२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बिरालोले सुनाएको कथा

कालो बादल छाएर वर्षा भइरहेको रात रोगी विदुषी दिदीलाई अस्पताल दौडाउनुपर्‍यो । किस्ने बेतोडसँग भुक्दै बाहनको पछि दौडियो, झरीले उसलाई रोकेन । बाहनको वेगअघि उसको केही चलेन । त्यस रात किस्ने घर फर्केन । त्यो मायाको परिभाषा कसरी गर्ने होला ?
सुकन्या वाइबा

‘मसँग अलिकति भेनम छ भेनम !’

बिरालोले सुनाएको कथा

मानिसले पशुपन्छीलाई र पशुपन्छीले मानिसलाई दर्साएका निश्छल मायाका कथा सुनाइरन्छिन् माम । यस्तै एउटा नि:स्वार्थ प्रेमको गाथा मामकै विदुषी दिदीको व्यक्तिगत जीवनसँग पनि जोडिएको रहेछ । विदुषी दिदीको जीवनमा भएको मार्मिक घटना नसुनाए त यो कथै अधुरो हुुन्छ ।

कालान्तरमा एउटै छानामुनि बस्ने मौका पाउँदा पनि विदुषी दिदीलाई मैले भेट्न पाइनँ । नभेटेको भए पनि कताकता उनीप्रति श्रद्धा पलाएर आएको छ, यो किट्टी बिरालोको मनमा । आखिर विचार र कामले नै आस्था जगाउने न रहेछ ।

उनले एक कुकुर पालेकी रहिछन्, जसको नाम रहेछ– ‘किस्ने’ । हँँसी–ठट्टा र रमाइलो गरिरहनुपर्ने विदुषी दिदीले उसलाई किस्ने नाम दिनुमा पनि रोचक कथा रहेछ । पाठकवृन्द, मामकी विदुषी दिदीको मन छुने अनुभवको वर्णन गर्नुअघि अलिकति रमाइलो गरूँ है । यसको जिम्मा पनि मै लिन्छु ।

कृष्ण र राम नामले हाम्रो देशमा तहल्का मच्चाएका छन् । सम्पूर्ण जनसङ्ख्याको सायद दुईतिहाइको नाम कृष्ण र राम हुनुपर्छ । मधेसमा झन् रामै राम छन् भने पनि हुन्छ— रामवरण, रामलखन, रामस्वरूप, रामसागर, रामछाया, रामवृक्ष, रामअवतार, रामधुन, रामशरण, रामपूजन । राम त कति कति † यो त लौ भयो, विदुषी दिदीको प्रिय मधेसवासी पत्रकार र लेखकको नामसमेत रामरिझन नै ।

हिन्दु धार्मिक ग्रन्थमा रहेका देवीदेवताका नाम राख्ने परम्परा अचाक्ली छ । बूढाबूढीहरू भन्ने गर्थे– भगवान्को नाम धारण गरे व्यक्तिको सुरक्षा हुन्छ । यहाँ त हामी पशुपन्छी र मान्छे मात्रै होइनन्, भगवान् पनि सुरक्षित छैनन् नि †

भगवान् भनिने कृष्ण नाम पनि त्यत्तिकै छ । बखान गरिरहनै पर्दैन । कृष्ण नामलाई माया गरेर अथवा होच्याएर सम्बोधन गर्दा कृष्णे भनिन्छ । जनबोलीमा भने किस्ने । हो, यो किस्ने शब्दसँग चाहिँ विदुषी दिदीको लगाव रहेछ । यसो भनौँ, मन परेको रहेछ ।

किस्ने ठूलो खाले कुकुर होइन । होचो र छोटो छोटो रौँ भएको । चिल्लो, खराने र कालो रङ्गको सम्मिश्रण भएको जनावर । किस्ने जहिले पनि विदुषी दिदीलाई छोएरै बस्ने गर्दोरहेछ । सायद अरूले छोएको उसलाई मन पर्दैनथ्यो । यही दृश्य देखेर मामले ठट्टा गर्दै ‘हेली सिलासी र उनको सिंह’ भन्ने गरेकी थिइछन् ।

पूर्वी अफ्रिकामा एउटा इथियोपिया भन्ने देश छ । त्यहाँ कुनै समय हेली सिलासी नाम गरेका तानाशाह थिएछन् । चालीस वर्षभन्दा बेसी शासन गरेका सिलासीले कुकुरको सट्टा सिंह पालेका रहेछन् । सायद दुश्मनलाई थर्काउन । सिंह आफ्नो मालिकसँग टाँसिएरै बस्ने गरेको रहेछ । त्यही थाहा पाएर मामले भन्ने गर्थिन्, यो किस्ने पनि हेली सिलासीको त सिंहजस्तै हो ।

किस्ने बामपुड्के भए पनि अति बलियो र चतुर । एकपटक ‘जोनी’ नामक टोलको बडेमानको दादा कुकुरसँग किस्नेको ठूलो लडाइँ भएछ । सानो काँटीको किस्नेले ज्याङ्गो जोनीको कान दाँतले टोकेर छोड्दै छोडेनछ । बलले भन्दा छलले भुत्तुक्कै हुनेगरी सजाय दिएछ । जोनी त रगताम्मे भएर काइँकाइँ कराउँदै कुलेलम ठोकेछ । हुन पनि त्यो किस्नेको दिग्विजय नै मान्नुपर्छ । दादा जोनी संसार डुलेर धाक जमाउँदै हिँड्नुपर्ने । उसको साम्राज्य उसको आफ्नै क्षेत्र म्हयपीमा मात्रै सीमित थिएन, बरु बालाजु, नयाँबजार, सोह्रखुट्टेदेखि ठमेलसम्मै फैलिएको रहेछ । यसलाई पुष्टि गर्ने प्रमाण रहेछन्, यी क्षेत्रमा उसकै रूपरङ्ग लिएर जन्मेका असङ्ख्य बच्चा ।

विदुषी दिदीप्रति किस्नेको अनौठो माया रहेछ । किस्नेप्रति विदुषी दिदीको स्नेह पनि छक्कै पार्नेखालकै रहेछ । दुवैका माया र स्नेह त साँच्चै दन्त्यकथाजस्तो । विदुषी दिदीचाहिँ हाडजोर्नीसम्बन्धी रोगको सिकार रहिछन् । मेचमा बसेर टेबलमा लेख्ने समयबाहेक अरू बेला खाटमै पल्टिरहने रहिछन् । ट्वाइलेट जाँदा मामले सहारा दिनुपर्ने र स्नान गर्दा पनि मामले नै सहयोग गर्नुपर्ने । माम शारीरिक शक्तिकी धनी, तर मनको कमजोर । विदुषी दिदी शारीरिक शक्तिकी गरिब, तर मनको धनी अर्थात् सिंहनीजस्तै ।

विदुषी दिदीको सल्लाह लिन आफन्तलगायत चिनेजानेका मानिसहरूको लामै लाग्ने रहेछ । काम परेको बेला, घरमा अरू कोही नभएको बखत विदुषी दिदीलाई एक्लै छाडेर जान मामलाई सकस हुने रहेछ ।

‘जा... जा..., मेरो पीर नगर । म अजिङ्गर हुँ अजिङ्गर । केही नभए पनि मसँग अलिकति भेनम छ भेनम (विष) ।’ विदुषी दिदी मामलाई त्यसरी आड दिने गर्दी रहिछन् । अप्ठेरो स्थिति बुझेरै त होला, किस्नेले पनि मामकी विदुषी दिदीको कोठा कहिल्यै नछोड्ने रहेछ । एक इमानदार पहरेदारजस्तै कुरुवा बस्ने रहेछ ।

एक पटकको घटना हो । त्रिशूलीतिरबाट एक प्रतिष्ठित महिला विदुषी दिदीलाई भेट्न आइछिन् । उनी मेचमा नबसीकन हान्निएर सोझै विदुषी दिदीतिर पुगिन् र भित्तातिर मुख फर्काई मस्त निदाइरहेकी दिदीलाई सुमसुम्याउन पुगिछन् । यस्तो दृश्य देखेर होला, चितुवाको जस्तो फुर्ती निकालेर किस्नेले झम्टेछ । महिलाको मुखमै टोकिदिएछ । कस्तो असहज परिस्थिति सृजना भयो होला ? हाम्री माम त वर्णन गर्नै सक्तिनन् ।

यस्तै एक मध्याह्नको कुरा हो । लामै समयको अन्तरालमा टाढाको एक जना भाइ त्यस घरमा आएछन् । विगतमा जस्तै सम्झेर उनी दिदीको कोठाभित्र सिधै छिरेछन् । त्यसपछि त आफ्नो खुट्टामा एक्कासि दाँत गाडिएको महसुस भएछ । त्यो त किस्नेको टोकाइ थिएछ । बिनाआज्ञा कोठाभित्र प्रवेश गर्ने अपराधस्वरूप दिइएको दण्ड ।

किस्नेको माया र बहिर्गमन

अँ, म उनीहरू दुवैबीचको अनौठो मायाको कुरा गर्दै थिएँ हगि ?

रोगी विदुषी दिदीको निकैजसो समय अस्पताल धाउनु र डाक्टर भेट्नुमा खर्च हुने गर्दोरहेछ । एक दिन उनलाई साह्रै अप्ठेरो भएछ । कालो बादल छाएर वर्षा भइरहेको रात । उनको स्वास्थ्य बिग्रेकाले इमरजेन्सी नै दौडाउनुपर्ने भएछ । धन्य, मामका पति लामाजी घरमै हुनुहुँदो रहेछ र उनले वाहन बोलाई दिदीलाई अस्पताल दौडाएछन् । असमञ्जसमा परेको पहरेदार किस्ने के–के नै भयो भन्ठानेर बेतोडसँग भुक्दै वाहनको पछि दौडेछ, वर्षाको झरीले उसलाई रोकेन । वाहनको वेगअघि उसको केही लागेनछ । तर, त्यस रात किस्ने घर फर्केनछ । भोलिपल्ट बिहानपख मात्रै थकित किस्ने घर फिरेछ । त्यो मायाको परिभाषा कसरी गर्ने ? मामको प्रश्न ।

मायालु किस्नेसँगको दु:खद वियोगको पनि छुट्टै कथा छ, माम यसै भन्छिन् । एक साँझ एक दरिलो, कसिलो, ठूलो जीउज्यान भएको जर्मन सेफर्ड बाटो बिराएर हाम्रो कम्पाउन्डभित्र आइपुगेछ । उसको पालकको खोजी गरियो, भेटिएन । मामकी कान्छी बहिनीको कोठामा शरणार्थी भएर बसेछ । जर्मन सेफर्डलाई नाम पनि दिइयो— भालु । कुकुरको नामचाहिँ भालु † मलाई त हाँस उठ्यो नाम सुनेर ।

एउटै छानामुनि बास किस्ने र भालुको घर एउटै, कोठाचाहिँ बेग्लाबेग्लै । देखादेख भयो कि महाभारत सुरु भइहाल्ने । दिनमा दसौँ पटक झगडा हुने । यस्तो झगडालु स्थितिमा बीचमा पसेर छुट्याउने काम सिर्फ मामको । अरूको त आँटै नहुने ।

दुई जनावरको झगडा सल्किँदै गएछ मान्छेहरूमा पनि । कुकुरहरूको द्वन्द्वमा एउटै घरमा बेग्लाबेग्लै कोठामा बस्ने दुई परिवारबीच मनमुटाव बढेछ । मनमुटाव मात्रै होइन, झगडा नै हुन थालेछ । सीमातीत हतासको क्षणमा एक दिन विदुषी दिदीले मामलाई बोलाएर भनिछन्, ‘पठाइदे माथि किस्नेलाई ।’

‘माथि’ को अर्थ त बुझिहाल्नुभयो होला । विदुषी दिदीले कुन मुटुले त्यसो भनिन् होली, सोचनीय छ । हुन त पहाडको टुप्पोबाट खसेको ढुङ्गाले पनि अड्ने ठाउँ पाउँछ भनिन्छ । किस्नेलाई पनि माथि पठाउनुपरेनछ । एक सहृदय साथीले स्वीकार गरे र पाल्न लगेछन् । सबै सुख दिएर पालेछन्, सबैलाई सन्तुष्ट हुने गरेर । उनी मुक्तिदाता नै ठहरिए । त्यसपछि सबै साम्य भएछ । तर, विदुषी दिदीको मनको एक कुना रित्तो भएछ, कहिल्यै नपुरिने गरी ।

यसरी गहिरो माया गर्ने मान्छे कमै छन् । अझ, पशुपन्छीमा पनि दु:खसुख अनुभव गर्ने मन हुन्छ भनेर बोध गर्ने झन् कम छन् । यी दुवै गुण भएका भावुक व्यक्तिहरूले केही लेखेका रहेछन् । यसरी नै जनावरको कथा लेखेर चर्चित भएकी थिइन्, बेलायतकी अन्ना सिवेल । ‘ब्ल्याक ब्युटी’ उपन्यास लेखेर उनले नोबेल पुरस्कार पाइन् । ब्ल्याक ब्युटी एक घोडीको नाउँ हो । लेखिका सिवेल १४ वर्षकी किशोरी हुँदादेखि नै शरीरले अशक्त थिइन्, विदुषी दिदीजस्तै । उनले आफूलाई सेवा दिने घोडीमाथि पनि लेख्न सकिन्छ भन्ने देखाइन् । उनले एउटै कृति जन्माइन् र अमर भइन् ।

प्रकाशित : आश्विन २९, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?