दुःखका अलग रङ- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुःखका अलग रङ

इमानको बदलामा यो व्यवस्थाले जेठी दिदी र कालुमान दाइलाई जिन्दगीभर असुरक्षा, अभाव र अपहेलना उपहार दिएको छ 
अनिता पण्डित

तादी गाउँपालिकाअन्तर्गत पर्ने गैरी टोलनजिकै तादी खोला र घट्टे खोलाको दोभान छ । दोभान खोलावारिका गाउँहरूको मसानघाट हो । नदी किनारमाथि मूल बाटो नजिकै ढुङ्गाले छाएको एक मरणपाटी थियो । मरणपाटीबाट दस मिटरजति पूर्व बायाँपट्टि एउटा झ्याम्म परेको बयरको घारीसँग टाँस्सिएर झुप्रो बनेको थियो । आफ्ना तीन लालाबालासहित लगभग बगरलाई घर बनाएकी थिइन् जेठी दिदीले । 

जेठी दिदीबारे पहिलो स्मृति त्यही बगरको निवास हो । त्यो पनि उनका पतिले लेकमा कुनै तामाङ पछार्न अर्को तामाङलाई लगाएको गुण तिरेकाले बन्दोबस्त भएको थियो । उनी, उनको कम उमेरकै जेठो छोराको मिहिनेतले र कहिलेकाहीँ गाउँलेको दयाले छाक टार्ने मेसो हुँदै थियो, लेकबाट बेंसी झरेको त्यो दलित परिवारको । उनका पति आवारागिरीमा परिचित थिए । धेरै समय सहर अनि बम्बईतिर जान्छन् भन्ने हल्ला हुन्थ्यो गाउँमा । त्यो हालतमा परिवार छोडेर वर्षौं हराउँथे ।

गरिब तामाङ परिवारमा जन्मिएका कालुमान दाइ सानैमा बेंसी झरेका थिए । ती बालक हली बसे, खेतको काम गरे, भारी बोके, घाँस काटे । उमेर बढ्दै गयो, पिरती पनि गाँसे । विद्रोही पिरती ! गाउँकै तीन बच्चाकी आमा विधवा तामाङ्नीलाई मृङ (पत्नी) बनाए । मृङसँगै काखकी नानी र आफूलाई बासको व्यवस्था गर्नुपर्ने भयो । हाम्रो खेत नबनिसकेको झाडी फाँडेर सुरक्षित बास बनाए । मूल बाटामै थियो उनको बास । त्यही बाटो त्यस समय नुन, तेल, रासायनिक मल ल्याइन्थ्यो । सरकारी कामका लागि बजार र सदरमुकाम जान खच्चड हिँड्ने बाटो पनि त्यही थियो । सानो परिवार धान्न उनले तामाङहरू लक्षित खाजा घर पनि राखे । त्यहाँ मुख्यतः गज्जबको सिलावरको डबकामा जाँड, तमाखु र बिरुवाको ठूलो पातमा थोरै साँधेको भटमास पाइन्थ्यो । मजदुरी गरेर, ढुंगा फोरेर, ढुंगा बोकेर गुजारा चलाउँथे मान्छेहरू ।

जीवनमा मैले सबैभन्दा पहिले चिनेको र लामो संगत गरेको गाउँले सर्वहारा हुन् कालुमान दाइ र जेठी दिदी । हाम्रो बसाइ नजिक–नजिकै थियो । तर, म सानै छँदा जेठी दिदीको त्यो बगरको टहरो र कालुमान दाइको बासबाट उठीबास लगाइयो । कालुमान दाइको घट्ट जेठी दिदीको टहरा नजिकै थियो । एक साँझ घर फर्कंदै गर्दा पानी परेकाले कालुमान दाइ केहीबेर जेठी दिदीको टहरामा ओत लाग्न गएका रहेछन् । श्रीमती गर्भवती बनाएर गायब भएको जेठी दिदीको श्रीमान् रूपलाल दुई वर्षपछि घर फर्कंदा कसैले उनलाई कालुमान ओत लागेको त्यो घटना सुनाइदिएछ । उनको पुरुषत्व जागेर आयो, जुर्मुरिँदै सानी छोरी र श्रीमती घिसार्दै कालुमान दाइको घरमा भित्र्याउने कुरा गर्न थाले । ठूलै खैलाबैला भयो । गाउँका सबै भेला भए । अरू त के हुनु थियो, गरिबीको बोझमा दलिएकी दलित महिला र गरिब तामाङ लहसिएको हल्ला मात्रैले पनि टहरो बनाउन जग्गा दिनेहरूलाई मौका बन्यो । तुरुन्तै जसोतसो मिलेको छतबाट दुवै परिवारलाई छुटाइयो ।

भागेर कुन ठाउँ जानु ? हाम्रो गाउँको पूर्वपट्टिको भिरालो जमिनमा जेठी दिदीलाई गाउँकै एक जनाले टहरो बनाउन जग्गा दिए, पाखो खेती हेर्ने सर्तमा । कालुमान दाइले एउटा प्रयत्न गरे, सार्वजनिक जग्गामा बास बनाउने । उनको कोसिस बेकार बनाइयो । नजिकै सार्वजनिक जग्गामा बास जमाएको बाहुनको टहरोलाई सरकार र समाजले अतिक्रमण ठानेन, तर कालुमानले बनाएको टहरो टिक्न दिइएन । पछि उनी बाध्य भएर मृङको छोराको गोठमा बस्न गए । त्रासदीबीच मृङ बिमारी परिन्, बितिन् । कालुमानले घेवा गरेर उनलाई बिदा गरे ।

त्यसबीच धेरै परिवर्तन भइसकेको थियो । गाउँमा सडक बनिसकेको थियो । धूलाम्मे सडकमा हिउँदमा गाडी आउन थालेको थियो । बिजुली आइसकेको थियो । कालुमानले गर्ने काम पनि थोरै बदलियो । कहिले पानीघट्ट चलाए, कहिले त्यसै छाडिदिए । गाडीमा सामान लोड–अनलोड गर्न थाले । मेलापात गरिरहे । फेरि एक पटक प्रेममा परे । यस पटक पनि विधवालाई नै मृङ बनाए ।

सामान्य खेतालाको लगभग दोब्बर काम गरिभ्याउँथे कालुमान दाइ र जेठी दिदी । उनीहरूको श्रमसँग परिचित स्थानीयले कुनै बेला दुवैलाई बासबाट बन्चित मात्रै होइन बदनामी र अपमानको भारी बोकाए पनि बहिष्कार भने गर्न सकेनन् । कालुमानले हालेको आली सधैं सबैभन्दा अग्लो, खँदिलो हुन्थ्यो । कसैले फोर्न नसकेका ढुङ्गा सहजै फोरिदिन्थे, पिठो पिन्दा ढंग पुर्‍याउनेमा गनिन्थे, इमानदार र लगनशील थिए । जेठी दिदी बल, इमानदारीमा सधैं अघि रहिन् । बस्तीबाट टाढा बसोबास भए पनि बेलैमा मेला पुगिसक्थिन् । कथित भद्रभलाद्मीको समाज, जसले पहिले उठीबास लगाएको थियो, कालान्तरमा जेठी दिदी र कालुमान दाइलाई आरोपमुक्त गर्‍यो ।

श्रीमतीको बदनामी गरेपछि र कान्छी छोरी गर्भमा आएपछि घर छोडेर हिँडेका रूपलाल लखतरान हालतमा घर फर्किए धेरै वर्षमा । केही महिना सामान्य उपचार चल्यो, तर डाक्टरले उनलाई निको नहुने रोग लागेको बताए । घरमै जेठी दिदीले स्याहारसुसार गरिन्, करिब पाँच महिनापछि उनको मृत्यु भयो । जेठी दिदीले किरिया गरेर सालभर जुठो बारिन् । सानै उमेरमा जेठी दिदीका सन्तान काममा जोतिन बाध्य भए, स्कुल जाने उमेरको जेठो छोराले फलाम हुँदै सुन चाँदीको काम सिकिरहेका थिए । सीप हासिल गरेर केही कमाउने भए, बिहेबारी गरे र अन्तै बसाइँ सरे । कान्छो छोराले पनि तामाको काम सिके, गाउँमै काम गर्न थाले, बिहे गरे र पसल गरे । दुवै छोरीको किशोरी अवस्थामै बिहे भयो र आमा बने ।

गाउँमा धर्म परिवर्तनको लहरले जेठी दिदीको परिवारलाई पनि प्रभाव पार्‍यो । सपरिवार धर्म परिवर्तन गरी क्रिस्चियन बने । धर्म परिवर्तन त भयो, तर छुवाछुत र जातीय विभेदको पर्खाल भत्किने सम्भावना थिएन र भत्किएन पनि । छोराहरूले थोरै पैसा जम्मा गरी त्यही पाखामा घडेरी किने, घर बनाए । जेठी दिदीले सधैं खेती मजदुरी गरिरहिन्, भारी बोकिरहिन्, बालुवा चालिरहिन् । अचानक बिरामी पर्न थालिन् । जब डाक्टरी चेकजाँच भयो, तब जेठी दिदीको जीवनले अर्को दुखदः मोड लियो । श्रीमान्ले उनलाई निको नहुने एचआईभी संक्रमण दिएर गएका रहेछन् । उनीमाथि थप बज्रपात भयो । आफ्नै छोरा–बुहारीको घृणाको पात्र बन्नुपर्‍यो । गाउँमा कान्छा छोरा–बुहारीसँगै बसेकी जेठी दिदी जेठो छोरो भएतिर गइन् र केही वर्ष त्यतै रहिन् । उपचारसँगै परिवारमा परामर्श पनि भइरहेकाले बिस्तारै माहोल सहज बन्दै गयो । उनी फेरि गाउँ फर्किइन् र पहिलेजस्तै मजदुरी जारी राखिन् । आज पनि सर्वहारा मजदुरझैं खटिएर काम गरिरहेकी छिन् जेठी दिदी । एड्स पत्ता लागेको आठ–नौ वर्षपछि पनि सक्रिय श्रमिकको दैनिकी उनको बाध्यता बनेको छ ।

जमाना बदलिएको छ । सरकार त दर्जनौं बदलिए । फेरि पनि श्रमिकमारा व्यवस्थामा जेठी दिदी र कालुमान दाइको जिन्दगी भने साँझ–बिहानको जोहो गर्नमै बितिरहेको छ । पहिले जब हाम्रो खेतको गहुँ भित्र्याउन हप्तौं लाग्थ्यो, त्यतिबेला पनि जेठी दिदी मजदुरीका लागि बोलाइने पहिलो छनोटमा थिइन् । अहिले चिसै गहुँ थ्रेसरले भटाभट दुई घण्टामा पेलिदिन्छ, तर खानयोग्य हुने गरी केलाउन जेठी दिदीलाई नै बोलाइन्छ । यद्यपि, जेठी दिदी र हाम्रो परिवारको सम्बन्ध पनि विविधतापूर्ण रह्यो । मेरी आमाले जेठी दिदीको बच्चा पढाउने वातावरण निर्माण लागि केही प्रयत्न पनि गर्नुभयो, तर सम्भव भएन । गाउँमा सँगसँगै काम गर्दा सरसफाइ, स्वास्थ्य र खानपानबारे सजग बनाउन केही भूमिका खेल्नुभयो । श्रीमान्को नागरिकता नबनेकाले उनलाई नागरिकता दिलाउने मेसो मिलाउनुभयो, तर पनि उनीहरूबीचको विभेदको पर्खाल भने सजिलै भत्किन सकेन । ‘जनयुद्ध’ को प्रभाव बढेसँगै र शान्तिसम्झौतापछिका केही वर्षपछिसम्म हाम्रो घरभित्र छुवाछुत भएन बरु समान व्यवहारमा वृद्धि भयो । अफसोस ! प्रतिक्रान्तिको लहरले बिस्तारै–बिस्तारै फेरि सबै कुरा बदलिएको मैले भने पछि मात्र चाल पाएँ ।

भूकम्पपछि कालुमान दाइले थोरै राहत पाए । जग्गा नहुनेहरूका लागि घर बनाउन जमिनसहित बास हाल्न पैसा पाउने नीति थियो । तर, प्रशासनको सर्त र झन्झटकै कारण नीतिभित्र परेका कालुमान दाइले घडेरी पनि पाएनन् । उनीसँग अहिले पनि आम्दानीको स्रोत केही छैन । कमजोर भइसकेका छन्, निःसन्तान छन् । वर्षको केही महिना घट्ट चलाउँछन्, केही महिना सानोतिनो मजदुरी गर्छन् । यसरी कालुमान आज पनि साँझ–बिहान आफ्नै पाखुरीको बलमा बाँचिरहेका छन् ।

हड्डी गलाउने मिहिनेत र इमानको बदलामा यो व्यवस्थाले उनलाई जिन्दगीभर असुरक्षा, अभाव र अपहेलना दिएको छ उपहार । नेपालका सबै निर्वाचन भोगेका उनीहरूलाई पञ्चदेखि कांग्रेस र माओवादीसम्मका अनगिन्ती प्रतिनिधिले हिजो पनि आश्वासनबाहेक केही दिएनन् र आज पनि आश्वासनबाहेक अर्थोक केही दिएका छैनन् ।

प्रकाशित : मंसिर १०, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

महिला उत्पीडन र संगठित प्रतिरोधको प्रश्न

वर्गीय रूपमा शोषित र उत्पीडित तल्लो वर्गलाई जोड्दै बहुसंख्यकको एजेन्डासहित वर्गसंघर्षलाई केन्द्रमा राखेर गरिने संघर्षले नै विजयसम्म डोर्‍याउँछ ।
अनिता पण्डित

हालै सामाजिक सञ्जालमा मैले मिथिला चित्रकलाको झल्को दिने एउटा डिजिटल पोस्टर देखें, जसमा हिन्दीमा लेखिएको थियो— ‘काम से लौटकर स्त्री काम पर लौटती है ।’ त्यो डिजिटल पोस्टर र त्यसमा लेखिएको पंक्तिले आजका महिलाको स्थितिको सटीक चित्रण गरेको छ ।आज महिलाहरू श्रमको क्षेत्रमा दोहोरो–तेहरो शोषण र सामाजिक हिसाबले अनेक तहगत उत्पीडनको सिकार भएका छन् । यही शोषण र उत्पीडनको भुमरीमा फसेर रुमलिरहेका, त्यसबाट उम्कन हातपाउ चलाउन थालेका, जागरुक हुन कोसिस गरिरहेका महिलाहरूले बढीभन्दा बढी र नयाँभन्दा नयाँ सृजनशील उपायहरूमार्फत स्थापित गर्नुपर्ने कुरा हो— पुँजीवादी समाजमा महिलामाथि भइरहेको दोहोरो दलनको यथार्थ !

मानव इतिहासमा अतिरिक्त उत्पादन सम्भव भएसँगै सुरु भएको निजी सम्पत्ति राख्ने चलनदेखि महिलाको उत्पीडनले जग हालेको हो । इतिहास आफ्ना स्वरूपहरू बदल्दै आजको भूमण्डलीय पुँजीवादसम्म आइपुगेको छ । यति लामो कालखण्डमा महिला उत्पीडनका स्वरूपहरूमा केही भिन्नता आए पनि एकातिर उत्पीडनलाई राज्यतहबाट सशक्त रूपमा सजिलै भेद नखुल्ने गरी संस्थागत गर्ने तर अर्कातर्फ यसविरुद्ध लड्न तयार हुनेहरू उत्पीडनका वास्तविक कारणहरूमा ठोस रूपमा प्रवेश गर्नुभन्दा सतही व्याख्या र पौंठेजोरीमा भुल्ने गरिरहेका छन् । यही कारण आन्दोलन छैन र उत्पीडनविरुद्धका प्रयासहरू पनि दिशाहीन र विभाजित छन् ।

पुँजीवादी उत्पादन प्रक्रियामा महिलाको श्रम शोषण दुई प्रकारले हुन्छ । पहिलो, पुँजीवादले महिलालाई नाफा र सस्तो श्रमका लागि बजारमा ल्यायो । यो कदम महिला स्वतन्त्रताको दिशामा गुणात्मक काम भए पनि यसको मुख्य ध्येय महिला स्वतन्त्रताको सवाल नभएर पुँजीपतिका लागि सस्तो श्रम र अधिक नाफाको विषय थियो । भूमण्डलीय पुँजी बजारमा ठूला कारखानाको एसेम्ब्ली लाइनमा काम गर्ने र अविकसित भनिने अनेकौं देशका कुनाकुनासम्म फैलिएको असंगठित–अनौपचारिक क्षेत्रमा काम गरिरहेका तमाम गरिब महिलालाई पनि प्रत्यक्ष शोषण गरेर पुँजीपतिहरूले नाफा कुम्ल्याइरहेका छन् ।

मजदुर पुरुषकी श्रीमतीका रूपमा घरमा बसेर घरकै मात्र काम गर्ने महिलाहरूमाथि पनि यो पुँजीवादी व्यवस्थाले पुनरुत्पादन प्रक्रियामार्फत उत्पीडन जारी राखेको छ, एकल परिवारलाई जीवित र सक्रिय राख्दै त्यसमा उत्पीडनको आयामलाई कार्यान्वयन गरिरहने वातावरण तयार गरेको छ । अब ती महिलाहरूको श्रम शोषण कसरी हुन्छ भनेर हेरौं । मजदुर पुरुषको घरमा रहेकी महिलाले खाना बनाउने, बच्चा जन्माउने र तिनको लालनपालन गर्ने, सरसफाइ गर्ने, प्रत्येक साँझ कामबाट फर्केको मजदुर श्रीमान्लाई भोलिपल्ट पुनः काममा फर्कनलायक बनाउने, पुनरुत्पादनको प्रक्रियामा संलग्न रहेर मजदुरको अर्को पुस्ता जन्माउने र पुँजीपतिको कामका लागि तयार गर्ने गर्छिन् । घरका तमाम काम सित्तैंमा गरिदिन्छिन् । यो सवालमा मार्क्स र एंगेल्सले महिलाको प्राकृतिक रूपमा पुनरुत्पादनको कामले कसरी पुँजीवादी शोषण र उत्पीडनका आयामलाई धानिरहेको छ भन्ने व्याख्या गरेका छन् । पुँजीवादी माल उत्पादनका क्षेत्रमा मूल्य तब मात्र पैदा हुन्छ, जब सामाजिक रूपमा आवश्यक श्रमशक्ति त्यहाँ लाग्छ । श्रमिकले श्रमशक्ति बेचेमार्फत ज्याला पाउँछ । त्यो ज्याला मुख्यतः श्रमिकलाई खानपिन, लत्ताकपडा, बसोबास, शिक्षा, स्वास्थ्य, मनोरञ्जनका लागि चाहिने खर्च लगभग थेग्ने गरी र एक श्रमिक जेनतेन जीवन धान्दै पुनरुत्पादनको प्रक्रियामार्फत बच्चा जन्माउन योग्य हुने गरी तय हुन्छ । हाम्रोजस्तो समाजमा अझै मजदुर वर्गको ‘बार्गेनिङ पावर’ नभएकाले ज्याला सहज रूपमा जीवन धान्ने खालको पनि ज्याला हुँदैन । यसैमा एकल परिवारमा महिलाको भूमिकाको कुरा आउँछ । महिलाले मजदुर श्रीमान्सँग बसेर घरका दैनिक कामहरू बिनाज्याला गरिदिन्छिन् । त्यसो गर्दा पुँजीपतिले श्रमिकमा गर्ने लगानीलाई कम गरे पनि मजुदरको अर्को पुस्ताको पुनरुत्पादनमा रोकावट हुँदैन । पुँजीपतिहरूले जतिसक्दो कम ज्यालामा मजदुरबाट काम लिन सक्ने वातावरण तयार हुन्छ । पुँजीपतिलाई अधिक नाफा लिने छुट हुन्छ ।

यसका लागि दोषी को हो ? के अब घरमा काम गर्ने महिलालाई पुरुष मजदुर या राज्यले ज्याला दिने भन्ने निष्कर्षमा जाने हो त ? पक्कै पनि होइन, पुरुष मजदुरमा महिलालाई ज्याला दिने सामर्थ्य नै हुँदैन । राज्यले दिने हो भने पनि आम जनताबाट लिएकै अप्रत्यक्ष करबाट दिने हो । त्यसो गर्दा त्यसको भार स्वयं गरिब मजदुर, किसानमै पर्न आउँछ । त्यसो भए ज्याला दिनुपर्ने कसले हो ? मजदुरले काम गरेबापत परिवारसमेतको जिम्मेवारीलाई हेर्दै पुँजीपतिले ज्याला निर्धारण गर्नुपर्ने हो । तर पुँजीपतिकै रक्षा र प्रवर्द्धन कमिटीको यही व्यवस्थाले पुँजीपतिको नाफा अलिकति पनि कम हुन दिँदैन बरु राज्य संरचनामार्फत नै यस्ता एकल परिवारलाई बचाउने र उत्पीडनमा सहयोगी भूमिका निर्वाह गर्छ ।

पुँजीवादनिर्मित संरचनाले महिलाको वस्तुकरण बढाएको छ । पोर्न बेच्ने, महिला शरीरलाई विज्ञापन, ब्युटी क्विन कन्टेस्ट र शो पिसका रूपमा खडा गरेर जेजसरी भए पनि पैसा कमाउने साधनका रूपमा पेस गर्ने गरेको छ । यसले भद्दा गीत, संगीत, फिल्म र साहित्यमार्फत महिलालाई केवल बेचिने वस्तु, सुन्दर मालका रूपमा प्रस्तुत गरेर उत्पीडनलाई नै अझ प्रभावकारी बनाउने काम गरिरहेको छ । तर महिलाको वस्तुकरण गरिएकामा, स्त्रीद्वेषी चेतना फैलाएकामा यो राज्यव्यवस्थाले परबाह गर्दैन । उसको एक मात्र सरोकार बेच्नु र नाफा कमाउनुसँग छ । बेलामौकामा सुधार र परिवर्तनको केही प्रयास र पुँजीवादी जनवादी अधिकार र महिला अधिकारको ढोङ गर्दै उत्पीडनका वास्तविक कारणहरूलाई पर्दाले छोपेर बाँचिरहेको पुँजीवादलाई ढाल्ने विचारधारा, नीति, कार्यक्रम र संघर्ष नै पुँजीवादी पितृसत्ताविरुद्धको लडाइँ जित्ने विकल्प हो ।

कसले लड्छ ?

समस्याको पहिचानसँगै भेटिने हो समाधानको बाटो । महिला उत्पीडनको सवालमा को लडिरहेको छ ? लडाइँ कस्तो छ ? कसले, कसरी लड्दा लडाइँ जितिन्छ ? यी प्रश्नहरूमा सदियौंअघि प्रवेश गरिएको भए पनि अझै अस्पष्टता, अव्यावहारिकता र असफलताको चाङ हामीले उत्तिकै देखिरहेका छौं । महिलाहरूले उत्पीडन उत्तिकै भोगिरहेका छन् । यसो किन भैरहेको छ ? लड्ने सवालमा यतिका समय, ऊर्जा र सचेत प्रत्यनहरू हुँदै गर्दा पनि समाज मुख्य शत्रुलाई प्रहार गर्न किन संगठित छैन ?

यी प्रश्नहरूमा आज पुनः प्रवेश गरिरहँदा हामीले अहिलेसम्म विकसित दार्शनिकीहरू र तिनले मानव समुदायको भौतिकी र चेतनाका क्षेत्रमा गरेको परिवर्तन र पारेको प्रभावबारे अध्ययन गर्नु जरुरी छ । पुँजीवादी वैश्विक व्यवस्थाले पितृसत्तालाई मज्जाले आफूमा समाहित गरिसकेको छ । अनि यो पितृसत्तात्मक व्यवस्थालाई संरक्षण र मलजल गर्ने वर्तमान समयको सबैभन्दा वर्चस्वशाली विश्वदृष्टिकोण आदर्शवाद (मेटाफिजिक्स) हो । मेटाफिजिक्सका अनेकौं धाराको वैचारिकीले यो समयमा प्रविधि र सञ्चारका साधनको विकासका कारण विगतमा भन्दा वर्चस्वशाली रूपमा आम मानिसलाई प्रभावित पार्न सफल भएको छ । सोभियतकालीन र चिनियाँ समाजवादीहरूले सत्ता स्थापना गरेसँगै पलाएको आशा समाजवादी सत्ताको प्रयोग र पतनपछि निराशामा परिणत भयो । त्यसपछि विकास भएका वैचारिकीहरूमा मुख्यतः पहिचानको राजनीति र उत्तरआधुनिकतावादले आन्दोलनको सामूहिकतामा लड्ने र जित्ने रूपमा लड्नेभन्दा पनि व्यक्ति/समुदायकेन्द्रित टुक्राहरूमा विभाजित गर्ने चेतनाको विकास गरेर उत्पीडनको सही कडी समातेर आन्दोलित हुन दिइरहेको छैन । बरु नयाँ पुस्ताको जानीबुझी अराजनीतीकरण गरिँदै छ ।

सामाजिक सञ्जालको दुनियाँमा असी हजार महिला रहेको ग्रुपमै मुख्यतः सतही कुरा, टाइम पास गर्ने जोडीका फोटाहरू, कन्फेसन, मेकअपका सामान सम्बन्धी सुझावलाई पहिलो प्राथमिकतामा ग्रहण गरिने र यदाकदा सामान्य राजनीतिक रुझानको सामग्री राख्नासाथ ब्लक गर्नेजस्ता हैरानीपूर्ण कामहरू हुने गरेका छन् । छिनभरको उभार र प्रचारपछि थन्किने अनि मुद्दालाई छाडिदिने प्रवृत्ति पनि छ । क्रान्तिकारी, रूपान्तरणकारी देखिनेहरूमा पनि व्यावहारिक र सांगठनिक जीवनलाई अंगीकार नगर्ने प्रवृत्ति बढिरहेको छ । यस्ता प्रवृत्तिहरू उत्पीडनविरुद्धको संघर्ष कमजोर पार्ने कडी हुन् ।

तत्काल भइरहेका विभेद, हिंसा र उत्पीडनका अनेकौं आयामको सर्जरी आजैदेखि थालिनु जरुरी छ । तर सर्जरी गर्नेहरूको कमीकै कारण निर्मला पन्त हत्याको दोषी भेटिएन । अछाम अदालतमा होस्टाइल हुन बाध्य किशोरी नै बिनाकुनै कानुनी आधार जेलमा थुनिनुपर्ने आदेश आयो । हिंसामा संलग्न र हिंसाका आरोपी व्यक्तिहरूले नै यही कथित प्रजातान्त्रिक व्यवस्थामा चुनिने प्रक्रियामा जाने सुविधा पाइरहेका छन् । संविधानमा तोकिएको समावेशी–समानुपातिक हक–अधिकारलाई दलहरूले गठबन्धन र अनेक बहानामा खुल्लमखुला खारेज गरिरहेका छन् । नागरिकताको सवालमा आज पनि महिलालाई दोस्रो दर्जाको मान्यता छ । पैतृक सम्पत्तिको अधिकार व्यवहारमा अहिलेसम्म लागू हुन सकेको छैन । निजी र अनौपचारिक क्षेत्रमा कार्यरत महिला–पुरुषबीच ज्यालामा असमानताबारे कसैको ध्यान गएको छैन । हिंसा र बलात्कारका घटनामा मिलेमतो गर्न प्रेरित गर्ने माहोल बनिरहेको छ ।

परिस्थिति यस्तो छ, तर यसविरुद्ध संगठित प्रतिरोध वा आन्दोलन छैन । भएका थोरै प्रयत्नहरू पनि टुक्राटुक्रामा विभाजित छन् । यो बाँडिएको र भाँडिएको आन्दोलनलाई एउटै मालामा गाँस्ने प्रयत्नहरूको खाँचो भएको सत्यलाई ग्रहण गर्दै पुनः नयाँ ऊर्जासाथ अघि बढ्न जरुरी छ । वर्गीय रूपमा शोषित र उत्पीडित तल्लो वर्गलाई जोड्दै बहुसंख्यकको एजेन्डासहित वर्गसंघर्षलाई केन्द्रमा राखेर गरिने संघर्षले नै विजयसम्म डोर्‍याउँछ ।

पुरुष, परिवार, पितृसत्ता, महिलाको जैविक प्रजनन क्षमताजस्ता केन्द्रमा मात्रै प्रहार गरेर लडाइँ जितिँदैन । शोषण र उत्पीडनको संरचना तयार गर्ने पुँजीवादी व्यवस्था नै हाम्रो मुख्य शत्रु हो । यसलाई ढाल्न नयाँ जागरणसहित सम्पूर्ण गरिखाने वर्ग, उत्पीडित समुदायहरू, महिला, दलित, जनजाति, लैंगिक अल्पसंख्यकले नै सबैभन्दा अगाडि आउनुपर्छ । संगठित प्रतिरोधमार्फत आजका समस्याहरू आजै हल गर्न कोसिस गरेर समग्र व्यवस्था परिवर्तनको लामो लडाइँको तयारीमा लाग्नुको विकल्प हामीसँग छैन ।

प्रकाशित : वैशाख ३०, २०७९ ०६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×