कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
फोटोकथा

१७ वर्षपछि उजेली

किरण पाण्डे

१७ वर्षअघि (२०६२) पहिलोपटक काठमाडौंबाट हुम्ला टेक्दा त्यो ठाउँबारे मेरो मस्तिष्कमा ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिर अंकित थियो । उतिबेला सदरमुकाम सिमकोटमा पत्रकार भैरव रिसाललगायतले ‘उज्यालो अभियान’ चलाइरहेको सुनेको थिएँ । पुगेपछि थाहा भो– सोही अभियानअन्तर्गत सदरमुकाम आसपासका गाउँहरूमा ‘सोलार टुकी’ बल्न थालेको रहेछ ।

१७ वर्षपछि उजेली

सदरमुकाम छेउकै तल्लो गाउँमा उजेली रावतलाई भेट्टाएँ । नामैले आकर्षित गरेको थियो मलाई । हुम्लाको उज्यालो तस्बिर खोजिरहेका बेला मसामु आइपुगिन्– ‘उजेली’ । त्यतिबेला पहिलोपटक उनको तस्बीर खिचेको थिएँ । त्यसपछि २०७१ र २०७९ मा उनको तस्बिर खिचेँ, जीवनमा आएको बदलावलाई क्यामेरामा कैद गरेँ । तर, अझै उनको नाम सुहाउँदो हुम्ला ‘उज्यालो’ भएको महसुस गरिनँ ।

पहिलोपटक तस्बिर खिच्दा उजेली १८ वर्षकी थिइन्– पिठ्युँमा बच्चा र हातमा किताब बोकिरहेकी ! ०७१ मा फेरि हुम्ला जाने अवसर मिल्यो । तर, त्यसबेला हुम्ला सम्झनेबित्तिकै मेरो दिमागमा गरिबी र अभावको चित्र बनेको थिएन, ‘उजेली’ को अनुहार थियो । ८ वर्षपछि भेट्दा तीन सन्तानकी आमा भइसकेकी रहिछन् उजेली । पहिले आफू पढ्थिन्, त्यसबेला छोराछोरी पढाइरहेकी थिइन्– सोलारको टुकीमा होइन बिजुलीको मधुरो प्रकाशमा । २५० किलोवाटको हेल्दुङ जलविद्युत् आयोजनाले सोलार टुकीबाट जनतालाई छुटकारा दिलाएको थियो ।

८ वर्षपछि यसपटक फेरि ०७९ साउन ३ मा हुम्ला पुगेँ । यसबेला साइकलयात्री मंगल लामा ‘ग्रेट हिमालयन ट्रेल’ को १७०० किमि दूरी पार गरेर ८८ औं दिनमा हिल्सा पुग्ने भएपछि उनको फोटो–स्टोरी गर्न हुम्ला पुगेको थिएँ । लामो साहसिक यात्रापछि हिल्सा आइपुगेका थिए मंगल । उनलाई भेट्ने उत्साह त थियो नै, सँगै उजेलीको यात्रालाई क्यामरामा कैद गर्न पाइने खुसी पनि थियो । देशको यति दुर्गम भेगमा बाँचिरहेको एउटा जीवनमा समयसँगै आएको परिवर्तन पटकपटक कैद गर्न पाउनु फोटोग्राफरका लागि दुर्लभ अवसर हो, यसले झनै उत्साही बनाएको थियो । उजेलीमार्फत मैले हुम्लाको परिवर्तन पनि महुसस गर्न पाएको थिएँ ।

पहिले पनि र अहिले पनि म हवाइजहाजबाटै हुम्ला पुगेँ । कणार्ली राजमार्गले अझै सिमकोट भेट्टाएको छैन । खच्चड र हवाइजहाजबाटै नुनदेखि सुनसम्म ओसार्नुपर्छ । त्यसरी ओसार्नुपरेपछि ती सामग्रीको मूल्य असाध्यै बढ्छ । पछिल्लोपटक म सिमकोट पुग्दा गोलभेंडा प्रतिकिलो ५५०, अण्डा एक क्यारेटको १०००, चिनी एक किलोको २५० देखि ३००, ब्रोइलर कुखुराको मासु प्रतिकिलो ८५० रुपैयाँ थियो । खाली ग्यास सिलिन्डर भर्नुपरे ६,५०० र पूरै ग्याससहित सिलिन्डर किन्नुपरे त ११ हजार रुपैयाँ पर्थ्यो । यस्तो महँगीमा उजेलीको परिवारले कसरी जीवन चलाइरहेको छ ? सम्झँदा पनि कहाली लाग्छ । काठमाडौंमा मैले यही मूल्यमा खाद्य सामग्री किन्नुपरेको भए, सायद मेरो दैनिकी कसरी चल्दो होला !

हुम्लामा चामल र नुनचाहिँ सरकारले अनुदान दिएरै भए पनि काठमाडौंकै दरमा पुर्‍याउँदो रहेछ । तर, त्यही चामल लिन पनि उति सहज छैन । पञ्चायतकालको सुरुवातमा जब प्रशासनिक कामका लागि काठमाडौंबाट मान्छेहरू कर्णाली पुग्न थाले, तब त्यहाँ चामल हुँदो रहेनछ भन्ने तथ्य शासकलाई थाहा हुन थाल्यो । अनि खाद्यान्न अभाव रोक्ने तत्कालीन उपायका रूपमा हवाइजहाजमार्फत चामल पुर्‍याउन थालियो । यो उपाय अझै निरन्तर छ । यसले स्थानीय उत्पादन र कृषि प्रणाली ओझेलमा पर्‍यो । तिते फापर, सिस्नु, चिनो, उवा, कोदो, रातो च्याउको उत्पादन कम हुँदै गयो । यसले खाद्य निर्भरता पनि बढाएको दखिन्छ । एक दशकअघिसम्म यस्तै अवस्थाबाट गुर्जिरहेको जुम्लाको कर्णाली राजमार्गमा मोटर चल्न थालेपछि खाद्य वस्तुको मूल्य त घटेको छ, तर स्थानीय कृषि प्रणाली जोगाउन सकिएको छैन । सरकारले ०७५ सम्ममा देशका ७७ जिल्ला सदरमुकाममै मोटरबाटो पुर्‍याउने घोषणा गरे पनि हुम्लाको सिमकोटमा अहिलेसम्म मोटरबाटो पुग्न सकेको छैन । तर, जिल्लालाई भने मोटरबाटोले छोएको छ ।

हुम्लाका मान्छेहरूको मुख्य आम्दानीको स्रोत हो– जडीबुटी, तर त्यसले बजार पाइरहेको छैन । ‘हुम्लामा स्याउ उत्पादन बढिरहेको छ तर, बजार नपाएर गाईबस्तुलाई खुवाउनुपरिरहेको छ’, स्थानीय जंग लामाले भने । जंगले यस्तो भनेको सुन्दा कसको मन कटक्क खाँदैन र ? हुम्लाको यस्तो परिवेशमा उजेलीको जीवन यात्रा झन् कष्टकर छ ।

३५ वर्षमा ४ छोराछोरीकी आमा बनेकी उजेलीलाई पछिल्लोपटक भेट्दा सोधेँ, ‘यहाँ यति धेरै छोराछोरी हुर्काउन गाह्रो हुँदैन ?,’ उनले हाँस्दै जवाफ दिइन्, ‘एउटा, दुइटा पाएको भए पो सुखले बिग्रिन्थे त, ४ वटा भएपछि त दुःखै दुःख हुन्छ आफैँ हुर्किहाल्छन् नि !’

विगतमा उनीसँग सम्पर्क गर्ने कुनै माध्यम थिएन । अहिले प्रविधि उनीसम्मै पुगेको छ । यसपटक भेट्दा उनी मोबाइलमा ‘टिकटक’ चलाउँदै थिइन् । उजेलीले छोराछोरीको स्याहारसुसार र खेतीपातीमा ध्यान दिनुपर्ने भएपछि १० कक्षाभन्दा माथि पढ्न सकिनन् । तर, उनका छोराछोरी बिजुलीको उज्यालोमा पढ्छन् । घरमा टीभी पनि छ । आजकल ‘आनन्दी सिरियल’ हेर्छिन् । उजेलीकी जेठी छोरी अहिले १० कक्षा पढ्ने भएकी छन् । र, कान्छी छोरी २ कक्षा पढ्छिन् ।

छुट्टिने बेला उजेलीले भनिन्, ‘हामीलाई पैसा कमाउन गाह्रो छ । सामान असाध्यै महँगो छ । गाडी आइपुगे हाम्रो पनि सुखको दिन फिर्थ्यो कि !’

म पनि अर्कोपटक गाडीमै चढेर उनको घर पुग्न चाहन्छु, फोटो खिच्न चाहन्छु । के मेरो रहर पूरा होला ?

प्रकाशित : श्रावण २१, २०७९ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?