्वन्द्वको इतिहास पुरानो छ । सन् १९११ मा बेलायतका जर्ज पञ्चमलाई तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले १० दिनसम्म सिकार खेलाएका थिए । सिकार अवधिमा ३९ वटा बाघका साथै १८ वटा गैंडा, चारवटा भालु, कैयौँ चितुवा र दुम्सी मारिएका थिए । ब्रिटिस राजपरिवारका सदस्यले नेपालमा पहिलोपल्ट सिकार खेलेको भने जंगबहादुर राणाको पालामा सन् १८७६ मा हो । प्रिन्स अफ वेल्स एडवार्डलाई जंगबहादुरले सिकारको निम्तो दिएका थिए । दुई हप्तासम्म चलेको त्यस सिकारका क्रममा २३ वटा बाघ मारिएका थिए ।

राणा परिवारले सन् १८४६ देखि नै चितवन क्षेत्रमा सिकार गर्न थालेको पाइन्छ । अर्थात्, जंगबहादुर राणाको उदयपश्चात् नै जंगली जनावरका दुर्दिन सुरु भए । सबै राणा प्रधानमन्त्री सिकारका सोखिन थिए । त्यसमाथि राणा शासन टिकाउने एउटा अस्त्रका रूपमा ‘हन्टिङ डिप्लोमेसी’ प्रयोग भएको थियो ।

अझ विभिन्न अवसरमा हुने सिकारको गणना नै थिएन । आफू श्री ३ महाराज भएको खुसियालीमा सन् १९३२ मा जुद्धशमशेरले नवलपुरको एकै सिकारमा ४१ वटा बाघ र १३ वटा गैंडा मारेका थिए । राणा शासकका हातबाट कति जंगली जनावर मारिए, त्यसको तथ्यांक उपलब्ध छैन । अन्दाजसम्म गर्न सकिन्छ— राणा शासन जसरी नेपाली जनताका लागि अँध्यारो युग थियो, जंगली जनावरका लागि पनि अँध्यारै युग थियो ।

बाघ–मानव द्वन्द्वको प्रसंग आउनासाथ एउटा बघिनीको नाम सबैले सम्झने गर्छन्— चम्पावत । नेपाल र भारतमा गरी ४ सय ३६ जना मान्छेको ज्यान लिने चम्पावत बघिनीलाई गिनिज बुकले पनि आफ्नो पानामा समेटेको छ । उन्नाइसौं शताब्दीको अन्तिम दशक र बीसौं शताब्दीको सुरुवाती दशकमा उसले भयको साम्राज्य नै खडा गरेकी थिई । शारदा खोलाको वारि रूपाली गाउँबाट सुरु भएको मानवसँगको उसको द्वन्द्व पारि भारतसम्म पुग्यो । उसले नेपालमा २ सय जनाको ज्यान लिएकी थिई । कैयौं वर्षको सिकारको प्रयासपछि नेपाली सेनाको टोलीले उसलाई शारदा खोलापारि भारतीय भूभागसम्म लखेट्न सफल भयो । सन् १९०७ मा जिम कोर्बेटले यस नरभक्षी बघिनीको सिकार गरेका थिए ।

नेपालमा सिकार प्रतिबन्धित भएपछि बाघ मार्ने क्रम घट्यो । तर, बाघ र मान्छेको द्वन्द्व भने अद्यापि कायम छ । नरभक्षी बाघले मान्छे मारेका समाचार प्रायः आइरहन्छन् ।

हरेक वर्ष बाघको आक्रमणबाट दर्जनौं मानिसले ज्यान गुमाइरहेका छन् । पछिल्लो तीन वर्षमा १ सय ४ वटा आक्रमणमा ६२ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । हाल बाघको आक्रमणका सबैभन्दा धेरै घटना बर्दिया राष्ट्रिय निकुन्जमा भएको देखिन्छ । मान्छेमाथि भन्दा चौपायामाथि बाघको आक्रमण हुने प्रवृत्ति बढ्दो छ । चौपायामाथि आर्थिक वर्ष २०७६/७७ मा १ सय ७८, २०७७/७८ मा ३ सय ६ र २०७८/७९ मा ३ सय ३८ वटा आक्रमणका घटना भएकामा सबैभन्दा बढी बर्दियामा नै भएको देखिन्छ । जंगलमा चराउन लगिएका चौपायामाथि बढी आक्रमण भएका छन् भने गोठमा भएका चौपायालाई बाघले कम आक्रमण गर्छ ।

बाघले मान्छे तथा चौपायामाथि गर्ने आक्रमणको कारण जान्न जरुरी छ । सामान्यतया हामी बाघसँग जति डराउँछौं, बाघ पनि हामीसँग त्यति नै डराउँछ । बाघको स्वभाव उसको शारीरिक परिस्थिति, बसोवास गर्ने क्षेत्र, सिकार प्रजातिको सङ्ख्या आदिअनुसार बदलिँदै जान्छ । जब कुनै बाघ बूढो वा अशक्त हुन्छ, त्यसलाई अरू बाघले उसको आफ्नो क्षेत्रबाट भगाउँछन् र यस क्रममा उक्त बाघ मानव बस्तीतर्फ सजिलो सिकार खोज्नका लागि पस्न थाल्छ । बाघको प्रमुख आहारा मृग, चित्तल, बँदेल आदि निकै चनाखा हुन्छन् । तिनका तुलनामा मान्छे र मान्छेले पाल्ने चौपाया कम चनाखा हुन्छन् र सजिलै बाघको सिकार बन्न पुग्छन् । बाघ अशक्त हुने कैयौं कारणमध्ये दुम्सीको काँडा बिझ्नु पनि एउटा प्रमुख हो । मान्छेले थापेको पासो वा असफल सिकारको प्रयासका क्रममा स्थायी चोट लागेको बाघले मान्छे र चौपायाजस्तो सजिलो सिकार रोज्न बाध्य हुन्छ । चम्पावत बघिनीको सिकार गरेका जिम कोर्बेटका अनुसार, उसको मुखको दाहिनेपट्टिको कुकुर दाँत भाँच्चिएको थियो । त्यो चोट उसलाई मान्छेद्वारा गरिएको असफल सिकारका क्रममा लागेको थियो । जंगली जनावरसँग भएको मुठभेड र सिकारका क्रममा पनि बाघ स्थायी रूपले घाइते हुन सक्छ । यसबाहेक कैयौंपटक भने नरभक्षी माउले हुर्काएको बच्चा पनि नरभक्षी भएको देखिएको छ ।

बाघले प्रायः वनमा घाँसदाउरा, काठ, तरकारी आदि खोज्न जाने मान्छेलाई आक्रमण गरेको पाइन्छ । भारत र बंगलादेशको सीमा क्षेत्रमा बस्ने मान्छेहरू मह काढ्न जंगल पस्दा यस समस्याबाट बच्न टाउको पछाडिको भागमा मुखुन्डो लगाउने गर्छन् । नेचर गाइड र पर्यटकहरू दिनहुँजसो जंगल जान्छन् र बाघको एक झलक भए पनि पाउन चाहन्छन् ।

म आफैं पनि कैयौं पटक बाघको फोटो खिच्न जंगल चहारेको छु र निकै नजिकबाट बाघ देखेको छु । तर, अहिलेसम्म पर्यटक वा नेचर गाइडमाथि ज्यानै लिनेसम्मका घटना नगन्य मात्रामा भएका छन् । जंगली जनावरहरूले दिने सङ्केत, गन्ध र जंगली जनावरले बाटोमा छोडेका पाइला, बोटविरुवामा कोतरेका नङ्ग्राका निसान आदिप्रति सचेत रहेर नै पर्यटक र नेचर गाइडहरू बाघलाई निकै नजिकबाट अवलोकन गर्न सक्छन् ।

यस वर्ष विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका छवटा नरभक्षी बाघमध्ये चार वटालाई आनीबानी सुध्रिएको भन्दै पुनः प्राकृतिक बासस्थानमा छोडिएको छ । अझै तीनवटा नरभक्षी भनिएको बाघ भने चितवन राष्ट्रिय निकुन्जकै निगरानीमा राखिएको छ । कैयौं पटक जनदबाबका कारण बाघलाई नियन्त्रणमा लिइन्छन् र पछि फेरि राष्ट्रिय निकुन्जकै क्षेत्रमा छोडिन्छन् । जंगलमा पुनः छोडिएका बाघहरूका घाँटीमा रेडियो कलर जडान गरिएको हुन्छ, जसमार्फत उनीहरूको गतिविधि निगरानी गर्न सकिन्छ ।

नेपालमा बाघको सङ्ख्या संसारमै सबैभन्दा द्रुत गतिमा बढ्दो छ । यहाँका संरक्षित क्षेत्रहरूले बाघको सङ्ख्या धान्न नसक्ने समय नजिकिँदै छ । त्यसैले बाघलाई स्थानान्तरण गर्नुको विकल्प छैन । संरक्षित क्षेत्रबाहिर पनि बाघले विचरण गर्न सक्ने कैयौं राम्रा बासस्थान छन् । यस्ता बासस्थानलाई फेरि ब्युँत्याएर र भइरहेका बासस्थानको स्तरोन्नति गरेर मानव–बाघ द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ । दिनहुँजसो देशका विभिन्न राजमार्गमा बाघ निस्कने घटना बढिरहेका बेला अझै बढी द्वन्द्व हुन नदिन महत्त्वाकाङ्क्षी योजना ल्याएर कार्यान्वयन गर्न जरुरी छ । वन्यजन्तुमुखी राजमार्ग निर्माण गरेर होस् या जंगल क्षेत्रमा मान्छेको आवतजावत रोकेर होस् या बाघको बासस्थानमा स्तरोन्नति गरेर होस्, बाघ र मान्छे आमनेसामने हुने अवस्थालाई कम गर्नुपर्छ ।

यो पृथ्वी साझा हो । यहाँ मान्छे र वन्यजन्तु दुवैले बाँच्न पाउनुपर्छ । बाघको संख्या बढ्यो भनेर नेपालले नाक फुलाउन पाउँछ, तर बाघको आक्रमणमा परेर मर्ने साधारण नागरिकका परिवारका दुःख पनि हाम्रै आँखाअगाडि छन् । जिम्मेवार निकायहरूका व्यवस्थापन र योजना यस्ता हुनुपर्छ कि मान्छे र बाघ दुवैले बाँच्न पाऊन् ।

प्रकाशित : मंसिर २४, २०७९ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?