२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

विन्डो पिरियड

उसलाई पक्का आभास भयो– एचआईभी भाइरस उसको रक्त सञ्चारमा दौडिन थालिसके । ऊ अब एचआईभी पोजिटिभ भइसकी, एकै छिन अघिसम्म ऊ जे थिई अब त्यो रहिन ।
कल्पना बान्तवा

कालकिन हतारिँदै लेबर रुम अपरेसन थिएटरको लुगा फेर्ने कोठामा छिरी । पौने आठ बजे आएर इभिनिङका साथीहरूसँग ह्यान्डओभर बुझिसक्नुपर्नेमा सवा आठ बजिसकेको थियो ।

विन्डो पिरियड

‘उफ ! आज मार्ने भए !’ आफैंसँग बोल्दै ओटीको लुगा लगाउन थाली ऊ । घरबाट हिँड्ने बेला सानी छोरीले आज छाड्दै छाडिन । सानीले हतपती नछाड्ने हुँदा नाइट ड्युटीमा प्रायः अबेला हुन्छ जहिल्यै । हरे ! यो नर्सको जागिर ! केटाकेटी साना छँदा त नाइट ड्युटी एउटा समस्या नै बन्छ नर्स आमाहरूका निम्ति ।

‘काली ! इमरजेन्सी सिजेरियन सुरु हुन लागेको छ, थिएटरमै आउनु ह्यान्डओभर लिनलाई, बिनाले स्क्रब गरिसकी है !,’ रानु दिदी कोठा बाहिरबाटै बोलिन् । अस्पतालका चिनेजानेका सबैले कालकिनलाई छोटोमीठो ‘काली’ नै पुकार्छन् ।

‘हस् दिदी ! म आइहालें ।’

कालकिन अपरेसन थिएटरभित्र छिर्दा सर्जनहरू, पिडियाट्रिक डाक्टर, अनि उसकै साथी बिना पनि तयार भएर बसेका थिए । अपरेसनद्वारा बच्चा निकालिनुपर्ने महिला अपरेसन टेबलमा पल्टेकी छन् । एनेस्थेटिस्ट (बेहोस पार्ने डाक्टर) चाहिँ ती महिलाको हातमा दुईतीन ठाउँमा कोसिस गर्दा पनि आईभी लाइन खोल्न नसक्दा दिक्क भइरहेका रहेछन् । सलाइन दिन नसकिएकाले अपरेसन सुरु गर्न ढिलाइ भइरहेको रहेछ ।

यस्तोमा कालीलाई लाग्यो, इन्ट्राभेनस एक्सेस नै प्राथमिक हो अहिलेलाई । एनेस्थेटिस्टको सहयोगमा उसले त्यो गर्भवती महिलाको हातको नसामा सलाइनको क्यानुला जोड्न सफल भई, तर दुईतीन ठाउँमा छेडिएको स्थानबाट थोरैथोरै बगेको रगत र रगत लागेका कपासका डल्लाहरूले उसका दुवै हात रंगिए । सलाइन लाउनमा एकोहोरिएकी कालकिनको अर्थोकतिर ध्यानै गएन । ‘काली, ग्लोब्स किन नला’को ?!,’ साथी बिनाले चिच्याएर सोधी उसलाई ।

‘एचआईभी पोजिटिभ केस हो, हामीले त्यत्रो भनेको सुनेनौ ?,’ डा. जोनीको बोलीले कालीको होस उडायो । एक छिन त ऊ केही भन्नै नसकिने भएर लाटिई । उसलाई त्यो अपरेसन कक्ष फनफनी घुमेझैं लाग्यो ।

रगतले रंगिएका आफ्ना हातहरू हेरी, उसका नौनारी गलेर आए । भरिएका आँखामा कलिला बाँसका मुनाझैं रहरलाग्दा साना छोरीहरू र प्यारो लोग्नेका छाया र अनुहार झलझली आए ।

धारामा गएर बेटाडिन झोल साबुनले मलीमली बेस्मारी हात धोई । स्पिरिटले औंलाका काप हुँदी र नङका चेप हुँदी पुछी । अन्तमा स्पिरिटले सिँगो हातै धोई ।

त्यो गर्भवती महिलाको रेकर्ड फाइल पल्टाएर हेरी । रगतको रिपोर्टमा रातो मसीले ‘एचआईभी रिएक्टिभ’ लेखेको देखेपछि उसको धैर्यले साथ छोड्यो, आराम गर्ने रुमको सोफामा घोप्टिएर ग्वाँ ग्वाँ रोई ।

अपरेसन सकिएपछि डाक्टरहरू र साथी आएर कालीलाई सान्त्वना दिन थाले ।

‘हातमा घाउ चोटपटक लागेको छैन भने केही हुन्न, काली ! डन्ट वरी !’

दिउँसो नुहाएर हातखुट्टाका नङहरू फेदै लाएर काटेको सम्झी कालीले । नङको छेउछाउका मरेका छालाहरू काट्दा मासु पनि भेटेको थियो नेलकटरले । तरकारी काट्दा सधैं चक्कुले कोतरेका हातका दागहरू हेरीरही । अहँ, जोगिने कुनै गुन्जायस भेटिन उसले ।

‘पोजिटिभ पेसेन्टको अपरेसन गर्दा मलाई पनि कति पटक निडल प्रिक भा’छ, तर अहिलेसम्म केही भएको छैन । हामी उच्च जोखिम मोलेर काम गर्नेलाई भगवान्ले हात थाप्छन्, चिन्ता नगर ।’

‘डेलिभरी गराउँदा कैयनचोटि हेपाटाइटिस बी पोजिटिभ महिलाको एम्नियोटिक फ्लुडले सर्वांग नुहाइएकी छु म पनि । पीर नगर साथी, केही हुन्न ।’

‘शंका लाग्छ भने डाक्टरसँग कन्सल्ट गरेर एचआईभीको प्रिभेन्टिभ डोज लि’हाल न त !’ सान्त्वनाका शब्दहरू प्रशस्त ओइरिए पनि कालीको चित्तलाई शान्ति प्रदान गर्न कुनैले सकेनन् । नानाथरीका आशंका र चिन्तामा घुलिएर रातभर कालकिन काममा जोतिइरही । उसलाई पक्का आभास भयो कि एचआईभी भाइरस उसको रक्त सञ्चारमा दौडिन थालिसके । ऊ अब एचआईभी पोजिटिभ भइसकी, एकै छिनअघिसम्म ऊ जे थिई अब त्यो रहिन । एक निमेषमा उसको संसार बदलिइसक्यो । अरूलाई सम्झाउन त सारै सजिलो हुने रहेछ, अहिले आफूलाई पर्दा सान्त्वनाका कुनै शब्दले पनि उसका वेदनालाई कम गर्न सकिरहेका थिएनन् । ऊ आफू एक्ली हुँदी हो त तैबिसेक मन बाँध्न सजिलो हुन्थ्यो, तर नाबालक छोरीहरू र लोग्नेलाई जोगाउँदै, सम्हाल्दै घर व्यवहार कसरी धान्ने ? सबभन्दा ठूलो कुरा लोग्नेलाई कसरी बताउने यो कुरा ? विश्वासको ठूलो संकटमा परी कालकिन । लोग्नेमान्छेको मन दुर्घटनावश पोजिटिभ बिरामीको रगत छोइएर एचआईभी सरेको भन्ने कुरा पत्याउने हो/होइन वा श्रीमतीको चरित्रप्रति नै शंका गर्ने पो हो कि ? के भन्न सकिन्छ र ! नर्सको जागिरमा उसै त रातबिरात घरबाट बाहिरिनुपर्छ ।

बिहान ऊ ल्याबमा गएर त्यो महिलाको ब्लड रिपोर्टको अभिलेख हेर्न थाली । ल्याबबोईले भने, ‘सिस्टर ! यी महिलाको रिपोर्ट पोजिटिभ भए पनि एकदमै विक ब्यान्डमा छ, जुन पछि गएर कहिलेकाहीं नेगेटिभमा फेरिन पनि सक्छ । कहिलेकाहीं भाइरल इन्फेक्सन हुँदा कुनै कुनै केसेजमा यसरी एचआईभी पोजिटिभ देखिन्छ कुनै बेला ।’

‘तर, उनको रिपोर्ट नेगेटिभ नै त छैन नि भाइ !’ कालकिन बोली ।

‘त्यो त हो सिस्टर ! सम्भावना जे को पनि छ ।’

कालकिनको औडाहा झनै शान्त भएन । आँखा तिरमिर पार्दै ऊ फर्की । राति अपरेसन गरेको महिलालाई पोस्ट अपरेसन वार्डमा भेट्न गई । २५/२६ वर्षकी ऊ कोल्टे परेरै छोरीलाई दूध ख्वाउने प्रयास गर्दै थिई ।

‘बहिनी ! कस्तो छ अहिले तपाईंलाई ? हिजो तपाईंको अपरेसन हुँदा म पनि त्यहीँ थिएँ ।’ कुरा कसरी थाल्नु भनेर बडो अप्ठेरोमा परेकी कालकिनले त्यति मात्र भन्न सकी ।

‘अरू त ठीकै छ सिस्टर ! खालि दुखाइले गर्दा सजिलै ओल्टेकोल्टे फेर्न सकिरहेकी छैन ।’

‘बहिनी, हेर्नुस् न ! हिजोको अपरेसनमा मैले नांगो हातले तपाईंको ब्लड मज्जाले छोइछु । त्यसैले म ज्यादै चिन्तित छु बहिनी ।’ कालकिनले खुलस्त भनी ।

‘ए तपाईं नै हो रातिको त्यो सिस्टर ? हेर्नुस् सिस्टर ! तपाईंले पीर लिनै पर्दैन । यो ब्लड रिपोर्टलाई म त के मेरा श्रीमान्ले सम्म पत्याउनु हुन्न । हामी एकदमै साधारण र सरल खालका मान्छे हौं । यस्ता जोखिम र सम्भावनादेखि धेरै टाढा छौं हामी दुवै लोग्नेस्वास्नी । मेरा श्रीमान् बैंकमा जागिरे हुनुहुन्छ, म सामान्य गृहिणी हुँ । तपाईंले सलाइन लाइदिएर मेरी छोरीलाई बचाउनमा ठूलो सहयोग गर्नुभएको छ । तपाईंलाई मेरा कारण केही नराम्रो हुँदैन, ढुक्क हुनुभए हुन्छ ।’

उसका कुराले कालकिनलाई केही राहत महसुस भयो । फिजिसियन डा. प्रेमलाई भेटेर आफ्ना खुलदुलीहरू बताई ।

‘अहिले विन्डो पिरियडमा त रगत जाँचेर केही हुनेवाला छैन, ३ महिनापछि ब्लड टेस्ट गर,’ डा. प्रेमले सल्लाह दिए ।

कालकिन घर पुगी ।

ठूली छोरी स्कुललाई हिँडिसकिछ । सानी दौडँदै कालकिनको गोडामा छाँद हाल्न आई । ममताले सरर भिज्यो कालकिनको छाती । छोरीलाई गम्लंग अँगालेर सधैंको जस्तो स्नेहको तीव्र वेगमा छोरीका अनुहार चुम्नै लाग्दा झसंग भएर सोची, ‘अहो ! अब त मैले छोरीहरूलाई माया गर्न पनि नहुने भो !’

निराशा र मन दुखाइको चरम आवेगमा अढाई वर्षकी छोरीलाई अँगालेर भक्कानो फुटाउन थाली कालकिन । ‘आमा किन रोएको ?,’ आमाको अनुहार मुसार्दै सोध्छे सानी । आफ्ना साना पुक्लुक्क परेका हातले आमाका आँसु पुछिदिन्छे र आफैं माया गरेर चुम्छे आमाका गाला, आँखामा । ओठमा माया गर्न खोज्दा कालकिन मुन्टो बटार्छे किनकि आफ्ना थुकले लतपतिएका ओठले आमाका ओठ चुसिरहने सानीको बानी छ ।

‘उफ ! अचानक यो कस्तो आपत् आइलाग्यो ?’, कालकिन आफूले आफैंलाई सोध्छे । उसको सुखी जिन्दगीमा किन यो भुइँचालो गयो ? अब लोग्नेलाई यो कुरा कसरी बताउने भनेर उसलाई पर्नु पीर पर्‍यो । नभनी पनि त भएन । तर, भन्नासाथ उसको लोग्नेको प्रतिक्रिया के हुने हो भन्ने डरले आत्तिई ऊ । नखाएको बिख लाग्ने भो अब । उसलाई थाहा छ, उसको लोग्ने शिक्षित छ, समझदार छ । ऊ आफैं पनि यस्तै पीडितहरूको पुनःस्थापन गर्ने अन्तर्राष्ट्रिय आयोजनामा काम गर्छ । अरूको दुःखप्रति संवेदनशील छ । तर ? कालकिनलाई राम्ररी थाहा छ कि आखिरमा उसको लोग्ने पनि अन्य सामान्य लोग्नेहरूझैं मानवीय कमीकमजोरी भएको एउटा सामान्य पुरुष हो, जो सायद एचआईभी पोजिटिभ आइमाईको लोग्ने भनेर आफूलाई स्विकार्न सक्दैन । उसले लोग्नेका आनीबानी बिचारी । मुखले जत्ति नै ‘माया गर्छु’ भने पनि केही दिन बूढी बिरामी पर्दा ऊ झर्किन थाल्छ, गनगन सुरु हुन्छ उसको, ‘कति बिरामी भइरहनुपर्ने तिमीलाई ? राति सुत्दा पेट दुख्यो भनेर सुतेकी मान्छे, बिहान उठ्दा टाउको दुख्यो भनिरहेकी हुन्छ्यौ ।’

दुई छोरीकी आमा कालकिनको स्वभाव अझै पनि केटाकेटीजस्तै छ । बिसन्चो हुँदा ऊ चाहन्छे, लोग्ने उसको छेवैमा बसिरहोस्, उसलाई सुम्सुम्याएर माया गरिरहोस् । तर, लोग्नेको स्वभाव ठ्याक्कै उल्टो छ, जरो आउँदा एउटा सिटामोल निलेर सिरकले मुख छोप्दै लम्पसार परेर निस्फिक्री निदाउँछ उसको लोग्ने । यस्तोमा कालकिन लोग्नेलाई माया गर्न चाहन्छे, स्नेहले उसको टाउको मुसार्दै सन्चोको अनुभूति दिलाउन चाहन्छे । तर, लोग्ने झर्कन्छ, ‘जाऊ उता ! मलाई डिस्टर्ब नगर ।’

अरूका लोग्ने कस्ता हुन्छन् कुन्नि ! तर, उसलाई उसको लोग्ने भिन्नै खालको लाग्छ । महिनावारी हुँदा बार्ने नगरेकी कालकिनको लोग्ने यस्तो बेला स्वास्नीलाई छोइएला कि भनेर निद्रामा पनि सजग हुन्छ । सकेसम्म बेग्लै ओछ्यानमा सुत्छ । महिनावारी भएकी स्वास्नीलाई छुन, माया गर्न पनि घीन मान्ने उसको लोग्नेले स्वास्नी एचआईभी पोजिटिभ भइछ भनेर थाहा पाउँदा झन् के गर्ला ?

उफ ! कालकिनलाई रिँगटा लागेजस्तो हुन्छ । लोग्ने र छोरीहरू आफूबाट टाढिँदै गएको पूर्वाभास हुन्छ । लोग्नेलाई यो कुरा बताउने आँट गर्नर्र् ैसक्दिन ऊ । सोच्छे, विन्डो पिरियड कटेपछि मात्र भन्नेछ । त्यतिन्जेल जसरी भए पनि जीवन त चलाउनैपर्‍यो । तीन महिनापछि मन दरो पारेर ऊ लोग्नेलाई सबै कुरा भन्नेछ, जे जस्तो परिआए पनि सहने र सामना गर्ने मनस्थिति तयार पारेर । आखिर आकाशै खस्छ रे भने पनि सहनु र पर्खनुको विकल्प छैन नै !

कालकिनको विन्डो पिरियड सुरु भयो ।

त्यससँगै सुरु भयो उसले सहने मानसिक यातनाका पीडा र सकसहरू पनि । ऊ अब धेरैभन्दा धेरै नाइट ड्युटी गर्न थाली । घरमा बित्ने उसका रातहरू भारी मात्रामा कटौती हुन थाले । तर, उसका हतासा र उदासीहरूले घरमा र अस्पतालमा उत्तिकै गिजोलिरहे उसलाई । मानसिक अन्तर्द्वन्द्व र उथलपुथलको चेपुवामा परेर उसले बाँच्नुको नाउँमा जीवनलाई घिसारिरही । घरमा खाना बनाउने, ख्वाउने, ठूली छोरीलाई स्कुलका लागि तयार पार्नेजस्ता उसका घरेलु कामहरू यथावत् चलिरहेका थिए, तर यी कामहरू भ्याउँदा ऊभित्र उम्लिरहने उमंग र उत्साहहरू भने मरिसकेका, सेलाइसकेका थिए । ऊ यन्त्रचालितझैं कामहरू गरिरहन्थी ।

पहिलाझैं उसको लोग्ने अहिले पनि भान्सामा काम गरिरहेकी स्वास्नीलाई पछाडिबाट आएर सुस्तरी अँगाल्थ्यो, माया गर्न खोज्थ्यो । तर, ऊ कुनै बहाना पारेर पन्छिन्थी, पहिलाझैं भावुक भएर प्रत्युत्तरमा लोग्नेसँग लिपिक्क टाँसिने कालकिन अब लोग्नेको सामीप्यसँग नराम्ररी तर्सन्थी । आफ्नो खाने थाल छुट्याएकी थिई, लोग्ने र छोरीहरूको खानामा आफ्नो जुठो पर्ला भनेर हरपल सचेत रहन्थी । अस्तिसम्म यस्ता सावधानीहरू नअपनाईकन निर्धक्क चलिरहेको गृहस्थीको आफ्नो सुखी संसार अनायास कस्तो अस्वाभाविक भएर आयो भन्ने सोच्दा उसलाई आफ्नै माया बेस्सरी लागेर आउँथ्यो । अनि मौका पायो कि त एकान्तमा मुटु चिरिएलाजस्तो गरी रुन्थी ऊ ।

विन्डो पिरियड सुरु भएको पन्ध्र दिनपछि कसो कसो तालमेल र सन्जोग मिलेर उसको लोग्ने धनुष तीन महिनाका लागि स्विडेन यात्रामा जानुपर्ने भयो । कालकिनले एउटा कस्तो कस्तो अडबाँगे सुस्केरा फाली । उदास र निरूपाय चित्तले लोग्नेलाई बिदा गरेर छोरीहरूसँग बेस्वादको समय बिताउन थाली ।

आज कालकिनको मन एकदमै चंगा छ । बिहान उठ्नासाथ एउटा मीठो र मादक हाई काढ्दै छोरीहरूलाई माया गरी । नित्यकर्म सकेर खाना बनाउन थाली । ठूली छोरीलाई स्कुल पठाइसकेपछि गीत गुनगुनाउँदै घर–कोठा पुछपाछ र अन्य सरसफाइ गर्न लागी । सानी छोरीलाई बोकेर बजार गई र केही किनमेल गरी । फर्कंदा अँगालोभरि सेता ग्ल्याडुलस फूल किनेर ल्याई र ठूलो फ्लावर भासमा राखी । आज उसलाई घर सजाउन खुब जाँगर चलेको छ । कुशन कभरहरू फेरि, सोफा कभरहरू धोएर सुकाउन हाली । टी टेबलको दामी क्रिस्टल एस्ट्रेलाई मायाले मुसार्दै सफासँग टल्काई ।

आज उसलाई घरीघरी लोग्नेले भनेका कुराहरू याद आइरहेका थिए, जो कोठालाई हेर्दै मन्त्रमुग्ध हुँदै भन्ने गर्थ्यो, ‘ह्वाट अ कोजी रुम, काली ! ब्युटिफुल ! तिम्रो सेन्स अफ ब्युटीलाई मान्न पर्छ ।’

ऊ आज फेरि मनैदेखि पत्नीका रूपमा लोग्नेकी असल साथी र छोरीहरूकी असल आमामा फेरिएकी पाउँछे आफूलाई । भुइँमा खुट्टा छैनन् कि जस्तो भान हुँदै छ उसलाई ।

बर्बराउँछे, ‘यो घर त्यही हो, म उही हुँ । मेरो लोग्ने, छोरीहरू र मेरो जागिर– सबै सबै उही र उस्तै हुन् । तर, मेरो मानसिकताका र सोचका कारण उस्तै खाले हिजो र आजमा मैले कत्रो ठूलो भिन्नता महसुस गर्नुपर्‍यो, जीवन उलटपुलट नै भो मेरो । मान्छे आफ्ना सोच र विचारहरूको हातको खेलौना नै रहेछ ।

आज कालकिनको लोग्ने ३ महिनापछि देश फिर्दै छ । अनि, विन्डो पिरियडपछिको कालकिनको ब्लड रिपोर्टमा ‘एचआईभी अलाइजा नन् रिएक्टिभ’ लेखिएको छ ।

आनन्दविभोर बन्दै कालकिन एकोहोरो भएर बिचार्छे, मैले सोझो लोग्नेलाई मनचिन्ते आरोप लगाएँ । खासमा धनुष उदार विचार र व्यवहारको गुणी पुरुष हो । खुलस्त भनिबस्छ, ‘काली हामी बूढाबूढी साथै नभएको बेला कहिलेकाहीँ प्राकृतिक खाँचो काम बासनाले मर्नु बनायो भने हस्तमैथुन गर्नु कुनै अनुचित काम हैन । म त गर्छु र अन्य महिलाले पनि गरेको नराम्रो मान्दिनँ । पुरुषलाई महिला आकर्षक लाग्नु स्वाभाविकै हो । नारीलाई मन पराउनु वा माया हुनु अपराध हो र ? भए होस् ।’

कालकिनले सोचलाई विस्तार गर्छे– हो त, यस्तो उदार/उदात्त सोचको मानिसले कहाँ विकसित जीवन जगत्का विष्यवस्तुबारे निकृष्ट धारणा राख्छ र !

कालकिन लोग्नेलाई सम्झेर दंग परी ।

उत्तिखेरै बजेको फोनमा सानदाजु बलरामको बोली गुन्जियो, ‘नानू काली ! म आज फर्किएँ काठमाडौं । रंगीन तबियतका धनुषकाजी पटायालगायत पूरै सहर हाट भरेर नांगा भुतुंगा लड्कीहरूसँग डान्स गरेर पछि मात्र आउने अरे । तिमी होस गर्नू । रसिक मान्छेको भर हुँदैन । चरित्रवान्को मखुन्डो भिर्ने मौका नपाएसम्म हो, काली !’

प्रकाशित : जेष्ठ २१, २०७९ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?