कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कोसेली

मैले प्रेम गरेका रूखहरू

जुन रुखको छायामुनि बसेर म काव्य चिन्तन गर्थें, त्यो रुख जोगियो । मैले प्रेम गर्ने अन्य धेरै रुख जोगिए । अहिले सल्लेरीमा आकाश छेड्लान्झैं उभिएका ती रुख देख्दा आगलागी र संघर्षका दिन याद आउँछन् ।
भूपिन

यसपालि गाउँमा गर्मी बिदा बिताउँदा विगतमा भन्दा बढी नै व्यस्त भएँ घुमाइमा । आमाले भर्खरै छोडिजानुभएको घर, यस आलो पीडाबाट मुक्तिका लागि पनि मनले कल्पिनेबित्तिकै म निस्किहाल्थेँ घरबाट । प्रकृति र चराहरूको पृष्ठ संगीतमा म सकेसम्म हिँडिरहन्थेँ ।

मैले प्रेम गरेका रूखहरू

लेखक रोशन शेरचनले मैदारो ट्रेल नाम दिएको आफ्नै जन्मथलोमा जता जान्थेँ, मलाई पुराना सुखदुःखका कैयन् स्मृति कथाहरूले घेर्न थाल्थे । कतिपय आमाबाबासँग जोडिएका । कतिपय आफन्त र दौतरीहरूसँग जोडिएका ।

मेरो गाउँ आम नेपाली गाउँझैं चौतारीहरूको गाउँ हो । वरपीपलका जोडी रूखहरूमुनि पसिना ओबाउने किसान र श्रमिकहरूको गाउँ हो । गाउँका पुराना चौतारीहरू देखेर मन प्रायः खिन्न भयो । बिरानिएका चौतारीमा वरपीपलका दर्जनौं ठुटे रूखहरू ठिंग उभिएका दृश्यले मन उजाड पारिरह्यो । ती रूखहरू विकासका नाममा बलिवेदी चढेका जस्ता लाग्थे । रूखहरूको निर्मम हत्यासँगै गाउँको हरियो इतिहास र संस्कृति विरूप भएको बोध भइरह्यो । संरक्षण कविता आन्दोलनको एक सामान्य अभियानकर्ता म, विगत दुई दशकदेखि प्रकृति संरक्षणसहितको विकास मेरो पक्षधरता हो । गाउँमा प्रकृति विनाशको जगमा उभिएको विकास आएछ । हरेक लेखकको मनमा प्रिय पुस्तक, प्रिय पात्र, प्रिय संगीत, प्रिय सहर, प्रिय मानिस र प्रिय कलाजस्तै प्रिय रूखहरू पनि अवश्य हुन्छन् । रूखहरूको विम्बले नै लेखनलाई हरियो बनाउन मद्दत गर्छ ।

आज मलाई प्रिय रूखहरूबारे लेख्न मन लागेको छ ।

खोलाखेत र शमीको रूख

खोलाले पालेका खेतहरूले हामीलाई पाले । जहाँजहाँ खेत र खेतको छेउ वा बीचतिर बगिरहेका खोलाहरू देख्छु म गहिरो आनन्द महसुस गर्छु । यस्तै एक खोलाको किनारमा हाम्रो खेत छ, खोलाखेत । करिब तीन दशकपछि माल्दाइसँग खोलाखेत पुगेँ । बितेका तीस वर्षहरू म धेरै ठाउँ पुगेँ, तर खोलाखेत पुगिनँ । सम्झनाहरूमा, सोचहरूमा र कतिपय सपनामा म बारम्बार पुगिरहन्थेँ, खोलाखेत । खोलाखेत, जहाँ मेरा बाआमाले पसिनाको बीउ रोप्नुभयो, जहाँको माटामा फलेका बाआमाको पसिना खाएर हामी पालियौं ।

खेतको बीचबाट एडीबीको सडक कालोपत्रे भएर कुदेछ । कल्पनातीत परिवर्तन थियो त्यो । तियारी खोलाबाट खेततिर लाग्दा महसुस हुने ओस र लेउ मिसिएको खोलाको सुगन्ध महसुस गरेर आनन्दको अनुभूति गरेँ । दुःखको कुरा, खेतवरिपरि बाल्यकालमा पौडिएका दहहरू हराएछन्, कुलाहरू पुरिएछन् ।

धान रोप्ने समयमा आमाले बनाउनुभएको खाजा खाने चिप्लेढुंगामा बसेर पूर्वजहरूले गुलजार पारेको खेत नियाल्दा मन भावुकताले भरियो । उहिलेउहिले पसिनाका बुँद चुहिने खेतमा यसपालि आँसुका बुँदहरू चुहिए ।

थकान बिसाउने चिप्लेढुंगाबाट वरिपरि नियालेँ, अहिले त खेतमा केवल सिरु उम्रिएको रहेछ ।

मैले खेतमा बाल्यकालका मेरा प्रिय रूखहरू खोजेँ । केही रूखहरू हराएछन् । खलेगरामा उभिएको खन्युको रूख हराएछ, पानीटारको टुनीको रूख हराएछ, धापेखोला छेउको बाँसघारी हराएछ । खेतको उपल्लो खण्डस्थित ढुंगैढुंगाको ढाडमा अग्लिएको क्यामानुको रूख भने ढकमक्क फुलिरहेको थियो । त्यसलाई देखेर मनमा आनन्दको सञ्चार भयो । त्यो रूखमा फलेका स्वादिष्ट क्यामानु खाएर बिताएको स्वर्णिम बाल्यकाल सम्झनामा आयो । ब्याडेगराको बान्नोमा बडहरका रूखहरू अझै उभिएका थिए । ती रूखको हाँगामा बसेर समाहा चलेका खेतहरू हेर्दै युधीर थापा र प्रकाश कोविद पढ्थेँ । पछि ओशो, गोर्की, याङ मो र टोल्सटोय पढ्ने भएँ । स्वादिला बडहरका फलहरूले चिप्लेढुंगासम्मको खेत बसाउँथ्यो ।

धापेखोला र तियारी खोलाको कारण हरदम ओसिलो माटो बसाइरहने मेरा बालसखाहरूको गाउँ अर्माहा बदलिएछ । उनीहरूसँगै मती खोलामा हत्केकी खेलेर माछा पक्रिन्थेँ, उनीहरूले चौरको लाप्छा काटेर बनाएका दहहरूमा पौडिन्थेँ । कालोपत्रे सडकले गाउँ त बदलेछ, तर त्यसले बाल्यकालमा प्रेम गरेका कैयन् रूख र चौतारीहरू भत्काएछ । खेतबाट फर्किंदा बडहरे हुँदै कुमाल खोला झर्‍यौं, आमाले पानी बोक्ने पँधेरोबाट थोपा पानी झरिरहेको थिएन । त्यो पँधेरो आमाको मृत्युपछि सुक्खा भएको हाम्रो मनजस्तै थियो ।

मलाई थाहा छ, अल्जाइमर भएन भने यिनै रूखका सम्झनाहरू हुनेछन् मेरा बुढेसकालका असली सहारा ।

पुरानो बाटो हुँदै सिग्देलको घरअघिको चौतारी उक्लियौं । म शमीको रूख हेर्न उत्सुक थिएँ । अचम्म, न त्यहाँ चौतारोको कुनै अवशेष बाँकी थियो, न त्यो आकाश ढाक्ने विशाल शमीको रूख । त्यो शीतल रूखको छहारीमा पञ्चायत बस्थ्यो, छलफलहरू हुन्थे । कुमाल दाजुभाइका पूर्वजले रोपेको त्यो विशाल शमीको रूख गाउँको सम्पदा थियो, डोजर जोतेर फराकिलो पारिएको बाटोले त्यसको निर्मम हत्या गरिदिएछ । वरिपरि अवलोकन गरेँ, मनमनले नापेँ । ठहर गरेँ, त्यसले बाटाको फैलावटमा पनि कुनै व्यवधान खडा गर्दैनथ्यो । साथी हिरोसले भने, ‘षड्यन्त्र गरेर त्यस ऐतिहासिक रूख लडाए पापीहरूले । आफ्नो पुर्खाले लगाएको त्यस विशाल रूख मास्न पाइन्न भनेर कुमाल दाजुभाइले विरोध गरेका थिए, तर उनीहरूलाई रूख काटेबापत आउने पैसा गणेश माविका लागि दान दिइने भएकाले पुण्य मिल्छ भनेर ललाइफकाइ गरियो ।’

कुमालटारीमा हाम्रो तीन हल मेलो खेत थियो । खेत जाँदा–आउँदा भारी बिसाउने त्यो शीतल रूखसँगै मेरा र धेरै गाउँलेका कैयन् प्रियक्षणहरू अब सम्झनामा मात्र सीमित भएका थिए । शमीको रूख वर्तमानमा थिएन, इतिहास बनिसकेको थियो । शमीको हरियाली फैलिने त्यो स्थलवरिपरि केवल उदासी फैलिरहेझैं लाग्यो मलाई । समयमै त्यस विशाल रूखको कुनै तस्बिर खिच्ने बुद्धि नआएको थकथकी बोकेर घर फर्किएँ ।

पहिलो रूखप्रेम

मेरो पहिलो रूखप्रेम कसरी कहाँबाट सुरु भयो ?

यस विषयमा सोच्दै जाँदा मेरा आँखामा एक कलिलो बिरुवा नाच्न थाल्छ । त्योबेला म चार या पाँच कक्षामा पढ्थेँ । उमेरमा लगभग दस–एघार वर्षजतिको । सानो उमेर, त्यस सानो रूखसँगको माया भने विशाल थियो ।

टुनी, बकैना, गिँदरी, कुट्मिरो, चिलाउनी केको बिरुवा थियो त्यो ? म किटेर भन्न सक्दिनँ । पातको धूमिल सम्झनाका आधारमा कुट्मिरो हुन सक्ने सम्भावना बढी देख्छु । पाँच–छ पातको त्यो बिरुवा घरको दक्षिण दिशाको फूलबारीमा मस्त हुर्किरहेको थियो । त्यस बिरुवाले मलाई मोहनी नै लगाएको थियो । म स्कुल जानुअघि वा फर्किएपछि फूलबारीमा एक्लै खेल्न जान्थेँ र त्यो बिरुवा नजिक पुगेर त्यसलाई स्नेहले मुसार्थें । त्यो बिरुवा हलक्क बढेर छिट्टै अरू रूखहरूझैं अग्लो होस् भन्ने मेरो उत्कट चाहना थियो । प्रशस्त रासायनिक मल राख्ने चलन थियो गाउँमा ।

उत्साहित हुँदै मैले सकीनसकी बिरुवाको जरावरिपरि माटो खनेर एकेक अञ्जुली युरिया र पोटास त्यसमा राखिदिएँ । माटाले छोपेँ । घरबाट लगेर जरामा पानी पनि राखिदिएँ । ठूलो उत्कण्ठाले दिनदिनै लोटामा पानी लिएर म त्यो बिरुवा नजिक पुग्थेँ । म त्यो बिरुवा रफ्तारमा हुर्किएको अवलोकन गर्न उत्तेजित थिएँ ।

दुर्भाग्य त्यस अनाम बिरुवा केही दिनमा पहेलिँदै गयो, पातहरू भुइँमा झरे र सिद्राझैं सुकेर त्यसको मृत्यु भयो । निकै दुःखी भएँ म । मलाई के थाहा, कलिलो बिरुवामा धेरै रासायनिक मलको प्रयोग यति बिखालु हुन्छ भनेर । यसरी पहिलो पटक प्रेम गरेको बिरुवाको जीवनलीला समाप्त गरिदिएको घटनाको साक्षी हुनुपरेपछि मलाई लामो समय अपराधबोध भइरह्यो ।

हरित प्रेम

गर्मी याममा बिहानी कक्षाहरू सुरु भएपछि हामी निकै खुसी हुन्थ्यौं । स्कुलबाट फर्किएर खाना खाएपछि हतारहतार गाईगोरु खेद्दै कुकुरगाडे जाँदा खुट्टा त जमिनमै हुन्थ्यो, मन भने खुसीको आकाशमा उडिरहेको हुन्थ्यो । मसिनो घाँस भएको पाटनमा बस्तुहरू चुरुप्चुरुप् घाँस तान्न व्यस्त हुन्थे ।प्रायः गाई गोठालाहरू विश्रामका लागि ‘हाम्रो चौतारी’ नै रोज्थे । हजुरबा नन्दलाल खड्काले सार्नुभएका वरपीपलको चौतारी भएकाले त्यसलाई हामी ‘हाम्रो चौतारी’ भन्थ्यौं ।

चौतारी निकै फराकिलो थियो, जहाँ वरपीपलका रूखको हरियो प्रेम थियो । शीतल उस्तै । त्यसमा राखिएका फराकिला छपनीहरूमा खरीले केरेर केटाहरू बाघचाल खेल्थ्यौं । केटीहरू भने पीपलको रूखमुनि गट्टा खेल्नमा रुचि राख्थे । आकाश ढाकेर बढेका ती जोडी रूखका हाँगामा बस्ने मैना, काग, चिबे र अन्य अनाम चराका अनवरत चिर्बिराहट चलिरहन्थे । कहिलेकाहीँ गजा खान आउने बाँदरहरू जिस्क्याउँदै वरको हाँगामा लटरम्म फलेका बैजनी फलको बाहिरी छाला कोपरेर हामी पनि भोक

मेट्थ्यौं । डन्डीबियो, दौड, लङजम्प र ठाडी मूल बनाउने खेल खेल्दा खेल्दा प्यास लाग्थ्यो, तर गौचरनमा पिउने पानीको ठूलो अभाव थियो । मर्ने गरी प्यास लागेका बेला चट्टानको प्वालमा थिग्रिएको पानी वरपीपलको पातमा उबाएर पिउनुपर्थ्यो । पानीमा अंग्रेजी अक्षर एस आकारका काला लामा कीराहरू तलमाथि पौडिरहेका हुन्थे ।

एक बिहान चौतारीमा पुगेँ । ‘हाम्रो चौतारी’ को हरियो इतिहासको हत्या भइसकेको रहेछ ।

आधुनिक आराले निर्ममतापूर्वक शिर र हाँगाहरू काटिएका ती विशाल वरपीपलका रूखहरू ठाडै सुकेछन् । ती रूखहरूमा प्राण थिएन । रूखको देहबाट चर्चरी छाला उप्किएर भित्रको कठोर काठ उदांगो देखिने क्रममा थियो । वरको फेदमा हजुरबाले गाडेको शिलालेखका अस्पष्ट अक्षरहरू पढ्न खोज्दा मेरा आँखाहरू रसाइरहेका थिए ।

नेपाल पोलिटेक्निकमा पढ्ने छात्राका लागि बनेको आवासीय भवनका कारण चौतारीको यो दुर्दशा भएको थियो । शिक्षा लिने विद्यार्थीहरूका लागि आवासीय भवन बन्नु निकै खुसीको कुरा थियो । जस्तो ः भवनको छतमा र कोठामा बसेर चराहरूझैं चिर्बिराइरहेका नानीहरू देखेपछि म पनि निकै खुसी भएको थिएँ । भवनलाई क्षति पुर्‍याउने कुनै सम्भावना नभएका ती वरपिपलका रूखहरू किन काटिए ? यसको जवाफ मैले कोसँग सोध्नु ? रूखको हत्यारा ठेकेदार गाउँ छोडेर अरू गाउँको हरियो सभ्यता मास्न कतै गइसकेको थियो ।

घरमा आएर दलबहादुर काका र दुर्गा दाइसँग ‘तपाईंहरूले किन रूखहरू काट्न दिनुभएको ?’ भनी दुखेसो पोखेँ । ‘प्रकृति, संस्कृति र सम्पदाहरू मासेर गरिएको विकास विनाश बराबर हो’ भनेर भँडास पोखेँ, तर निकै ढिलो भइसकेको थियो ।

उहाँहरू पनि पूर्वजको अमूल्य चिनो मासिएकामा उदास हुनुहुन्थ्यो । गाउँलेहरूका नजरमा विकासको बाधक कहलाइने मनोगत डर रहेछ उहाँहरूमा । काकाले दुःखसाथ भन्नुभयो, ‘सीडीओसम्म कुरा पुर्‍याएको हो छोरा, सीडीओले त त्यसरी रूख काट्न पाइन्न नदिनुस्’ भनेका थिए । तर, इन्जिनियरले पटक्कै मानेन । इन्जिनियरले नमानेपछि ठेकेदारले मानेन ।’

मनमनै सोचेँ, मानिस र प्रकृतिका दुःखका हत्याराहरू भए पो जीवन समृद्ध बन्छ, यहाँ त विकासका नाममा रूखका हत्याराहरूको बिगबिगी छ । कोही गिट्टी–बालुवाका निहुँमा नदीको रगत पिइरहेछन्, कोही सडक र भवनको निहुँमा रूखको प्राण उडाइरहेछन् । काकाले मेरो मनोदशा राम्ररी पढ्नुभएको जस्तो लाग्यो र त्यस रूखसँग जोडिएको हजुरबाको भाग्यवादी कथा सुनाउन थाल्नुभयो ।

हजुरबाको पहिलो बिहे भएको रहेछ, रोका थरकी युवतीसँग । बाह्र वर्षसम्म कुनै जायजन्म नभएपछि हजुरबा पाङको रामकान्त पण्डितसँग हात हेराउन जाँदा पण्डितले सन्तानप्राप्तिका लागि वरपीपल रोप्नुपर्ने सल्लाह दिएपछि हजुरबाले ती रूखहरू रोप्नुभएको रहेछ । वरपीपल रोपेपछि जेठाबा जन्मिनुभएको रहेछ । तीन सन्तान जन्माएपछि हजुरआमाको देहान्त भएछ र हजुरबाले हाम्री हजुरआमासँग दोस्रो वैवाहिक सम्बन्ध गाँस्नुभएको रहेछ ।

भोगटेको दानी रूख

धरतीको महानता हो दानी हुनु । यसले आफूमा आश्रित हर प्राणीहरूलाई प्राणदानसमेत दिन्छ । रूखले दिने हावा, पानी, काठ र फलमा नै चराचर जगत् आश्रित छ । तर, हामी उसैको प्राणहत्याका लागि प्रतिस्पर्धा गरिरहेछौं ।

गाउँमा जन्मे–हुर्केकाले मलाई बारम्बार दानी पृथ्वीका दानी रूखहरूको याद आइरहन्छ । ती दानी रूखहरूमध्ये एक थियो, आफ्नै घरआँगनको भोगटेको रूख । चरम दुःखको कुरा, त्यस रूखको हत्यारा अरू कोही थिएन, हामी आफैं थियौं ।

बारीमा कोदोको नल काट्ने बेला, खेतबाट धानका बिटा बोक्ने बेला, कोदो ठटाउने वा धान झाँट्ने बेला र दाइँ हालेर टौवामा पराल थन्क्याउने बेला भोगटेको अत्यधिक माग हुन्थ्यो । आँगनमा गुन्द्रीको तानमा हतासो ठोक्दाठोक्दा थाकेका आमा–भाउजूहरूले भोगटेको रूख सम्झिनुहुन्थ्यो । हिउँदका रातहरूमा बाबियाका जेउरी बुन्न हाम्रो घरमा जम्मा हुँदा पिरोमा भोगटे साँधेर जिब्रो पड्काउँदै खाँदाको स्वाद कतिपय चेली र भाउजूहरूले अझै भुलेका छैनन् । बाआमाले भोगटे माग्न आउने सबैलाई निःशुल्क वितरण गर्नुहुन्थ्यो । हाम्रो घरबाट दिइने सबैभन्दा किमती कोसेली हुन्थ्यो यही भोगटे । टाढाटाढाका चेलीहरूले झोलामा राखेर घर लैजान्थे लाल गफ्फु ।

स्थिति प्रतिकूल बनिदियो, नयाँ घर बनाउँदा त्यसलाई नढाली उपाय लागेन । कुनै विकल्प सुझेन ।

त्यो रूख चौबीस सालतिर अर्माह बेलबोटेको घरबाट ल्याएर ठूल्दाइले लगाउनुभएको रहेछ । त्यो रूख हाम्रो घरको शोभा र सौन्दर्य थियो । पहिचान थियो । अहिले नयाँ घरको अगाडि त्यसको सन्तान हुर्किरहेको त देख्छु । तर, मलाई सधैं भोगटेको त्यो रूखबिनाको घर अत्यन्त अधुरो अपुरो लागिरहन्छ ।

डिलको चौतारी र एक्लो वर

जसले रोपेका थिए त्यो वरको रूख, उनैको लास राखिएको थियो रूखको ठीक तल । किरियापुत्रीहरू लासको वरिपरि उदासीपूर्वक बसिरहेका थिए । चौध–पन्ध्र वर्षको म पहिलो पटक मलामी गएको त्यस क्षण सम्झनामा दोहोरिइरहन्छ । अहिले जब त्यस बिरानो रूख तल चौतारीमा बसेर सोच्छु, त्यो दिन सायद आफ्नो संरक्षकको मृत्युमा शोक मनाइरहेको हुँदो हो भीरसम्मै हाँगा फिँजाएर उभिएको त्यस वरको रूखले ।

पहलसिँह घर्ती जिबाको लास थियो त्यो, जो निकै वृद्ध भएपछि बित्नुभएको थियो ।

गाउँलेहरूका लागि त्यो रूख र चौतारी दुई कारण महत्त्वपूर्ण थिए । पहिलो, बौर भनिने कालीगण्डकीको किनारतिरबाट घाँस बोकेर फर्किंदा कठिन उकालोको पहिलो बिसौनी त्यही थियो । प्यासले छटपटाइरहेका घँसियाहरूले त्यहीँ आएर घटघट पानी पिई प्यास शान्त पार्थे र बाँकी छोटो उकालोका लागि शक्ति सञ्चय गर्थे । त्यस चौतारीमा पानी पुर्‍याउने पुण्य कार्य भने समाजसेवी दलबहादुर खत्री काकाले गर्नुभएको थियो । उहाँको व्यक्तिगत खर्चमा चौतारी नजिक ट्यांकी बनेको र धारा खसेको क्षण मेरो हृदयमा स्पष्ट अंकित छ । बिहान घसियाहरूको मेलै लाग्थ्यो चौतारीमा । भेटघाट, सन्चोबिसन्चो, तात्ताता घटनाहरूको चर्चा र ठट्टा चल्थ्यो । ताजा घाँसको गन्ध फैलिएको चौतारीमा बैंसालु जोडीका खासखुस प्रेमालाप चल्थे । भारी बोकेर जोडीहरू उकालो लागेपछि भने उनीहरूकै कुरा काटिन्थ्यो । मैले पनि कहिलेकाहीँ त्यस चौतारीमा भारी बिसाएर गाउँको घसिया सौन्दर्य बोध गर्ने अवसर पाएको छु । त्यो बेला दुःखी बनाउने ती दिन सम्झेर रत्तीभर दुःख लाग्दैन अचेल । बरु समाज, जीवन र मानिसका संघर्ष बुझ्न पाएकामा गर्वको अनुभूति हुन्छ ।

दोस्रो कारणले भने उदासी वृद्धि गरिदिन्छ । लासलाई घाटतिर ओराल्दा त्यस चौतारीमा अनिवार्य बिसाउने चलन थियो । कोरोनाका कारण आमाको लास बोकेर घाटसम्म पुग्न नपाए पनि बाको लास बोकेर त्यस रूख तल पुगेको छु म पनि । रूख तल केही मृत्युकर्म सम्पन्न गरेपछि मात्र गोपाङ ओरालिन्थ्यो लास । जलाएर फर्किएपछि त्यही रूखको मुन्तिर बसेर आफन्तहरू शोकमा हराउँथे अनि रुन्थे ।

सल्लेरी र डढेलो

पाटेभीरमा अचानक आगलागी भएको हल्ला सुनेपछि दीपिन र म बतासिँदै सल्लेरी पुग्यौं । सुकेको खर भएको पाटेभीरमा आगोको लामो लहरो थियो र त्यसबाट निस्किएको धूवाँले सल्लेरी ढाकिरहेको थियो । गाउँलेहरूलाई झैं मलाई चिन्ता थियो, सल्लाका रूखहरूको । विशेषगरी त्यो रूखको, जसको फेदमा बसेर मैले कैयन् कविता लेखेको छु । कैयन् पुस्तक पढेको छु । चिन्तन र अन्तरविमर्श गरेको छु ।

अपराह्नको समय । गाउँलेहरू दौडिँदै आए । चूडामणि र सकस दाइ पनि आउनुभयो । नजिकमा आगो निभाउने पानीको कुनै स्रोत थिएन । हामीहरूले आवश्यक ठाउँमा सल्लिपिरलको बाक्लो कार्पेट बीचका पात सोहोरेर खाली बाटो बनाइदियौं । यस विधिले तल डिलका पात त जल्थे, तर माथिमाथि आगो सर्ने सम्भावना कम हुन सक्थ्यो ।

आगो बौलाउँदै सल्लेरीको डिल उक्लियो र हाम्रो पहुँचबाहिरका भीरका रूखहरू डढाउन थाल्यो । सल्लेरीभरि चट्चट् आवाज आइरहेको थियो । विशालकाय आगोको लहर देखेर मेरो मन आत्तिन थाल्यो । त्यसमाथि सल्लेरीमा रात पनि झरिदियो । युवकहरूले सल्लाका हाँगा भाँचेर ती हाँगाले फुर्तीसाथ सल्लिपिरलमा दन्किरहेको आगो ठटाउन थाले । मैले पनि त्यसै गरेँ । विधिको प्रभावकारिता थाहा पाएपछि म निकै खुसी भएँ । लामो न लामो सल्लेरीमा यसरी आगोसँग जुध्दा रात निकै छिप्पिइसकेको थियो । आगोले डढाएका रूखहरू अग्लो भीरबाट लड्दा ती नजिकै आकाशमा खसेका डरलाग्दा उल्काजस्ता देखिन्थेँ ।

सल्लेरी जोगियो । जुन रूखको छायामुनि बसेर म काव्य चिन्तन गर्थें, त्यो रूख पनि जोगियो । मैले प्रेम गर्ने अन्य धेरै रूखहरू जोगिए । अहिले सल्लेरीमा आकाश छेड्लान्झैं गरी उभिएका ती रूखहरू देख्दा आगलागी र संघर्षका ती क्षणहरू याद आउँछन् ।

हाँगाको जराले टेकेको रूख

मेरो जीवनसँग प्रिय नाता गाँसिएका वा मेरो जीवनले अनमोल सम्बन्ध गाँसेका रूखहरूको कथा सम्झिँदै गाउँमा दिव्य दस दिन बिताएर चितवन फर्किएँ । गर्मी बिदाका केही दिन अझै बाँकी थिए ।

एक बिहान सधैंझैं कवि ईश्वर कँडेलले फोन गरेर चिया पिउन बोलाए । म अस्पताल चोकबाट कला बहिनीको चिया स्टेसन मोडिनै लागेको थिएँ, सडकमा लम्पसार लडेको वरको रूख देखेर झसंग भएँ । केही दिनअघि चितवनमा अचानक आएको शक्तिशाली हुरीले त्यस रूखलाई पनि जरैसहित लडाइदिएछ । त्यो बेला म गाउँमै थिएँ । त्यो चितवनमा मैले सर्वाधिक प्रेम गर्ने रूख थियो । जैविक विविधताले सम्पन्न थियो रूख । सेतो बकुल्लालगायत धेरै चराहरूको प्यारो बासस्थान थियो ।

करिब एक दशक अघिसम्म यस रूखमुन्तिर खाजा पसल थियो, रिमाल बाजेको पान पसल थियो । ईश्वर र म क्याम्पस छुटेपछि रिमाल भाउजूले बनाएको चिया पिउन यहीँ भेटिन्थ्यौं । एक बिहान पान खान आएका क्याम्पस सहकर्मी कृष्ण भुसाल र रिमाल बाजेको पानको रस लागेको नोटसम्बन्धी रोचक कुराकानी सुनेर मैले कविता लेखेको थिएँ– एउटा नोटको जीवनी । मैले सडकछेउमा बाइक पार्क गरेँ र लडेको रूखलाई हेरिरहेँ । रूखको विशाल हाँगामा चढेर कोही मानिस बिजुली आरा चलाइरहेको थियो ।

मैले अन्तिम सम्झनाका लागि त्यस रूखका केही तस्बिर र भिडियो खिचेँ । मलाई थाहा छ, अल्जाइमर भएन भने यिनै सम्झनाहरू हुनेछन् मेरा बुढेसकालका असली सहारा ।

प्रकाशित : असार ११, २०७९ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?