२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४६

कोशी : केवल एक नदी ?

काशीलाई पवित्र स्थानमा परिणत गरिदिएको कोशीले हो । कोशीको पनि चतरा क्षेत्रले त्यसमा ठूलो योगदान गरेको छ । कोशल, कौशाम्बी र कुशीनगर पनि कोशीकै रुपान्तरण हुन् ।
सौरभ

कस्सापानी भन्छन् मगरहरू पवित्र पानीलाई, जो कलशपानीको रूपान्तरण हो । कलश शब्द आएको हो कैलाशबाट । अर्थात् कैलाशबाट बनेको हो कोशी । यसैले नेवारहरूको पानी पर्ने माथिल्लो खुला ठाउँ कौशी हुन्छ, राणा दरबारको पानी पर्ने माथिल्लो खुला ठाउँ कैलाश हुन्छ ।

कोशी : केवल एक नदी ?

यही नेवारीमा खुसी हुन्छ, नेपालीमा खोला, खोल्सा, कुलो, कुलेसो, कुवा, कलकल, कुल्ला हुने हो । गुरुङको पानीबोधक क्यू र ग्रीकको अक्वा हुने हो । ‘कोशीको कथा’ मातृकाप्रसाद कोइरालाको परिचित प्रबन्ध हो । तर, यो लेखको पाटो उनले समातेको विषयवस्तुसँग सरोकार राख्दैन !

आशा गरौं, पुछारतिर बढ्दै जाँदा संस्कृतका प्राचीन ग्रन्थहरूको सन्दर्भ जब आउनेछ, ती नेपालको भूगोल पहिल्याउनका निम्ति मात्र उद्धृत् भएका हुन्, अध्यात्मका निम्ति होइनन् भनेर पाठकले बुझिदिनेछन् ।

खास कोशी

अरुण मूल नदी हो ‘कथित’ सप्तकोशीको । तर, अरुण विकृत रूपान्तरण हो तिब्बती यार्लुङ साङ्पोको, जो आसाममा पुगेर ब्रह्मपुत्र बन्छ । किनभने अरुण सयौं किलोमिटरसम्म यार्लुङ साङ्पोको समानान्तर बग्छ पश्चिमतिरबाट पूर्वतिर नेपाल छिर्नुअघि । यसो किनभने यार्लुङको तिब्बती अर्थ हो घोडानदी अर्थात् अश्विनी । शुद्ध शब्द याङतोङ हो, नेपाली छारतोसको समानान्तर । अरुणको अर्थ पानी होइन पनि संस्कृतमा ।

कोकानदीको मुहान बदरी क्षेत्र (बदरीनाथ) को दृष्टांकुर हो भन्दछ दसौं शताब्दीमा लेखिएको भनिने वराहपुराण, तर त्यो पूरै गलत हो बरु अरुणको मुहान हो सिसापाङमा हिमालको पूर्वी हिमनदी । सिसापाङमा पर्दछ गोसाइँकुण्डको ठ्याक्कै उत्तर सीमापारि तिब्बतमा । ‘पाङ’ शब्दको मूल राईहरूको पाङ्दाङवा, चिनियाँहरूको पाङकू, फिलिपिनोहरूको पानकू शिव हो, पाङमाको अर्थ शिवा हो (यहाँनेर टनी हेगनले लगाएको सिसापाङमाको अर्थ ‘रमाइलो’ छ भन्नैपर्ने हुन्छ) । त्यहाँबाट निस्केर सगरमाथा, ल्होत्से, नुप्से यावत्लाई दक्षिण पार्दै यार्लुङ साङ्पोसँग जोरी खोजेर समानान्तर बन्दै यो पस्दछ कोशी अञ्चलको सिरानबाट नेपालमा ।

‘कथित’ सप्तकोशी

अरुणमा पश्चिमतिरबाट भोटेकोशी र पूर्वतिरबाट तमोर मिल्दछन् । भोटेकोशी पनि सिसापाङमा नजिकैको हिमनदीबाट सुरु भएर सिन्धुपाल्चोकको मितेरी साँघु हुँदै नेपाल छिर्दछ । भोटक्यु (वोदक्यु) नै हो यसको नाम सीमापारि पनि । खाङजङजोङ्गा (नेपाली जिब्रोले भन्दा पनि बंगाली जिब्रोले बिगारेको रूप कञ्चनजंघा) बाट निस्केर झर्छ तमोर । अहिले यसै भन्न सकिन्न, थुम क्षेत्र (तेह्रथुम) भएर बग्ने हुनाले बनेको हुन सक्छ तमोर !

वरुण तिब्बतीमा भनिने ‘वोम चू’ कै रूपान्तरण हो । तर, छुट्टै नदीचाहिँ हो । लिखु (ल्हा = देवता + खु = कोशी) अर्को त्यस्तै छुट्टै नदी हो । तर, रोशी खोला भोटेकोशीमा मिलेदेखि अरुणमा नमिसिँदासम्मको भाग हो सुनकोशी भनेको, कुनै छुट्टै अस्तित्व भएको खोला होइन । कसैकसैले अरुणसम्म भोटेकोशी, त्यसदेखि तमोर नमिसिँदासम्मको भागलाई पनि सुनकोशी भन्छन् !

दूधकोशी गोक्यो तालबाट निस्केर ओखलढुंगाको हर्कपुर नजिक सुनकोशीमा मिल्ने भएपछि त्यसको विशेष अर्थ भएन । अर्थात् दूधकोशी, भोटेकोशीकै माथिल्लो सहायक खोलालाई भन्छन् !

यसर्थ सप्तकोशी भन्नु नै गलत हो । शुद्ध नाम हो पञ्चकोशी । सप्त–सिन्धु वेदमा परेकाले सप्तगण्डकी, सप्तकोशी नभनी नभएको मात्र हो नेपाली जिब्रोलाई !

संगम

भोटेकोशी, अरुण, तमोर र नजिकैको सानो कोका–नदीलाई समेटेर ‘चतुर्धारा’ नाम दिएको छ त्यो पुराणले । चतराको पूर्वरूप यही हो । धेनुबट भन्ने नाम लिएको छ, सो अहिले धनकुटा बन्न पुगेको स्पष्टै छ । पिण्डारक नाम लिएको छ, जो पिण्डेश्वर बन्न पुगेको छर्लंगै छ । काठ चिर्ने ठूलो करौंती वा आरा अर्थात् धरानबाट त्यस्तो नाम रहेको हो भन्ने अर्थ गराइ (पुरानो गोरखापत्रमा नरपति शर्मा पोखरेल) लाई सही मान्न दिँदैनन् त्यस सहरको दुईतिर बग्ने सेउती र सर्दु खोलाका धारहरूले पनि !

पञ्चकोशी

माथि पञ्चकोशीको कुरा गरिएको थियो । र, त्यो आज आएर मात्रै थाहा भएको हो भन्नेचाहिँ होइन । काशीको मूल धार्मिक क्षेत्रमा पुग्ने बाटाको नाम पञ्चकोशी हो ! कुशस्थली (वर्तमान उज्जयनी) परिक्रमा गर्ने कार्यको नाम पञ्चकोशी यात्रा हो ।

यसले वरुण (वरुणावती, वारणावत) र असी (जो अश्विनीको रूपान्तरण हो अर्थात् यार्लुङको) बीचोबीच रहेको काशी (वाराणसी) यसर्थमा कोशी तीर्थको इन्डियन नक्कल हो भन्ने पुष्टि हुन्छ । त्यो पनि अरुण र वरुणकै नाम लिएर पवित्र बन्न पुगेको छ ।

कुशस्थलमा चार समुद्र (पेज ७०८, अवन्तिका खण्ड, स्कन्दपुराण) लेखिएबाटै त्यो यथार्थमा कोशी र चतुर्धाराको नक्कल उज्जयनी (अवन्तिका) ले गरेको हो भन्ने पनि स्पष्ट हुन्छ । कोशीको आध्यात्मिक महत्त्व त्यतिबेलै इन्डियाको मध्यभागसम्म प्रबल भइसकेको छ ।

कुशस्थलमा चार समुद्र भन्ने कुराले कुश घाँसले पवित्र स्थान पाएको कोशीबाट हो भन्ने यकिन हुन्छ । तर, यसरी कोशीबाट कुश नाम रहेको हो लेख्दा कुरो र कुलो जता मोडे पनि भइहाल्यो भन्दै एकथरी उफ्रनेछन् ! यो त्यसै भनिएको होइन । पानीको स्पर्श नगरुन्जेलसम्म कुशलाई पवित्र मानिँदैन, बरु घाँस मात्र मानिन्छ । एक हत्केलाका औँलाहरू टम्म पार्दा अघिल्ला औँलाहरूका ३ काप र हत्केलाको खोपिल्टामा भरिएको एक गरी तिनलाई चारतीर्थ मानिन्छ । तिनका चार अलगअलग नामहरू नै छन् । पानी उभाएर तिनमा पानी भरिएपछि ती चार तीर्थमा परिणत हुन्छन्, जसलाई छोएपछि मात्रै कुश पवित्र हुन्छ ! तट+स्थित अर्थात् पानी बगेर आइरहेको र गइरहेकोसँग सरोकार नराख्ने चेतमा पुग्नु हो तटस्थ भनेको, तीर+स्थान हो तीर्थको मूलरूप भनेर बुझिएन भने कोशी+घाँसबीचको अर्थ बुझिँदैन । ‘स्थान’ को अर्थका निम्ति छुट्टै लेख लेख्नुपर्ने हुन्छ ।

कुशको २१ मुन्टा ओछ्याएपछि त्यो ‘विस्तर’ हुन्छ, जसमा बसिन्छ वा सुतिन्छ । ‘क’ अब ‘व’ मा बदलिएको छ । विषयान्तर लाग्ने, यो लेख्नुपरेको कारण हो शब्दकोशकारहरूले ‘वालिष्ट’ शब्दलाई फारसी मूलको लेखेकाले ।

कोशी विस्तार

आजको नेपालको दक्षिणी सीमापारि काशी र कुशस्थली मात्र छैनन्, कोशल, कौशाम्बी र कुशीनगर पनि छन् । रामका छोरा कुशले राज्य गरेकाले कोशल भएको तर्क इन्डियनहरू गरिरहेछन् । तर, कुश जन्मिनुअघि नै उसको बराजु कोशलमा राज्य गरिरहेको थियो भनेर स्वयं रामायण बताउँछ भन्ने कुराको ख्याल ती पटक्कै गर्दैनन् !

ती नामहरूको यथार्थमा जानुअघि बीचैमा एक हरफ कोरिहालौँ । अंग्रेजीको वाटर कोर्स (पानीको बाटो) मा परेको कोर्स, ग्रीकमा हुने खोर्स, लेटिनमा कोरा, लिथुयनियनमा कार्सिउ वा कास्र्टी, वेल्समा कारको अर्थ एउटै हो र ती सबैको स्रोत कोशी हो भन्ने बुझिन्छ । किसानको अर्थ बरु हुन्छ पानीमा आश्रित कर्म गर्ने, जसको संस्कार गरियो कृषि शब्दले । काश्यपको अर्थ हुन्छ पानीले धोइपखाली गरेर पवित्र बनाउने ।

कोशल र कुशीनगरको इतिहास २५ सय वर्ष, काशीको ३१ सय वर्ष, तर कौशाम्बीको ४ हजार वर्षबाट सुरु हुन्छ । यसर्थ कोश शब्दको उल्लेख गर्ने वेदलाई पश्चिमा र इन्डियनहरूले ३४ सय वर्षपूर्वको माने पनि कोशीको नामकरण र व्यापकता यसै पनि वेदभन्दा धेरै पुरानो थियो भन्ने देखिन्छ ।

काशीका प्रथम शासक दिवोदासका छोरा भनिने प्रतर्दनको नाम आउँछ तेस्रो अध्यायमा कौशीतकी उपनिषद्को, जसलाई तीन हजार वर्षपूर्वको मानिन्छ । यसैको आधारमा काशीलाई ३१ सय वर्षपूर्वको भनेका हुन् इन्डियनहरूले । ‘कस लगाएर चम्काइएको शिवको ज्योति’ भएकाले काशी भनिएको हो भन्छन् इन्डियनहरू । तर, काशीकारीको अर्थ बनेकै पानीले पुछेर चम्काउनुबाट हो, जसरी मसीकारी शब्द बन्छ

अंग्रेजीमा ‘मस्कारा’ !

डोरीले बाँधेर उभाउन खसालिने भाँडालाई ‘कोश’ भनेर ऋग्वेदमा जे लेखिएको छ, त्यो कोशीबाट बनेको छर्लंगै छ । ‘कुशीतक’ नाम तैत्तिरीय संहिताको ५.२३.१ मा आउँछ, जसलाई समुद्री–काग भन्ने अर्थ लगाइएको छ । तर, त्यो ग्रन्थ समुद्र किनारमा लेखिएकै होइन, पूर्वी तराईमा लेखिएको हो । यसो भएपछि त्यो डुमकाग (कर्भस कर्‍याक्स) नभएर अरू कुनै चरा होइन । कोका नदी नाममा परेको कोकाको अर्थ काग नै हो !

अर्को कोशी

कस्सापानी शब्द बागलुङ, म्याग्दी भेगको हो, जसलाई गण्डकी भेग मानिन्छ । कुसारी भन्छन् चेपाङहरू कुसुण्डालाई, जो यही भेगका हुन् । यहाँका गुरुङहरू पानीलाई क्यु भन्छन् र उनीहरूको बसोबास क्षेत्रलाई कास्की भनिन्छ । कुश्मा छ, कालीगण्डकी र मादीको ठीक दोभान छेउ !

कोशल र विदेहबीचको सीमा सदानीरा (गण्डकी) हो भनेर शतपथ ब्राह्मणले लेखेबाट थाहा हुन्छ– गण्डकीको पनि सर्वाधिक पुरानो नाम कोशी नै हो ! यहाँ विदेह भनिएको जनकपुर भेगलाई हो, जसको राज्य विस्तार सीमापारि गण्डकीको पूर्वी किनारसम्म थियो र त्यसको ठीक अर्कोतिरबाट कोशल राज्य सुरु हुन्छ, जहाँ कुशीनगर पनि छ । यसैले कोशल र कुशी नामचाहिँ गण्डकीको देन हो भन्ने टड्कारो छ । कोशल रामायणकालसँग र कुशीनगर बुद्धसँग सम्बन्धित भएको ज्ञात नै छ ।

अरुणाञ्चल १

‘क’ लाई पानी बुझाउने अर्थमा प्रयोग गरेका छन् याज्ञवल्क्यले २९ सय वर्षअघि वृहदारण्यकोपनिषद्को अध्याय ३.१ मा र उनलाई मानिन्छ आजको जनकपुरका !

वरुण पानी र पश्चिमका देवता हुन् (१.३.९)– उनी लेख्छन् । वरुणखोला पश्चिममै पर्छ अरुणको र यतिबेलासम्म वरुणलाई अरूले सूर्य मान्दै आएका थिए पनि ! उनी नै हुन् यसरी पानीका देवता हुन् भन्ने सम्भवत: पहिलो !

नदीको माछा पूर्वतर्फ चलिरहन्छ (ऐजन) लेख्छन् उनी । वरुण नै पूर्वतर्फ लागेपछि माछा पूर्वउन्मुख हुने नै भयो । अन्यथा हाम्रा नदी सबैजसो दक्षिणतिर बग्छन् ।

सेतो पर्वतबाट नदी निस्केर पूर्व र पश्चिमतिर लाग्छन् (१.३.८) उनी लेख्छन् । निश्चय नै सेतो पर्वतबाट निस्केर वरुण र अरुण पूर्वतर्फ लाग्छन्, तमोर पश्चिम लाग्दछ !

बाढी थुन्न पुगेकाले आरुणीको नाम त्यसपछि उद्दालक आरुणी भयो भनेर याज्ञवल्क्यका गुरुबारे महाभारतले आख्यान दिन्छ । त्यो प्रसंग सभापर्वको हो । सभापर्वले मुस्ताङको विवरणसमेत (गुहयकहरूका देवता हाटकेश) हालेको छ भन्ने कुरा यहाँ पृष्ठभूमिमा हेर्नुपर्छ ।

आजको इन्डियाको फर्रुखावाद, बदायूँ र बरेली अर्थात् तत्कालीन कुरुपाञ्चालका हुन् उद्दालक आरुणी भन्ने कुरा उनकै कृतिमा भनिएको छ । यसले गर्दा पश्चिमा संस्कृतज्ञहरू पनि याज्ञवल्क्य स्वयं त्यतैका हुनुपर्छ ठान्छन् । ती १४ सय किलोमिटर परको तक्षशिलामा चाणक्य लागेको र ३२ सय किलोमिटर परको लंका पुग्न राम हिँडेको तथ्यलाई देख्दैनन् ! यसले बुझाउँछ आरुणी स्वयं चतराको बाढी बेलाबेला झेल्ने गर्थे, यसैले उनको नाम नै आरुणी, जसको आश्रममा १७८ किलोमिटर मात्र परबाट याज्ञवल्क्य स्वयं पुगे शिक्षा लिन !

अरुणाञ्चल २

सन् १९६२ को चीनसँगको युद्धयता उसको जुन पूर्वोत्तर भागलाई इन्डियाले केन्द्रशासित राखेको थियो त्यसलाई सन् १९७८ मा अरुणाचल नाम दियो । तर, पूर्वबाट सूर्य उदाउने र सूर्यको अर्को नाम अरुण भएकाले त्यस्तो नाम दिएको

हो ! हाम्रो प्रसंगमा आउने अरुणाचलसँग त्यसको सम्बन्ध छैन !

अरुणाचल भन्ने नाम दिँदै त्यहाँ महाकाली प्रपात, काली कौशिकी र गौरीशिखर छ भन्न बाध्य थियो आठौँ शताब्दीमै अर्को पुराण (स्कन्द) । हिमालयको ज्वाइँ अरुणाचल, वरुणको पूजनीय (पेज. २०२) भनिसकेपछि अरू खोज्नै परेन । वरुण मिल्छ नै अरुणमा ।

आरुणी (अरुण खोला) र व्याधा (पूर्वी पहाडी भाषामा किरावा अर्थात् सिकारी) उल्लेख गरिसकेपछि, त्यही अध्याय (२९) मा २०० वर्षपछिको ग्रन्थ (वराह) ले फेरि उही कुरा दोहोर्‍याएपछि त्यो अरू कुनै इलाका होइन अरुण उपत्यका नभएर भन्ने पनि निश्चित छ ।

इन्डियाको महाराष्ट्रबाट निस्केर उडिसामा झर्ने गोदावरीका दुई स्रोत अरुण र वरुण हुन् भनेर स्कन्दको ४०० वर्षपछिको ग्रन्थ (ब्रह्मपुराण) ले जे जनाएको छ, त्यो आज सही ठहरिँदैन । त्यसका सहायक नदीहरू कुनै पनि अरुण र वरुण नामका छैनन् । उडिसाको यो व्यासले हिमाली भूगोल हेरेको छैन ।

उसले उसको प्रिय गोदावरीलाई पवित्र बनाउन आफूखुसी अरुण र वरुण लगेर मिसाइदिएको छ । यसबाट बुझ्नुपर्छ अरुण र वरुण भन्ने नाम नलिई त्यहाँका तीर्थहरूलाई त्यतिबेलै पनि पवित्र मानिँदैनथ्यो । वरुण र असीको कुरा त माथि गरी नै सकियो ।

पृथ्वी र प्रलय

‘पृथ्वीकी देवी’ भन्ने अर्थ लगाउने गरिन्छ– चोमोलोङमाको । तर, यो उति सही होइन, अधुरो हो । बाबुराम आचार्यले ‘सगरमाथा’ नाम दिँदा ‘झ्योमोलोङमा’ लेखेका छन् । संस्कृत ‘ज्या’ पृथ्वीबोधक हो ज्योग्राफी, ज्योमेट्री, जियोलजीको सूत्रधार, त्यसैको महाप्राण स्वर मात्र हो झ्या ! ज्यामोको अर्थ हो पृथ्वीमाता ! लोङमाको अर्थ दिनलाई झन्डै दुई हजार शब्द थप्नुपर्ने हुन्छ । अहिले त्यता नजाऊँ ।

पृथ्वी अब कृतज्ञ छिन् (वराह) बँदेलप्रति, आफूलाई दाह्राहरू बीचमा बोकेर उसले प्रलयबाट माथि उतारिदिएकामा !

विशुद्ध तिलस्मी भए पनि दसौं शताब्दीको वराह पुराण यही गन्थनको पुञ्ज हो । यद्यपि वराह ३५ सय वर्षअघि नै उल्लेख नभएको होइन ऋग्वेदमा ! ‘मुख र दाह्रा उचालेर म संसारलाई हेर्छु’– भन्ने पंक्ति सम्भवत: १५०० वर्षअघि बनेको मूर्तिलाई हेरेर त्यसको तीन सय वर्षपछि हालिएको क्याप्सन मात्र हो !

कोशी आफ्नो बाटो निरन्तर फेरिरहने, अप्रत्याशित रूपमा र भारी मात्रामा बालुवा, कंकड आदि बोकेर बग्ने बिहारको दु:ख मानिएको नदी हो !

प्रलय शब्द वैदिक पर्जन्यको रूपान्तरण हो । लाक्षणिक अर्थ हो पानीका देवता, क्रुद्ध र संहारक । यही राईहरूको पारुहाङ हो ! पर्जन्यलाई इन्द्र भनेर छुट्टै रूपमा व्याख्या गर्ने यावत् पूर्वीय दर्शनका निक्र्योलहरू गलत हुन्, पश्चिमा लेखाइहरू अज्ञानता हुन् !

प्रलयको अंग्रेजी पर्यायवाची डेल्युग, धापको पर्यायवाची दलदलको अनुकरण हो । अगाडि जग थपिदिएपछि बन्ने जगदल, नेपालीमा जगड्डवाल हुन्छ, अंग्रेजीको म्यानग्रभ । प्रलय बाइबलको भाषामा चाहिँ अपोक्यालिप्स हो ! संस्कृतको पानीबोधक अप्सा र ग्रहणबोधक खग्रासको ग्रीक रूपान्तरण खेफ्लोसबाट यो बनेको छ ।

महामेरु (सगरमाथा, पहिलो उल्लेख तैत्तिरीय आरण्यक) को रूपान्तरण बुझिन्छ । बाइबलको नोहाज (पूरा नाम नोहाज आर्क अर्थात् नोहाको डुंगा) । बाइबलको अरारात बुझिन्छ ।

नेपाली पर्वत, जो अर्को रूपान्तरण हो पर्जन्यको, जसबाट बन्न गएका छन् युरोपका कैयन् शिखरका नामहरू पेर्कुना । यद्यपि यतिबेला आर्मेनियाको त्यो अरारातलाई बाइबलको अरारात मानिन्छ । अपोक्यालिप्स आउँछ इस्वीको तेस्रो शताब्दीमा मात्र पिटरले लेखेको बाइबलमा ।

यतिपछि बाइबलको अपोक्यालिप्स कुन ठाउँबाट टिपिएको हो भन्ने थप व्याख्याको आवश्यकता परोइन !

खुवालुङ

तर, विश्वामित्रका नाति मानिन्छन् सुश्रुत, जसले नेपाल भन्ने नाम लिए लगभग चार हजार वर्षअघि नै ! उनी नै त्यति पहिलेका हुन् भने विश्वामित्र हजार वर्षयताको हुने कुरै आएन हजार वर्षअघिको कथाले नाम लिँदैमा ! र, वराह नै मेघबोधक वृत्त भएर (१.६१.७ र १०.९९.६) मा ३४ सय वर्षअघि नै आइसके भने, जसलाई सुकर = सुँगुर नै भनिएको छ पनि ७.५५.४ मा भने, दसौं शताब्दीको व्यास नामक एक गफाडीले त्यसलाई ठेली बनाइदिएको मात्र हो !

‘मत्स्यशिला’ छ– आठौँ शताब्दीमा (स्कन्द) जे भनियो चतराको विवरण दर्साउँदा त्यो सम्भवत: ३१ सय वर्षअघिको शतपथ ब्राह्मणमा आधारित छ । र, शतपथ पूर्वी तराईमा लेखिएको मानिने वेदकै अंग हो । यसर्थ कोशीको बाटो परिवर्तन लगभग साढे तीन हजार वर्षदेखि इतिहासमा अंकित छ । र, सम्भवत: यो मत्स्यशिला राईहरूको ‘खुवालुङ’ हो !

विश्वामित्रको नाउँ हो कौशिक र ऋग्वेदको २.५२.९ मा भनिएको छ– उनले बाढीलाई रोके ! सायद यही कारण उनले कोशीको किनारमा तपस्या गरेका थिए भनिएको हुन सक्छ । उनको यो वृत्तान्तलाई देवताको वृत्तान्त बनाइएको छ । उनले बाढी रोकेपछि आरुणी त बरु उनै थिए । उनले स्वयं आफूलाई कुशिक वंशी भनेपछि कौशम्बीभन्दा पनि पर ‘कोशी’ कति हजार वर्ष पुरानो नाम होला ?

उपसंहार माने कोका

कोकातीर्थ हो खास नाम वराह क्षेत्रको, जसरी कागवेनी हो मुस्ताङको । काठमाडौंमा कागेश्वरी मात्र होइन गण्डकी क्षेत्रमै पनि काग सम्बन्धित करिब आधा दर्जन तीर्थस्थानहरूको विवरण एक लेखक (गण्डकी प्रसवण क्षेत्र, गुरुङ) ले दिएका छन् । कर्णालीको कमान्ड एरियामा पनि धेरै होलान् ।

यसको अर्थ हो दिवंगत व्यक्तिको अवशेष सेलाएपछि स्वर्गको चराले खाने ठाउँ, पवित्र अन्तिम संस्कारस्थल मानिने ठाउँ । स्यालतीर्थ र गिद्धतीर्थ भन्ने नामहरू त्यहीँको सन्दर्भमा पुराणले उल्लेख गरेबाट पनि यो थाहा हुन्छ ।

सामान्य देवताका रूपमा केही ठाउँ मात्र वेदमा उल्लेख भएका विष्णुमाथि आधारित रहेर आठौं–नवौं शताब्दीमा भएको एउटा मतको बेजोड उठानले कोकातीर्थलाई ‘रुट स्टक’ बनाएर त्यसमा आफ्नो कलमी टाँस्यो वराह अवतारका नाममा । तर, के कुरा सत्य हो भने आदि युगमा यो ठाउँ अन्तिम संस्कारका निम्ति एक प्रसिद्ध स्थान नभएको भए, कोशीको नाम कैलाशसँग नजोडिएको भए र त्यसपछि उत्तरमा सगरमाथा नभएको भए कोशी नदीको यो प्राचीन उचाइ बन्ने नै थिएन ।

अर्थात् कोशी र कोका नदीबीचको दोभान हो खास काशी भनेको !

प्रकाशित : आश्विन २९, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?