कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कोसेली

‘धर्मकर्मको रुद्रीदेखि विचारको अग्निदीक्षासम्म’

झलनाथ खनाल

हाम्रो घरमा थिए– भागवत, वेद, रुद्री । ती किताब बुवा पढ्नुहुन्थ्यो । इलामको साँफेजुङमा हजुरबुवा–बुबाले मलाई संस्कृति पाठशाला पढाउनुभयो । त्यसबेला पढिएका किताब थिए– ‘दुर्गाकवच’ र ‘चण्डी’ । ११–१२ सालतिरको गाउँको त्यो पाठशालामा लेखनाथ पण्डितले हामीलाई ती किताब पढाउनुहुन्थ्यो । मेरो व्रतबन्ध भएको थिएन । ‘दुर्गाकवच’ केही दिनमै सिध्याएँ, ‘चण्डी’ केही महिनामा । व्रतबन्धबिना रुद्री, वेद पढ्न पाइँदैनथ्यो । तर, मैले पढें । त्यस घटनाले पण्डित अप्ठ्यारोमा परेका थिए ।

‘धर्मकर्मको रुद्रीदेखि विचारको अग्निदीक्षासम्म’

२०२० सालतिर क्याम्पस पढ्न काठमान्डु आएँ । सहरभित्रका अँध्यारा गल्लीतिर पस्न डर लाग्थ्यो । चीनबाट प्रकाशित हुने पत्रिका ‘चीन सचित्र’ पढ्थें । भोटाहिटीमा निरञ्जनगोविन्द वैद्यको किताब–पसल थियो– ‘प्रगतिशील पुस्तक भण्डार’ । उहाँ ‘पढ्न मन छ भने लैजानुस्’ भन्दै थुप्रै किताब दिनुहुन्थ्यो मलाई ।

निकैअघि मैले पढेका केही किताब बरोबर सम्झिरहन्छु– मार्क्स र एङ्गेल्सको ‘द कम्युनिस्ट मेनिफेस्टो’, लेनिनको ‘द डेभलपेन्ट अफ क्यापिटालिजम इन रस्सा’ र माओत्सेतुङको ‘अन कन्ट्राडिक्सन’ ।

द कम्युनिस्ट मेनिफेस्टो

विश्वभरिकै कम्युनिस्टका लागि पहिलो र प्राथमिक अध्ययनको पाठ्यक्रम हो– ‘द कम्युनिस्ट मेनिफेस्टो’ । आजको परिस्थिति त्यो घोषणापत्र लखेभन्दा धेरै भिन्न भइसक्यो । तर, यो किताबले अघि सारेको दृष्टिकोण र मेथड आज पनि उत्तिकै वैज्ञानिक छ । यो किताब मैले ४–५ पटक पढेको छु । धेरैलाई सिफारिस पनि गरेको छु । २०२४ सालमा पहिलोपटक पढेँ यो किताब, जतिबेला म आईएस्सी पढ्थें ।

त्यसबेला राजनीतिक प्रतिबन्ध मात्र होइन वाक् स्वतन्त्रता, लेखन स्वतन्त्रता, संगठन स्वतन्त्रता पनि अपहरित भएका थिए । त्यस्तो बेला म मार्क्सवादप्रति आकर्षित भएँ । यो किताब त्यति बेला मैले हिन्दीमा पढेँ, पछि पुष्पलालले गर्नुभएको नेपाली अनुवाद पनि पढेँ ।

समाज विकास प्रक्रियामा पुँजीवादको उद्भव कसरी भयो ? कसरी विस्तार भयो ? पुँजीवादी अधिसंरचना कसरी फैलिँदै गए ? पुँजीवाद उत्पत्ति भएपछि दुइटा जुम्ल्याहा वर्गको रूपमा पुँजीपति र मजदुर वर्ग कसरी जन्मिए ? तिनीहरूबीच कसरी अन्तरविरोध बढ्दै गए ? यी विषयमाथि ‘द कम्युनिस्ट मेनिफेस्टो’ ले व्याख्या गर्छ ।

पुँजीवादी उत्पादन सम्बन्ध अगाडि बढ्दै जाने सिलसिलामा यो निजी स्वामित्वमा छ, तर उत्पादन प्रक्रिया सामूहिक छ । सामूहिक उत्पादन प्रक्रिया अगाडि बढ्दै जाँदा निजी स्वामित्वले थाम्न सक्दैन, आखिरमा फेरि अर्को समाजवादी क्रान्ति हुन्छ र समाज समाजवादीमा रूपान्तरित हुन्छ ।

समाजवादका अनेक भेरियन्ट हुन सक्छन्– निम्न पुँजीवादी समाजवाद, बुर्जुवा समाजवाद, सामन्ती समाजवाद ! यस्ता अनेक समाजवादले मानिसलाई दिग्भ्रमित पार्न सक्छन् । तर, सर्वहारा श्रमिक वर्गले लक्ष्य गरेको समाजवाद वैज्ञानिक समाजवाद हो । ढिलो–चाँडो विश्वका सबै मुलुक यही दिशामा अगाडि बढ्छन् भन्ने कम्युनिस्ट घोषणापत्रले बताउँछ ।

द डेभलपेन्ट अफ क्यापिटालिजम इन रस्सा

यो किताब मैले ०४१–४२ सालतिर पढेँ । रुसमा लामो समयदेखि सामन्ती समाज थियो । त्यो समाज क्रमशः पुँजीवादी हुँदै अघि बढिरहेको थियो, १९औं शताब्दीको आधापछि । २०औं शताब्दीमा आइपुग्दा एकदमै तीव्रताका साथ पुँजीवादको विकास भइरहेको थियो । सामन्तवाद विखण्डित हुँदै गइरहेको थियो ।

पुँजीवादको विकास र विस्तार हुँदा सामन्तवाद कसरी विखण्डित हुँदै जान्छ ? त्यसको विविध दृश्य एकदमै ज्वलन्त प्रस्तुतिमा लेनिनले यो किताबमा लेखेका छन् ।

समाजमा ऐतिहासिक, भौतिक विकासअनुरूप जसरी विकास भइरहेको हुन्छ, त्यस क्रममा सामन्तवादको युगबाट पुँजीवादको युगमा समाज कसरी संक्रमण गरेर जान्छ ? भौतिक रूपले संक्रमण गरिरहेको यो प्रक्रियालाई किताबले सुन्दर ढंगमा प्रस्तुत गरेको छ ।

क्रान्तिभन्दा अघिको अवस्थामा हाम्रो समाज पनि त्यसैगरी परिवर्तन भइरहेको थियो । यो किताबले नेपाली समाज र यताको क्रान्ति बुझ्न पनि सहयोग गर्‍यो ।

अन कन्ट्राडिक्सन

माओत्सेतुङको किताब ‘अन कन्ट्राडिक्सन’ मैले विद्यार्थीकालमै (सायद ०२५ सालतिर) पढेँ । सुरुमा एक प्रतिशत पनि बुझिनँ । यो दर्शनसम्बन्धी किताब हो । पटकपटक पढ्दै गएपछि बल्ल बुझ्दै गएँ । समाजमा के–कस्ता वर्गीय अन्तर्विरोध हुन्छन् ? जस्तो सामन्ती समाजमा सामन्त र जनताबीच अन्तर हुन्छ । पुँजीवाद विकसित भइरहेको छ भने पुँजीवाद र श्रमिकबीच अन्तर हुन्छ । त्योभन्दा अन्य वर्गबीच पनि अन्तर्विरोध हुन्छ । विभिन्न अन्तर्विरोधमध्ये कुनै एक अन्तर्विरोध प्रमुख हुन्छ । त्यो प्रमुख अन्तर्विरोध कसरी पत्ता लगाउने ? किताबले बुझाउँछ ।

प्रमुख अन्तर्विरोध पत्ता लगाए मात्रै त्यसलाई समाधान गर्ने क्रममा त्यो समाज विकास गर्न सकिन्छ भन्छ किताब । समाज क्रान्तिको प्रक्रियामा छ भने क्रान्ति पनि ठीक ढंगले सम्पादन गर्न सकिन्छ वा समाज निर्माणको प्रक्रियामा छ भने पनि ठीक दिशामा अगाडि बढाउन सकिन्छ । समाजमा के कस्ता वर्गीय अन्तर्विरोध जन्मन्छन् ? किन जन्मन्छन् ? र, कसरी तिनको समाधान हुन्छ ? प्रमुख अन्तर्विरोध चिन्न सक्नु समाज रूपान्तरण गर्ने मानिसका लागि महत्त्वपूर्ण विषय हो भन्ने किताबले बताउँछ ।

अहिले मेरो घरमा २० हजारभन्दा बढी किताब छन् । ३०–४० को दशकमा मैले धेरै किताब पढेँ । म्याक्सिम गोर्कीका धेरै किताब पढेँ, सबैभन्दा प्रिय हो– आमा । लु सुनका थुप्रै किताब (खासगरी निबन्धहरू) पढेँ । निकोलाई आस्त्रोभस्कीको ‘अग्निदीक्षा’ मेरो असाध्यै प्रिय किताब हो । लियो टल्सटयको ‘युद्ध र शान्ति’ पटकपटक पढेको छु ।

नपढ्ने मान्छे नेता हुँदैन

आज हरेक मान्छेले अध्ययनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ । राजनीतिकर्मीले झन् पढ्नुपर्छ । ‘हाँक्छु, नेतृत्व गर्छु’ भन्नेले नै नपढे उसबाट नेतृत्व सम्भव हुँदैन । नेपालको कम्युनिस्ट आन्दोलनमा विगत केही कालखण्डदेखि दक्षिणपन्थी अवसरवाद हावी भएको छ । त्यो भनेको बुर्जुवा विचार हो । मानिसहरू पहिले अध्ययन, चिन्तन मनन गर्थे, निःस्वार्थ थिए । अहिले व्यक्तिगत स्वार्थ, पदीय आकांक्षातर्फ लाग्ने मनोवृत्ति हुर्किएको छ । कम्युनिस्ट आन्दोलनका थुप्रै साथी अल्छी भएका छन्, अध्ययनशीलता कमजोर छ । युवालाई अभिप्रेरित गर्ने विषयमा नेतृत्वपंक्तिको भूमिका कस्तो छ ? कतै नेतृत्वपंक्तिले नै अध्ययनशीलता गुमाइरहेको अवस्थामा छ कि ? यो प्रश्न गरिरहनुपर्छ हामीले ।

हामीसँग एकेडेमीहरू छन् । सांस्कृतिक अध्ययनका विषयलाई हामीले अझै व्यापक बनाउनुपर्छ । र, सबै पालिकामा लाइब्रेरी विकास गर्नुपर्छ । म एकदमै छोटो समय प्रधानमन्त्री भएँ, तर पठन–संस्कृतिको विकास गर्न यसको आवश्यकता–बोध म सधैं गर्छु ।

उल्थाको खोजी

एक पटक संस्कृत विश्वविद्यालय, दाङ गएँ । त्यहाँ लाइब्रेरीमा याज्ञबल्क स्मृतिग्रन्थदेखि अनेकौं स्मृतिग्रन्थ रहेछन् । तर, ती किताब संस्कृतमा छन् । संस्कृतमा यत्रो विपुल साहित्य हामीसँग छ । तर, त्यो नेपालीमा पढ्न पाइँदैन । सबैले संस्कृत बुझ्दैनन् । याज्ञबल्क, गार्गीका ती किताब नेपालीमा पढ्न पाए, कस्तो आनन्द हुन्थ्यो !

बुद्धले बोलेका त्रिपिटक नेपालीमा पढ्ने ठूलो रहर छ । उनको दर्शन हो– त्रिपिटक । नेपालीले अहिलेसम्म त्यसलाई नेपालीमा उल्था गर्न नसक्नु, ठूलो विडम्बना हो । कतै केही उल्था हुन थालेको छ । तर, समग्रमा त्रिपिटक उल्था भएको छैन । किन त्रिपिटकलाई नेपाली–उल्था गर्न नसकेको ? किन यसलाई प्राथमिकतामा राखिएन ? एकेडेमीलाई मेरो प्रश्न छ ।

–कुराकानीमा आधारित

प्रकाशित : श्रावण २८, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?