२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पृथक् गन्तव्य

उपन्यासमा दुईवटा पक्ष प्रबल छन्– कथानकको शृंखलाबद्ध विस्तार र सशक्त हाजिरीजवाफी संवाद
रमण घिमिरे

नेपाली साहित्यमा नारीलाई केन्द्रीय पात्र बनाएर धेरै उपन्यास–कथा लेखिएका छन् । झन् पद्य विधामा त नारी पात्रलाई प्रस्तुत गर्ने महाकाव्य र खण्डकाव्य नै अनगिन्ती छन् । आख्यानको कुरो गर्दा विश्वेश्वरप्रसाद कोइरालाका ‘सुम्निमा’ र ‘मोदिआइन’ हुन् या विजय मल्लको ‘अनुराधा’ र पारिजातको ‘शिरीषको फूल’ अथवा मदनमणि दीक्षितको ‘माधवी’ होस्– यी सबैमा नारी पात्रलाई चरित्र, मनोविज्ञान र स्वभावबारे फरक–फरक दृष्टिकोणले चर्चा गरिएको छ ।

पृथक् गन्तव्य

हरेक आख्यानमा प्रत्येक लेखकले नारीलाई भिन्नै भावभूमि र भूमिकामा प्रस्तुत गरेका र जीवन्त रूपमा स्थापित गराएका छन् । भर्खरै प्रकाशित सानु शर्माको उपन्यास ‘फरक’ ले नारीलाई अझ पृथक र सहासिक रूपमा प्रस्तुत गरेको छ ।

समाजको आँखामा ‘चरित्रहीन’ देखिए पनि ऊभित्रको निष्ठा, आत्मसम्मान र शिष्टता जीवत रहुन्जेल नारी ‘हीन’ हुन सक्दिन । अनि, समाजका आँखामा कुलीन देखिने नारीभित्र पनि दुश्चरित्र विद्यामान हुन्छ । सानुको उपन्यास ‘फरक’ यी दुई द्वन्द्वबीच यात्रा गर्छ । र, चाहे त्यो पुरुष होस् या नारी उसको पवित्रता या अपवित्रता शरीरमा होइन, मन र विचारमा हुन्छ भन्ने तर्कका आधारमा उपन्यास उभिन्छ । अनि निष्कर्ष निस्किन्छ– जसको मन पवित्र हुन्छ, त्यसलाई चोखिन गंगाजीमा नुहाइरहनु पर्दैन ।

यस उपन्यासमा महिलाका लागि मात्र होइन पुरुष पात्रको मनस्थितिलाई पनि सानुले सारै मिहिन ढंगले विश्लेषण गरेकी छन् । यसकारण ‘फरक’ सन्तुलित विचार र दर्शनको मध्यरेखामा यसरी विस्तार भएको छ, जसरी एउटा रेल लिकमा सन्तुलन नगुमाई यात्रीलाई गन्तव्यसम्म पुर्‍याउन सक्षम हुन्छ ।

उपन्यासका पृष्ठहरू पल्टाउँदै जाँदा अचम्म र उदेकलाग्दा पात्रहरूसँग पटकपटक साक्षात्कार भइरहन्छ । एउटै घरका थरीथरी पात्रहरू आफ्नो निहित स्वार्थसिद्धिका लागि प्रत्यूषविरुद्ध डुक्रिन्छन्, तर एकजुट भएर होइन । किनभने उनीहरू प्रत्येकको अभीष्ट फरकफरक स्वार्थसिद्धिका लागि हुन्छ । त्यस वेला के अनुभव हुन्छ भने मान्छेको सक्कली रूप पहिचान गर्न कठिन छ, किनभने अधिकांश मानिस दोहोरो भूमिका बाँचिरहेका हुन्छन् । तर, उत्कर्षमा जब उनीहरूले लगाएका एकएक मुखुन्डोहरू खुस्किँदै जान्छन् र उनीहरू वास्तविकताको धरातलमा अवतरित हुन्छन्, अनि पाठक स्वयम् आश्चर्यमा पर्छ ।

सानु शर्माको यो ‘फरक’ उनका उपन्यास र कथा गरी पौने एक कृतिपछिको उपन्यास हो । उनका अघिल्ला उपन्यास र कथाहरूमा झैँ ‘फरक’मा पनि भेटिने समानता हो नाटकीय उठान र तर्कसंगत बैठान । यस उपन्यासमा सुरुका घटनाहरू नाटकीय लाग्दालाग्दै पनि पाठकलाई पढ्न प्रोत्साहित गरिरहन्छन् । पछि जब यिनै घटना र पात्रहरूको पुस्ट्याइँ तर्कसंगत ढङ्गले हुन्छ, अनि पाठकको द्विविधा समाप्त हुन्छ । कथानकको अन्तिमतिर प्रत्यूषको घरमा अचानक आगलागी हुन्छ । त्यसपछिका घटनाहरू बढी लोमहर्षक छन् । अब के हुने हो भन्ने कूतहलता अझ बढी तीव्र हुन्छ । पछिल्लो अध्यायमा ‘बिनी’ ले निर्वाह गरेको भूमिका र रहस्योद्घाटित उसको अतीत–वृतान्तले उपन्यासमा अझ रोचकता थप्छ । घटना, पात्र, अवस्था आदिलाई संयोजित र परिस्कृत ढंगले सानु शर्मा जब उपन्यासमा नारीको चरित्रहत्यामा पुरुषको व्यभिचारी कृत्यको भूमिका प्रमुख हुन्छ भन्ने उद्घोष गर्छिन्, यो कुनै चलचित्र भए हेरिरहेका दर्शकहरू हत्केलामा ठेला उठ्ने गरी थपडी बजाउँथे ।

हिजोआज हाडनाता करणी र नाबालिका बलात्कारका घटनाहरू समाचार माध्यममा छ्यापछ्याप्ती आइरहेका छन् । यस्ता समाचारहरूको कसीमा ‘फरक’ को मूल्याङ्कन गर्दा हरेक यसका घटनाहरू समाजको रङ्गमञ्चमा मञ्चित वास्तविक नाटकजस्तो लाग्छन् ।

उपन्यासको आरम्भमा सुप्रिया (पत्नी) को टेलिफोन वार्ताले फनफनिएर गाडी चलाउँदा झन्डै दुर्घटनामा पार्छ प्रत्यूष । कहिल्यै सुरापान नगर्ने ऊ पत्नीको कटुकर्ण वाणीले रनथनिएर एउटा भट्टीमा पसेर लोकल रक्सी तनतनी तन्काउँछ । त्यहाँबाट गाडी हुर्‍याउँदै पोखरा पुग्दा सडकमै यौनकर्मी बिनीसँग जम्काभेट हुन्छ । बिनीले फेरि उसको दिमाग भुटिदिन्छे । उसले नचाहँदानचाहँदै पनि बिनी लिफ्ट मागेर उसलाई एक रातको ग्राहक बनाउन तम्सिन्छे । तर, रात घनीभूत हुँदै जाँदा बिनीले यति धनाढ्य प्रत्यूषलाई यसअघि भेटिएका परस्त्री गमनमा महारथ हासिल गरेकाहरूभन्दा फरक, सौम्य र सुसंस्कृत पुरुषका रूपमा अनुभव गर्छे । र, प्रत्यूषले पनि मन्दिर जाने क्रममा यौनकर्मी भएर पनि बिनीमा शिष्टता, आस्था र संस्कार अरू नारीमा भन्दा पनि बढी पाउँछ । अनि दुइटाको मनमा एकअर्काप्रति आत्मसम्मानको भावनाको मुना टुसाउन थाल्छ । उता शालीन र शिष्ट भनेर आफ्नै सहायकलाई यति ठूलो कुलघरानामा भित्र्याएको सुप्रिया पत्नीभन्दा उसको सम्पत्ति हत्याउने दाउमा बढी सक्रिय हुन्छे । ऊवरिपरि अधिकांश परिजनहरू पनि उसको सम्पत्तिकै लागि मात्र आफन्त भएको अनुभव हुन्छ । यसैबीच प्रत्यूषलाई अचानक पक्षाघात हुन्छ र फेरि बिनी उसको जीवनमा प्रवेश गर्छे । त्यसपछिका एकएक घटनाक्रम रोचक आरोह र अवरोहबीच बयली खेल्दै अघि बढ्छन् ।

यस उपन्यासमा मुख्यतः दुईवटा पक्ष प्रवल छन्– कथानकको शृंखलावद्ध विस्तार र सशक्त हाजिरीजवाफी संवाद । कथानक कुनै हिमनदीझैँ विनाकुनै अवरोध छङछङाएर अघि बढ्छ भने यसको संवाद त्यही हिमनदीको पानीझैँ स्वादिष्ट हुन्छ । साथै पात्रको चरित्र, व्यवहार र स्वभावमा पनि एक भारी दर्शन र सिद्धान्त भेटिन्छन् । आरम्भदेखि सुनामी चलाएर कथाको विस्तार, पात्रको मनोदशा र घटना–वृत्तान्तमा उथलपुथल मच्चाउँदै अन्त्यमा फेरि सुतेको समुद्रजस्तै शान्त र सुरम्य मोडमा पुग्छ ‘फरक’ । र, युद्धले होइन, मायाले मानिसको मन जित्न सकिन्छ भन्ने मान्यतामा कतै गुनगुनाइरहेका हुन्छन् नारायणगोपालले चाँदनी शाहको लोकप्रिय गीत– ‘एउटा मान्छेका मायाले पनि फरक पार्दछ जिन्दगीमा... ।’

‘फरक’ अलि बिझाउने एउटै प्रसङ्ग के छ भने बिनीले एउटा धनाढ्य व्यक्तिलाई एउटी यौनकर्मीले सम्बोधन गर्ने भाषा ‘तिमी’ र ‘तपाईं’ बीचको द्विविधा या भ्रम धेरैपटक दोहोरिन्छ । यसलाई कम गरेको भए पनि उपन्यास पठनमा कुनै अवरोध हुने थिएन ।

प्रकाशित : आश्विन ८, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?